लघुकथा : शिकारी

रन्जु ‘मार्ग’ / अमेरिका 

ईश्वरी देवी एक सामाजिक कार्यकर्ता थिईन् । उनी गाउँ गाउँमा जनचेतना फिजाउँदै  हिँड्ने  गर्थिन । समाजमा उनको निक्कै नाम र इज्जत थियो । त्यो दिनपनि उनको  जनचेतना  फिँजाउने  एक  महत्वपूर्ण कार्यक्रम थियो । उनी सुदूरपश्चिमाञ्चल क्षेत्रमा  विधमान विभिन्न प्रथाहरु  मध्ये  ‘छाउपडी ‘प्रथाको बारेमा मन्तब्य दिईरहेकी थिईन् ‘हाम्रो  देशमा  अझैपनि  विभिन्न  किसिमका  प्रथाहरुले जरो गाडेर बसेको छ । ती प्रथाहरु  मध्ये ‘छाउपडी’ प्रथा पनि एक हो ।

‘छाउपडी’ भनेको सुत्केरी वा रजस्वला भएकी महिलालाई घरमा नराखेर घर देखि अलिपर छुट्टै गोठमा राखिन्छ । त्यतिबेला उनीहरुलाई दुध दहि, माछा, मासु केहिपनि खान दिँदैनन । यदि  उनीहरुले  खाए  भने  घरका  देवता,  पितृ रिसाउँछन् । घरमा अनिष्ट हुन्छ भन्ने गहिरो  मान्यता रहीआएको छ ।

यस्तो बेलामा महिलाहरु घरदेखि बाहिर गोठमा बस्नु पर्ने, पौष्टिक आहार खान नपाउने, राम्रो  लुगा  लगाउन  नपाउनुको  साथै  गोठमा  एक्लै  बस्नुपर्ने  हुनाले जंगली जनावरले आक्रमण गर्ने सम्भावना हुन्छ । यसबाट महिलाहरुको ज्यान जोखिममा पर्दैआएको छ । यो एक  किसिमको महिलामाथि  हुने हिँसा मात्र नभएर सम्पूर्ण मानव माथिको एक कलङ्क हो । यस्तो अमानविय कुप्रथालाई तपाई हामि सबै मिलेर समाजबाट हटाउनु जरुरी छ ।

उनको मन्तब्य सुनेर त्यहाँ भेला भएका सबै जनाले ताली पिटे ।  यता त्यतिनै बेला  गाँउको एक युवक उनको नजिक गएर भन्दै थिए ‘दिदि ! दिदि ! तपाइको बुहारीलाई  छाउपडीको बेला बाघले झम्टिएर …….!!!!  हजुर छिट्टै घर जानु परयो रे । त्यहाँ  उपस्थित जमात निशब्द  इश्वरी  देवीलाई  हेरिरहेका  थिए ।

तपाइँको प्रतिक्रिया