एउटा साझा प्रश्न तिमीलाई
–गणेश खड्का ” प्रतिक्षा “
तिमी सँग हात छ- कलम छ
अब इतिहास लेख
तिमी सँग खुट्टा छ- बाटो छ
सहि ठाउँमा टेक
तिमी सँग आँखा छ-दृष्य छ
नाङ्गो आँखाले सत्य देख
किनकी-
कालो चश्मा पहिरिएर
तिमीले थुप्रै सेता दृश्य हरु
कालो देख्यौ
कालो त झन्
कालै हुन्छ
कालोमा मिल्दा
जङगलमा थियौ-
बाघ थियौ
अब सहरमा छौ-
साँढे नबन
जीजीबिषा हराएका मान्छेहरु
बौरिएर यहाँ
तिम्रो भरोषामा
जीवन खोज्दै छन्
निरिह मनहरु
सच्चा भूमिपुत्रहरु
बस्ती-बस्ती बाट
खबरदारी गर्दैछन्
तिमीले आफ्नोपन त्याग्दै छौ
खबरदार, त्यसो नगर
किनकी-
आफ्नो भन्नु आफ्नै हुन्छ
तर तिमीले
भुल्यौ, भुल्यौ, भुल्यौ
राष्टियता भुल्यौ
संस्कृति भुल्यौ
आफ्नोपन भुल्यौ
कहाँ फ्याँक्यौ
दौरा सुरुवाल ?
टाई- सुटमा धडिएर
सतही खाएको
सपथ-कसम
वरदान होइन
श्राप बन्ला
अभिषाप बन्ला
तिम्रो युद्धको लक्ष-
लुगा फेर्नु हो भने
तिम्रो क्रान्तिको अभिष्ठ-
संस्कृति मास्नु हो भने
तिम्रो आमूल परिवर्तनको नमुना-
राष्टिय पोशाक त्याग्नु हो भने
याद राख-
तिम्रा सबै क्रान्तिहरु-
भ्रान्ति हुने छन्
राष्ट्रको सर्वोच्चतामा
राष्टिय पोशाकको महत्व
तिमीलाई अवगत हुनु पर्ने हो
हेर,-
आफ्नो हैसियत भुल्नेले
एकदिन-
आफ्नो घर भुल्ने छ
आफ्नो संस्कृति भुल्नेले
एकदिन-
आफ्नो देश भुल्ने छ
आफ्नो परम्परा भुल्नेले
एकदिन-
आफ्नी आमा पनि भुल्ने छ
र एकदिन-
भुल्ने छ आफैंलाई पनि
एउटा साझा प्रश्न तिमीलाई
किन भुल्न खोज्दै छौ तिमि यी सब ???
तिवारी भञ्ज्याङग -४ भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स ) ।





