गाउँ फर्कौँ साथी
● निरजमान श्रेष्ठ / ताइवान
मेरो जन्मस्थल पहाड बीचको शीतल त्यो न्यानो गाउँ
हिमालको हावा र मर्स्याङ्ग्दीको जलले सिँचित रमाइलो ठाउँ ।
तल बहन्छिन मर्स्याङ्ग्दी नदी त्यो आवाज ठुलो दिँदै
माथी त्यो वनमा सुसेल्थ्यो कोइली प्रेममा मस्किँदै ।।
०००००००००००००००००००००००
बिहानै आँचल फैलाउँथ्यो रबीले वाफ बनाइ शीत
त्यसपछी रानीबन घन्किन्थ्यो मजाले घसीनिको गीत सित ।
मिठो चिसो पानी त्यो ढुंगेधाराको निस्केको गिरी फोरी
गाउँ नै मगमग वास्नामय बनाउँथ्यो पवनले फुलको सुगन्ध चोरी । ।
०००००००००००००००००००००००
शिशिरमा सूर्य छानामाथी हुने हिटर सरी झैं आज
गृष्ममा चिसो हावा हिमालको सारा गाउँको माझ ।
यसै सुन्दर देखिन्थ्यो नगरी शरदले काखमा लिँदा
संगीत सँगै लठ्ठिन्थ्यो मन झन साँझमा रोदी घन्किँदा । ।
०००००००००००००००००००००००
बेली चमेली, मखमली, जाइजुही फुल्दा त्यो वनभरी
देखिन्थ्यो प्रकृतीको अनुपम छटा त्यो वैंशालु यौवना सरी ।
रोग कहिल्यै लागेन तनमा त्यो शुद्द हावा लिँदा
अहिले लाग्छ धिक्कार जुनी यो बिदेश बसी सम्झिँदा । ।
०००००००००००००००००००००००
हरेक मास आउने चाडबाडको कसरी गरुँ बयान
खुबै मनोरन्जन हुने आफ्नै महत्व नभाको कुनै छैन ।
असारको हिलोमा रोपेर धान खानु छ बर्ष भरी
त्यै हिलो दलेको प्रियाको मुहारमा बर्णन गरु कसरी । ।
०००००००००००००००००००००००
बाँच्ने आशा जगाउँदै जनलाई साउने सक्रान्ती आउने
गेडागुडी खाएर जनै पुर्णिमा तीजमा दीदी गीत गाउँने ।
गाइजात्रा मनाइन्थ्यो शोककुल परिवारलाई सान्त्वना दिँदै
सबले चित्त बुझाउँथे लोकको रित हो भनि सम्झिँदै । ।
०००००००००००००००००००००००
दशै तिहार आउँथ्यो आँगनमा सबको भकारी भरी
टीका र जमरा थापेर मान्यजनको आशिर्बाद ली शीर भरी ।
आउँथीन बहीनी माइतीघरमा ओखर फुटाउँदै हाँस्दै
दाजुभाइको दीर्घजीवनको कामना गरी मखमली माला गाँस्दै । ।
०००००००००००००००००००००००
पन्ध्र पुष, माघे सक्रान्ती, शिबरात्री हुँदै होली
जीवन रंगीन बनाइ हर्षले बगाउँदै रङको खोली ।
यस्तो प्रकृती र सँस्कृतिको भण्डार छोडी पर
भैयो परदेशी आफ्नै मीत्रजनसँग टाढा बनाउँदै घर । ।
०००००००००००००००००००००००
बिहान सबेरै चरा र चुरुंगी खोज्लान म उनको सखी
खोज्दा हुन आरण्यका लतालतीका बृक्षको शीरमा बसी ।
चीरचीर गर्दै म घर न’आको समाचार देलान निशा कालमा
मलाई खोज्दै दौडँदा मृग बिचरो पर्यो होला जालमा । ।
०००००००००००००००००००००००
बिव्हल नदी नि सङ्गीको बिछोडमा सुसाउँनै छाड्यो कि त ?
सुनेर रमाउने बालसखा नहुँदा के गाउँथ्यो कोइली नि गीत ?
न मृग वनमा उफ्रेर नाँच्दाहुन, न वनमा गुराँश फुल्लान
बीउ छर्ने कर्मबीर नै बिदेशियो मँसीरमा धानका बाला के झुल्लान?
०००००००००००००००००००००००
बिव्हल भा’छु त्यो ढुंगे धारा नि सुकेको समाचार सुनी
भत्क्यो अरे गैह्रीको चौतारो बरपिपलको फेद मुनी ।
के बस्नु परदेश खण्डहर बनाइ आफु जन्मेको घर
फर्कौ साथी लोभ नगरौँ धनले कस्लाई पुगेको छ र ?




