यूरोप स्तरिय न्रित्य प्रतियोगिता : भाँड्नपनि खोज्ने सम्मानपनि लिने ?

(कार्यक्रममा म ब्यक्तिगत तवरबाट सहभागि भएँ। कार्यक्रम आयोजक समितिमा भएपनि नेपालप्लसलाई कुनै आधिकारिक संस्था बनाइएन । त्यसैले आम मानिसले हेर्ने भिन्न द्रिष्टिकोण भए झैं मेरो यो निजि बुझाइ, देखाइ र मैले देखेको तथ्य हो । यो कुनै कपोलकल्पित होइन किनभने यसमा सहभागि सयौं मानिस छन् । त्यसैले यो आयोजक समितिको कुनै आधिकारिक धारणा होइन)।

यूरोप स्तरिय एकल न्रित्य प्रतियोगिता भयो । सहभागिहरु खचाखच भए । नेपाली एकता समाजका साथीहरु खट्न सम्म खटे । समय दिए । तन र मन दिए । शारिरिक मेहनत लगाए । समिति बाहिर बसेका रबीन शर्मा ओली, घनश्याम पौडेल, बिनोद ओझा, अशोक खाँड, जिवन (रेस्टुरा ब्यवशायी), सुमन कार्की, लगायतकोपनि निकै ठूलो सहयोग रह्यो । तर तिनलाई खासै उचित स्थान नदिएर “यो कार्यक्रमलाई हतोत्साहित गर्दै मेल पठाएकालाई स्थान दिने काम भयो । तर हरेक कार्यक्रममा मान्छेका स्वार्थ घुस्छन् । माईक र मञ्च पाएपछि समितिको निर्णयलाई लत्याएर आफू खुशि निर्णय गर्ने बानी हुन्छ । आफू खुशि चलाइहालौं, संस्थालाई निजि बिचारले प्रयोग गरिहालौं भन्नेहरु जहाँपनि हुन्छन् । आखिर पेरिसमा भएको यो एकल न्रित्य प्रतियोगितामापनि त्यस्तै भयो । केहि कमजोरी रहे आयोजकका तर्फबाट जुन हुन्छ नै काम गर्दा । तर पनि अन्य मुलुकमा झैं डाङडुङ, बोत्तल हानाहान, पुरस्कार बहिस्कार गर्ने, आफैंले पाउनुपर्छ भनेर हुटिङ गर्ने काम नभइकन सम्पन्न भयो । यसैमा नेपाली एकता समाजको क्षमता देखियो ।

सहयोगि छायाँमा / भँडुवा पुरस्क्रित

यूरोप भरिका नेपालीहरु आउने भनेर उत्साह देखाएको कार्यक्रम । गैह्र आवाशिय नेपाली संघको एक प्रमुख उद्देश्य नेपाली कला र संस्क्रितिलाई बिदेशमा प्रचार गर्नु, फैलाउनु र संरक्षण गर्न सहयोग गर्नु हो । यसमा सबै एन आर एनले सहयोग गर्नुपर्ने हो । एनआरएनका नेपाल प्रोमोसन इन् अब्रोडका सोम सापकोटा र तेन्जी शेर्पा खुब लागेका थिए यसमा सहभागिता देखाउन र सहयोगका लागि । सोमले यूरोपका सबै एन आर एनलाई खबर गरेका थिए त्योपनि निक्कै जोड गरेर । तर जहाँ कार्यक्रम भएको छ त्यहि देशको एन आर एनले ज्यान फालेर बिरोध गरेछ । कार्यक्रम हुने अघिल्लो दिन सम्मपनि एन आर एन फ्रान्सका अध्यक्षकै तर्फबाट इमेल गएछन् । भनिएको रहेछ “यो कार्यक्रममा एनआरएन फ्रान्सको कुनै सहभागिता छैन, एन आर एन फ्रान्सलाई आउट गरिएको छ । तपाईहरु किन आउने ? “। एन आर एन  फ्रान्सका अध्यक्षले कार्यक्रमको बिरोध गरेर पठाएको सो   ईमेल बेल्जियम स्रोतबाट  प्राप्त गरेर सुरक्षित राखेको छ । जसमा एन आर एनका कार्यकारी समितीको कर्यशैली पञ्चायती पाराको रहेको मात्रै उल्लेख  नभएर एन आर एन मेडिया टास्क फोर्समा फ्रन्सकै प्रतिनिधी छनौट गरिएकोमापनि उछित्तो काटिएको छ ।

तर कार्यक्रममा एक्कासि एन आर एन फ्रान्सकै तिन जनालाई ब्याज लगाएर, पाहुनासित राखेर सम्मान गरियो । अझ पुरस्कारनै बाँड्न लगाएपछि त फ्रान्सका धेरै छक्क परे । समितीले के यस्तो निर्णय गरेको होला भन्ने लगिराख्यो मलाई । तर तप्त भण्डारीजीले पछिल्लो दिन फोन गरेर दुख मनाउ गरेपछि पो थाह भयो, माईक र मञ्च पाएपछि मनपरी गरिएको रहेछ । यसले धेरै साथीहरुलाई चित्त दुखाउने छ ।

आयोजक भएर मन, मस्तिस्क र छाती ठूलो पार्नुपर्छ । सहनशिल बन्नुपर्छ । अज्ञानी र मूर्ख भन्दा आफू उदार बनेर देखाउनु पर्छ । बैगुनीलाई गुनैले मार्नुपर्छ भन्ने सोच्नु महानता हो । तर कार्यक्रम भाँड्नै खोज्ने, सहभागिलाई नआउ भनेर कार्यक्रमको तेजबोध गर्नेलाई पुरस्क्रित नै गर्नु चाहिँ अति भयो कि ? आफैं झुक्ने काम गर्नुपनि त जायज नहोला ।

ब्यक्तिगत रिस, इच्क्षा र असहमती जसकोपनि हुन सक्छ । तर यो कार्यक्रमको लागि कुनै सहयोगनै नहुनेलाई किन स्थान दिइयो भन्ने मुल कुरो हो । हुन त बुझाई आआफ्नै होलान् । समितिका साथीहरु बसेर यसलाइ केलाउलान् नै । सबैका कुरा सुनेपछि अझ स्पष्ठ होला । कार्यक्रममा त्यत्रो सहयोग दिएका बिनोद ओझा, रबीन शर्मा ओलीहरुलाई स्थान दिएको भए कति राम्रो हुने थियो । नेपाली खानामा फ्रान्समा हजारौं रेस्टुरेन्टलाई उछिनेर नेपालको प्रतिष्ठा राखेका घनश्याम पौडेल र रबीनलाई एक एक मिनेट बोल्न दिएर उनैका हातबाट पुरस्कार बाँड्न लगाएको भए ? सहयोग नगर्नेलाई धुरीमा चढाउने र गर्नेलाई हेप्ने यस्तो परिपाटी रह्यो भने भविष्यका कार्यक्रममा यीनले कसरि सहयोग गर्लान् ? कुन मुखले सहयोग माग्दै जाने ? अनि सहयोग नगरिकनै पनि सम्मान पाइने, कार्यक्रमनै भाँड्न खोज्दापनि स्थान पाइने हो भने किन दुख गर्ने ? यसको जवाफ कसले दिने ? कि मनपरी गरेर “मैले यत्रो गरें” भन्दै हिँड्ने ?

तर नैतिकता भएको भए सिधै भन्न सक्नुपर्थ्यो हामीलाई मान्य छैन । म बिरोध गर्छु भनेर । त्यसो गर्दा गर्दैपनि एन आर एन फ्रान्सकै प्रतिनिधीहरु सरासर  मञ्चमा प्रतिनिधी र पाहुना बनेर ब्याज लगाए । यसले गर्दा अन्य एन आर एनका सदस्यका अगाडि तिनैको बेइज्जत भयो । तर एन आर एन फ्रान्सका सबै सदस्य, साथीहरुलाई यसको जानकारी नहुन सक्छ । त्यसैले यसका बारेमा सोध्नु, स्पष्ठ हुनु, आलोचना गर्नु वा नीतिनै त्यहि हो भनेपनि स्पष्ठ पार्नु जरुरी छ ।

कार्यक्रम आव्हान गरेको नेपाली कलाकारहरुको संस्थाले । पेरिसमा सफल पार्न कलाकार र मुख्य आयोजना गरेर दुख बेसायो नेपाली एकता समाजले । लगानी, सिप, मेहनत, दौडाइ सबै यीनै संस्थाको पर्‍यो । पर्दा पछाडी बसेर सहयोग गर्ने जिवन प्रकाश श्रेष्ठ जस्ता अरुपनि हुँदा हुन् । तिनको कुनै चर्चा भएन । नेपाली एकता समाज भनेको के हो ? कसरि चल्छ ? कति नेपालीलाई कसरि सहयोग गर्छ ? नेपाली एकता समाजबारे सहभागीलाई जानकारीनै दिईएन । दुख पाएका नेपालीलाई यति बिघ्न सहयोग गर्ने नेपाली संस्था सायद यूरोपमै कम छन् । बेल्जियममा केहि होलान् । राजनितिक र अन्य आस्थाका रुपमा गर्छन् । तर एकता समाजले कुनै पार्टी, गूट र जातपात नहेरि जुन सहयोग गर्छ त्यो २ मिनेटमा बताइदिन सकेको भए अन्य देशका नेपालीलाई प्रेरणा हुन सक्थ्यो।  तर आयोजक संस्थाकै बारेमा प्रकाश पारिदिन समय भएन, ध्यान गएन, इच्क्षानै भएन सायद ।

वाहियात भाषण

मञ्च र माईक पाउनेहरुलाई लाग्ने रहेछ, म जत्ति बुझेको, बुद्दिमान, महान कोहि छैन । म धेरै जान्दछु, मसित ज्ञानै ज्ञानको विशाल खानी छ त्यो सबैले सुन्नुपर्छ । माईक पाउनेलाई लाग्ने रहेछ सायद, म मञ्चमा उक्लेको ठूलो बडो । तल बस्नेहरु भेडा, बाख्रा, अबुझ, अज्ञानी । त्यस्तै गरे माईक पाउने धेरैले । जर्मनीबाट आएका कुमार पन्तको भाषण त कुनै नेतोले भोट माग्न नेपालीलाई भुट्न खोजेजस्तो थियो । नेताको शैली । एन आर एन कस्तो संस्था हो । कति देशमा छ ? के गर्छ ? लाग्थ्यो, कुमार पन्त बाहेक कसैले बुझ्दैन एन आर एनको भूमिका । त्यहि भएर पन्तले खुब जोड दिएर बुझाउन खोज्दै थिए । दर्शकहरु उनका कुरा सुन्न मन लागेर हुटिङ गर्नै लागिसकेका थिए । तर फोस्रा, ज्ञानहिन यस्ता भाषण गर्नेलाई त्यस्ता कुराको के हेक्का हुने ।

अर्को वाहियात भाषण दिए पोल्याण्डका मित्रलाल पार्देले । कलाकार झैं लाग्दैनथ्यो उनको भाषण । कुनै स्थानिय नेतो झैं लाग्थ्यो । उनले यो न्रित्य कार्यक्रम, कलाकारितासित संवन्धित छ । त्यसै विषयमा बोल्नु पर्छ भन्ने सोचेनन् । उनीपनि महान ठानिए माईकमा । उनले हरेका नेपालीका टाउकामा १८ हजार अति ऋण भएको र त्यो पैसो आफूले तिरिदिएर ऋण मुक्त हुन् पाउँ । यो ऋण म फ्रान्सका राजदूतबाट प्रधनमन्त्री डा बाबुराम भट्टराईलाई पठाउँछु” भन्दै बम्किरहेका थिए । हलमा दर्शकहरु हाँसेर र उनका भनाईलाई उडाएर चौपट । तर उनलाई कुनै मतलव थिएन त्यसमा । उनले उठाएको कुरो मनासिव भएपनि त्यो नितान्त राजनितिक विषय र प्रसंग थियो र न्रित्य प्रतियोगितासित त्यसको कुनै नातो थिएन ।

हलमा धेरैलाई लाग्दो रहेछ, माइक पाएपछि मै ठूलो, मै जान्ने, मेरा कुरा चाहिँ अरुले सुन्नु पर्छ भनेर । धेरैको भाषणको पारा त्यस्तै थियो । नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारीले सबैभन्दा सटिक र छोटो मन्तब्य राखेर ईज्जत र प्रतिष्ठा जोगाए । हलमा धेरैले उनले छोटो बोलेकोमा प्रशंसा गरेको सुनियो । त्यसपछि नेपाली सांस्क्रितिक ग्रिहका हेमन्त उपाध्यायले लिखित मन्तब्य छोटो समयमा सरर पढेर सुनाए । फ्रान्सका सहभागिको यहाँपनि सुझबुझ देखियो । माईक पाएपछि मूल्यांकन समितिकै प्रदीप बम्जनपनि निकै बोल्दा रहेछन् । उनलाईपनि चिट थम्याउन पर्‍यो छोटो बोल्न भनेर। सबैभन्दा झुर त कुमार पन्तकै भैहाल्यो ।

अधिकांश नेपालीका मन्तब्य साँच्चै नयाँ, केहि सिक्न लायकका, राम्रो जानकारी भएको, सुनौं नत जस्तो लाग्ने थिएन । लाग्थ्यो, नेपालीले सांच्चिकै सिक्नु जरुरी छ धेरैनै । सार्वजनिक कार्यक्रममा कसरि बोल्ने, मञ्चमा कसरि बोल्ने । विषयगत रुपमा के बोल्ने आदि । कुनैपनि विषयमा बोल्नुपर्दा तयारी गर्नुपर्छ भनेर हेक्का राखेकोपनि देखिएन ।

किन लग्यो नेदरल्याण्डले दुबै पुरस्कार ?

नेदरल्याण्ड्सले  पोल्टामा पार्‍यो पहिलो र दोस्रो पुरस्कारनै । कतिपयबाट गानगुन गरेको सुनियो, नीता श्रेष्ठ यो कार्यक्रमकी संयोजक । अन्तर्राष्ट्रिय कलाकार महासंघ यूरोप शाखाको अध्यक्ष उनी । उपाध्यक्ष पुष्प बरुवाल । मूल्यांकन समितिका कलाकार आएर नीता श्रेष्ठको घरमा बसेका । त्यहि प्रभावले पुष्प बरुवालकी छोरीलाई र नेदरल्याण्ड्सकै अर्को कलाकारलाई जिताइयो । तर त्यो फत्तुर हो । हुन त आफ्ना सोच र मूल्यांकन होलान् । मेरो देखाइमा मूल्यांकन समितिले एकदम न्याय गरेको छ । मूल्यांकन समितिका प्रदीप बम्जम न्रित्य भैरहेका बेला फोटो खिच्न दौडिरहेकाले न्रित्यको निगरानी र सहि मूल्यांकन गरेका छन् प्रतियोगिहरुले । न्रित्यको अनुगमन नै नगरि कसरि मूल्यांकन गरे भन्ने गुनासाहरु प्रशस्तै छन् ।

समीरा बरुवालको न्रित्य खोटरहित थियो त्यति सानी भएरपनि । त्यति सानी नानी । तर कुनै डर, भय, आतंक र अप्ठेरो नमानीकन चार सय जति उपस्थित मञ्चमा त्यो स्तरको नाच देखाउनेले नजिते कसले जित्छ ? अर्कि थिईन् सरिता हुमागाई प्रथम हुने । “कसको आँखा लाग्यो वरै” भन्ने गीतमा उनले नाचेको न्रित्य अहिलेपनि संझदा मन ढक्क फुलेर आउँछ । पुरै सिन्दूर पोखिएको र मुटु फुटेर रोए झैं गरिन् । गीतको बोल दुखदायी थियो । रुवाउने थियो । उनी त्यो गीतमा साँच्चै रोईन् । आफू मात्रै रोइनन् । हलका धेरैलाई रुवाईन । साँच्चै यस्ता कलाकारको कदर हुने हो, गतिला निर्देशकको आँखा पर्ने हो नेपालमा भने यी हुमागाईँले स्थान पाउनुपर्ने ठूला फिल्महरु हो । कथावस्तुसित ठ्याक्कै प्राक्रितिक रुपमै यसरि अभिनय गर्ने कलाकारको यूरोपमा ठूलो माग छ । यी बहिनीलाई थाह छ कि छैन कुन्ने ! त्यसैले उनको न्रित्य त अरु सित तुलना गर्न लायककै थिएन । सयौं गुणा उत्क्रिष्ठ थियो । त्यसैले मूल्यांकन समितिको यी दुबै निर्णय बिबाद रहित नै हो भन्ने आम दर्शकहरुको अभिमत देखिन्थ्यो मेरो मात्रै होइन ।

किन हार्‍यो फ्रान्सले ?

फ्रान्समा जसले भाग लिए ति मध्ये पूजा गुरुङ र प्रशंसा केसीको मात्रै हेर्न लायकको थियो । पूजा गुरुङले डोको बोकेर गरेको न्रित्य राम्रो भएपनि त्यसमा माझिएको थिएन भन्ने देखिन्थ्यो । यी दुबैमा संभावना छ तर सिकाउने र सिकाइदिने मान्छेको अभाव । कोठामा गीत लगाएर एक्लै नाचेर सिक्दैमा कसरि जितुन्, कसरि परिस्क्रित होस् पूजाको न्रित्य ? आयोजक देश भएकोले कम्तिमा सान्त्वना पुरस्कार सम्म आइदिएको भए मजै हुँदो हो । तर त्यो अवशर पाएन फ्रान्सले ।

आयोजकका कमजोरी

● कार्यक्रम कस्तो गर्ने ? कसरि गर्ने ? ककसलाई बोल्न दिने ? कति मिनेट दिने ? विषय वस्तु बाहिर गएर बोले के गर्ने ? कसरि रोक्ने ? भन्ने तयारी कम भएको देखियो ।

● सबै भन्दा ठूलो कमजोरी आफैंले कार्यक्रम गरेरपनि एन आर एनलाइ हाबी हुन दिनु नै रह्यो । त्यसपछि जसले यो कार्यक्रम भाँड्न, सहभागि संख्या घटाउन र बिरोध गरेर बहादुरी देखाउन लागि पर्यो त्यहि संस्थालाई सम्मान गरेर सहभागिहरुको मन दुखायो ।

● अर्को कारण थियो उद्घोषणमा कमजोरी । उद्घोषण नराम्रो भयो भन्दा आरोप गरेको, आलोचना गरेको जस्तो होला नै । तर समग्रमा उद्घोषण राम्रो भएन। उद्घोषण बेला बेला नितान्त प्रसंग बेगर थियो । बोल्ने कलमा मिठास देखिएन । ज्ञान पनि देखिएन विषय वस्तुमा । बेला बेलामा साह्रै केटीकेटीपारा देखियो । उद्घोषण कलालाई कलाका रुपमा प्रस्तुत गरेको, सहभागिलाई कार्यक्रममा एकाग्र पार्न सकेको देखिएन । यसले गर्दा आयोजक संस्थासित राम्रो उद्घोषण गर्न सक्ने मान्छेपनि रहेनछन्, तयारिपनि गरेनछन् भन्ने पर्‍यो । उद्घोषकहरुको ब्यापक आलोचना सुनियो ।

● केहि मान्छेहरु कार्यक्रमको आधा आधीबाट टिकटबीनानै छिरेछन् । यो रोक्न सकिएन । टिकट नलिइकनै पनि हलमा छिर्ने स्वयंले पैसा नतिरि छिरेको हाकाहाकी नेपालप्लसलाई बताए । यो सामान्य त्रुटी देखियो जुन आयोजकले मात्रै रोक्न सक्ने कुरो त होइनन् जिम्मेवारी कसैलाई दिएपछि ।

● यो कार्यक्रमलाई सफल बनाउन ककसले सहयोग गरे ? मुख्य कुक को थियो । न्रित्यको संयोजन कसले गरेको थियो ? अन्य सुरक्षा, सत्कार, लोगो बनाउने लगायतका प्राविधिक काम ककसले गरेका थिए भन्ने छोटकरीमा चिनाउनुपर्थ्यो । यो अन्तर्राष्ट्रिय प्रचलन नै हो । कम्तिमा पनि फ्रान्समा यस्तो प्रचलन छ । त्यसो गर्न नसक्दा कार्यक्रमलाई भरमार सहयोग गरेका, ज्यान दिएकाहरुको कुनै स्थान भएन ।

● अर्को थियो टोकन अफ लभ । यसमा जसलाई दिनुपर्ने थियो ।  जसले सहयोग र साथ दिएको थियो । तिनलाई भन्दा सहयोग कम हुनेलाई दिएको भन्ने गुनासो सुनियो । कम्तिमा रबीन शर्मा ओलीको समा द हिमालयको रेस्टुरेन्ट, बिनोद ओझा जस्ता जसले धेरैनै सहयोग दिएका थिए तिनलाई दिएको भए फ्रान्सको ईज्जत रहन्थ्यो । यो कि नदिनु नै राम्रो । दिँदा वास्तबिक सहयोगीलाई दिएको भए फ्रान्समा अन्य कार्यक्रम गर्दा फेरी सहयोग माग्न सजिलो हुन्थ्यो । अर्को कुरो सहयोग गर्नेको मन रहन्थ्यो । भलै तिनले त्यो पुरस्कार र कदरको लालचा नगरुन् ।

● पेरिसमा अहिले सम्म भएका नेपाली कार्यक्रम मध्ये सबैभन्दा महँगो हल लिएको थियो एकता समाजले । तरपनि प्राविधिक गडबडी देखियो । यो रोक्न सक्ने कुरो होइन । साना समस्या कुनैपनि बेला आउन सक्छन् नै । तर सहभागिको आँखामा चाहिँ केहि बेर माइक बिग्रिदिनाले कमजोर जस्तो देखियो जुन जायज होइन ।

● राजदूतलाई किन पुरस्कार दिन लगाएको भन्ने गुनासोपनि सुनियो । तर राजदूत ब्यक्ति जस्तो होस् उ नेपालको प्रतिनिधी हो । ब्यक्तिगत असहमती, गुनासा, रिस, आबेग जेपनि हुन सक्छन् । तर त्यो नेपाल सरकारको प्रतिनिधी भनेर निम्ता गरिएकाले पदको कदर हुनु पर्छ । त्यसैले यो निर्णय जायज थियो । तर राजदूत पत्नीलाई पुरस्कार बाँड्न दिनु जरुरी थिएन । उनी राजदूत पत्नी हुन् नेपाल सरकारको लागि, नेपालीका लागि केहि न केहि । बरु राजदूतावासका मिनिस्टर काउन्सिलर जिवनप्रकाश श्रेष्ठलाई कुनै न कुनै स्थान दिनैपर्थ्यो । उनले अस्विकार गर्दा कार्यक्रम आयोजकले केहि न केहि कदरका केहि शब्द भनेर उनको पर्दा पछाडीको सहयोगको सह्राहना गर्नै पर्थ्यो । किनभने यो कार्यक्रममा प्राविधिक पाटा जति रहे जिवन पकाशको भूमिका र सक्रियता प्रशंसनिय थियो ।

समग्रमा

जतिसुकै नाक बजाउने र चर्का चर्का कुरा गरेपनि न्रित्य प्रतियोगिता यस अघिका देशमा आयोजना हुँदा यसैगरि शान्त, बिबादरहित मनमुटावरहित पाराले सम्पन्न भएको थिएन । न्रित्य प्रतियोगिताको शुरुवातीको ईतिहासमै एकता समाजले आफ्नो क्षमता देखाएको छ । यो कार्यक्रमको शुरुवात म्याग्देली समाज (मोना) ले गरेको रहेछ । यसका रचयिता रहेछन् मोनाका अध्यक्ष योगेन्द्र श्रेष्ठ । यो बास्तविकता बुझ्न दिएर र रचनात्मक काम शुरु गरिदिएर योगेन्द्र झन यसका प्रशंसक बनेका छन् ।

कार्यक्रम शानदार रुपमा सम्पन्न भएको हो । यस अघि महिला दिवसका दिन पेरिसमा एउटा कार्यक्रम भएको थियो । त्यसमा यूरोपी देशका धेरै प्रतिनिधी संलग्न थिए । त्यसपछि पेरिसमा नेपालीले गरेको संभवत यहि नै सबै भन्दा ठूलो कार्यक्रम हो । सानातिना गल्ति र कमजोरी रहेपनि कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । यस्ता कार्यक्रम सजिलोसित गरेर नेपाली एकता समाजले प्रशंसनिय काम गर्‍यो । यसमा संस्थाका सम्पूर्ण साथीको साथ, सहयोग, सहनशिलता र तत्परताले भूमिका खेलेको छ । यत्ति हो, समाजले आफ्नो प्लेटफर्मलाई अरुले सहजै प्रयोग गर्न नआपोस् भन्नेमा चाहिँ चनाखो रहनै पर्ने देखियो ।

(गोप्य र छद्म नाम तथा मेलबाट लेखिएका प्रतिक्रिया रद्द गरिने छ । तथ्य र विषयवस्तुमा रहेर लेख्नुहोला । आज तपाइका प्रतिक्रिया सदर गर्न अलि ढिलो हुने छ-नेपालप्लस)

तपाइँको प्रतिक्रिया