लौ आयो मुस्ताङ पानी जहाज

बाबुरामले मुस्ताङ जिल्लाको कस्ट, डाँडाकाँडा, दूर्गम क्षेत्र प्रतिको मोह र नेपालमै पाटपूर्जा कसेको हुनाले मुस्ताङ गाडी चढे झैं लाग्या थियो । तर होइन रैछ क्यारे ! उनीपनि बिदेशी नक्कल गर्न सिपालु रहेछन् कि के हो ? किनभने उनले मुस्ताङ गाडी रोज्नुको कारण कतै फ्रान्समा मुस्ताङ पानी जहाज वा फ्रान्समा मुस्ताङ नामको रेसिङ कार वा मुस्ताङ नामको महँगो गाडी देखेर त्यसैको नक्कल गरेका त होइनन् ?  संयोग हो वा फ्रान्सेली नक्कल, प्रधानमन्त्री डा बाबुराम भट्टराईको मुस्ताङ गाडीको चर्चा चलिरहेकै बेला फ्रान्समापनि मुस्ताङ पानी जहाज देखापर्‍यो ।  

यस्सो घुम्न निस्कनुपर्‍यो भनेर हिँडेको पेरिसको छेउछाउ । नदीमा चिप्लिराखेको पानी जहाजमा आँखा परे । यस्सो हेर्छु त ‘मुस्ताङ’ लेखिएको । सम्पन्नशाली फ्रान्सेलीहरु बस्ने भनेर चिनिने नइ सुर सेन भन्ने ठाउँको सेन नदीकै एउटा भंगालोमा यो पानी जहाज देखियो । खस खस लागिहाल्यो । सोधियो यस्सो वरिपरि हुनेलाई । स्थानिय वासिन्दाका अनुसार उनीहरुलेपनि मुस्ताङ भनेर लेखिएको यो मालबाहक पानी जहाज पहिलो पटक देखेका हुन् ।

तर त्यसको नाली बेली पत्ता लगाउन भने गाह्रो भयो । किनभने जहाज पानीमा थियो । त्यहाँ जान सक्ने कुरो भएन । वारीबाट चिच्याएर जहाज चालकले सुन्न संभव थिएन । वरिपरिका मान्छे जो देखिए तिनलाई खासै जानकारी रहेनछ । पछि आएर ईन्टरनेटमा सर्च गर्दा तलका यी फोटा भेटिए । यसबाट थाह हुन्छ कि मुस्ताङ पानी जहाज थरी थरीकै रहेछन् । यीनले मुस्ताङ जुत्ता बनाएका रहेछन् । मुस्ताङ गाडीसमेत रहेछ । मुस्ताङ नामकै सानो डुंगापनि बनाएका रहेछन् ।

त्यसो त, यूरोपमा नेपालका हिमाल, ठाउँ र अनेक वस्तुका नाम नक्कल गर्ने प्रचलन बढेको छ । यति कार, यति विमा कम्पनी, एभरेस्ट बिमा कम्पनी, जाडोमा लगाउने अन्नपूर्ण डाउन जाकेट, एभरेस्ट पोकर भने खेल फ्रान्समा प्रसिद्द छन् । चाखलाग्दो कुरो के भने हामी पश्चिमी वस्तु र नामका पछादि दौडीरहेका छौं । हामीलाई रोजी, सोफी, डेभिड, क्रेसि नाम पर्न थालेको छ । न्युयोर्क, टोकियो भन्ने लेबल यस्सो देख्दापनि उतैका सभ्य, सुसम्पन्न नागरिक भइएला झैं त्यसैमा मन जान्छ । तर पश्चिमाहरुले चाहिँ हाम्रा सबै कुरा बुझेर मुस्ताङ, डोल्पो, अन्नपूर्ण, यती, बाघ, हात्ती जस्ता हाम्रा मौलिक नाम रुचाउन थालेका छन् ।

तपाइँको प्रतिक्रिया