कपुरी क

नेपोलियन मरहट्टा

 

पृथ्वीको ठुलो पन्नाहरुमा

बिना मशीको, काठको

ठुलो कलम काँधमा बोकेर,

आज पनि उ बेँसीतिर झरेको छ ।

जिन्दगीको धेरै घाम पानीहरु

वर्षौं देखी खेपेर

मृत्‍युलाई पर्खेरहेको त्यो बुढो मान्छे ।

आसिनापानीले बाली लैजादा

आफुलाई परिक्षामा असफल भएको ठान्ने

त्यो बुढो मान्छे

खेतका गराहरुमा हलो रुपी कलमले

जती जती माटोहरु पल्टाउदै जान्थ्यो,

त्यती त्यती खेतमा अक्षरहरु बन्दै जान्थे ।

जती सुकै मेहनत गरेर अक्षरहरु लेखे पनि

गरीबीको कक्षाबाट कहिल्यै पास हुन नसकेको

त्यो बुढो मान्छे 

वर्षौंदेखी पुरानै कक्षामा पढिरहेको छ ।

बिल्कुल नयाँ किसिमको,

हाम्रो शब्दकोशमै नभएको अक्षरहरु 

खेतको गराहरुमा लेखिरहेको छ ।

संसारकै शब्दकोशमा नभएको

अक्षर लेख्ने त्यो महान मानब

अझै पनि

आफ्नै भाषामा

कपुरी

लेखिरहेको छ ।

लेखिरहेको छ ।

                        

तपाइँको प्रतिक्रिया