नेपालको कार्यक्रममा झुम्मिए फ्रान्सेली
निजि स्तरबाट मनकारी र नेपाल भनेपछि हुरुक्कै हुने फ्रान्सेलीको सहयोगमा हिजो हाम्रो मुख्य प्रदर्शनी सोचेको जस्तै भयो । हामीलाई बढिमा डेढ घण्टा भन्दै दिइएको समयमा अर्को एक घण्टा लाग्यो । नेपालको राजनितिक, सामाजिक, भौगोलिक मानचित्रबाट शुरु गर्दै ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल मध्ये १० वटा नेपालमै छन् भनेर देखाउँदा फ्रान्सेली जिल्लिए ।
मैले यो पटक अलि भिन्न प्रदर्शनी गरें । काफल पाक्यो चराको कथा । सारसलाई किन बौद्दमार्गीले मानव अवतार मान्छन् । लिम्बु, राई र गुरुङको संस्क्रितिमा चराले कस्तो भूमिका खेल्छन् । कुन चराका कस्ता नाच हेरेर मान्छेले कस्तो न्रित्य सिके ? गिद्द छानामा बस्दा किन बाहुन जातिले छानो उधारेर पूजा लगाउँछन् ?
उल्लूका के कस्ता प्रसंग हाम्रा संस्क्रितिमा जोडिएका छन् । हाप्सिलो कराउनुको अर्थ के लाग्छ ? किन हाम्रा देवी देवताका मन्दिरमा चराका चित्र कोरिन्छन् ? यहि हाम्रो धर्म, संस्क्रिति र रितिरिवाजसित संबन्धित थियो मेरो प्रदर्शनी । साह्रै हाँसे फ्रान्सेलीहरु ।
करिब सात पेजको सामाग्री मैले आधापनि सिध्याउन भ्याइन । हरेक कथाका बारेमा यस्सो जोड्दा र ति सँग संवन्धित अन्य प्रसंग सुनाउँदा, फ्रान्सेलीको सोच चाहिँ यस्तो हुन्छ भनेर तुलना गर्दागर्दै ११ बज्यो १० बजे सक्नुपर्ने कार्यक्रम । फेरि कार्यक्रम सकिनासाथ फ्रान्सेलीले थप बुझ्न खोजे आफ्नै बारेमा । मेरा दुबै किताबका बारेमा चासो राखे । फ्रान्सेली भाषामा निकाल्नको लागि काम भैरहेको सुनेपछि झनै हौसिए । चरा, जिवजन्तु लगायत नेपलका कस्ता विषय बारे जान्न खोज्ने रहेछन् फ्रान्सेलीले भन्ने कुरोपनि सुनाए, सुझावपनि दिए ।
चराका प्वाँख बाट सजाउन राखिएको चरा आकारमा उत्सुकपनि थिए ।
मुस्ताङ भनेपछि यसै आँखा तन्काइहाल्छन् फ्रान्सेलीले । खुब ध्यान दिएर हेरे । त्यहाँको द्रिष्य देखेर डराए । मुस्ताङको जिवनसित आफ्नो जिवन देख्दा ‘ओहो हामी त क्या सुबिधामा बसेका रहेछौं है !’ भन्दै थिए । दाइ मोहन मैनालीको पुनेज ट्राउजरले फ्रान्सेलीलाई समेत रुवाउँछ । त्यसबारे म अर्कै ब्लग लेखेर बाजुरा र फ्रान्सेलीका मनशायतिर लैजाउँला ।
नेपालको मायाले प्रवर्धन गरेका न हुन् फ्रान्सेलीले अरु कोहि हुने कुरो त भएन । त्यसैले फ्रान्सेली किशोरी नेपालको झण्डा झुण्ड्याउँदै थिईन् ।
चितवनको उपदाङगढिमा फ्रान्सेली सहयोगमा कफी खेती शुरु भएको छ । त्यसैकालागि यी तिन फ्रान्सेली सहयोग र अनुसन्धानकालागि गएका थिए । तिनले नेपालको क्रिषी अवस्था, स्थानिय बालीनाली, जनजिवन र आफ्नो अनुसन्धानबारे सुनाए ।
नेपालका धेरै सामाग्रि थिएनन् । त्यसैले जे थिए त्यत्तिलेपनि फ्रान्सेलीलाई आकर्षण गरेको थियो ।
अनि साथीहरुले सोलेइ भेरका तर्थबाट नेपाली वालवालिकाको अवस्था र उनीहरुको सामाजिक कामबारे जानकारी दिए । यस्ता सामाजिक काममा सबैले सहयोग गर्नुपर्छ भन्दै केहि सहयोग पनि दिए । नेपालको प्रचारप्रसार नभएकोमा गुनासो सुनाए । हाम्रा राजदूतले पोस्टर र फोटोसम्म नदिएको कुरो खुलस्त भयो त्यहिँ । कोहि कस्तो मानसिकता है भन्दै थिए । कोहि यस्तो गर्दा लेख्नुहुन्न परराष्ट्र मन्त्रालयलाई ? जे पायो त्यहि गर्नपनि मिल्छ ? भन्दै आफ्ना आफ्ना बिचार दिने भए । नेपालका तस्विर नहुँदा हामीलाई तस्विर झुन्ड्याउन दिएको ठाउँ खाली रह्यो । एक किसिमले नेपालको बेइज्जति भयो । नाथे फोटो र पोस्टर समेत बाँड्न नसक्नेले केको नेपाल पर्यटन वर्ष मनाउने भने जस्तो भो ।














