धुमधामले मनाइयो पेरिसमा फागु
मैले फागु पूर्णीमाको अवसरमा रङ खेल्न नपाएको नौ वर्ष भयो । यी वर्ष फागु आयो कि मन चस्स पारेर बसिन्थ्यो । थारु गाउँका बुधराम, हरेराम, बिकना र छन्नुरामसित लाठी नाच र फागु धसेको, पिचकारीले हानेको सम्झ्यो मन कुँड्यायो बस्यो । तर यो पटक अचम्मै भयो, नेपाली सांस्क्रितिक ग्रिहले फागु खेल्ने (कसैको होली कसैको फागु जे भन्नुस्) कार्यक्रम राखेछ हिजो । कामबाटपनि फूर्सदिलो दिन पर्यो संयोगवस ।
बाटोमा खेल्न त पाइन्न नै, हलभित्र खेलियो । नेपाली साथीभाइ लगायत थिए निकै फ्रान्सेलीपनि । वाल कलाकारहरु आसिस वाग्ले, आमोद सापकोटा,जैनु श्रेष्ठ, परिना मल्ल, फ्लोरँस मल्ल, मुस्कान र निकिता उपाध्यायले यो पर्व संझाउने गीतमा प्रशंसायोग्य न्रित्य देखाए । यसरि यी वालकलाकारहरुलाई न्रित्य सिकाउने काम बिगतका कार्यक्रमहरुमा झैं यस पटकपनि नीता श्रेष्ठले गरेकि हुन् ।
(न्रित्य गरेका मध्ये तिन अघिल्ला नेपाली वालवालिकाको र पछिल्लो चाहिँ मोरिससका कलाकारको हो)
त्यति मात्रै होइन, यो पटक मोरिससका कलाकारलेपनि देखाए न्रित्य ।
(हातमा बाँसुरी लिएर एउटा न्रित्यमा क्रिष्ण बनेकि फ्लोरँस मल्ल)
खाना त्यहिँ खाइयो । नाचगान हेरियो । फागु बेस्सरि धसिदिए चुपचप लागेर मौन समर्थन गरियो । निकै वर्ष भएको रहेछ धेरैले यसरि फागु नमनाएको ।
(नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्याय आफ्नी पत्नी रेवा उपाध्यायलाई रङ लगाइदिंदै)
नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्याय भन्दै थिए “मैले ३५ वर्ष भयो होली नखेलेको, आज त मेरो दिलनै रमायो”। यस्ता हामी धेरै थियौं वर्षौं वर्षदेखि होली नमनाएका ।
(तमु समाजकी अनिता गुरुङले नेपाली दुतावासका मिनिस्टर काउन्सिलर जिवनप्रकाश श्रेष्ठलाई फागु घसिदिँदै)
एक्कासि रङ घसिदिन लागेपछि एकाएक हलको रौनकनै बदलियो । हात हातमा अबिर लिएर दगुरा दगुर गर्न थाले । वालवालिकाहरुपनि निक्कै रमाए ।
(नाच्न तयार हुनु अघि बिभिन्न पहिरन र अनुहारमा लिपपोतले चिटिक्क परेका वालिकाको फोटो लिँदै कोशोरीहरु)
फ्रान्सेलीहरुको उपस्थिति त जहिलेपनि निक्कै राम्रो हुने गर्छ सांस्क्रितिक ग्रिहले आयोजना गरेको कार्यक्रममा । आजपनि फ्रान्सेलीहरुको उपस्थिति मननिय थियो । उनीहरुपनि के कम ? नेपाली मन चिनेका, नेपाली वस्ति डुलेघुमेका, नेपाल र नेपालीलाई मनमा साँचेका न परे, तिनले पनि अबिर मागि मागि खुब घसे । नाइ नाइ भने झैं गरेर घस्न दिए । पहिलो पटक पेरिसमा यस्तो कार्यक्रम राखेकोमा हाँस्ने र हँसाउनेका मनले धन्यावाद त दिएनै मुखै फोरेर धेरैले भने “यो पटक साँच्चिनै मज्जा आयो, गाउँघरमा रङ खेलेको झन सम्झना गरायो”।



















