भ्रस्टाचार गरेको प्रमाणित भो नी त महामहिमज्यू

पेरिसको राजदूतावास निवास मनपरी भत्काएर नक्कली सामान हालियो । नक्कली सामान हाल्ने तर सक्कलीको बिल पेश गर्ने । भएको पानीको धारा, भित्ताका पाइप काम लाग्ने हुँदा हुँदैपनि फोरेर अर्को हाल्ने कमिशनको चक्करमा । त्यहि काम पनि नेपाली मजदूरलाई लगाएर पैसा नदिने । घण्टाको पाँच यूरोपनि नदिने रङरोगन गर्न । तर लेख्ने दोब्बर भन्दा बढि । यसो गरेर देशको सम्पत्ती लुटेका थिए महामहिम मोहन क्रिष्ण श्रेष्ठले । त्यतिबेला लुट्या धन लुकाउन उनले के गरेनन् ? हरेक हतकण्डा अपनाए । नेपालप्लसलाई धम्काउने दुस्साह गरे । आफूले देशको सम्पत्ती लुट्ने अनि अनियमितता भो भन्दा धम्काउने दुस्साहस गर्ने ।

तर उनले भ्रस्टाचार गरेको ढिलै भएपनि सरकारकै निकायले प्रमाणित गरिदिएको छ । अब कुन नाकको चालले होइन भन्लान् ? भ्रस्टाचार गरेको रकमले जाँड पार्टी दिँदै उनी सोझो बन्न खोजेका थिए पेरिसका नेपालीबिच । ति नेपालीले के भन्लान् अब ?

महालेखा परीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयको लेखापरीक्षण प्रतिवेदनमा विदेशस्थित ३२ वटै नेपाली कूटनीतिक नियोगमा आर्थिक अनियमितता भएको औंल्याएको छ । यसबाट हाम्रा महामहिम मोहन क्रिष्ण श्रेष्ठ चोखा रहेनछन् भन्ने त बुझियो होला नी ! उतिबेला उनले भ्रस्टाचार गरेको भरपर्दो र हाकाहाकी लेख्दा केहि चाकरीबाज नेपाली उनैको कोटको फेरो समात्दै भ्रस्टाचार भएको छैन भन्नेमा पुगे । बरु नेपाल सरकारको ठगेको पैसोमै रातदिन रमाउन गए । तर अहिले प्रमाणित भयो कि उनले भ्रस्टाचार गरेका रहेछन् । तर यो पटक सायद उनलाई सजिलो भो, ‘मैले मात्रै खा हो र? अरुलेनी खाका रैछन् नी’ भन्ने होलान् । अरुले जे सुकै गरुन् म असल बन्छु, असल काम गर्छु, देशकालागि के गरेर देखौँछु,  म स्वच्छ बन्छु भन्ने धारणा त कहाँबाट आउँथ्यो र ? त्यस्तो ज्ञान कसैले दियो भनेपनि उनलाई पच्दैन ।

आर्थिक वर्ष २०६७/०६८ को लेखा परीक्षण प्रतिवेदनमा ती नियोगका कर्मचारीले अनियमित तरिकाले विभिन्न किसिमका भत्ता लिने र संकलित राजस्व समेत दाखिला नगरी अनियमितता गरेको उल्लेख छ । यसबाट बुझिन्छ, कतै कार्यक्रमका नाममा पैसा बढाइ बढाइ खाए राजदूतले । कतै भत्ता बढाए । सायद स्विजरल्याण्डसम्म पत्रकार भेट्नपनि दुतावासको गाडीमा सरकारको पैसाले तेल हालेर पुगे । अनि त्यसकोपनि भत्ता चप्काए ।

उतिबेला भ्रस्टाचार गरेको छैन भन्दै पेरिसका केहि सोझासाझा, केहि चाकरीबाज, केहि उनैका आसेपासे जम्मा पारेर भोज दिए । जाँड पार्टी गराए । भ्रस्टाचार गरेर छैन भने । “भ्रस्टाचारनै नगरि छ भनेर लेख्नेलाई सार्वजनिक कारवाही गर्नुपर्छ” भन्दै भिड जम्मा पारे । तर नेपालीले मानेनन् । उनले पत्र काटे मलाई निराधार समाचार लेखेको भनेर । आफैं सर्बोच्च अदालतको प्रधान न्यायधिश झैं बनेर “राजदूतावासमा आइज तेरो प्रेस कार्ड छ कि छैन हेरौं” भन्दै । हरेक हप्ता जस्तो पार्टी दिएर सकेसम्म उचाले केहि नेपालीलाई । भ्रस्टाचार गरेरपनि होइन भन्ने झुठो कुरो सुनाउन नेपालको सम्पत्ती दुरुपयोग गरे । दूतावास भवनको दुरुपयोग गरे ।

त्यत्रो गाइजात्रा मच्चाएर छाती पिटी पिटी भ्रस्टाचार गरिन भनेका राजदूतले भ्रस्टाचार गरेको प्रमाणित भो । अब ईज्जतको अलिकति पनि पित्को बाँकि छ, नैतिकता छ, राजदूतको पदको कुर्सीसम्मलाई आदर गर्ने हैसियत छ भने जवाफ देउ भ्रस्ट राजदूत ! धेरै नेपालीले बोल्न नसक्लान् तर यो आम नेपालीको आवाज हो । नेपालीको रगत र पसिना चुस्नेहरुलाई प्रश्न हो । उतिबेला देशको सम्पत्ती लुटेर पनि अझ छैन भन्दै धम्क्याउने तिमीलाई अलिकतिपनि लाज छैन ? देशको सम्पत्ती लुटेर खाने अनि उल्टो अरुलाई म स्वच्छ छु भनिभनि धाक धम्कि लाउन तिमीलाई अलिकतिपनि लाज लाग्दैन ? कुन अनुहार देखाउँदै हिँड्छौ अब नेपालीका अगाडि म स्वच्छ छु भन्दै भ्रस्ट अनुहार लिएर ?

परराष्ट्र मन्त्रालयको लेखा शाखामा अर्कि भ्रस्ट छन् दूर्गा रायमाझी । उनै हुन् बजेट दिने दूतावासलाई । मोहन क्रिष्ण श्रेष्ठ जापान हुँदादेखिनै रायमाझीले मज्जाले दिन्थिन् बजेट मोहन क्रिष्णले मागेजति ।  त्यो रकममा भागबण्डा गर्थे रायमाझी र मोहनजी भएर । मिलीमिली खाउँ भन्ने सहमतीमा जतिपनि बजेट निकासा हुन्छ । यो परराष्ट्र मन्त्रालय स्रोतले केहि समय अघि दिएको जानकारी हो ।

उनले भ्रस्टाचार गरेको हाकाहाकी प्रमाण के भने राजदूतावास भवन निर्माणका नाममा आउने बजेट बारे मैले जिज्ञासा राखें। उनले निबेदन दिन भने । तर अहिलेसम्म त्यसबारे जानकारी दिएनन् । वस्तबिकता त के रहेछ भने दुतावासमा गरिने खर्च, कार्यक्रमबारे पहिलेनै त्यहाँको सूचना पार्टीमा सबैकालागि टाँसिदिनु पर्ने रहेछ कानुन त । माग्दा त खुरुक्क दिनुपर्छ भने महालेखाका कर्मचारीलेनै । यसबारे महालेखाका कर्मचारीको अडियो रिपोर्ट तल हेर्नुहोला । देशको पैसो नलुटेको नठगेको भए त्यो जानकारी दिन केले रोक्यो ? यसबारे मैले राजदूतावासमा राजदूतकै सुझावमा दिएको निबेदनसहित अर्को ब्लग लेख्ने छु ।

   फोन गरेर बोलाउँदै यस्तरि फसाउने ?

त्यो राजदूत निवास भत्काउँदा उनले पेरिसका थुप्रै नेपालीलाई बोलाउँथे । अनि जो हेर्न जान्छ उसको फोटो खिच्थे उनैका साला सन्तोस कक्षपतीले । उनी राजदूत पत्नी सजना श्रेष्ठका भाइ हुन् । मामाको छोरो । तर नेपालीलाई बोलाएर मेरा बिरुद्द जनमत स्रिजना गरि एक्ल्याउने र कारवाही गरौं भन्दै जाँड पार्टी बोलाएका दिन सजनाले नेपालीलाई भनेकि थिइन् “म मेरो बाउ आमाको एउटा मात्रै सन्तान । मेरो न दाजु छ न भाइ छ”। तर मामाको छोरोलाई भाइ भनिन्छ भन्ने बिर्सेर उनले ढाकछोप गरिन्।

जे होस, राजदूत साला कक्षपतीले तस्विर खिच्थे राजदूतावास निवासमा पुग्नेको । फोन गरिगरि बोलाइएको थियो पेरिसका धेरै नेपालीलाई । अनि ति तस्विर यी यी मान्छे यस्ता हुन्, यीनलाई देखाएर काम गरेको, यीनले प्रशंसा गरे मेरो कामको” भन्दै मन्त्रालयमा देखाउने गरिएको थियो । केहि पत्रकारहरुलाईपनि ति सारा तस्विर देखाइएको थियो । निवास मा मर्मत भैरहेका बेला केहि पत्रकारको तस्विरपनि खिशिएको थियो । ति तस्विर ‘ल हेर्नुस् यी पत्रकार आएर हेरेका। यी यी पत्रकार हुन्’ भन्दै देखाउने काम गरिएको थियो । जति मान्छेका तस्विर खिचिए तिनलाई भ्रस्टाचार लुकाउन साक्षीका रुपमा दुरुपयोग गरियो । ब बिचार गर्नुस् कि राजदूतले बोलाइहाले, हेरौं नत भवन मर्मत गरेको भनेर हेर्न जाँदा खिचिएको तस्विरपनि नेपालको सम्पत्ती भ्रस्टाचार गरेकोमा ढाकछोप गर्न प्रयोग गरिएको थियो ।

राजदूत श्रेष्ठले मै सित भनेका थिए “हेर्नुस् न,  आउनुस् न अरुले बाहिरबाट भनेर त भएन नी । तपाइं आफैं आएर हेर्नुस् न । मैले कति राम्रो बनाएको छु । धारा काम नलाग्ने थियो । भित्ताबाट पानी चुहिएको थियो । अब फस्क्लास भएको छ । यो हाम्रो इज्जतको कुरा हो नी ददीजी, राम्रो बनाउनु पर्‍यो नी । बिदेशीहरु आउँछन्, कार्यक्रम हुन्छ”। कार्यक्रम त मर्मतका नाममा देश लुट्ने पो रहेछ महामहिमको ।

राजदूतावासको खर्च र आम्दानी सबै के कसो भयो भनेर लेखा परिक्षण गर्दा महालेखा परिक्षणको कार्यलयले सिधै भ्रस्टाचार गरेको औंल्याएपछि अब महामहिमले के जवाफ दिन्छन् कुन्नी ! हप्तै पिच्छे जाँड पार्टी दिने, मान्छेलाई उपहार पुर्‍याउन जाने, नेपालको सम्पत्तीमा मोज गर्ने, आसेपासे पाल्ने, यस्सो सय पचास यूरो हातमा राखिदिएर कर्मचारीलाई गुप्तचरी गर्न लगाउने पैसाको स्रोत त खुल्यो नि हैन ? सुद्द तलव भए त्यस्तो मनपरी गर्न पुग्छ ? पेरिसका नेपालीको धारणा बुझ्न पाए कस्तो हुँदो हो ? नेपालप्लसले पत्ता लगाएर सत्य तथ्य समाचार लेखेको रहेछ भन्ने अब त स्पष्ठ भयो कि ?

भ्रस्टाचार भएको भन्ने कान्तिपुर दैनिकको समाचार अन्तिममा हेर्नुस् ।

दूतावासको लेखा परिक्षणपनि शंकाकै घेरामा (लेखा परिक्षकको अडियो सहित)

 

राजदूत निवास मर्मतका नाममा भ्रस्टाचार गरेको खुल्यो (अडियोसहित)

 

आफ्नी पत्नीको प्रशंसा गर्दै राजदूतका नामबाट फेरी झुठो बक्तब्य

 

छानवीन गर्ने भन्दै ब्लगरलाई धम्की

 

नेपालप्लस बिरुद्द राजदूतको फेरी धम्की र उजूरी

 

दूतावासको खण्डन : अनियमितता गरेको घुमाउरो पाराले स्विकार

 

नेपालीको शोकमा फ्रान्सेली रुँदा हाम्रा राजदूतलाई भोजको चटारो

 

नेपालप्लसलाई राजदूतको धम्की

 

दूतावासको रकम ब्यक्तिका नाममा खर्च

 

सांस्क्रितिक पर्वको वास्तविकता र फ्रान्सेली मित्रमाथि अन्याय

३२ वटै कूटनीतिक नियोगमा अनियमितताः महालेखा

काठमाडौ, वैशाख १५ –  

महालेखा परीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयको लेखापरीक्षण प्रतिवेदनमा विदेशस्थित ३२ वटै नेपाली कूटनीतिक नियोगमा आर्थिक अनियमितता भएको औंल्याएको छ । 

आर्थिक वर्ष २०६७/०६८ को लेखा परीक्षण प्रतिवेदनमा ती नियोगका कर्मचारीले अनियमित तरिकाले विभिन्न किसिमका भत्ता लिने र संकलित राजस्व समेत दाखिला नगरी अनियमितता गरेको उल्लेख छ । महालेखाले उठाएको विभिन्न प्रश्नहरूमा परराष्ट्रले भने ‘अवगत भयो’ र कतिपय प्रश्नमा ‘कार्यान्वयन गर्ने क्रम जारी रहेको’ जवाफ दिएको छ । 

महालेखाको प्रतिवेदनले कर्मचारीले अनियमित तरिकाले स्वास्थ्य बिमा, स्वास्थ्य खर्च, पारिवारिक भत्ता, शिक्षा भत्ता, कपडा सुविधा र दैनिक भत्ता लिएको औंल्याएको हो । त्यस्तै उक्त आर्थिक वर्षमा संकलित करिब ५२ करोड ३ लाख राजस्वमध्ये करिब २९ करोड २६ लाख रुपैयाँ दाखिला नभएको किटान गरेको छ । 

भत्ताका सम्बन्धमा महालेखाले वर्षौंदेखि उठाउँदै आएको प्रश्नमा परराष्ट्रका कर्मचारीले ‘सैद्धान्तिक बेरुजु’ भन्दै तिर्न आलटाल गर्दै आएका छन् । राजस्व रकमबारे परराष्ट्रले महालेखालाई १५ करोड रुपैयाँभन्दा बढी दाखिला भइसकेको र अरू हुने क्रममा रहेको जवाफ दिएको छ । परराष्ट्रले राजस्व दाखिलाको प्रमाण भने पेस नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार बेइजिङ, बर्लिन, ब्रसेल्स, ब्राजिल, कायरो, ढाका, क्वालालाम्पुर, दक्षिण अपि|mका, इजरायल, यांगुन र वासिङ्टन स्थित नियोगले राजस्व दाखिला गरेका छैनन् । ‘धेरैले आंशिक मात्र दाखिला गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ । त्यस्तै ९ नियोगको खातामा ९८ लाख ३७ हजार रुपैयाँ बैंक मौज्दात घटी देखिन्छ । १८ नियोगमा १ करोड ५२ लाख ९४ हजार रुपैयाँ बढी छ । बाँकी ९ दूतावासले बैंक मौज्दात पेस गरेका छैनन् । ‘हिसाब मिलान गरी दाखिलाका लागि पत्राचार भएको,’ परराष्ट्रले महालेखालाई पठाएको पत्रमा उल्लेख छ ।  

उपसचिव रामकाजी खड्का र सुब्बा हाकिमबहादुर भण्डरीले अनियमित रूपमा पारिवारिक भत्ता लिएको प्रतिवेदनमा उल्लेख छ । परिवारका सदस्य दुई पटक गरी कतारबाट २०६३ फागुन १७ र २०६७ असार ३ मा फर्के पनि खड्काले उनीहरूको नाममा २०६८ जेठ ६ सम्मको पारिवारिक भत्ता लिएका थिए । रियादस्थित नियोगबाट २०६४ चैत १६ मा फर्केकी छोरीको नाममा भण्डरीले २०६७ मंसिर ३ गतेसम्म भत्ता असुलेका छन् । यस विषयमा परराष्ट्रले ‘बेहोरा अवगत भयो’ भन्ने जवाफ दिएको छ । 

महालेखा स्रोतका अनुसार प्रतिवेदनमा खड्का र भण्डारीलाई अनियमित तरिकाले पारिवारिक भत्ता लिने कर्मचारीको नाम उदाहरणका लागि मात्र राखिएको हो । ‘हरेक नियोगका कर्मचारीले अनियमित रूपमा पारिवारिक भत्ता लिएका छन्,’ स्रोतको दाबी छ, ‘हामीले छानबिन गरी त्यस्तो रकम असुल्न निर्देशन दिएका छौं ।’  

मन्त्रालयबाट लिखित आदेश र समर्थन लिनुपर्ने मन्त्रिपरिषद्को २०५१ जेठ २३ को निर्णय अवज्ञा गर्दै उक्त आवमा २८ नियोगका १ सय २५ कर्मचारीले स्वास्थ्य उपचार खर्चबापत २ करोड १९ लाख ९८ हजार रुपैयाँ र स्वास्थ बिमाबापत ५ करोड १९ लाख १२ हजार रुपैयाँ लिएका छन् । ‘यस सम्बन्धमा बेहोरा अवगत भयो भन्ने आलटाले जवाफ पाइयो,’ महालेखा स्रोतले भन्यो, ‘यति धेरै कर्मचारी एकै वर्ष बिरामी परे र यति ठूलो रकम खर्च भयो भन्ने कसरी पत्याउने हो ?’ 

 गत साल विदेशस्थित नियोग सरुवा भएका उपसचिव अर्जुनकान्त मैनाली, हरीशचन्द्र घिमिरे र भृगु ढुंगाना, शाखा अधिकृत सागर फुयाल र पारस पण्डित र नायव सुब्बाहरू रेवती पौडेल, रामसिंह थापा, उत्तम न्यौपाने र हरि प्रसाईका छोराछोरी र परिवारको उमेर नखुलाएको महालेखाले फेला पारेको छ । ‘यो नमुना परीक्षण मात्र हो । उमेर नाघेका सन्तानलाई शिक्षा र दैनिक भत्ता उपलब्ध गराउन उमेर नखुलाउने कर्मचारीको संख्या ठूलो छ,’ स्रोतको दाबी छ । 

मन्त्रिपरिषद्को उक्त निर्णय अनुसार सरुवा भएर जाँदा बाबु वा आमामध्ये एक जना, १८ वर्ष ननाघेका दुई सन्तानबापत वैदेशिक भत्ताको ३० प्रतिशत रकम शिक्षा भत्ता र २१ वर्ष नपुगेका सन्तानबापत दैनिक भ्रमण भत्ता दिन मिल्छ । तर उपसचिव नारायणदेव पन्तले २१ वर्ष नाघेकी छोरी प्रतीक्षा चीन लाँदा हवाई भाडाबापत ३९ हजार २ सय ३९ रुपैयाँ लिएका छन् । त्यस्तै उपसचिव लोकबहादुर थापा, शाखा अधिकृत शत्रुघ्न पोखरेल, प्रथमा उप्रेतीले विदेश लाँदा आमाबाबु दुवैका हवाई भाडा लिएका छन् । थापाले ९६ हजार १ सय १६ रुपैयाँ, पोखरेलले १ लाख २२ हजार १ सय ५७ रुपैयाँ र उप्रेतीले ८४ हजार ४ सय ५५ रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी उपसचिव अर्जुनकान्त मैनालीले २२ वर्षे छोराबापत १ लाख १९ हजार रुपैयाँ र अच्युतभक्त पौडेलले २४ वर्षे छोराको मस्कोसम्मको हवाई भाडाबापत ६२ हजार रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक कारोबार सम्बन्धी निर्देशिकाले बरबुझारथ गर्नुपर्ने कर्मचारीको हकमा मन्त्रालयबाट स्वीकृति लिएर ७ दिनसम्मको दैनिक भत्ता पाउने व्यवस्था गरेको छ । तर त्यस्तो भत्ता पाउनकै लागि केही कर्मचारीले ७ देखि २१ दिनसम्मको काज स्वीकृत गरेको प्रतिवेदनको ठहर छ । ती कर्मचारीमा उपसचिव हरीशचन्द्र घिमिरे र अच्युतराज शर्मा, शाखा अधिकृत ललितप्रसाद श्रेष्ठ, ऋषिदेव खनाल, रामेश्वर पौडेल, जयबहादुर राई, चक्रकुमार सुवेदी र सुब्बा देवदूत ढकाल, विश्वप्रसाद पनेरू, जितबहादुर कार्की, चक्रकुमार सुवेदी, सुरेशकुमार बस्नेत र महासेनानी विश्वनाथ घिमिरे छन् । उनीहरूले करिब ९ लाख २६ हजार रुपैयाँ लिएका छन् । महालेखालाई परराष्ट्रले यो रकम भुक्तानी गर्न नसकिएको जवाफ पठाएको छ । ‘काज बस्नुको औचित्य पुष्टि भएन,’ महालेखाका एक उच्च अधिकारीले भने, ‘कूटनीतिज्ञले भेटेसम्म मिलाएर खाएको देखियो ।’ 

उपसचिव नारायणप्रसाद मैनाली, कर्मचारी शुत्रघ्न पोखरेल, रामकाजी खड्का र सहसचिव धनञ्जय झा -हाल राजदूत युएई) ले हवाई भाडा, कपडा भत्ता र सहयोगीका नाममा करिब ५४ हजार रुपैयाँ बढी लिएका छन् । यो रकम परराष्ट्रको जवाफ छ । त्यस्तै १२ जना कर्मचारीलेे दोहोरो कपडा भत्ताबापतको ३ लाख २२ हजार रुपैयाँ बढी लिएको प्रतिवेदनमा उल्लेख छ । त्यसमा उपसचिव राजाराम बर्तौला, अर्जुनकान्त मैनाली, डोरनाथ अर्याल, लगायत छन् । प्रतिवेदन अनुसार ५४ कर्मचारीले लिएको १ करोड ४८ लाख ४४ हजार रुपैयाँ पेस्की पनि फस्र्योट भएको छैन ।

महालेखा औंल्याऊ-

– राजस्व रकम दाखिला गर्ने गरेको पाइएन 

–      कर्मचारीद्वारा अनियमित तरिकाले दर्जनौं भत्ता लिने गरेको 

– बैंक मौज्दात विवरण उपलब्ध नभएको र हिसाब मिलान पनि नभएको 

– छोराछोरीका नाममा अनियमित भत्ता लिने गरेको 

– सबैले भेटेसम्म मिलाएर खाएको देखियो 

परराष्ट्रको वर्षौंदेखि एउटै जवाफ छ-

– अवगत भयो, कार्यान्वयन गर्ने क्रम जारी छ  

प्रकाशित मिति: २०६९ वैशाख १५ ०९:१६  

http://www.ekantipur.com/nep/2069/1/15/full-story/346771.html

तपाइँको प्रतिक्रिया