विदेशमा नेपाली चोरको बिगबिगी
सुन्दा नमज्जा लाग्छ । बेमोज हुन्छ । बिदेशको ठाउँ । एकाध सय नेपाली हुन्छन् बिदेशमा । बिदेशपनि सात समुद्र पारी । थोरै भएका नेपालीहरु बिच भेटघाट हुँदा आफ्नो पन, आपनत्व, निकटता र आफ्नो भाषा तथा संस्क्रितिको स्वाद लिन पाइने हो । जतिसुकै बिकसित मुलुक होस्, जहाँ पुगियोस्, जतिसुकै सेवा र सुबिधा पुगोस् आफ्नो भाषा, संस्क्रिति र संस्कारबाट टाढा हुँदा पीँडा हुन्छ । बिदेशमा त्यो सबैको सामिप्यमा रहने माध्यम भनेकै नेपाली नेपाली बिचको जमघट हो ।
तर बिदेशमा बसेर यसरि निकटता हुनु पहिले र अतिनै राम्रोसित पहिचान गर्नु पहिले आफ्नै नेपालीहरुलाईपनि आफ्नो घरमा बोलाउन डराउनुपर्ने स्थिति डेनमार्कको घटनाले स्रिजना गरिदिएको छ ।
डेनमार्कमा अहिले नेपालीहरुले नेपालीलाई आफ्नो घरमा निम्तो दिन झस्किने गर्छन् । त्यहाँ गएको करिब दुई वर्षदेखि नेपालीहरुले एक अर्कालाई निम्ता दिने, घरमा बोलाउने, जमघट र खानपिन गर्न छोडेका छन् । यसो हुनुको कारण के हो भने डेनमार्कका नेपालीहरुका घर फोरिए लगातार रुपमा । नेपालीहरु छक्क परे । यस्सो बुझ्दा वरिपरिका छिमेकमा घरहरु मध्ये नेपालीका घरहरुमात्रै फोरिएका थिए । एकपछि अर्को नेपालीका घर फोरिएपछि नेपालीहरु छक्क परे । कसरि र केका आधारमा नेपालीका घरहरु फोरिए ?
लगातार नेपालीका घरहरु एक पछि अर्को गरेर फोर्दै जाँदा एक पटक कस्तो अवस्था भयो भने चोरले नेपाली रुपियाँपनि लगेछ । यूरोपमा नेपाली रुपियाँ चल्दैन । अरु देशको चोर भएको भए नेपाली रुपियाँ लजाँदैनथ्यो । यूरो बाहेक उनलाई अरु पैसा काम लाग्दैन । तर नेपालीले आफ्नो देशको पैसो चिनेकाले नेपाली चोरले लगेको विश्वास उनीहरुले गरे । त्यसपछि घर चोरी भएको समय ख्याल गरे ।
नेपालीहरु बिच जमघट हुँदा घरको कुन सदस्य कतिखेर काममा जान्छ र कतिखेर घर फर्किन्छ भन्ने कुरो हुनु स्वभाविक हुन्थ्यो । नेपालीलाई बिदाको दिन, काममा जाने र फर्किने समय थाह हुने भएकोले ठिक्क काममा गएको मौका पारेर नेपालीका घर चोरिएका थिए । नेपाली रुपियाँ चोरिएपछि किन र कसरि भयो भन्ने तर्क बितर्क गर्दै जाँदा नेपालीहरुबाटै नेपालीका घर भकाभक चोरिएको पत्तो पाए । यसपछि नेपालीहरुले नेपालीहरुलाई निम्ता गर्ने, घरमा बोलाउने, जमघट गर्ने गर्न छोडेका हुन् । उनीहरुले केहि नेपालीका तडक भडक हेर्दा शंकापनि गरे केहिमाथि । तर सिधा आरोपित गर्न प्रमाण भएन ।
यसो हुनुको कारण के हो ? अहिले नेपालबाटपनि नेपालीहरुको ओइरो लागेको छ । बेलायतमा आप्रवासी बिध्यार्थीहरु माथिको शिक्षा नीतिमा सरकारले परिवर्तन गरिदिएपछि काम गरेर पढिरहेका बिध्यार्थीहरु टिक्न नसक्ने अवस्था भयो । त्यहाँबाट बिध्यार्थीहरु अन्य देशतिर लाखापाखा लागिरहेका छन् । त्यसैगरि ग्रिसको आर्थिक अवस्था टाट उल्टेकाले त्यता आउने नेपालीपनि यूरोपका अन्य मुलुकमा छिर्ने गरेका छन् । पोल्याण्डको भिसा तुलनात्मक रुपमा सजिलोसित लिएर आउँछन् । तर त्यहाँ काम नपाइने पोल्याण्ड ओर्लिनासाथ भएकोले अन्य देशतिर हानिन्छन् । बढि पैसा कमाइ हुन्छ भन्दै अहिले डेनमार्क, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम र नर्वे जस्ता देशमा नेपालीहरु ओइरिने क्रम बढ्दो छ । तर तिनले सोचे जस्तो काम यी देशमापनि पाइन्न ।
यूरोपको आर्थिक अवस्था खस्किँदै गएकाले अरु देशले पनि बिध्यार्थी भिसा, बिध्यार्थीलाई दिने सहुलियत, आप्रवासीका लागि दिईने सामाजिक सेवा र सहुलियत लगायतका आर्थिक सेवा र सहयोग कटौति गरिदिएको छ । स्थायी बसोबासकालागि दिने अनुमतिमा कडाइ गरेको छ । भाषा हुन्न । साथमा पैसो हुन्न । अनि के गर्ने ? मर्ता क्या नही कर्ता भने झैं बाध्यताले पनि कतिपय नेपालीलाई चोरीमा हात लम्काउनुपर्ने अवस्था भएको छ । नेपालीहरुको संख्या बढ्दै जाँदा अनेक नराम्रा काम हालेकोपनि भेटिँदै छ । पोर्चुगलमा एटि एम कार्डबाट पैसा चोरेको अभियोगमा तिन नेपाली पक्राउ परेका छन् । जसमध्ये एक जनालाई जेल चलान गरिएको रहेछ । केहि छानबिनका क्रममा रहेछन् ।
जे होस, यूरोपमा आर्थिक संकट चुलिँदै जाँदा यसैपनि चोरी, डकैती र लूटपाटका घटना बढोत्तरी हुन्छ नै । डेनमार्कको घटनाले चाहिँ राम्रोसित चिनजान र निकट नभएका नेपालीलाई पनि निम्ता दिने, आफू घरमा हुने र बाहिर निस्किने समय बताउने, घरको चाबी र ढोकाको कोड दिने, पैसा र अन्य कागजात राख्ने थलो देखाउन नहुने अवस्था स्रिजना भएको छ । नेपाली नै हुन् भनेर के गर्नु जस्तो पायो त्यस्तो मान्छेलाई पाहुनाका रुपमा बोलाउँदापनि सोच्नुपर्ने अवस्था बनाइदिएको छ । चोरले सर्वस्यो लग्यो भनेर पछि चरिफाल गर्दै चिच्याउनु भन्दा त अगाडिनै बरु १० पटक सोचेको राम्रो नी हैन ?




