फ्रान्सेलीले बनाइदिए नेपालमा झोलुंगे पूल
उनीहरु खासै हिँड्दैनन् यो पूलबाट । उनीहरु नेपालका हिमाल चहार्न, खोलानाला नियाल्न र हाम्रो संस्क्रिति चाखेर दंग पर्न जाने हुन् एकाध वर्षमा एक दुई पटक । त्यसैले ठान्नुपर्ने हो, तिनका समस्या तिनैले हल गरुन् । तर बिकट पहाडी गाउँका स्थानिय जनता फुत्त दुई पाइलामा पुगिने ठाउँ घण्टै नागबेली पाराले हिँडेर पुग्नुपर्ने बाध्यता देखेपछि केहि फ्रान्सेलीको मन खायो । त्यसैले उनीहरुले यो झोलुंगे पूल बनाइदिए सगरमाथा क्षेत्रको हेवा गाउँमा ।
सगरमाथा क्षेत्रका स्थानिय जनताको शिक्षा, खानेपानी र स्वास्थ्यकालागि मानविय सहयोग गरिरहेको फ्रान्सको ‘नेपाल ए भु (नेपाल र तपाई) भन्ने संस्थाले बनाइदिएको हो यो पूल । उनीहरुले करिब ४५ लाख रुपियाँको लगानीमा बनाइदिएका हुन् । गत साताबाट हेवा लगायत वरिपरिका स्थानिय जनता यसबाट ओहोरदोहोर गर्न थालेका छन् ।
(झोलुंगे पूलका बाहेक अन्य फोटा चाहिँ गत साल नेपाल ए भु को नेपाली साँझ कार्यक्रममा गएर म आफैंले खिचेको हुँ)
४५ लाख रुपियाँ भनेको ४५ हजार यूरो हो । फ्रान्सेलीकै लागिपनि यो ठूलो रकम हो । एकाध ब्यक्तिबाट यस्त्रो रकम उठ्न संभव हुन्न । त्यसैले नेपाल ए भुका फ्रान्सेलीहरुले वर्षैपिच्छे नेपाली पर्व, नयाँ वर्ष र विदाको बेला पारेर नेपाली साँझ आयोजना गर्छन् । नेपाली खाना चखाउँछन् फ्रान्सेलीलाई । पर्यटक भिसामा नेपाल जाँदा सामान ल्याउन पाउने आफ्नो विमान सुबिधामा नेपालका सामान किनेर ल्याउँछन् । तिनलाई यहाँ यस्तै नेपाली साँझमा प्रदर्शनी गर्छन् र बेचेर रकम जम्मा गर्छन् । हो त्यहि थोपा थोपा जम्मा गरेर निर्माण गरिएको हो झोलुंगे पूल । करिब ६ महिना लगाएर यो पूल निर्माण गरिएको हो ।
यो पूलको उद्घाटन गर्न नेपाल ए भुका अध्यक्ष जँ पियर मेर्सिए आफैं नेपाल पुगेका थिए । त्यहिँबाट उनले यि तस्विर र जानकारी पठाएका हुन् नेपालप्लसलाई । उनले यो पूल बनाउन सहयोग गर्ने अन्य फ्रान्सेली संघ संस्था र आफ्नो कार्यक्रममा सहभागि भैदिने मनकारी फ्रान्सेली र आफ्ना मित्रहरुलाई धन्यावाद दिएका छन् । आफ्नो देश, गाउँ र समाजको विकासमा चासो राखेको भन्दै त्यहाँका नेपालीकोपनि खुला मनले प्रशंसा गरे । उनले आफ्ना मनकारी मित्रहरुलाई यो खबर नेपालबाट ईमेल मार्फत पठाउँदै भनेका छन् ‘हाम्रालागि सानो मानविय सहयोग, शेर्पा समूदायकालागि ठूलो काम’।
यो पूल बनाउन पटक पटक नेपाल पुग्दापनि नेपाल ए भुका अध्यक्ष लगायत त्यस संस्थाका पदाधिकारीहरुले नेपालको पर्यटकिय भिसाको दस्तुरसमेत तिरेर गएका हुन् । ‘हामीले तिम्रो देशमा यत्रो काम गर्यौं’ भनेर कुनै सुविधा मागेनन् । मन्त्री बोलाएर तामझाम गरेनन् । पत्रकार बोलाएर सस्तो प्रचारबाजी गर्नपनि चाहेनन् । स्थानिय जनताको हाँसो, खुशि र सुविधा नै उनीहरुको लागि प्रशस्त भयो ।









