फ्रान्समा बन्दैछ नेपाली घर
–ददिराम सापकोटा, पेरिस फ्रान्सको ख्रेजीलेमो शहर निवासी उर्मिला अर्यालकी छोरी अस्मिता उमेरले तीन वर्षपनि पुगेकी छैनन्। फ्रान्सेली र नेपाली दुवै भाषा सिक्ने मध्यमकालमा रहेकी उनकी हजुरआमालाई भने उनको विवाहका बारेमा अहिलेदेखि नै चिन्ता लाग्न थालेको छ। “विदेशी संस्कृतिबाट आफ्ना नाति –नातिनालाई कसरी जोगाउने भन्ने चिन्ता हुने रैछ। यी विदेशीको संस्कृतिले हामीलाई चल्दैन“- अस्मिताकी हजुरआमा चन्द्रा अर्याल भन्छिन्। विदेशमा जन्मिएका वा हुर्किएका सन्ततिलाई विदेशी संस्कृतिबाट कसरी जोगाउने , नेपाली संस्कृति र परम्परामै कसरी बाँध्ने – यहाँका आम नेपालीको साझा पिरलो हो यो।
त्यसैले आफ्ना सन्ततिलाई नेपाली संस्कृतिमै हेलमेल गराइराख्न नेपालीहरु जमघट गरिन्छन्। न्वारान , पास्नी , ब्रतबन्ध नेपाली परम्पराबाटै फत्ये गर्छन्। शुद्ध नेपाली संस्कृतिअनुसार नै गर्न यहाँ संभव नभए पनि केही देवी– देवताका फोटा टाँसिन्छन्। बन्द कोठामा भए पनि केहीबेर द्यौसी र भैलो भट्याएर रमाइलो गर्छन्। नेपालबाटै ल्याइएका धूप बालिन्छन्। अक्षता मुछेर पशुपति र विभिन्न देवी –देवताका फोटोमा पूजाआजा गरी नेपाल पुगेको अनुभूति गर्छन्। यस्तै कार्यक्रममा हुने जमघटले पनि नेपालीहरुलाई आफ्नो भाषा , संस्कृति र चार्डपर्वको तिर्खा मेटाउँछ धेरै हदसम्म।
सभ्यता, संस्कृति र सम्पन्नताको नगरी ठान्दै विभिन्न सपना लिएर त आउँछन् नेपालीहरु। तर , यहाँको विकृत समाज र छाडापन देखेपछि त झस्कन्छन् , कतिपय नेपालीहरु। भौतिक सुख , सुविधा र सम्पन्नताले मात्रै जीवन पूर्ण नहुने रहेछ भन्ने महसूस हुन थाल्छ। पश्चिमी जगतमा अझै पनि संयम, उदार, मिलनसार र सहयोगीको विशेषणले चिनिएका नेपालीहरु यहाँ खुशी होउन् पनि कसरी – निजी स्वार्थलाई पहिलो प्राथमिकता दिने यो समाज यति स्वार्थी भइसकेको छ कि आफ्ना बाबुआमाको घरमा एकछाक पनि पाइँदैन पूर्व अनुमति लिएर नगए। हुर्किएका सन्तान र बाबुआमाबीचको माया , प्रेम र सम्बन्ध वर्षा एकाध चार्डपर्वमा उपहार साट्नमा सीमित हुन थालेको छ। हुर्कंदै गरेको बालबच्चा साथमा हुँदाहुँदै पनि घरको झयाल कुन दिशातिर फर्काउने भन्ने विवादले पति र पत्नीबीचको सम्बन्धबिच्छेद हुन्छ।
यस्तै साँघुरो सोचाइको प्रतिफल होला यो देशमा हरेक तीन विवाहमध्ये एउटा पारपाचुके हुन्छ। राजधानी पेरिसमा त झन् हरेक तीनमध्ये दूईवटाको पारपाचुके हुने गरेको तथ्यांक छ। बाबुको घर नभएर हीनताबोध खपी बस्ने बालबालिका पनि प्रशस्तै पाइन्छन्। त्यतिमात्रै होइन। समाज र परिवारभन्दा व्यक्तिको निजी स्वार्थ तथा सुख र सुविधालाई प्राथमिकता दिनाले समाज एकलकाँटे , स्वार्थी र निर्दयी बन्दै गइरहेको छ। आमा अस्पतालमा थला परेकी छे , तर बाबु हिउँमा चिप्लेटी खेलेर रमाइरहेको हुन्छ। लोग्नेबाट सताइएकी दिदी परिवारका सहयोगी हात खोजिरहेकी हुन्छे। भाइबहिनीचाहिँ यो मेरो समस्या हैन भन्दै डिस्कोतिर लाग्छन्। बच्चाहरु घरमा बाबु कुरेर बसिरहेका हुन्छन् , तर पत्नीसँग ठाकठुक गरेको पति कतै पार्क वा भट्टीमा अर्कै महिलासँग घण्टौं चुम्बन गरेर बिताइरहेको हुन्छ। यही छाडा संस्कृतिबाट आफ्ना सन्तान जोगिउन् भन्ने चाहना अधिकांश नेपालीमा छ। “हामी नेपाली र यी गोराको केही पनि मिल्दैन। यिनको संस्कृतिमा त हामी नेपाली रमाउनै सक्दैनौं“- अर्याल भन्छिन्।
यहाँको यही विकृत संस्कृतिका कारणले होला नेपालीहरुले आयोजना गर्ने कार्यक्रममा विदेशीहरुको आकर्षा बढ्दो छ। त्यसैले हरेक नेपाली कार्यक्रममा नेपालीकै हाराहारीमा विदेशीहरु उपस्थित भएर मुक्तकण्ठले नेपाली संस्कृतिको प्रशंसा गर्छन्। पेरिस निवासी चितवनका कम्प्युटर इञ्जिनियर कृष्ण अधिकारीका छोराको पास्नीमा नेपाली संस्कृतिको त्यसैगरी प्रशंसा गरेका छन् , फ्रान्सका पूर्व सांसद र्रबर्ट ल फलले। नेपालबाटै झिकाइएको पास्नीको पहिरन नियालेर हेर्दै बच्चालाई भात खुवाएपछि उनले भने – “नेपाली संस्कृति ज्यादै धनी भएकाले म भावनात्मकरुपमै नेपाली कार्यक्रममा आउँछु। हाम्रो देशमा यस्तो चलन नभएकाले नेपाली कार्यक्रममा आउँदा मलाई खुशी लाग्छ।“
तर, पूर्णरुपमा नेपाली संस्कृतिलाई जीवन्त राख्न भने यहा ूका नेपालीहरुलाई सजिलो छैन। किनकि पूजापाठ र धार्मिक कार्यका लागि आफ्नो धर्म र संस्कृतिअनुसारका मठमन्दिर छैनन्। फाट्टफुट्ट भएका मन्दिरमा पनि घण्ट बजाउने , शंख फुक्ने , होम हाल्ने , भजन –किर्तन गर्ने र सामाजिक प्रदर्शनी गर्न पाइन्न। पूजापाठ र अन्य धार्मिक कार्यका लागि पुरेत पाइँदैन। रेष्टुरेन्ट वा भाडामा लिएका हलहरुमा नेपाली संस्कृतिको झल्को दिने न कुनै सामग्री हुन्छ न त सुविधा नै। त्यसैले नेपालको विभिन्न जाति , धर्म र संस्कृतिअनुसारका कार्यक्रम गर्ने उपयुक्त थलोको अभाव धेरै अगाडिदेखि यहाँ खड्केको हो। त्यसलाई पूरा गर्न अहिले यहाँका केही नेपालीहरु नेपाली सांस्कृतिक घर निर्माण गर्न कस्सिएका छन्। त्यसको निम्ति बनेको समितिले सदस्यता शुल्क , नेपाली कार्यक्रम आयोजना गर्ने तथा नेपालसम्बन्धी प्रदर्शनी गर्दैआएको छ। यही महिनाको अन्तिम साताबाट फ्रान्सको रुवाँ शहरमा हुन लागेको एशियाली फिल्म फेस्टिभलमा पनि समितिले नेपाली हस्तकला बिक्री गर्नेलगायत नेपाली कला र संस्कृति झल्किने विभिन्न कार्यक्रम गर्दैछ ।
वर्तमान मूल्यअनुसार, पेरिसमा नेपाली घर तयार पार्न करिब दुई लाख यूरो (एक करोड ८० लाख) लाग्छ । समितिलाई अहिलेसम्ममा साढे दुई लाख यूरो (दुई करोड २५ लाख) को मौखिक आश्वासन प्राप्त भइसकेको जानकारी दिन्छन् नेपाली गृह निर्माण समितिका अध्यक्ष हेमन्त उपाध्याय। यो घर पूरा भएमा यसले यूरोपमै पहिलो नेपाली सांस्कृतिक घरका रुपमा इतिहास खडा गर्नेछ। किनकि नेपाल त्यस्तो देश हो , जसको यूरोपका कुनै पनि मुलुकमा एउटा पनि आफ्नो सांस्कृतिक गृह छैन। “हामीले पूर्णरुपमा विविध नेपाली संस्कृति झल्किने यूरोपमै पहिलो नेपाली घर बनाएर इतिहास खडा गर्नेछौं। यो घरमा पस्नासाथ नेपाल गएको अनुभूति दिनेछ“- उपाध्याय भन्छन् ।
” त्यो घर बनेपछि रोधी र चौतारीको स्वाद लिन पाइनेछ। महिलाले तीजका भाका हाल्न पाउनेछन्। स्याब्रु नाचमा कम्मर भाँच्नेदेखि चुड्का र भजनमा शरीर मर्काउन पाइनेछ। पशुपति र स्वयम्भूको दर्शनसमेत भित्रै गर्न पाइनेछ“- समितिका अर्का महासचिव हरिहर अर्याल भन्छन् – “कमसेकम यहाँ जन्मिनेले लैनसिंह बाङ्देल, मोतीराम भट्ट र भानुभक्त को रहेछन् बुझ्न पाउनेछन्। नेपाली संस्कृति र सम्पदाको प्रचार –प्रसार र पर्यटन विस्तार गरेर नेपालकै हितका लागि प्रयोग गर्ने लक्ष्य हाम्रो छ।“काठमाडौं , चैत्र ३ , २०६१