कस्तो लम्फु राजालाई पढाएछु
प्रकाशोन्मुख पुस्तककालागि संभाबित पात्र खोज्ने क्रममा मलाई कसैले भनेको थियो-राजा वीरेन्द्रका शिक्षकपनि छन नी मार्क गाबोरियो भन्ने । यतै कतै पेरिसमा बस्छन । ओहो ! लौ धुइँपत्ताल लगाएर खोज्नुपर्यो भन्दै भिडेँ । अहँ पत्ता लागेन । यहाँका नेपालीहरुलाई त झन त्यस्तो कुरा के थाह हुनु ? हरेक पटक पुस्तकका पात्र भेटिँदै जाँदा तिनलाई सोध्दै गइयो । करिब एक वर्षपछि फेला पर्यो उनको ठेगाना । चिठि लेखेर पठाएँ । “तपाईले नेपालमा अनुसन्धान गर्नु भएको रहेछ । नेपालप्रेमी र नेपालको सच्चामित्र हुनुहुँदो रहेछ” भन्दै । राजाको शिक्षक हुनुहुँदो रहेछ भनेमा लौ दरबार संबन्धि कुरा सोध्न रहेछ भन्दै तर्कलान भनेर त्यो प्रसंगनै कोट्याइन ।किनभने दरबारमा काम गरेकाहरुलाई दरबारका गोप्यता कहिँ कतै खोल्दिन भन्ने मञ्जुरी गराएको हुन्छ दरबारले भन्ने थाह थियो । अनि यि गोराका जात त अधिकांश झन बचनका पक्का हुन्छन । त्यहि भएर दरबारको द पनि लेखिन ।
अहँ पर्खिँदा पर्खिँदा छ महिनासम्म कुनै जवाफ नआएपछि आधा मनले भन्यो-लौ बुढाले नभेट्ने भए । अर्को मनले भन्यो-कहाँ नभेटि छोड्छु ? सोध्दै जाँदा नेपाल संबन्धि काम गरेकि एक महिलाले उनले केहि वर्षदेखि ठेगाना बदलेको बताईन । देउ नत ठेगाना । फोन र ठेगाना दुबै पाएँ । उनको बारेमा तिनै महिलासित थप बुझेर थपथाप पारेर फुर्क्याउँदै शिष्ठ भाषामा अर्को चिठि लेखेर पठाएँ । तपाईको बारेमा मैले प्रशस्तै सुनेको त हो तर ठेगाना थाह थिएन । मलाई त फलानीले तपाईलाई नभेटिहुन्न भन्दै ठेगाना दिएकि पनि भनें ।
एक दिन बुढाले नभन्दै मेरो मोबाईलमा फोन गरे । उनले दिएको मिति, ठाउँ, समय सबै हुन्छ भनें । नाई भन्ने त कुरै थिएन । बुढाका बारेमा अलिकति जानकार भए खोज खाज गरेर । गएँ भेट्न । उनले पूर्व बैज्ञानिक र अनुसन्धानकर्मीहरु भेला भएर अनुभव साटासाट गर्नेठाउँ दिए । भेट भयो । गफ गर्न होटेलमा जाउँ । मैले एउटा राम्रो होटेल चिनेको छु । मेरो निम्तोमा तपाईलाई वाईन ख्वाउँछु भन्दै नजिकैको चार तारे होटेलमा लगे । शनिबार थियो । होटेलमा पुगेपछि बुढाले “ ए तपाई बाहुन है ? रक्सी खाने ब्राह्मण कि शुद्द ब्राह्मण ?” सोधे । मैले आबाछै लगाएँ । अर्थात आएको बाद छैन । रातो वाईन मगाए । आफुलाई वाईन होइन राजा वीरेन्द्रका मास्टरका कुरा सुन्न हतार थियो ।
१९६० को दशकमा नेपाल गएर अनुसन्धान गरेका । यहाँ प्राध्यापन गरेका । तिन चार वटा पुस्तक लेखेका । पैसाको के दुख ? मैले एक गिलास भन्दा लिईन । बुढाले धमाधम पिउँदै गए । होटेलमा चार्ली चाप्लिन लगायतका फ्रान्सेली ठुला ठुला राष्ट्रिय ब्यक्तित्वहरुको मूर्ती । विशाल फराकिलो । पेरिसको चार तारे होटेल । केहिबेर सामान्य गफगाफ भयो । मैले शुरुमै तपाइले जे बोल्नुहुन्छ म रेकर्ड गर्छु है भनें । उनले खरर बताउँदै गए । जन्मेको, हुर्केको, पारिवारिक प्रिष्ठभूमी । नेपाल किन र कसरि गइयो । नेपालका के कति ठाउँ पुगियो । त्यो बेलाको काठमाडौं कस्तो थियो आदि ।
वाईन आएपछि उनले हाँसो गरे-मैले छोएको पिउनुहुन्छ ? म अक्मकिएँ । किन र ? उनले उत्तर दिए-म त म्लेच्क्षेमा पर्छु नी । मैले त्यो शब्द धेरै वर्षपछि बल्ल सुनेको थिएँ । कुरा गर्दै जाँदा थाह भयो-सन १९६० को दशकमा काठमाडौं जाने उनी त पहिलो फ्रान्सेली पो रहेछन । त्यो बेला फ्रान्सेली दुतावासपनि बसिसकेको रहेनछ । उनी त्यो बेला नक्सालमा बस्ने रहेछन सानो डेरा लिएर । त्यहा बस्नुको कारणपनि खोले । त्यो मुख्य शहर बाहिर पर्थ्यो रे । सबै नेपाली मात्रै थिए रे वरिपरि ।
उनी पूर्ण रुपमा नेपाली बस्तिमा बस्न रुचाउने रहेछन । फ्रान्सेली होउन कि जोसुकै, अरु कुनैपनि देशका मानिससित उनी भेट्न नचाहने रहेछन । कारण सहजै दिए-नेपाली समाज, संस्क्रिति, भाषा र शैलीमा चुर्लुम्मै डुब्नु । नेपाली भाषा राम्ररी सिक्नु । पश्चिमेलीसँग संगत गर्यो भने बिदेशी भाषा बोलिन्छ । बिदेशी खाना खाइन्छ । सजिलो खोज्ने बानी लाग्छ । अनि नेपाली समाजबारे केहि नबुझि अनुसन्धान गर्दा एक त गहिराईमा छिर्न सकिन्न । अर्को गाउँमा जाँदा कठिन हुन्छ । ” म नेपाल त नेपाली खोज्दै पो गएको कहाँ बिदेशीसित संगत गर्ने ? सबै आफ्नै चिज खोज्ने भए नेपाल जानुमा के मजा भो र ?” पो भने मास्टर सापले त । फ्रान्सेलीका बारेमा किताब लेख्न लागेको भनेपछि उनलेपनि मलाई यो मानिस फ्रान्सेली संस्क्रिति, समाज, भाषा र शैली रुचाउने तन्नेरी रहेछ भन्ने सोचेछन ।
कुराकानी गर्दै गएँ । आफु जन्मिनु अगावै उनी सारा नेपाल पैदलमा हिँडेका । चाखलाग्दो त कति कति । जति सुन्यो उति सुनौं सुनौं लाग्ने । पोखरा, तनहुँ, धनकुटा, दाङ, धनगढी, महेन्द्रनगर, सूर्खेत कता कता हो कता कता सारा पैदलमा हिँडेका रहेछन । त्यो बेलामा एक जना भरिया लिएर रुकुम, जाजरकोटसमेत पुगेका । कालिकोटमा पुग्दा त फापर होकि मकैको ढिंडो बाहेक केहि पाइएन रे । उनी त लडाई गर्दै रहेछन त्यहि खाएर बाँच्न । तर भरियाले मानेनछ । सर यस्तो खाएर म बस्न सक्दिन । यहि बस्ने हो भने तपाईलाई छोडेर म एक्लै काठमाडौं फर्किन्छु भनेछ । भरिया रहेछ काठमाडौंको । त्यहाँको भाषा पनि नबुझ्ने, खानापनि भात, कुख्राको फुल, तरकारी केहिपनि नपाएपछि उनीभन्दा पहिले त झन नेपाली पो आत्तिएछ । परेन फसाद ? लौ त्यसो भए भन्दै फर्किए काठमाडौं ।
उनले आफ्ना यस्तै यात्राका अनुभवहरु सुनाउँदै गए । एक घण्टा पनि बढि बित्यो । अनि मैले बिचमा सोधें-तपाईले त बिरेन्द्रलाईपनि पढाउनुभएको रहेछ नी भन्दै । उनले अलि असहज महसुस गरे । उनले चिताउँदै नचिताएको प्रश्न थियो त्यो । एक घण्टा भन्दा बढि समय कुरा गरुन्जेलपनि उनले राजा वीरेन्द्रलाई पढाएको कुनै प्रसंग ननिकालेपछि उनी त्यो प्रसंग सकभर कोट्ट्याउनै चाहँदैनन भन्ने त बुझियो नै । त्यो प्रश्न झरेपछि उनले एक चुस्कि लगाए वाईन कपाल अलि अलि कन्याउँदै । अनि मुसुक्क गर्दै हो मात्रै भने । त्यसपछि उनी तर्केलान भनेर “हेर्नुस, राजा रजौटाका बारेमा बाहिर केहि आउँदैन । हामीले केहि थाह पाउदैनौं । तर त्यहि विषय एकदम चासो, चाख्लाग्दो र रोचक मान्छन मानिसहरुले । तपाइहरु जस्तै खुला मानिसबाट थाह पाउने त हो नी हामीले ” भनेर भूमिका बाधें । अनि सोध्दै गएँ, कतिबेला, कति घण्टा, हप्ता, महिनामा कति दिन । किन पढाएको, कुन ढाउँमा बसेर पढाएको । कालो पाटीमा चकले लेखेर कि हातैले कापीमा लेखेर । कसरि पढाएको । अभ्यास गर्थे कि गर्थेनन वीरेन्द्रले । किन फ्रान्सेली भाषा पढेका ? बिद्दार्थीका रुपमा उनी कस्ता थिए ?
उनी बिहान ९.३० बजेतिर जाने रहेछन पढाउन । दरबारको गाडी उनलाई लिन जाने रहेछ । दरबारको गेटमा गाडी पुगेपछि सेनाहरु जर्याक जुरुक गर्ने नै भए । टाढैबाट को हो भन्दै सोध्ने रहेछन सैनिकहरुले । डाईभरले “सरकारको मास्टर” भनेपछि सलाम ठोक्दै छोड्थे रे । दरबारको एउटा कोठामा बस्यो । हातैले लेख्यो पढायो गर्ने रहेछन । अक्षर कस्तो लेख्थे त ? शब्दै यहि त होइन तर नेपालीमा गोरुले छेरेको भन्न मिल्ने रे ।
हामी नेपालीले के सुन्दै आएका थियौं राजा वीरेन्द्र बारे ? वा हामीलाई उनको क्षमता बारे के सुनाइँदै आएको थियो ? एकदम तगडा, थुप्रै भाषा बोल्छन रे । ईटन कलेजमा तगडा बिद्दार्थीमा पर्छन रे । सब हावा गफ रहेछन । उनलाई पढाएका यि मनुवालाई हामीले सुन्दै आएको त्यहि सुनाउँदा त मुस्किलले हाँस्ने यिनको हाँसोपनि भित्ता छेडेर उछिट्टिउँला झैंपो गर्यो त ।
बेकारको कुरा-उनले भने । बिद्दार्थीका रुपमा राजा बिरेन्द्रलाई उनले गतिलो नमान्ने रहेछन । दुई वर्षसम्म दरबारमै गएर फ्रान्सेली भाषा पढाएको । तर उनलाई फ्रान्सेली भाषा बोल्नै नआउने रे । दिएको अभ्यासपनि नगर्ने रे उनले त । उनी त मलाई “क्या लम्फु राजा लाई पढाएछु” पो भन्दै थिए । उनलाई दुई वर्षसम्म पढाएकोमा पछुतो रहेछ । बेकार पढाएको भन्दै थिए उनी । केहि वर्षपछि वीरेन्द्र फ्रान्स आएका बेला उनिसित भेट भएछ । दुई वर्षसम्म फ्रान्सेली भाषा पढेका वीरेन्द्र उनीसित फ्रान्सेली भाषामै कुरा नगरेर आङ्ल भाषामा पो बोल्न थाले रे । लद्दु केहि न आउने ।
राजा वीरेन्द्रमा प्रजातान्त्रिक चेतना भएको । अलि खुला मान्छे । बाबु भन्दा धेरै असल भन्थे उनी । तर पढाइका मामिलामा भने उनी असल बिद्दार्थी होइनन सिधै भने उनले । हुनत वीरेन्द्र त्यति खेर राजकुमार न थिए । उनलाई नपुग्दो केहि थिएन । नत त्यो पढ्नुपर्ने बाध्यतानै थियो । सायद बाबुले पढ्न भनेकाले पढेको हो कि पनि अड्कलपनि रहेछ उनको । उनलेपनि गर्न के सक्ने राजकुमारलाई ? दरबारमा गयो । पढोस कि नपढोस खुरु खुरु आफ्नो काम भ्यायो फर्कियो । पारिश्रमिक लियो बस्यो । त्यति बेलाका बेलायती राजदूतले गाबोरियोलाई एकदिन उनी गतिलो बिद्दार्थी होइनन भन्ने कुरा बताईदिएका रहेछन । किनभने ईटन कलेजमा वीरेन्द्रको पढाइ गतिलो थिएन रे । ईटन कलेजमा राजा वीरेन्द्र पढ्दा के भयो ? खुब चाख लाग्दो कुरा सुनाउँदै थिए उनी मलाई । मैले यहाँ उल्लेख गरेको त यिनले सुनाएको सानो अंश मात्रै हो । बाँकि भागकालागि अब किताब नै पर्खिनु पर्ला । सबै यहिँ लेखिदिए त फेरि किताबलाई धक्का लाग्ला नि होइन ?




