‘हेल्लो स्वीट’ र ‘नमस्ते पेन’ यात्रा

प्रवेश सुवेदी

काठमाडौं पूर्वका हिमाली क्षेत्र चहार्ने रहर पुरानै हो । हप्तौंको पैदलका लागि फुर्सद निकाल्नै मुस्किल । फेरी फुर्सद निस्कँदा गोजीपनि खँदिलो हुनुपर्‍यो । मौसम राम्रो नभए कुहिरो र बादलले कयौंदिन हिमालको मुखसम्म हेर्न दिँदैनन् । मरिहत्ते गरेर त्यहि हिमाल हेर्न गयो, हेर्न नपाए के स्वादले घर फर्कनु ?

केही फ्रान्सेली साथीहरुले अक्टोबरको अन्तिम साता केही दिन ट्रेकिङ लैजान आग्रह गरे । उनिहरूको प्राथमिकता मुस्ताङ वा अन्नपूर्णको कुनै क्षेत्रका लागि थियो । दर्जनौ पटक पुगिसकेको, यसै वर्ष मात्र दुइ पटक गएको ठाउँ कति जानु ? आफ्नैलागिपनि नौलो अनुभव हुने, काठमाडौ पूर्वको कुनै ठाउँ रोज्न सुझाएँ । पूर्वमा पहिलो रोजाई सगरमाथा हुने नै भो । तर ८-१० दिनको मात्र फुर्सदले सगरमाथा आधारशिविर पुगेर फर्किन सम्भव थिएन । दोलाखाको जिरीदेखि केही दिन हिँड्ने, अलि टाढैबाट भए नि हिमाल हेर्ने, गाउँघर डुल्ने र फर्किने निधो भो ।

दोलखाको जिरी बजारबाट उकालो लागेपछि काठमाडौंको दिक्कदार लाग्दो दैनिकी बिर्सिन बेर लागेन । आफ्नै झोलाले थिचिएर ठाडो उकालो चड्दा पसिनाले जिउ निथ्रुक्कै, स्वास बडेर हल्का स्वाँ स्वाँ भइरहेको थियो । तर जति बेशीँका खोचहरू टाढीँदै जान्थे मन झनै हलुङ्गो-चङ्गा हुन्थ्यो । अगाडी टलक्कै टल्किनै गौरीशंकर हिमालले ‘चाँडो आइज हो चाँडो’ भने जस्तो भान हुने । मध्यान्नको खुल्ला आकाशमा मुलीको देउरालीमा पुग्दा देखिएका वरिपरीका दष्य साँच्चिकै रोमान्चक थिए । जिन्दगीमा के के न पाएजस्तो । मन थाम्नै नसकेर फ्रान्सेली साथी आगाथले त एउटा थुम्कोमा चडेर उडौँला जस्तै गरीन गाँठे, हत्त पत्त क्यामेरा झिकेर एक सट दिन भ्याए मैलेपनि ।

रामेछापको शिवालय देखि भन्डारको बिचमा पर्ने देउरालीसम्मको उकालोमा फेरी अर्को चरणको आनन्द बटुलियो । जंगलबिचको बाटोमा फाट्टफुट्ट भेटिने तामाङ र शेर्पाका घरले हिमालतिर नजिकिँदै गरेको अनुभुति गरायो । नाङ्लोमा जौ निफन्दै गरेकी तामाङनी दिदीले “बसौँ भाई ढिडो खाउँ” के भनेकी थिइन तीनवर्षसम्म काठमाडौ बसेकी योलान्डले नेपालीमै भनिन् – “खोया बिर्के नि पाइन्छ दिदी?” विदेशी मान्छेले नेपालीमै यति ‘टिपीकल’ कुरा गरेको सुन्दा तामाङ बुढाबुढी मरि मरि हाँसे । उकालो जंगलमा चराका चिरविरले मन तान्यो । आगाथ पेसाले पियानो बादक रहिछन् । मैले तिम्रो पियानोले निकाल्ने धुन मिठो कि यि चराले निकालेको धुन? भनेर सोधेको उनि त निकै भावुक पो भइन् । साँच्चै हो, सिर्जनशील मान्छेको हृदय प्रकृतिले चाँडो छुन्छ, भावनामा बगी हाल्छन् हगि !

भन्डार गाँउ पुगेपछि पर्यटकिय मार्ग छाडेर घुम्ने योजना बन्यो । खासमा प्रशस्त उत्पादन हुने भएर राखिएको ठाउँको नाम भन्डार प्राकृतिक सुन्दरताको पनि भन्डारै रै’छ । थेदुङ डाँडामा रहेको झन्डै ६० वर्ष पुरानो याकको चिज फ्रयाक्ट्री पनि घुम्ने भनेपछि फ्रान्सेलीहरू मख्खै परे । फ्रान्सेलीहरु खानमा माहिर, अझै छुच्चो भाषामा भनौ ‘खानाका काल’ । चिज त यिनको जिब्रोमै झुन्डिएको छ । मलाई चै चिज उस्तो मन पर्दैन, ढुस्स गनाउँछ । खै गतिलो खान कर्मैमा नभको पो हो की ! जति खाएनि त्यै दालभात मिठो !

चलनचल्तीमा ‘याकको चिज’ भनिए पनि असली चाहीँ ‘नाकको चिज’ हो । चौरीको पोथीलाइ नाक भनिन्छ, भाले याकबाट त कसरी चिज बनाउनु? गोरूको दुध भने जस्तै हो !

फ्रान्सेलीहरू चिजका पारखी भएपनि याकको चिज भने सहज पहुँचमा छैन । युरोपेलीले याक हेर्न कि त चिडियाघर जानुपर्छ कि त नेपाल लगायतका दक्षिण-मध्य एसियाली क्षेत्र धाउनुपर्छ । त्यसैले धेरैलाइ याक अलि रूचिकै जनावर हो । तर, नेपालीले आफै चिजको स्वाद पाएर यो फ्याक्ट्री खोलेका भने होइनन् । सन १९५९ मा धुम्दै जाँदा स्वीस पर्यटकले चौरीको चिज नेपालका लागि नयाँ प्रयोग हुने ठानेर सुरू गरेका । पछी नेपाल सरकारलाई जिम्मा लगाएछन्, अहिले दुग्ध विकास संस्थान अन्तर्गत छ यो । त्यसो त अहिले पनि चिजका ग्राहक खासै नेपाली छैनन् । झन्डै तीस वर्ष चिज उत्पादनको जागिरमा चिजसँगै खेलेका समर बहादुर घिमिरेलाइ पनि चिज खान भने दशैं नै आउनु पर्छ रे । छुट्टीमा घर जाँदा अलिकति कोशेली पोको पार्ने हो अरुबेला त सुध्ने मात्र पो हो भन्छन त !

नियमित पर्यटकका पदमार्ग भन्दा जंगल र चौरी गोठ जाने बाटाहरू फराकिला र सजिला । बर्षेनी गाविसमा जाने बजेटले गोरोटा सुधार्न के ले छेकेछ कुन्नी । मन भए गाउँले जुटेरै बजेट बिनै नि सुधार्न सकिन्छ । पर्यटकलाई कालो चियाको ४० रुपैयाँ उठाउँनेले बाटोमा उनिहरू कसरी हिँड्छन् त्यो पनि ख्याल गर्नुपर्ने हो । कि अप्ठेरा बाटा नै नेपालका पहिचान हुन भनेर देखाउन खोजिएको हो बुझिएन । चुचुरे गाउँमा अप्ठेरो बाटो झर्दा साथी एडवीज दुइपटक सम्म लडिन, धन्न ठुलो चोटपटक लागेन ।             

सर एडमन हिलारीले सगरमाथा आरोहण गर्दा प्रयोग गरेको नेपालकै पुरानो पदमार्ग हो यो । कुनै बेला विदेशी पर्यटकले खचाखच हुने यो मार्ग अचेल हवाइ मार्गले काठमाडौँलाई सिधै नाम्चे र फाप्लुलाई जोडेपछी निकै पातलिएको छ । यति लामो इतिहास बोकेको पदमार्गमा हिँड्दा धेरै रमाइला अनुभव भएपनि कतै कतै खल्ला अनुभब पनि समेटिए । खासगरी विदेशी देख्ने बित्तिकै केटाकेटीका हुल पछी लागेको देखेर मन खिन्न भयो । प्राय: हरेक गाउँमा बिदेशी देख्ने बित्तिकै बाबुआमा नै केटाकेटीलाई केही माग्न पठाउँथे । केही नदिने पर्यटकलाई ‘छुच्चा’ र लुच्चा भन्दै फर्कन्थे । फ्रान्सेली मध्ये योलान्डले नेपाली बुझ्ने भएकाले केटाकेटीले के भने उनले सबै फ्रान्सेलीलाई सुनाउँथिन । समुहको एउटा मात्र नेपाली हुनुको नाता मलाई चैं भित्रसम्म घोच्यो यो कुराले ।

राम्रोसँग बोली पनि नफुटेका केटा-केटीका मुखमा कि त ‘हेलो स्वीट’ कि त ‘नमस्ते पेन’ झुन्डिएको थियो । माग्नु त एउटा संस्कार जस्तै बनेको । दशकौँ देखि पर्यटक अहोर-दोहोर गर्दा स्थानीयले दुइचार पैसा त कमाए होलान तर के सिकेछन् त ? र आफ्ना सन्ततीलाई के सिकाउँदै छन् ?  यस्तो समस्या नियमित पर्यटक मार्गमा बाहेक अन्यत्र भने देखिएन् । अन्यत्र पनि केटकेटी धुइरिन्थे तर नमस्ते भन्दै मुसुक्क हाँसेर स्वागत गर्थे, फर्किन्थे । पर्यटनले ल्याएको विकास पो रछ कि?

रमाइलो यात्राबाट फर्केको हप्तादिन बितिसक्दा पनि मनमा त्यहि गौरीशंकर टल्केको छ, केटाकेटीका मुहार मुस्काइरहेका छन्, चराको चिरविर अझै कता कता गुन्जिएजस्तो लाग्दैछ ।

तपाइँको प्रतिक्रिया