गाउँ फर्कौँ साथी

निरजमान श्रेष्ठ / ताइवान 

मेरो जन्मस्थल पहाड बीचको शीतल त्यो न्यानो गाउँ

हिमालको हावा र मर्स्याङ्ग्दीको जलले सिँचित रमाइलो ठाउँ ।

तल बहन्छिन मर्स्याङ्ग्दी नदी त्यो आवाज ठुलो दिँदै

माथी त्यो वनमा सुसेल्थ्यो कोइली प्रेममा मस्किँदै ।।

०००००००००००००००००००००००

बिहानै आँचल फैलाउँथ्यो रबीले वाफ बनाइ शीत

त्यसपछी रानीबन घन्किन्थ्यो मजाले घसीनिको गीत सित ।

मिठो चिसो पानी त्यो ढुंगेधाराको निस्केको गिरी फोरी

गाउँ नै मगमग वास्नामय बनाउँथ्यो पवनले फुलको सुगन्ध चोरी । ।

०००००००००००००००००००००००

शिशिरमा सूर्य छानामाथी हुने हिटर सरी झैं आज

गृष्ममा चिसो हावा हिमालको सारा गाउँको माझ ।

यसै सुन्दर देखिन्थ्यो नगरी शरदले काखमा लिँदा

संगीत सँगै लठ्ठिन्थ्यो मन झन साँझमा रोदी घन्किँदा । ।

०००००००००००००००००००००००

बेली चमेली, मखमली, जाइजुही फुल्दा त्यो वनभरी

देखिन्थ्यो प्रकृतीको अनुपम छटा त्यो वैंशालु यौवना सरी ।

रोग कहिल्यै लागेन तनमा त्यो शुद्द हावा लिँदा

अहिले लाग्छ धिक्कार जुनी यो बिदेश बसी सम्झिँदा । ।

०००००००००००००००००००००००

हरेक मास आउने चाडबाडको कसरी गरुँ बयान

खुबै मनोरन्जन हुने आफ्नै महत्व नभाको कुनै छैन ।

असारको हिलोमा रोपेर धान खानु छ बर्ष भरी

त्यै हिलो दलेको प्रियाको मुहारमा बर्णन गरु कसरी । ।

०००००००००००००००००००००००

बाँच्ने  आशा जगाउँदै जनलाई साउने सक्रान्ती आउने

गेडागुडी खाएर जनै पुर्णिमा तीजमा दीदी गीत गाउँने ।

गाइजात्रा मनाइन्थ्यो शोककुल परिवारलाई सान्त्वना दिँदै

सबले चित्त बुझाउँथे लोकको रित हो भनि सम्झिँदै । ।

०००००००००००००००००००००००

दशै तिहार आउँथ्यो आँगनमा सबको भकारी भरी

टीका र जमरा थापेर मान्यजनको आशिर्बाद ली शीर भरी ।

आउँथीन बहीनी माइतीघरमा ओखर फुटाउँदै हाँस्दै 

दाजुभाइको दीर्घजीवनको कामना गरी मखमली माला गाँस्दै  । ।

०००००००००००००००००००००००

पन्ध्र पुष, माघे सक्रान्ती, शिबरात्री हुँदै होली

जीवन रंगीन बनाइ हर्षले बगाउँदै रङको खोली ।

यस्तो प्रकृती र सँस्कृतिको भण्डार छोडी पर

भैयो परदेशी आफ्नै मीत्रजनसँग टाढा बनाउँदै घर । ।

०००००००००००००००००००००००

बिहान सबेरै चरा र चुरुंगी खोज्लान म उनको सखी

खोज्दा हुन आरण्यका लतालतीका बृक्षको शीरमा बसी ।

चीरचीर गर्दै म घर न’आको समाचार देलान निशा कालमा

मलाई खोज्दै दौडँदा मृग बिचरो पर्‍यो होला जालमा । ।

०००००००००००००००००००००००

बिव्हल नदी नि सङ्गीको बिछोडमा सुसाउँनै छाड्यो कि त ?

सुनेर रमाउने बालसखा नहुँदा के गाउँथ्यो कोइली नि गीत ?

न मृग वनमा उफ्रेर नाँच्दाहुन, न वनमा गुराँश फुल्लान

बीउ छर्ने कर्मबीर नै बिदेशियो मँसीरमा धानका बाला के झुल्लान?

०००००००००००००००००००००००

बिव्हल भा’छु त्यो ढुंगे धारा नि सुकेको समाचार सुनी

भत्क्यो अरे गैह्रीको चौतारो बरपिपलको फेद मुनी ।

के बस्नु परदेश खण्डहर बनाइ आफु जन्मेको घर

फर्कौ साथी लोभ नगरौँ धनले कस्लाई पुगेको छ र ?

तपाइँको प्रतिक्रिया