फ्रान्सेली तरुनीको नेपाली नाच
अहिलेका पुस्ता पश्चिमी संस्कृति , संगीत र नाचहरूको पछाडि कुदिरहेको बेला उनीचाहि पुराना नेपाली नाचका पछाडि दौडिरहेकी छन्। पञ्चबुद्ध , कुमारी , मञ्जुश्रीजस्ता पुराना नाचका पारखी नेपाली पाउन हाम्रो देशभित्रै कठिन भइसकेको छ। तर , उनीचाहिँ तिनै नाच खोजीखोजी सिक्दैछन्। सात समुद्रपारिबाट नेपाल गएर। पप र र्याप , ब्रेक डान्स र डिस्कोले बजार पिटिरहेको बेला उनलाई पुराना नेपाली नाच सिकाउन नभ्याएर हम्मेहम्मे छ।
फ्रान्सको राजधानी पेरिसबाट दुई सय ५० किमि टाढाको शहर लीलमा बस्छिन् यी मञ्जुश्री। ३० वर्षो छोटो जीवनमै उनले आफ्नै देशमा त प्रशस्तै नाम कमाएकी छन् नै। नेपाली संगीत र नाचलाई विभिन्न मुलुकमा प्रचार – प्रसार पनि गरिरहेकी छिन्। मञ्जुश्री त्यतिबेला चार वर्षी छिन्। अरुले नाचेको देखेर छम्छम् नाच्न पाए कस्तो हुँदो हो भन्ने इच्छा थियो उनमा। टीभीमा देखिने नाच र रेडियोमा सुनिने संगीतमा उनी सकी नसकी गोडा फर्काउँथिन्। पश्चिमी संस्कृतिमा लोकप्रिय ब्यालेज नाच सिक्न त्यतिबेलैबाट थालेकी हुन् उनले। तर , यी नाचले उनलाई स्थिर राख्न सकेनन्। लगातार २० वर्ष ब्यालेड सिक्दा थाकेको महसूस गरेको बताउँछिन् उनी। तर , नाच र संगीतमै भिजेको मनलाई अन्य विषयले पनि आकषिर्त गर्न सकेनन्। जीवनका यति धेरै वर्षलगानी गरेको विषयबाट दिक्क भएपछि मन बहलाउँदै नेपाल पुगिन्। उनी यसैबेला उनलाई कतै मञ्जुश्री नाच दुई अवसर मिल्यो। संयोगवश नेपालका नाच प्रशिक्षक वसन्त श्रेष्ठसँग भेट भएपछि त आफ्नो जीवनले सफलताको एउटा फड्को मार्ने अवसर नै पाएको बताउँछिन , मञ्जुश्री। उनको अनुभवमा यो नाच आकर्षमात्र छैन निकै कठिन पनि छ। अरुभन्दा यो नाचमा शारीरिक हाउभाउ बढी हुन्छ। नाच ठ्याक्क मिलाउन नाच र संगीतसँग सम्बन्धित भएर आउने हरेक देवता चिन्नुपर्छ। लय , संगीत र देवताको त्यसप्रतिको र्समर्पण पनि बुझ्नुपर्ने , संगीतमा कहिले हुरीबतास चल्छ त कहिले घनघोर वर्षा। ढुङ्गा र माटोको त्यस्तै सम्बन्ध। यो सबैसँग तारतम्य मिलाएर नाच्न सीप भएर मात्रै पुग्दैन। धैर्यता पनि चाहिन्छ उत्तिकै। जुन नाच देवताका नामबाट राखिएका छन्। ती नाच देवताको उत्पत्तिकालदेखि नै शुरु भएको मानिनाले ती देवताको उत्तपत्तिका अनेक प्रसङ्ग पनि जान्नुपर्ने बताउँछिन् , उनी।
केही समय मञ्जुश्री नाच सिकाएका वसन्त श्रेष्ठले खिरिलो शरीरको यी हँसिली मञ्जुश्रीमा प्रचुर संभावना देखेपछि आफ्नै गुरु नेपालका चर्चित नृत्य प्रशिक्षक स्व. मृगेन्द्रमानसिंह प्रधानको सर्म्पर्कमा लगे। प्रधानसँग कुमारी , झ्याउरे , मञ्जुश्रीलगायतका नाच सिक्दा सात वर्षबितेको पत्तो नभएको उनी सुनाउँछिन्। सँगसँगै उनले नेपालका अर्का नृत्य प्रशिक्षक यज्ञमान शाक्यसग पञ्चबुद्ध नृत्य पनि सिकिन्। मृगेन्द्रले भने उनलाई नाचमात्र सिकाएनन् नेवारी संस्कृतिको ज्ञान पनि राम्रैसँग दिए। अघिल्ला गुरुहरूबाट सिक्दा भएका सानातिना कमजोरी समेत सच्याउने अवसर पाइन् , मृगेन्द्रबाट उनले। हातमा आफ्ना नेपाली गुरुहरूले दिएका चुरा, घाँटीमा नेपाली पोते , निधारमा रातो ढ्याब्रे टिको र रातै सारीमा बेहुली झैं सजिएर पेरिसको नेपाली सांस्कृतिक कार्यक्रममा नेपाली नृत्य देखाउन आएका बेला उनले मुस्कुराउँदै भनिन् – “यतिले मात्रै नपुगेर पछि भारतमा गएर कत्थक भारत नाट्यममा नाच सिकें” मञ्जुश्रीले अहिले फ्रान्समा एउटा संस्था नै खोलेकी छन्, आफ्नै नामबाट। यही संस्थाबाट उनी संगीत र नाच सिकाउँछिन् यहाँ। मञ्जुश्री साँस्कृतिक संस्थाको कतिवटा साँस्कृतिक कार्यक्रम आयोजना गर्यो भन्ने हेक्का त उनलाई छैन , तर के सम्म हेक्का छ भने उनले स्वीट्जरल्याण्ड , बेल्जियम , भारत , हङ्गेरी र फ्रान्समा भएका विश्व सांस्कृतिक मेलामा नेपाली नाच र संगीत देखाइसकेकी छन्। अन्य सानातिना सांस्कतिक कार्यक्रम र मञ्चहरूमा नेपाली नाचहरू बारम्बार देखाइरहिन्छन्, उनी आफ्ना विद्यार्थीहरूसहित। जुनको ४ र ५ मा पेरिसमा आयोजित नेपाली सांस्कृतिक मेलामा उनले आफ्ना विद्यार्थीहरूसहित देखाएको नाचले निकै स्याबासी पाएको थियो। मेला कार्यक्रमका सञ्चालक नेपाली इञ्जिनियर निर्मल अर्याल भन्दै थिए – “जहाँपनि यिनको नृत्यले विशेष आकर्षा गर्छ दर्शकहरूलाई। त्यही भएर पनि हामीले उनको नृत्य राखेका हौं।” अहिले २० जना त मञ्जुश्रीका विद्यार्थी नै छन् उनीसँग तिनै पुराना शास्त्रीय नृत्य सिक्ने।
जीवनमा उज्याला क्षणमात्रै छैनन्। अँध्यारा पनि उत्तिकै छन्। उनको जीवन पनि त्यसबाट अछुत छैन। त्यसैले आफ्नो पारिवारिक घटना विवादास्पद रहेको भन्दै मञ्जुश्री उल्लेख गर्न चाहँदिनन्। तिनै दुःख लाग्दा क्षणहरूमा उनी नेपाल पुगेकी थिइन्। नेपाल पुगेदेखिका क्षणमा रोचकता थपिएको महसूस गर्न पाएकी छन् उनले । फ्रान्सेली नाम मो भए पनि उनलाई मञ्जुश्री नै प्रिय लाग्छ। आफूले पहिलो नाच मञ्जुश्री सिकेको र त्यसमा दखल देखेपछि गुरु मृगेन्द्रमानले मञ्जुश्री नाम राखिदिएकोमा उनी दङ्ग छिन्। अन्कनाउँदै नेपाली भाषामा सामान्य संवाद गर्न सक्ने उनी हाँस्दै भन्छिन् – “मिरो नेपाली नाम मान्जुसिरिइ हु। मालाई ड्यो नाम धिरिइ मन पार्छ ।“ मञ्जुश्री भारतको प्रसिद्ध संगीत समूह मुसाफिरका महाखुब खानको सांगीतिक समूहसँग काम गर्ने हैसियतमा पुगेकी छन् अहिले। फ्रान्समा चाहिं नेपाली लोकन्रित्य, कुमारी , मञ्जुश्री, पञ्चबुद्धलगायत कत्थक भरत नाट्यम र बलिउड नाच सिकाउँछिन्। यसैबाट यो उमेरमै मान र शान प्रशस्त कमाइसकेकी छिन् उनले। भन्छिन् -“म नेपाल जाँदा मेरा विद्यार्थी मलाई नै कुरेर बसिरहेका हुन्छन् यहाँ । नितान्त नौलो , अप्ठेरो र सुन्दर पनि हुनाले विदेशीहरूले यो नाच औधी रुचाउने गरेको पाएकी छन् उनले। भन्छिन् -” मेरा यस्ता नृत्यदेखि त मुर्छै पर्छन फ्रान्सेलीहरु।”
मौसमअनुसार रङ्ग बदल्दै छचल्किने ठूल्ठूला खोला , भाषा नबुझे पनि हातका पार लगाएर व्याख्या गरिदिने खुला दिलका मानिस, हिमाल र तर्राईका वन्यजन्तुको सम्झना गर्दै बसेकी छन् , यतिबेला मञ्जुश्री। चितवन सौराहाको रापती नदीमा हात्ती पखालेको , जनावर हेर्दा भागदौड गरेको , ढुङ्गामा चढेको उनका लागि भुल्नै नसकिने क्षण हुन्। कसैले उपनिवेशमा पर्नबाट जोगाएकोमा गर्व गर्ने बानी र त्यसलाई कायम राख्न प्रतिबद्ध नेपाली स्वभावको प्रशंसक भएको बताइन् उनले। “शक्तिका प्रतिक शिव र शान्तिका प्रतीक बुद्ध दुवै पाइन्छ नेपालीहरूमा। मलाई त्यो ज्यादै मनपर्छ” प्रशंसा गर्छिन् उनी। भारत, नेपाल र फ्रान्समा संगीत र नृत्य सिकाउन , कला आदान– प्रदान गर्न विद्यालय खोल्ने अठोट छ उनको। यसलाई व्यवहारमा उतार्न फ्रान्स , नेपाल र भारतका कलाकर्मीहरूसँग पनि काम गरिरहेको बताउँछिन् मञ्जुश्री। नृत्य र साँस्कृतिक कार्यक्रम गरेर रकम जोड्दैछिन् उनी अहिले। जीवनका अन्तिम लक्ष्य “एउटा दक्ष नर्तकी र शिक्षक बन्ने। केही विद्यालय खोल्ने। वरिपरि शिष्यहरू राख्ने। नेपाल वा भारतमा जीवनका पछिल्ला क्षण बिताउने छ” भनिन् उनले। काठमाडौं , आषाढ २९, २०६२ (13 July 2005)