मन खोलेर चेलीबेटी खुवाए पेरिसमा तमुहरुले

फोटो : जीपी गुरुङ / तमु समाज, फ्रान्स

नयाँ वर्षको अवसरमा तमुहरुले तमुस्यो (गुरुङ जातिमा पुरुषलाई तमु र महिलालाई तमुस्यो भन्छन्) हरुलाई निम्ता दिएर खुवाउने रहेछन् । अरु पर्वमा चेलीबेटीहरुले खुवाउँछन् । पियाउँछन् । मिठो मिठो खान्की तयार पार्छन् । हाँसी खुशी राख्ने कोसिस गर्छन् । तर यसमा ? चेलीबेटीहरुलाई कुनैपनि काम गर्न नलगाउने रहेछन् । सबै आफैंले तयार गरेर खुवाउने, पियाउने, नचाउने र खुशि राख्ने रहेछन् तमुहरुले ।

गुरुङहरुको नयाँ वर्ष ल्होसारको अवसरमा यसरि चेलीबेटीलाई खुवाउनुपर्ने चलननै रहेछ । त्यो पुष १५ देखि माघ १५ भित्र । यहाँ विदेशको ठाउँ । सोचेका बेला फूर्सद हुन्न । त्यसैले सबैलाई मिल्ने, कामबाट समय पाइने, चेलीबेटीहरुलाईपनि मिल्ने समय पारेर गएको आइतवार निम्ता दिए ।

(कार्यक्रममा उपस्थित सबैलाई यसरि पुष्प दिएर स्वागत गरेका थिए)

यो कार्यक्रम एउटा मनकारी कार्यक्रम हो । खुला ह्रिदय बनाएर मात्रै गर्न सकिन्छ । किनभने यसमा पैसा निकै खर्च हुन्छ । समय लाग्छ । मेहनत उत्तिकै पर्छ । तरपनि तमुहरुले मन फराकिलो पारे । दुखले कमाएको दुई चार पैसो आफैंले खर्च गरेर चेलीबेटीहरुलाई खुवाए । उनीहरुको सम्मान गरे । तिनको हाँसोमा आफू रमाए । यस्ता मनकारी कार्यक्रम कमै हुन्छन् बिदेशमा ।

(सबै दिदी बहिनीलाई नयाँ वर्षको भाग खुवाउने आफ्नो दायित्व रहेको र सबैलाई निम्ता दिएर खुवाउन पाउँदा खुशि लागेको बताए तुला तमुले। गुरुङ समाजको यो संस्क्रितिलाई संरक्षण गर्नपनि आफूहरुहरुले यसलाई निरन्तरता दिने बताए)

(ल्होसारको भाग स्वरुप तमुहरुले सबै चेलीबेटीलाई खुवाउन पाउँदा हर्ष लागेको बताइन तमु समाजकी अनिता गुरुङले ।)

अझ यी तमुहरुले आफ्नो समाज, आफ्नै जातकालाई मात्रै होइन पेरिसमा रहेका सबै जातजातिका दिदीबहिनी चेलीबेटीहरुलाई निम्ता गरे । सम्झि सम्झि बोलाए ।

त्यसैले यसलाई सबै भाषा, संस्क्रिति र सबै मिलेर हाँस्ने रमाउने, समान देख्ने, अरुलाई सम्मान गर्ने संस्क्रितिपनि बसाल्न खोजे । यसले सद्भाव बढाउँछ । तमुहरु कति मनकारी छन्, आफ्नो संस्क्रितिमा कति प्रतिबद्द छन् भन्ने पनि देखाउँछ । त्यसैले विदेशमा हुने नेपाली कार्यक्रम मध्ये यसलाई एउटा उत्क्रिष्ठ हो भन्न यस कारणले पनि मिल्छ ।

(हाँस न हो हाँस !! आज त काम गरिन्न। बसिन्छ, हाँसिन्छ, खाइन्छ, रमाईलो गरिन्छ। फोटो खिचिन्छ।  आज त हाम्रो पालो नी !)

(खानपीनपछि न्रित्यमा चेलीहरु)

(चेलीहरुलाई खुवाउन, स्वागत गर्न बसेका तमु दाजुभाइहरु)

अब हाम्रो पालो: सोल्टी हो चेलीबेटीहरुलाई खुवाइयो, पिलाइयो अब हाम्रो होला नी पालो ! चेलीहरुले खानपान गरेपछि फेवातालमा खसेको हिमाली द्रिष्य मुन्तिर खानपानमा बसेका तमु दाजुभाइहरु ।

तपाइँको प्रतिक्रिया