पेरिसको विश्व विध्यालयमा ‘त्यो नेपाल’ र ‘धौलागिरी’

पेरिसको ईनाल्को विश्व विध्यालयमा ‘त्यो नेपाल’ बारे चर्चा गर्ने भनेर शुक्रवार झण्डै रातभरीनै फ्रान्सेली भाषामा लेखेर तयारी गरें । ‘त्यो नेपाल ‘ किन लेखें ? यो लेखेर मैले के पाएँ ? देशले के पायो ? यो किताब लेख्न कत्तिको गाह्रो भयो ? कसरि खोजें यत्रो देशमा छरिएका पात्र ? विश्वबिध्यालयको कार्यक्रम । आफू नेपाली मान्छे । लेख्न बानी परेको तर बोल्न त्यस्तै हो । नेता परिएन । लेखेको कुरो हेर्दै बोल्दै गरौंला भनेर तयारी गरें । कार्यक्रम शुरु हुनु अलिकति पहिले के होला भनेर कौतुहल लागिहाल्यो । किनभने मलाई थाह थियो, यस्तो कार्यक्रममा सबै बौद्दिक मान्छे आउँछन् । अनुसन्धानकर्मी, पत्रकार, शिक्षक, विध्यार्थी, चिकित्सक, मित्र आदि । तिनका अगाडि आफूले १५, २० मिनेट कुनै विषयमा त्योपनि फ्रान्सेली भाषामा बोल्नु । जे पनि बोलेर भएन । चाखलाग्दो हुनु पर्‍यो। म भन्दा पहिले सुशिला मानन्धरको ‘पार्लों नेवारी’ (नेवारी बोलौं) भन्ने नेवारी भाषा सिक्ने किताबको प्रस्तुति थियो । आफ्नो पालो आयो । असहज महसुस भैहाल्यो ।

इनाल्को विश्व बिध्यालयका नेपाली भाषा बिभागका प्रमुख रेमी बोर्दले सहभागीलाई जानकारी दिए -ददि सापकोटा । उहाँ स्वतन्त्र पत्रकार, लेखक हुनुहुन्छ । उहाँ खास त चराविद । नेपालमा एकदम थोरै छन् चरामा बिज्ञ मान्छे । तर आज उहाँ चराका बारेमा बोल्दै हुनुहुन्न । २९, ३० जना फ्रान्सेलीले नेपालमा भोगे देखेका अनुभवबारे उहाँले लेखेको किताब ‘त्यो नेपाल’ बारे प्रस्तुत गर्दै हुनुहुन्छ ।

पालो आयो । यो यो बोल्छु भनेर लेखेको तिन पेजलाई बाल मतलव गरें। किनभने त्यो लेखेको कागजको पाना हेरौं कि ? पावर पोइन्ट हेरौं । हलका सहभागी हेरौं ? दोधार भो । यस अघिका प्रस्तुतीमापनि यस्तै भएको थियो मेरो । लेख्यो तर बोल्ने बेला यस्तै स्वतस्फूर्त रुपमा जे आउँछ त्यहि बोल्ने । यो पटकपनि त्यस्तै भयो ।  लेखेर पढ्दा आफूलाई मूर्ती झैं लाग्ने । सिधा त्यत्तिकै बोल्दा विषयवस्तुबाट टाढा पुगिन्छ कि झैं सोचिने । तर त्यो कागज हेरेर पढ्न मन लागेन । सरर पावरपोइन्ट देखाएँ । विश्व विध्यालयका शिक्षक दाई राम पाण्डे, निर्देशक रेमी बोर्द, फ्रान्सेली मित्रहरु सिल्भियान, एडविजले राम्रो हुन्छ कागज नहेरि भन्दै थिए । मेरी फ्रान्सेली दिदी अलिन रिडपनि आएकि थिईन् कस्तो रहेछ त किताब भन्ने बुझ्न । कसरि बोल्ने रहेछ भनेर सुन्न । कार्यक्रमको पूर्ण जानकारी निकै छोटो समयमा पाएकोले सोचे र भएजति फ्रान्सेली मित्रहरुलाई बोलाउन सकिन । तर लेखिका, अनुसन्धानकर्मी, पत्रकार, हिमाल आरोही, प्रकाशक आदिले शुभकामना पठाएका थिए ।

मैले अन्तर्वार्ता लिएका मध्ये पहिले दोफिन विश्वबिध्यालयमा नेपाली भाषा कक्षकी प्रमुख मारी क्रिष्चिन काबो, नेपाली तान्त्रिक र लोक न्रित्यकी विशेषज्ञ मो ग्रासमुक (मन्जुश्री), फ्रान्सेली अनुसन्धान संस्था सि एन आर एसका फिलिप रमिरे उपस्थित भएको बताएँ । पुस्तकमा कस्ता कस्ता मान्छे छन् । ति को हुन् । तिनले के गरेका छन् । तिनलाई कसरि खोजें । तिनले नेपालमा के काम गरे ? किन गए ? मैले कसरि अन्तर्वार्ता मिलाएँ ? यस्तै कुरो बताएँ । आफूले यो पुस्तक लेख्दा नेपाल, नेपाली मात्रै होइन फ्रान्स र फ्रन्सेलीबारेपनि धेरै सिक्न पाएको उल्लेख गरें । पुस्तक लेख्दाका केहि कठिनाई बताउँदा केहिले अचम्म माने । पुस्तक लेख्दा अपनाएका चलाखि देखेरपनि कोहि लोभिए ।

अन्तर्वार्ता गर्न खोज्दा कोहि पन्छिन खोज्थे । ति नेपाल जाने बेला विमानस्थलमा झोला जाँच गराउने र अध्यागमनमा प्रक्रिया पुरा गर्ने बेला सामान्य भेटौं न त भनेरपनि बोलाए । त्योपनि मैले भेट्न खोजेकोले । त्यहि बेला म प्रश्न गरिहाल्थें । कसैलाई दुई तिन वर्षको कोसिसले मात्रै फेला पारेको थिएँ ।  दश जना भन्दा बढि पात्र नभेट्दा के गरें ? अब पेरिसको सबै गल्ली पैदलमा हिँड्छु । सबै साईनबोर्ड हेर्छु । एशिया, एशियाली संस्क्रिति अध्ययन, हिमाली क्षेत्रमा विशेषज्ञयता हासिल गरेको ट्राभल एजेन्सी, विश्व साइकल यात्रीको एसोशियसन, हिमाली यात्रा, एशियाली अनुसन्धान केन्द्र । यस्ता शिर्षक देख्नासाथ पस्छु र तिनलाई नेपालबारे जानकारी राख्ने फ्रान्सेलीको खोजि गर्छु । यस्तो सोचेर एक दिन पेरिसको एउटा गल्ली हिँड्दा उच्च हिमाली क्षेत्रका अनुसन्धानकर्मीको संस्था भन्ने लेखेको साईनबोर्डमा आँखा परे। त्यहाँ गएर सोध्दा नभन्दै करिब १० जना फ्रान्सेली अनुसन्धान कर्मीको नाम र ईमेल फेला पर्‍यो जसले नेपालमा अनुसन्धान गरेका थिए । तिनलाई आधार बनाएर खोज्दै जाँदा म सफल भएँ । यो बताउँदा धेरै छक्क परे ।

किताबमा यस्ता यस्ता पात्र र कथा छन् । तर म सबै बताउँदिन है अहिले । अहिले सबै बताइदिए त किताब कल्ले किन्ने पछि ? यसो भन्दा सबैजसो हाँसे । हौस्याउन हो कि साँच्चै हो कुन्नी, प्रस्तुती निकै चाख लाग्दो भयो भने । जिवन्त लागेछ मेरो हात हल्लाई, टाउको मर्काई र जोक झैं मिसाएर बताउँदा । ‘त्यो नेपाल’ को फ्रान्सेली  भाषाको सम्पादन र काँटछाँट गरिरहेकि सिल्भियान दलाफामिले ‘त्यो नेपाल’ मा भएका पात्रहरुले कस्तो बोलेका छन् ? के बोलेका छन् ? भनेर बताईन । यसमा आफूले अहिलेसम्म १२ जना जतिको मात्रै बिचार सुनेपनि यो सबै फ्रान्सेलीका लागि, सबै नेपालीका लागि साह्रै चाखलाग्दो हुने बिचार सुनाईन् । मेरो काम देखेर उनलाई गौरव र घमण्ड लाग्छ रे । अनि यो पुस्तकको काम गर्दा आफूले नेपाल र नेपालीबारे बारे औधि धेरै जान्न पाएको अनुभव पनि बताइन् । यो यति चाख लाग्दो छ रे कि आफूलाई कुनैपनि फाईदा नहोस् तर म यस्तो चाखलाग्दो काम सित्तैमा निरन्तर गर्न तयार छु भनिन् ।

कार्यक्रममा आएका मध्ये एक जना नेपालको उच्च हिमाली क्षेत्रको तस्विरको किताब निकाली सकेका पिटर मार्ताँ थिए । उनीसित मेरो पहिलो चिनजान थियो । उनले आफूपनि मेरो आगामी पुस्तककालागि अन्तर्वार्ता दिन तयार रहेको बताए । साथै नेपालबारे विशेषज्ञता हासिल गरेका अर्का एक फ्रान्सेलीसित परिचय गराए । उनको सम्पर्क मेल चाहिँ नेपाली सांस्क्रितिक ग्रिहका हेमन्त उपाध्यायले गरेका थिए । मारी क्रिस्चिन काबोले अर्को एक फ्रान्सेली चिनाईन जसले नेपालका वालवालिकालाई खेलको माध्यमबाट गलत काम गर्न र कुलतबाट बचाउन सहयोग गर्ने रहेछन् । यहि कार्यक्रममा अर्को पुस्तक लेख्नकालागि केहि पात्र जुटे । रेमी बोर्द त यसै पर्ने नै भए । उनले पनि केहि ब्यक्तिको नाम र ठेगाना दिने बताए ।

केहिले ‘त्यो नेपाल’ बारे फ्रान्सका अरु शहरमापनि कार्यक्रम गर्नुपर्छ, त्यो हामी मिलाउँछौं भनेर बचन दिए । यो पुस्तकको अंग्रेजी वा फ्रान्सेली संस्करण कहिले पढ्न पाइएला भनेर हतारिनेपनि निकै देखिए । यो कार्यक्रममा आउन नपाएकोमा थक्क थक्क मान्ने र पुस्तकको सफलता अनि यो निस्किएकोमा बधाई दिँदै ईमेल पठाउनेपनि निकै भए । यसबारे कुनै दिन तिनले दिएको सन्देश बारे लेखौंला ।

मेरो पुस्तक चर्चा पछि साथी प्रवेश सुबेदीको सेक्रेट अफ धौलागिरी भन्ने डकुमेन्ट्री देखाइयो । धौलागिरी हिमाल छेउको सुन्दरता, चौंरीको आलो रगत पिउने प्रथा र त्यहाँको जनजिवनबारे मार्मिक कथा बोकेको यसले धेरैको मन जित्यो । थुप्रै जिज्ञासा राखे फ्रान्सेलीले । समग्रमा कार्यक्रम धेरै राम्रो भयो । तर आवश्यक तयारी हुने हो भने अझ राम्रो गर्न सक्छ यो विश्व विध्यालयले । पुस्तक नेपालीमा भएपनि नेपालबारे चासो राख्ने फ्रान्सेलीबिच ‘त्यो नेपाल’ बारे भित्र भित्रै निक्कै चर्चा र गाइगुइ भैसकेको रहेछ । त्यसको एउटा कारण के रहेछ भने काठमाडौंस्थित फ्रान्सेली दुतावास र फ्रान्सेली केन्द्रमा पुग्ने फ्रन्सेलीलाई यो पुस्तकबारे बताउने रहेछन् ।

तपाइँको प्रतिक्रिया