हजारौंलाई उछिनेर फेरी जिते रोबीनले फ्रान्सेली पुरस्कार

विश्वका भान्छामा ईटालियनहरु दादा भनेपनि हुन्छ । तिनको आफ्नो देश बाहिरपनि एक छत्र जस्तै छ । ईटालियाली खाना त्यो मुलुक बाहिरपनि उत्तिकै लोकप्रिय र रजाईँ चलाउने खालको छ । यूरोपका सबैजसो मुलुकमा ईटालियालीहरुका सयौं हजारौं रेस्टुरेन्ट छन् । विश्वभरि मानिएको, लोकप्रिय खाना र त्यसमापनि सयौंको भीडमा मात्र एक नेपालीले प्रतिस्पर्धा गर्ने ? अपत्यारिलो लाग्छ । तर चितवन भण्डाराका मित्र रवीन शर्मा ओलीले विश्वभरि मानिने तिनै खानाका दादा ईटालियालीहरुलाईपनि उछिनेर पापिए दोर नामको फ्रान्सेली पुरस्कार हात पारे । उनले नेपालीको शान मान र गौरव त बढाएनै चितौनेहरुको ईज्जतपनि थप चम्काए ।

प्रतिस्पर्धापनि थोरैसित गरेका हुन् र ? विश्वभरिका खाना बनाउने करिब छ हजार रेस्टुरेन्टसित उनले प्रतिस्पर्धा गरेका थिए । एसोन भनिने अञ्चल स्तरिय क्षेत्रका विश्वभरिका थरी थरी खाना बनाउने रेस्टुरेन्टहरुको भिडमा उनी एक्लैले प्रतिस्पर्धा गरे । सन् २००९-२०१० को उत्क्रिष्ठ खानामा उनको जार्दाँ हिमालय (हिमाली वगैंचा) ले यो पुरस्कार जितेको हो ।

(अघिलो पंक्तिमा सबैभन्दा देब्रे हातमा पुरस्कार लिएर पत्नी सपनासित। बाँकीले सान्त्वना लगायत अन्य बिधाको पुरस्कार लिएका हुन्) ।

यस्सो भाग लिइहाले लाटाका खुट्टा बाठाँ पर्छ कि भन्दै उनले साहस गरेका रहेछन् नाम लेखाएर । नजितेपनि यस्सो अनुभव हुन्छ, सरकारी अधिकारी र अन्य मानिस चिन्ने अवसर त हुन्छ । पुरस्कार घोषणा गर्ने दिनपनि मेयर कार्यालयका अधिकारीसहित सयौं सहभागि भएको हलमा उनी पुछारमा बसेका रहेछन् पढ्न लोसे बिध्यार्थी पुछारको बेन्चमा बसेझैं । भारतीयहरुको तामझाम देखे अहिलेनै पाइन्छ झैं गरेर । कतिपय भारतीयहरु रेस्टुरेन्टनै बन्द गरेर पुरस्कार थाप्ने पक्का भएझैं गरेर तामझामका साथ गएका रहेछन् । उनी आफ्नी पत्नी सपनासहित गुमनाम पछाडी बसेछन् । तर आयोजक र निर्णायककर्ताले यो वर्षको सर्बोत्क्रिष्ठ भन्दै उनैलाई बोलाउँदा उनी छक्क परे । हाम्रा सयौं रेस्टुरेन्टका अगाडि त्यो नाथे एउटै रेस्टुरेन्टले जित्ने भन्दै भारतीयहरुपनि मुर्मुरिएछन् ।

(पुरस्कार जितेपछि नेपाली खानाबारे भाषण ठोक्दै रवीन)

पुरस्कार जित्नपनि कहाँ सजिलो छ र ? त्यो अञ्चलभरिका रेस्टुरेन्टले पहिले नाम लेखाउनु पर्छ । अनि आयोजकका तर्फबाट पहिलो पटक यस्सो बाहिरबाट गोप्य तरिकाले हेर्न आउँछन् । दोस्रो पटक गोप्य तरिकाले फेरी भित्री वातावरण हेर्छन् । कर्मचारीको ग्राहकसित गर्ने ब्यवहार बुझ्छन् । खाना दिने तौरतरिका, प्रस्तुत कला, सरसफाइ सबै बुझेर फर्कन्छन् । त्यसमा उचित लागे तेस्रो पटक एक जना सर्वसाधारण, एक जना मेयर कार्यालयका कर्मचारी र एक जना खानाका विशेषज्ञ आएर खाना चाख्छन् । अनि चौथो चरणमा भान्छाको सरसफाइ, खाना ल्याउने माध्यम (कस्तो गूण भएको कम्पनीको, भान्छामा राख्ने तरिका, पकाउने भाँडा, भान्छाको सरसफाइ, खाना बनाउने कच्चा सामानको गूण जाँच गरेर जान्छन् । त्यो सबै प्रक्रियामा सबै भन्दा उच्च हुनसके बल्ल छनौट हुन्छ । उनी यो सबै प्रक्रियामा अब्बल देखिए ।

पुरस्कार जितेर आएकै साँझ सालको मुढो भन्दा मोटो नाक बनाउँदै फोन हान्दै सुनाए “यो सारा नेपालीको लागि गौरवको कुरो हो, मैले मात्रै जितेको होइन यो सारा नेपालीले जितेको ठान्छु म’। नेपाली खानामा उनले बनाएको पहिचान र छनौटले नेपाली खानापनि विश्वमा कम छैन भन्ने दरिलो उदाहरण प्रस्तुत गरेको छ ।

(पुरस्कार जित्ने रेस्टुरेन्टको एक झलक)

गतसालपनि उनको अर्को रेस्टुरेन्ट समा द हिमालय भन्नेले यहि पुरस्कार जितेको थियो । यो जार्दाँ द हिमालय रेस्टुरेन्ट उनको दोस्रो हो र उनले यसै वर्ष खोलेका हुन् । यस अघि पेरिस क्षेत्रबाटपनि घनश्याम पौडेलले आफ्नो रेस्टुरेन्ट श्रीगणेशका तर्फबाट पुरस्कार जितेका थिए । यसरि पुरस्कार जित्ने रेस्टुरेन्टको पत्रपत्रीकामा प्रचार प्रसार हुन्छ । मेयर कार्यालयले सिफारिस गर्छ र ग्राहकहरुले बढि विश्वास गर्छन् ।

-संवन्धित ब्लग-

पाँच हजारलाई उछिनेर जिते रबीनले फ्रान्सेली पुरस्कार

पेरिसवासी घनश्यामलाई ‘सुनको काँटा’ पुरस्कार

तपाइँको प्रतिक्रिया