नेपालका त चरा सम्झिंदा’नी फ्रान्सेली विशेषज्ञ ब्रुक ब्रुक
लामो सयदेखि फ्रान्सेली चराविद तेरी गोथिएले सम्पर्क गरेका थिए । नेपालका चरा बारे जान्ने, फ्रान्सेली भाषा बोल्ने भरपर्दो मित्र पाए फ्रान्सेली चराविदको समूह लिएर नेपाल जाने इक्ष्छा रहेछ । त्यसै शिलशिलामा खोज्दै जाँदा मेरो नाम फेला पारेछन् । ईमेल पठाए । निक्कै महिना पर्खिएपछि मेसो मिल्यो भेट्ने । उनी चरावीद मात्रै रहेनछन्, उनले त वालवालिकालाई वातावरणिय ज्ञान दिने, कार्यक्षेत्रैमा लगेर देखाउने राम्रो तालिम केन्द्रसमेत चलाउने रहेछन् । झन गज्जब भयो । लियों शहरको छेउमा बस्ने रहेछन् उनी । नेपालका वालवालिकालाई एउटा तालिम केन्द्र चलाउने मानसिकता बनाइरहेका बेला उनी यस्ता मानिस भेटिए कि उनले धेरै कुरो सिकाउन, देखाउन, बुझाउन र अक्किल दिन सक्थे । लियोंका साथीहरुलाई सुनाएँ ‘म एकजना चरावीदलाई भेट्न जान्छु’। ओहो कसरि चिनेको ? कहिले चिनेको ? निदिखुदी गर्न लागे । त्यो भ्रमणका बेला म पुस्तक सम्पादन गर्ने पिरेतका घरमा बस्थें । उनीहरुले ‘लौ लियों शहरमा बस्ने भए त हामी पनि जान्छौं सँगै, चिनापर्ची गर्छौं’ भन्न थाले ।
तेरी गोथिएले तालिम केन्द्रमै बोलाएका थिए । निक्कै बेर तालिम केन्द्रले कसरि काम गर्छ भनेर देखाए । वालवालिकालाई दिक्क नलाग्नेगरि कसरि सिकाउन सकिन्छ । उनीहरुले आफैं चाख दिने गरि कार्यक्रम गर्न कसरि कस्ता विषयमा ध्यान दिनुपर्छ । वालवालिकाहरु जिव र जिवजन्तुबारे कस्ता कुरामा बढि चाख दिन्छन् । हलमा कार्यशाला गर्नुपर्यो भने कसरि गर्नु पर्छ ? कुन उमेरका, कति कक्षमा पढ्ने वालवालिकाले कस्ता कुरामा चाख दिन्छन् । सबै कण्ठै रहेछ उनलाई । उनले निकै बेर आफ्ना अनुभव सुनाए । केहि पढ्ने सामाग्रि दिए । नेपालमा यस्तै तालिम केन्द्र सञ्चालन गर्ने हो भने प्राविधिक ज्ञान गुनको सहयोगपनि दिन सक्ने आश्वासन दिए ।
उनले यस्तै तालिम केन्द्र अफ्रीकामा समेत स्थापित गराएका रहेछन् । केहि वर्ष अफ्रीका बसेर पूर्ण रुपमा सञ्चालन गरेर देखाएपछि उनी फ्रान्स फर्केका रहेछन् । उनलाई नेपाल जाने तिब्र चाहना रहेछ । नेपालका चराहरुको तस्विर भएको पुस्तक लगेको थिएँ मैले । उनले ‘नेपालनै गएर देख्न नपाएपनि किताबमा हेरौं न’ भने । केहिबेर त्यहि पुस्तक हेरियो । घरी घरी ‘यो चरा’नी देखिन्छ ? वाह क्या सुन्दर ! आम्मै नी यस्तो चरा देख्न पाए पो !’ यस्तै भनेर उनी चुकचुकाउँथे । पिरेत मुसुक्क गर्थिन् । ‘भन्थिन ‘चरामा यस्तो रस बस्दो रैछ है?’
उनको तालिम केन्द्र जंगलको आडैमा थियो । चराहरु यता उति गरेको देखिन्थ्यो । केहि चरा परै कतै कराएको सुनिन्थ्यो । कुरा गर्दा गर्दै हामी एक्कासि रोकेर कान तेर्स्याउँथ्यौं । साथमा एदवीजपनि थिईन् । उनलाइपनि मैले तेरीसित परिचय गराउन लगेको । उनी तस्विर खिच्थिन् । चरो भन्दा तस्विरमा चाख !
हामी माथीको आकाशमा एक पटक एककासी एउटा चरोले हामीमाथिबाट छायाँ सार्दै उड्यो । ‘तेरीले भने ‘यो त ब्ल्याक काईट (चील) हो । ‘आम्मामा, हैन आकाशमा उडेको चराको छायाँ भुइँमा हेरेर चिनिन्छ भन्या ?’ पिरेतले सोधिन् । त्यति चिन्दा उनीहरुलाई विश्वकै सबैभन्दा तगडा चरावीद झैं लाग्ने रहेछ । ‘चराको आकार चिनेपछि केहि चरालाई छायाँबाटपनि चिन्न सकिहालिन्छ नी’ मैले भनें । उनीहरुलाई अचम्म लाग्यो । फेरी अलि पर एउटा चराको हुल करायो । ‘त्यो त यूरोपियन स्टारलिङको समूह हो’ मैले भनें । ‘यीनीहरुले हाम्लाई जिस्काउन, चुकचुकाउन भन्या कि साँच्चै हो?’ पिरेतले शंका गरिन् । ‘हैन के हैन, यस्ता चरा समूहमा बस्छन्, यस्ता चरा एक्ला एक्लै बस्छन्, यसरि कराउँछन् भन्ने सयौं पटक देखेपछि, पढेपछि थाहा भैहाल्छ नी’ तेरीले अर्थ्याए । केहिबेर यस्तै कुरा गरेर रमाइलो गरियो ।
फ्रान्सेली हिमाली क्षेत्रको काखैमा बस्ने हुनाले उनले मलाई आफ्नै घरमा बसेर चरा अवलोकन गर्न निम्ता दिए । नेपालमा कम्तिमा १७ जना फ्रान्सेली चरावीद लिएर जान हतारिए । तर त्यस्तो यात्रा पर्यटकहरु प्राय जाने नगरेको क्षेत्र रोजेर, स्थानियका घर घरै लागेको पैसो तिरेर बस्दै, आरामले हतारो नगरि जाने मनसुवा सुनाए । मैले सन् २०१३ को मार्च महिनालाई सँगै जान सक्ने संकेत गरिदिएँ । नेपालमा चरा, जिवजन्तु र प्रक्रितिको संरक्षणमा वालवालिकालाई जगाउने गतिलो तालिम केन्द्र होस् भन्ने चाहना बारम्बार दोहोर्याए ।
हामी नेपालीहरु दुई चार वटा चरा चिनेपछि चरावीदको पगरि लिइहाल्छौं । केहि विरुवाका नाम जान्यो भने वनस्पतीवीद । जनावरबारे अलि अलि जानकारी हुन थालेपछि वन्यजन्तुवीद । अझ प्रक्रितिबिद (नचरलिस्ट) भनिहाल्छौं । राष्ट्रिय निकुञ्जमा बिदेशीलाई गाइड गर्नेहरुले त्यस्तै दाबी गर्छन् । जोपनि नेचरलिस्ट । तर फ्रान्सेलीहरु त्यो पगरी नत सजिलै दिन्छन् । नत हात नै थाप्छन् । न कसैले भनिदिँदा मख्ख नै पर्छन् । तेरी गोथिए फ्रान्समा वातावरणवादी हुनकोलागि पनि थुप्रै ज्ञान हुनुपर्ने सुनाउँदै थिए । उनको तालीम केन्द्रमा एउटा पाटी (फोटोमा हेर्नुस्) थियो । गोलचक्कर परेको पाटी । त्यसमा चरा मात्रै होइन बिरुवा, फूल, साना खाले जिव, पुतली, किरा, उभयचर लगायतका प्रक्रितिका धेरै रुपको जानकारी हुनुपर्ने उल्लेख थियो । त्यसमा उल्लेखित जिवका बारेमा पर्याप्त जानकारी भएपछि मात्रै नेचरलिस्ट (प्रक्रितिवीद) भन्न पाइने, मिल्ने र रुचाइने रहेछ फ्रान्समा ।








