भत्किएको विश्वास

डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान 

जब म माथि अन्यायको झरी बर्षीरहेको थियो

मैले “हे राम” भनें

कुनै राम आएनन  

बरु मुस्लो झर्यो आकासबाट

बज्र छिर्यो तालुबाटै 

त्यस पछी त एक पछी अर्को गरी

झम्टे राम कै हजारौ बानरहरुले। 

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙

म माथि कालकुट विष छर्कनै लाग्दा

मैले “हे शिव” भनी तिम्रो पुकारा गरें

धारा, ढल, ताल, पोखरी, नदी र नालाहरु

भरिए सब कुण्डहरु कालो जहरले

मलाई जबर्जस्ती उठाए तिम्रा भक्तहरुले

र फालें त्यही जहरको भेलमा

मैले त्यही पनि “शम्भो शम्भो” भनी कराएँ 

त्यहाँ त त्रिशुल बोकेका तिम्रा भक्तहरु रुद्र रुपमा प्रकट भए । 

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙

ज्ञान देउ ब्रह्मदेव

मैले यही मागेथें अरुहरुले जस्तै

मलाई चतुर्मुखीका चौतारियाहरुले

“सरस्वतीको अपमान गरेको” भनि श्राप दिएँ

मलाई त्यो कुटीबाटै लखेटे

“तैले बेद छुनै हुन्न” भन्दै 

आजकल मेरो चारै तिर शास्त्रधारी ब्रह्माहरु छन

म जस्तो एक लुलो र दूखीबाट बेद जोगाउन ।

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙

कस्तो अचम्म

ज्ञान पनि बर्जित भयो यो लोकमा

तथ्यद्वारा अस्वीकृत सत्य

यो लोकमा यो भेदभाव

खै कहाँ छ न्याय ?      

 ∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙

जब म आगो माग्न पुगे नारायणको दरवारमा 

पिडीमा पनि पुग्न नपाउँदै

लखेटे तिम्रा पुरोहितहरुले र भने

“प्रभुको आनन्दलाई तेरो स्वरले भंग गरेको” आरोप छ

मलाई आकासबाट सोझै पातालमा बजारे

त्यस पछी त म

न पुराणका कृष्णकोमा जान चाहे

न त इन्द्रकोमा नै ।

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙

म त सधै सिंहद्वारा लखटिएको मृग जस्तै

एक्लै टाढा सुरक्षित ठाउँबाट नियाली रहन्छु

तिमीहरु बस्ने मन्दिरको छायाँ

र पनि लाग्छ

एक दिन छायाँ बिटुलो पारेको आरोपमा

सबै देउताहरुले एक साथ श्राप पो दिने हुन किरु

आफ्ना पण्डाहरुको सुरक्षा निमीत्त।

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙

ए तिमीहरु, हाम्रा हुन नसकेका देउताहरु

जन्मिँदा नै ठुला भनिएका

माथिल्लो जातका मात्र हुने गरेकाहरू

मेरो अन्तिम बिन्ति, आग्रह वा चुनौती

जे हुन्छ त्यहि मानेर सुन

सक्छौ हामीहरुलाई हाम्रै जातका देउताहरू पठाइदेउ

वा

तिमी पनि हामी भएर बाँच्न आऊ।

ए कतै अस्तिवमा नै नभएका

भ्रमका तेत्तीसकोटीहरु

गरीब र छुन नहुने भएर जीवन कटाउन आऊ यो मर्त्य लोकमा

तिम्रै पण्डाहरुको भस्माशुर दमनराज जाँच्न आऊ।

वा

बन्द गर ए धर्मका पहेरेदारहरु

यो प्रकृतिको सुन्दर संरचनामा धावा बोल्न

मान्छे मान्छेका बिचमा दरार पैदा गर्न।

किनकि

यो हाम्रो पृथ्वी हो

हामी मान्छेहरुको।

तपाइँको प्रतिक्रिया