बहसमा त्यो नेपाल

ईश्वरी ज्ञवाली

विदेशीका निम्ति नेपाल बुझ्न अप्ठ्यारो छ। किनभने, यहीँका धेरै विज्ञ र अध्ययनकर्ताले गरेको अध्ययन त एकतर्फी र आग्रही हुन्छ भने विदेशबाट नेपाल आएर छोटो समयमा गरएिको अध्ययन कति पूर्ण र गहन होला ? सरल र स्वाभाविक रूपमा उठाइने  यस्ता प्रश्नको गतिलो जवाफ दिएका छन्, ददि सापकोटाले । २९ जना फ्रान्सेली विद्वान् र विज्ञका नेपाल अनुभव समेटेर तयार गरएिको सापकोटाको पुस्तक त्यो नेपाल यस्ता धेरै प्रश्नको जवाफ लिएर आएको छ।

हिमाली परविेशको दृश्यावलोकन गर्न नेपाल आएका र नेपाललाई नै केन्द्र बनाएर अध्ययन / अनुसन्धान र विद्यावारि धि गरी फ्रान्स फर्किएका २९ जना व्यक्तिसँग १० डिसेम्बर २००६ देखि १४ अगस्ट २००८ सम्म विभिन्न समयमा गरएिको संवादमा आधारति  यो कृति नेपाल र नेपालीबारे जान्न चाहने व्यक्तिका निम्ति पढ्नैपर्ने कृति हो। नेपाल र नेपालीका राम्रा र सम्झनायोग्य कुरा मात्र होइन, सिक्नै नहुने र त्याग्नैपर्ने कतिपय कुरा पनि यस कृतिमा ज्यादै महत्त्वका साथ उठाइएको छ। त्यति मात्र होइन, सन् १९५०,  जतिबेलादेखि नेपाल विदेशीका लागि पनि खुला गरएिको थियो, त्यसबेलादेखि नेपाल ओहोरदोहोर गररिहेका अधिकांश फ्रान्सेलीले दु:ख र कटु अनुभव सँगालेको एउटै क्षेत्र छ, नेपालको प्रशासन र कर्मचारीतन्त्र। संवादका क्रममा सबैले एकै स्वरमा प्रश्न उठाएका  छन्, “के नेपालको प्रशासन र कर्मचारीतन्त्रमा सुधार ल्याउन सम्भव छैन ?”

नेपालका विभिन्न जातजाति र यहाँका धर्मसम्प्रदायका व्यक्तिबीच कायम सम्बन्ध र सौहार्दतालाई फ्रान्सेलीहरूले नेपालीबाट सिक्नैपर्ने कुराका रूपमा उल्लेख गरेका छन्। साथसाथै, नेपाली जनताको मिलनसारी, आत्मीयता र निश्छल भावनाको सबै फ्रान्सेलीले  सराहना गरेका छन्। 

विदेशीका लागि नेपालमा धेरै त्यस्ता जादुगरी तत्त्व छन्, जसमा उनीहरू त्यसै हराउन सक्छन्। विगतमा धेरै विदेशीले नेपालका अग्ला हिमाल चढेर नाम र दाम कमाउने उद्देश्यका साथ आफ्नो खुसी र आनन्दका लागि थुप्रै काम गरे। तर, नेपाल र नेपालीका  लागि भने थोरैले मात्र काम गरेका छन्। खासगरी फ्रान्समा रहेका त्यस्ता व्यक्ति छनोट गर्ने जुन मापदण्ड सापकोटाले अपनाएका छन्, यसबाट विदेशमा रहेका सिर्जनशील धेरै नेपालीले पाठ पनि सिक्न सक्छन्।

आफ्ना निश्चित आग्रह र दृष्टान्तलाई स्थापित गर्न अनेक टिप्पणी र जबरजस्त तर्क राखेर पुष्टि गर्ने परम्पराप्रति पनि सापकोटा सजग देखिन्छन्। छनोट गरएिका व्यक्तिका भनाइलाई जस्ताको तस्तै राख्ने क्रममा विवादास्पद र त्रासदीका अनेकौँ  प्रसंगले पनि प्रशस्त ठाउँ पाएका छन्। फ्रान्सको ग्रामीण क्षेत्रमा रहेको एउटा ठूलो कृषि फार्ममा कृषिसम्बन्धी तालिम लिन पुगेका तत्कालीन युवराज वीरेन्द्रले कुखुरा भुत्ल्याइरहेको प्रसंग रोचक छ। तर, राजा वीरेन्द्रजस्ता व्यक्तित्वलाई ‘लम्फु’ राजाका रू पमा प्रस्तुत गरएिको सन्दर्भ होस् या सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाको आरोहणलाई नै इन्कार गरएिका प्रसंग विवादास्पद छन्। त्यसैगरी, नेपालका लागि फ्रान्सका महावाणिज्य दूत डीडीए बेर्नाले नेपालको ठूलो समस्याका रू पमा उठाएको ‘नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याएर विजयी भयो भने नेपाल सजिलै भारतीय बन्नसक्छ। त्यसैगरी, निर्वाचनले नेकपा एमालेलाई अत्यधिक मतका साथ विजयी गरायो भने नेपाल सजिलै चिनियाँ बन्नसक्छ’ (पृ ३२) प्रसंग ज्यादै पूर्वाग्रही देखिन्छ। 

साँच्चै नै कृतिमा गजबगजबका पात्रको अनुभव समेटिएका छन्। एकतामा अनेकताका रोचक सामग्री समावेश गरएिको यस कृतिमा तत्कालीन राजा वीरेन्द्रका शिक्षक तथा अनुसन्धाता मार्क गाबोरियो, नेपाली-फ्रान्सेली शब्दकोशकी रचयिता तथा फ्रान्सको दो फिन विश्वविद्यालयको नेपाली भाषाकक्षकी पूर्वनिर्देशिका मारी क्रिस्चियन कावोजस्ता व्यक्तिसँगका रोचक संवादले जोकसैको मन छुन्छ। त्यसैगरी, कम्तीमा २१ पटक नेपाल भ्रमण गरेका प्रसिद्ध मानवशास्त्री फिलिप रमिरे, ३० वर्षसम्म फ्रान्सको सांसद  रहेका र पटक-पटक नेपाल भ्रमण गरेका जेन ब्रियँ, विश्व कीर्तिमानी हेलिकप्टर चालक दिदिए देलसाल, ४० वर्षसम्म नेपालको सामाजिक अध्ययन गरेकी मिरेई एल्फेयरले बटुलेका अनुभव एकादेशका कथाजस्ता लाग्छन्। वरिष्ठ कूटनीतिज्ञ फँसिस द नोइयल, पूर्वमन्त्री तथा विख्यात पर्वतारोही पियर माजो, ओस्कार पुरस्कारका लागि छनोट क्याराभान चलचित्रका निर्माता/निर्देशक तथा लेखक एरकि भाली, प्रथम अन्नपूर्ण आरोही मोरसि हेर्जोग, मानवशास्त्री तथा नेपालका तामाङ गाउँको कृषि प्रणाली र कृषकको  आर्थिक संरचना विषयमा विद्यावारि धि गरेकी बि्रजीट स्टेनम्यान आदिका संस्मरण मनै उद्वेलित, तरंगित र कुत्कुत्याउने खालका छन्। 

फ्रान्सका पूर्वसांसद रोबर्ट ल फलको नेपाल सम्झना पनि त्यस्तै सुन्दर छ। युरोपमा गुडेका र युरोपेली मापदण्ड पूरा गरेका लरीलाई नेपाल प्रवेशमा लगाइएको रोक, १५ जनाको प्राविधिक टोलीसहित ४० टन सामान बोकेर इटाली, टर्की, इरान, पकिस्तान र भारत हुँदै ३२ दिनको सडक यात्रापछि नेपालको सुनौली नाकासम्म पुग्दाको उनको वर्णन ज्यादै मन छुने खालको छ। तत्कालीन भन्सार हाकिमसँगको नोकझोँकपछि उनले दिएको जवाफले एकपटक सबैलाई सन्न तुल्याउँछ। 

रोबर्ट ल फल भन्छन् : “केही सिप नलागेपछि मैले ती हाकिमसँग सोधेँ, तपाईंसित सलाई छ ? उनले भने, छ। उसोभए दिनूस्। किन ? फेरी उनले सोधे। यी लरीहरूमा म यहीँ आगो झोस्छु। यी सरसामानहरू तपाइर्ंकै देश र जनताका लागि ल्याइएको हो।  तपाईंहरूकै लागि सहयोग हो। यदि तपाईंहरूलाई चाहिन्न भने म यहीँ आगो लगाएर नष्ट गर्छु र फर्किन्छु।” कस्तो छ हाम्रो मानसिकता ! यस्ता कुराले केही गर्छु भनेर नेपाल आउने विदेशीमा कस्तो प्रभाव पार्ला, छर्लंगै छ। 

नेपाली सभासद् कतै रातो पासपोर्ट काण्ड त कतै के काण्डमा मुछिरहेका बखत फ्रान्सेली पूर्वसांसद र मन्त्रीहरूले नेपालको सहयोगका लागि चालेका कदम असाध्यै लोभ्याउने खालका छन्, जसलाई नेपाली सभासद्हरूले पनि एकपटक अध्ययन गर्नु जरुरी छ।  कामका प्राथमिकताक्रम निर्धारण गर्न पनि यी स्मरण केही सहयोगी हुन सक्छन्। 

सम्पूर्ण नेपालको तस्विर उतार्ने सवालमा भने यो पुस्तक थोरै चुकेको छ। तराईका सन्दर्भ र प्रसंगले कम स्थान पाएका छन्भने कतैकतै बिनासन्दर्भका प्रसंगले ठाउँ पाएका छन् । त्यसैगरी ‘त’लाई ‘ट’ र डोल्पालाई डोल्पो भनेर उल्लेख गरएिको भने  बुझ्न नसकिने सन्दर्भ हो। सामान्य कमजोरीका बाबजुद कृति भने उम्दा र सफल छ। 

 (कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिकमा प्रकाशित । अंक ४६३ । २६८ आश्विन १ । Sep 18, 2011)

तपाइँको प्रतिक्रिया