वर्षभरिको एकैचोटी धन्यावाद

nepalplus-logo.jpgमैले अनेक दुख पाउँदा पाउँदा यो ब्लग चलाएकोपनि एक वर्ष भएछ अस्ति २४ तारिख । त्यहि दिन लेखौंला भन्ने सोच्दा सोच्दै बिर्सेछु । यो वर्ष मेरालागि निराशाजनक भएनन ब्लगको लागि । गतसाल यो ब्लग शुरु गर्दा ममा धरमर थियो फेरि वेब लुटाहाका पञ्जामा परें भनें मेहनत खेर जाला कि भन्ने ! अनि चलाउन सकुँला र ? किताब लेखौंकि, यो ब्लगलाई दिने समयमा बरु अलि गम्भिर प्रक्रितिका लेख र समाचार राष्ट्रिय पत्रपत्रीकामा लेखौंकि, जिवजन्तुको अध्ययन गरौंकि, प्रक्रिति संबन्धि अध्ययनतिर मात्रै लागौंकि भन्ने दोघारका बिच शुरु गरेको थिएँ । लेख्दै गएँ । अहिले संझिँदा राम्रै गरेछु भन्ने लागेको छ।

यो एक वर्षमा मैले गरेको मेहनत अनुसार पाठकहरुले माया गरेझैं नै लाग्यो । एक वर्ष ब्लग चलाउँदा मलाई के लाग्यो भने नियमित तरिकाले गतिला सामाग्रि राख्ने हो भने ईन्टरनेट पढ्ने पाठक मनग्गे भैसकेछन । तर ईन्टरनेटका पाठकहरु अलि बढि हल्काफुल्का, अलि उत्तेजित खालका र अझ राजनिति धेरै भयो भनेर जति कराएपनि आखिर राजनितिक समाचारनै पढ्ने रहेछन । कतिपय अवस्थामा कस्तो पाएँ भने पाठकहरुले मेहनत गरेर तयार पारेको रिपोर्ट भन्दा हल्का फुल्का पाराले टाक्कटुक्क पारेकै रिपोर्ट बढि पढ्ने रहेछन ।

हुनत त्यो मेरो गलत सोचाई हुनसक्छ । किनभने म राजनितिमा चासो राख्ने मान्छे होइन लेखनको क्षेत्रमा । त्यो क्षेत्रमा मेरो ज्ञानपनि छैन । मैले आक्कल झुक्कल मज्जाले नाम खान पाउने बाहेक राजनितिक समाचार लेखिन रिपोर्टिङ गर्दापनि । जहाँ लेखें ति लोकप्रिय हुन्थे । आफुले नजानेकै विषयमा लेखेकालेपनि मैले लेखेका राजनितिक लेखमा बढि आलोचना भएका हुन कि ? फेरि सबैका हेर्ने, तौलिने, ग्रहण गर्ने आआफ्ना धारणा हुन्छन नै । एउटै समाचारलाई फरक फरक पाठकले फरक ढंगले लिएका छन । त्यसरि लेख्दा सायद म आफैंपनि कुनै कोणबाट प्रभावित पो भएँ कि ! त्यो सबै केलाउने, देखाउने, औंल्याउने काम तपाइहरुकै हो ।

मलाई खासगरि यो राजनितिक विषयमा लेख्नै मन छैन, थिएन । तर देशको समग्र थिती, ब्यवस्था, परिपाटी ठिक हुन राजनिति अनुकूल हुनुपर्छ । त्यहि भएरपनि हाम्रो देशको राजनितिक अवस्था ठिक नभइन्जेल त्यो विषयलाई बिर्सन भएन । यो कोणबाट सुझाव दिने साथीहरुपनि थिए । त्यो सुझाव ठिक लागेकैले मैले राजनितिलाई छोड्न सकिन ।  राजनितिक समाचारलाई निरन्तर गरौँ भन्ने लागेको छ ।

विषय धेरै छन । मैले बिगतमा देखे भोगेका, जाने बुझेका, उकालो ओरालो गर्दा समेटिएका विषय वस्तु । बिदेशमा नेपालीको बसोबास, सोचाई, तिनका पीडा, भोगाई । दुख कहिले सुख कहिले । केलाई दुख ठान्छन केलाई दुख देख्छन् । नेपालले के सिक्न सक्छ बिदेशबाट । नेपाल र नेपालीले सिक्न लायकका के के चिज छन । यि सबै उप्काउनु पर्ने हो तर सकेको छैन, भ्याएको छैन । भविष्यमा भ्याएसम्म ति विषयलाई समेट्नुपर्छ भन्ने लागेको छ । तपाई साथीहरुलेपनि सकेसम्म त्यस्ता विषय समेटर लेख, रचना, फोटो फिचर, अनुभव, सफलताका कथा लेखि पठाउनु भयो भने अनुग्रही बन्ने छु । अथवा मसित अग्रिम सल्लाह गरेरपनि लेख्न सक्नुहुन्छ ।

मैले जस्तो विषयमा जे लेखेपनि तपाइहरुका विचारलाई सधैं सम्मान गरेको छु भन्ने विश्वास लागेको छ । अश्लिल, अमर्यादित, बेकारका आरोप प्रत्यारोप, बेप्रसंगका प्रतिक्रिया बाहेकका धारणालाई मैले कहिल्यै तिरस्कार गरिन । गर्दिन पनि । त्यस्ता पाठक प्रतिक्रियालाई भने म नियन्त्रण गर्ने छु । भलै जे पायो त्यहि लेख्न नपाउँदा पाठक घटुन । मलाई पाठकको संख्या भन्दा स्तर प्रमुख हो भन्ने लाग्छ । फेरिपनि वास्तबिकता के हो भने आखिर मैले जे लेखेपनि तपाइहरुले हेरिरहनु भएको छ र न म लेखनको क्षेत्रमा अस्तित्वमा छु । यो ब्लग अस्तित्वमा छ । आखिर तपाईहरुनै नभए नेपालप्लस रहन्थ्यो र ? नेपालप्लसलाई एक वर्ष पुर्‍याउनु भएकोमा धन्यावाद । आगामी दिनकालागि सहयोगको अपेक्षा ।

तपाइँको प्रतिक्रिया