कथा : माईतकी आँखी चेली

गिता थापा

बिहान उठ्दा उसको पसल खुलिसक्छ । कहिलेकाहीं त ग्रहाकहरुपनि लागिसक्छन् । उ निहुरिएर पानको पत्तामा  कत्था र चुना दल्न व्यस्त रहन्छे । घरीघरी मुण्टो उठाएर मुश्किलले दुई शब्द निकाल्छे । ‘पान जर्दा की मीठ्ठा ? ‘ उसको बगलमै छ मेरो कोठा । उसको अनौठो कृयाकलापले मलाई आमा उदासी रहेको त्यो पलको याद गराइदिन्छ ।   

म अफिस निस्किने समयमा एक बुढी महिलाले उसलाई पालो दिन्छिन् । उ पुरानो बर्को शरीरमा लपेट्दै पसलबाट बाहिरिन्छे । र दायाँ बायाँ कतै नहेरि घरतिर लाग्छे । यस्तो लाग्छ, मानौ उ जीवनदेखि वाक्क दिक्क भएर अरुकै करबलले खुट्टा टेकेर हिँडेकी छ । उसलाई देख्ने बित्तिकै ममा एक किसिमको तनाब फैलिन्छ । तुरुन्तै उ सामु प्रकट भएर काउकुती लगाइदिउँ जस्तो लाग्छ ताकि उ एक पलपनि चुप नभैकन हाँसीरहोस  हा…हा ……. । मेरो सानै देखिको बानी अरुलाई दुखी देख्न नसक्नें । 

म र बहिनी पढ्ने । आमा रातदिन चुल्हो चौकाको कामले थकित र उदास रहनुहुन्थ्यो । बुवा दिनभरि खेतीपातीमा व्यस्त । मलाई आमाको उदासीपनले मर्माहत तुल्याउँथ्यो । म उहाँलाई खुशी राख्न हरतरहको प्रयासमा लागिरहन्थें । ख्याल ठट्ठा गरेर होस् अथवा रेला गरेर होस् । उहाँ जव प्रफुल्ल हुँदै खित्का छाडेर हाँस्नु हुन्थ्यो तव म असाध्यै खुशी हुन्थेँ ।    

आज यो सहर मेरो लागि नयाँ छ । त्यो पानपसलनी केटी अपरिचित छ । तरपनि किन किन मलाई उसको माया लाग्छ । मनभित्र कता कता उ आफ्नै हो भन्ने पर्छ ।   

बिहान अफिस जाँदा र साँझ घर फिर्दा म उ गुज्रिन्छु । उ मुन्टो भुइँतिर जोतेर कुनै चिजमा हराइरहेकी हुन्छे । वर पर को आयो को गयो मतलव हुन्न उसलाई । सधैंको अँध्यारो अनुहार, उही उदासीपन । मेरो पान सुपारी खाने आदत छैन । कामबिना उसको पसल अगाडि अड्डा जमाएर रमिता देखाउँन मन पर्दैन ।  

गर्मीको मौसममा म एकसाँझ शितल तापेर बार्दलीमा बसेको थिएँ । पूर्व, पश्चिम, उत्तर, दक्षिणदेखी महिला पुरुष केटाकेटीको भागदौड सुरु भयो । केका लागि हो मैले केही बुझ्न सकिन । जान्ने कौतुहलता जाग्यो । तर केको दुगुरादुगुरी हो यो भनि कसैलाई प्वाक्क सोधीहाल्ने आँट आएन । चुपचाप रमिता हेरिरहें ।    

भोलीपल्ट बिहान उठ्दा पानपसल बन्द देखें । मनमा एक प्रकारको चिसो पस्यो । चिया पकाउने जाँघर चलेन । भित्ताको किलामा झुड्याएको सट ख्वास्स भिरेर भुक्के चप्पल पड्काउँदै भुइँमा झरेर नजिकैको चिया पसलमा पसें । पसलकी महिला गिलासमा चिनी घोल्न व्यस्त थिइन् । एक गिलास चिया मागेर कुनातिरको कुर्सी रोजेर बसें ।  

‘चिनी कति चम्चा राखौं सर ? ‘ महिलाले चासो राखी ।
‘एक चम्चा चिनी, दूध कम, रङ कडा बनाउँनुस है । ‘

‘हवस’

महिला चिया बनाउँन जुटी । चिया पसलको निक्कै पुरानो टहरो । धुवाँले आफ्नो अस्तित्व गुमाएका डाँडाभाटा । ठाउँ ठाउँमा भित्किएको भित्तोले निर्माणको अपेक्षा गरेको । बारम्बार मेरा आँखा अघिल्तिर पानवाली केटीको धूमिल आकृति नाच्न आईपुग्थ्यो । 

‘सर चिया’ महिलाको तिखो आवाजले मेरो ध्यान भङ्ग पार्‍यो । चिया समातेर पहिलो सुर्को सुरुप्प पारेँ । ‘जे होस चिया मीठो बनाईछ महिलाले’ मनमनै गमें र अर्को सुरुप पनि तानेँ। छेउमा बसेर महिला जिज्ञासाको कुटुरो फुकाउन लागि-

‘सरलाई आज पहिलो पल्ट देख्दैछु । घर काँ पर्‍यो ?’

दुई सुरुप चिया सुर्काएर उसको जिज्ञासा मेटाईदिएँ –पाँचथर ।

‘यहाँ के काम गर्नु हुन्छ ? ‘

‘मालपोत कार्यालयको सुब्बा पदमा कार्यरत ।’ आज्ञाकारी विद्यार्थी झैँ उनले सोधेका जवाफ दिएँ। शायद उनको सोधपूछ बाँकीनै हुँदो हो । उसैबेला ग्राहक चिया माग्दै पस्यो। 

मेरा शब्द जिब्रोले खेलाउँदै निभेको आगोमा एकदुइवटा दाउराका चिर्पट थपि उसले । र नजिकको फलामे ढुँग्रोले लामो सास निकालेर फू…. फू…फुक्न थालि । केहिबेरमै आगो हरहर्ती बल्यो । ग्राहक अली छिटो गर्नु न दिदी भन्दै हतार गर्न थाल्यो । उपनि ग्राहकको सारमा सार मिलाउँदै चिया बनाउँन जुटी ।  

मैले फेरि अर्को कप चिया मगाएँ । चिया बोकेर उ मेरो सामु उपस्थित भई । र छेउमा बसी – ‘सरलाई पनि एककप चियाले धित मार्दो रै न छ । ‘ म दाँत ङिच्च देखाएर हाँसें । आफ्नो इच्छापनि ब्यक्त गरिन – ‘मलाई पनि बिहानको चिया त दुई कप चाहिन्छ ।’ मैले पनि हो मा हो मिलाएँ । 
‘अनि सरको विवाह भयो ?’ 
अँ !
बच्चाबच्ची पनि छन् कि ?
एउटी दुई वर्षकी छोरी छ । 
अनि श्रीमती चाहीं उतै घरमा हुनुहुन्छ ?
उतैछिन् । बृद्धा‏ आमाबुवाको लागि स्याहार सुसार गर्ने मान्छे पनि त चाह्यो नी । 
सरको कुरा स्रोर्है आना ठीक हो। तर अचेलका छोराछोरी सबै तपाई जस्ता काँ हुन्छन् र सर । जता आफू उतै श्रीमतीलाई बोकी हिँड्छन् । 
उसका कुरा सुन्नु भन्दा पनि मलाई पान पसलनी केटीको पृष्ठभूमि बुझ्ने उत्कट अभिलाषा मथिङ्गलमा सलबलाईरहेको थियो । उ केहिबेर मौन रहेको मौका पारेर मैले भनें- तपाईलाई एउटा कुरा सोधुँ है ? 
उसले मुन्टो हल्लाएर स्वीकृति जनाई ‘भैहाल्छ नी’। 
त्यो अगाडिको पानपसल किन बन्द आज ?
सरलाई थाहा छैन हगी ?
के कुरा ?
त्यो ताराले त आत्महत्या गरि नी सर ।
म अक्क न बक्क परें । 
सरको नाता पर्छ की कसो ? नाता त केही पर्दैन । मेरी बहिनी पनि तिनकै उमेरकी छ । पढ्ने उमेरकी केटी सधैं पान पसलमा ओइल्याएर बसेको देख्थेँ । तीनको अवस्था देख्दा मलाई नरमाइलो लाग्थ्यो ।  
यी छोरी मोरीको जात साह्रै नहुने सर । आफ्नी पनि एउटी छोरी छे । डर लागिरहन्छ भनेको ।

किन र ?

किन हुनु र सर, भाउजु बुहारीलाई चेली माइतमा बसेको आँखी हुन्छ । त्यो ताराले आफ्नो भागमा आफैं बञ्चरो चलाएकी हो सर । कति राम्रोसँगले ९ कक्षामा पढ्दै गरेकी केटी बुद्दीको भाँडोमा बिर्को लागेको । एउटा आवाराको फकौरीमा लागेर स्कूलदेखिनै पोइल भागिछ । त्योबेला यता आमाबाउको भातपानी बन्दा-बन्दी । कत्रो रुवावासी चल्यो । प्रहरी थानामा मेरी नाबालक छोरीको खोजखबर गरि पाउँ भनेर निविदन हाले । हाराएको छ महिना पछि प्रहरीहरुले केटाकेटी दुबैलाई फेला पारे । तर तारा स्वयमले म राजी खुशीले गएकी हुँ भनेर आवारा मोरोलाई छोड्न मानिन । अब आमा बाउले के गरुन् बारा आखिर एउटालाई त जिम्मा लगाउँनै पर्थ्यो । नगर्नु गल्ती त गरिहाली भनेर उसैसँग टिकाटाला गरेर पठाए । एकदुई वर्षसम्म त राम्रै भयो । हाँसी खुशीले नै माइती आउँ जाउँ गर्थी । दुई वर्षपछि रक्सी धोकेर तारामाथि हातपात गर्न थालेछ । आमा बाउको माया न हो । छोरी रोएको हेर्न नसकेर पोइ छोडेर आइज भनेछन् । त्यसपछि माइतै बस्न थाली । यता भाउजुहरुले देखि सहन छाडे । ससाना कुरामा बखेडा झिकेर घरमा सधैंको रडाको मच्चिने गर्थ्यो । हिजो साँझपख दाजुको छोरालाई भुइँमा छोडेर उसले माटो खाएको निहुँमा भाउजुसँग तँ तँ र म म गर्दै कपाल जगल्टा जगल्टी परेछ । 

अनि सुन्नु न सर, आमा पसलमै थिईन् रे । उ उता दलिनमा नाम्लोको पासो लाएर झुन्डिछे । कस्तो कस्तो मति आउँछ छोराछोरीको पनि सर । महिलाले कुरा सकेर लामो सुस्केरा तान्दै विश्राम लिई । मत महिलाका अनुहारमा अवाक भएँ छु । मेरो घाँटीमा ग्रहुँगो बस्तु झुण्डिए झैँ भयो । केही बोल्नै सकिनँ । चियाको पैसा तिरेर सरासरी कोठामा आएँ । दिमाग फनफन्ती घुमिरह्यो । दुई कप चियाकै भरमै अफिसतिर लागेँ । खाना केहि खान मन लागेन ।  

त्यहाँ पनि आज काम गर्न मन भएन । पुराना फायल पल्टाएर हेर्न लागें । अल्लो-पल्लो कुर्सीमा बसेका साथीहरुलाई ब्यस्त रहेको भ्रम पर्‍यो । भित्रभित्रै के नपुगेको जस्तो खट्पटी चलिरह्यो । पियनले अघिदेखि मेरो अवस्थाको ख्याल गरिरहेको रैछ । सबै स्टाफहरु खाजा खान बाहिरिएको मौका पारेर सोध्यो- ‘सर आज हजुरलाई सञ्चो छैन की कसो ? अनुहार पनि मलिन देंख्छु । खाजा खानपनि निस्किनु भएन ? ‘ 

‘आज पेट गड्बड भएर खानमन छैन । जाउ न बरु एक जग चिसो पानी लिएर आउ ।’

खुरुरु हिँडेको उ तुरुन्तै आएर भन्यो ‘सर पानी….!’

म पियनको हातबाट पानी समातेर खाली पेट भर्छु र ठीकठाक भएको वाहानामा मन गह्रँगो पारेर सबैसँग फिस्स फिस्स हाँसीरन्छु ।

तपाइँको प्रतिक्रिया