नेपाली कफीले तान्ला त फ्रान्सेली जिब्रो ?
‘कुन देशको कफी खेती घुमाउँ तपाइहरुलाई ?
नेपाल ।
‘ए ए सरी नेपाल त सक्दिन अरु जुन देशपनि सक्छु’
नेपाल चाहिँ नसक्ने किन ?
‘तपाईहरु अल्छि भएर, सायद पैसाले पुगेरपनि हुन सक्छ’
किन नी ?
‘खै हाम्रो देशमा त तपाइहरुको कफी आइपुग्दैन के रे, के भन्ने त ?’
तपाइहरुले हेला गरेर होला बरु ।
‘होइन, हामी त त्यो सर्बोच्च ठाउँको कफी खेती घुमाउन पाए औधी खुशि हुन्थेम’
ए, ल अब घुमाउने मेसो गरौं न त हुन्न ?
‘तपाइको देशको कफी पाए त हामी प्राथमिकतामा राखेर खुवाउँथ्यौं फ्रान्सेलीलाई। सगरमाथामा पहिलो घामको झुल्को टुप्लुक्क पर्दा त्यहिँको कफी भन्दै फ्रान्सेलीलाई खुवाउँथ्यौं । हामीलाई नेपालको कफी चखाउन नसकेपछि उनले विश्वका थुप्रै देशका कफी देखाइन् । ‘कोस्टारिकाको कफी कडा हुन्छ’ भन्दै उनले चखाइन् ।
लिल शहरमा एक फन्को मारेर लियोंको एक प्रसिद्द कफी ब्यापारीकहाँ पुग्दा एकाबिहानै कफी ब्यापारी एक महिलाले खुब ब्यंग्य गरिन् । विश्वभरिका कफीका थरी थरी रुप थिए उनको पसलमा । लाम लागेका डिब्बा । बोराका बोरा कफी सबैजसो देशका । भारतकै पनि कफी र चिया टन्न थिए । नेपालको थिएन । हामी नेपालको कफीको ब्यापार खोज्दै पुगेका थियौं । त्यसरि कफीकालागि बजार खोज्नु हाम्रो आफ्नै योजना र कारण थियो ।
(यीनै डाँडामा हो कफी झुल्ने अब । फाइल फोटो/ रुपेन्द्र कर्मचार्य)
चितवनको उपरदाङगढि (सिराइचुली पहाडको आसपास) कफी खेती शुरु गरेका नेपालप्रेमी फ्रान्सेलीको सहयोगमा । चितवन भनेर के गर्नु ? पहाडी भागको अन्य वस्ति जस्तै । जाडोमा कहिलेकाहिँ त हिउँनै पर्ने । रुखो जमिन । धानका बाला झुल्नु त के कोदो र मकैलेपनि साथ दिँदैन आकाशे पानीले स्पर्श नगरे। त्यहाँका स्थानिय वासिन्दालाई कसरि साथ दिन सकिन्छ भने खोजि हुँदै गर्दा फ्रान्सेली खेती विशेषज्ञ पुगे त्यहाँको माटो परिक्षण गर्न । कफी खेती गज्जबले हुन्छ भन्ने सुझाव आयो । आफ्नो माटो सुहाउँदो हावापानी मिल्छ कि मिल्दैन कफीलाई भनेर स्थानिय विशेषज्ञबाट सुझाव लिँदा फ्रन्सेले विशेषज्ञका रायसित ट्याक्क मिल्यो । ल उसो भए कफी खेती गर्ने ।
खेती त गर्ने तर त्यसलाई कसरि बेच्ने त ? कहाँ बेच्ने ? कफी उत्पादन हुनु अघिनै बजार खोजौं भन्ने सल्लाह भयो । कफीका पारखी फ्रान्सेलीहरुलाई किन नताक्ने ? त्यसैको शिलशिलामा पुगियो कफी खेतीको बजार खोज्न । मेरो साथमा थिईन मारि एडविज ।
कफी खेतीको स्वाद कस्तो राम्रो । कस्ता कफी रुचाउँछन् । अरु देशबाट कसरि आउँछ । बिक्रि हुन्छ कि हुन्न ? त्यो कफीको दानालाई कसरि तयारी पार्ने ? सबै हेरियो । पछाडि कफी बनाउने ठूला मेशिन र गोदाम । सडकमा जोडिएको सानो पशल जहाँ कफीका दानालाई मेशिनमा तताउने, बोक्रा निकाल्ने र उत्तिखेरै पेलेर ताजा कफी खुवाउने रहिछिन् उनले । एक्काबिहानै ताजा कफी किन्नेको भिडपनि उत्तिकै लाग्ने ।
मध्यम खालको कफीको मेशिनलाई फ्रान्समा १० लाख रुपियाँ जति पर्ने रहेछ । त्यसले एक पटकमा १० किलो कफी तताउँछ । रातो रातो भएर झिरिम्म परेपछि फेरि त्यहि मेशिनले सेलाउँछ । पाँच किलो मात्रै तताउने र पिँध्ने कफी मेशिनपनि पाइन्छ भन्थिन् उनी । भारतमापनि यस्तो मेशिन पाउन संभव छ तर फ्रान्सेली मेशिन स्तरिय हुन्छ । उनले भारतमासमेत कफी खेतीको अध्ययन गरेकाले उनलाई अझ बढि ज्ञान छ नै । यस्तो मेशिन फ्रान्सबाट नेपालनै लान परेपनि खासै मुश्किल नहुने अनुभवपनि छ उनको । एक पटक किनेपछि दश पन्ध्र वर्ष टिक्छ ।
कफी सेलाएपछि तताउने मेशनकै बिच भागमा कफी राख्ने र त्यसले पिँध्ने हुने रहेछ । बरु त्यसलाई पिँध्नुपहिले कफीको पहिलो बाक्लो बोक्रा फालेपछि फेरी मसिना सेता छोक्रा आउने रहेछन् । त्यसलाई उनीहरु पेलिक्युल (नेपालीमा चायाँ) भन्ने रहेछन् । मेशिनसँगै जोडिएको अर्को सानो मेशिनमा राखिने रहेछ र त्यसको बिच भागमा पानी हुने रहेछ । त्यो पानीले ति चायाँलाई सोसेर मेशिनको भित्तामा टाँस्ने रहेछ । कतिपय ठाउँमा यो चायाँ झिक्ने प्रचलन र अक्किल नहुँदा कफीको स्वाद मिठो नहुने रहेछ ।
कफी बिमानबाट ल्याउन असंभव होइन तर महँगो पर्ने हुनाले पानी जहाजबाट ल्याउने रहेछन् । नेपालसित बन्दरगाह छैन कसो गर्ने त ? सरकार प्रतिबद्द भए ब्यापारिक संझौता गरेर भारतको बन्दरगाहबाट ल्याउन सकिनेमा ढुक्क देखिन्छन् उनी । बन्दरगाह नभएका अरु देशका कफीपनि फ्रान्समा आफूले ढुक्कसित बिक्रि गरिरहेको सुनाइन् उनले ।
ग्राहकहरु आफ्नै आँखा अगाडि बनाएको कफी खान धेरै लोभिन्छन् । आँखाले देख्दा देख्दै बनाएको कफी खान मान्छेहरु टाढा टाढाबाट समेत उनको पसलमा आउने रहेछन् । उनको यो पसल मात्रै होइन, धुलो बनाएका कफीका पाकेट समेत बिक्रि गर्छिन् उनी । नेपालको कफीलाई फ्रान्सेली जिब्रोमा पारखी बनाउन सकिन्छ भन्ने उनको तर्क गज्जबको थियो । फ्रान्सेलीहरु नेपाल नचिन्ने कोहि हुँदैनन् । अर्को कुरा हिमाल भनेपछि हुरुक्कै हुन्छ यो जाति । नेपालको कफी, हिमालको कफी, सगरमाथाको कफी, अन्नपूर्णको कफी, हिमाली हावाले डामेको कफी भनेर बिक्रि गर्ने हो भने नेपालको कफीले अरु धेरै देशका कफीलाई पछाडी पारिदिन सक्छ । नेपालको कफी पाए सजिलैसित मनग्गे बेच्न सक्ने विश्वासपनि दिलाईन् उनले ।
हामीले उनलाई करिब १६०० मिटरमाथि अहिले कफी खेतीको ब्याड राखिरहेको जानकारी गरायौं र अब ६० जना क्रिषकले कफी खेतीबारे तालिम लिने तरखर गरिरहेको जानकारि दियौं । दोस्रो वर्षमा कफीका दाना झुल्छन् । अनि तिनलाई फ्रान्सेलीका जिब्रोमा भेट गराउनुपर्छ भनियो । उनले सानातिना पहाडमा झुलेका केहि सय बोरा कफीकालागि टाढा जानु नपर्ने, अन्यत्र ग्राहक खोज्दै धाउनु नपर्ने भन्दै ढुक्क बनाइन् । कफी उत्पादन, कफी बजार, कफीको गूणमा पारखी उनी फ्रान्समा नेपालको कफीले राम्रो बजार पाउँछ भन्नेमा पनि विश्वस्त रहिछिन् । कारण त्यहि हो, हिमालसँग जोडिएर आउने उत्पादन ।
नेपाल भनेपछि फ्रान्सेलीहरु कति निकट र मायालू हुन्छन् भने अचम्म लाग्छ । नेपाल र नेपालीबारे उहिँ पुगेझैं गरेर खरर बताउँछन् । त्यो देशकालागि, ति नागरिककालागि केहि गर्न पाए हुन्थ्यो झैं गर्छन् । उनले पनि नेपालसित कफीको नाता गाँसेर केहि गर्न पाए हुन्थ्यो भनेर हौसिइन् ।












