एक्वारियम भित्रको विवशता

डा. प्रशान्त ध्वज अधिकारी / सुवन, द. कोरिया

इच्छाराम अहिले परदेशमा छ । स्वदेशमा रहँदा उसले न भनेजस्तो काम पायो न आफ्नो परीश्रमबाट पेटभरी खान । जहिले पनि परिवारमा अभाव । उ सानो छँदा ज्योतिषले नाम इच्छाराम राखिदिएको रे । किनकी ठुलो भए पछि उसले ईच्छ्याएको सब पुग्छ भनेर । उसले पढ्न त पढ्यो राम्रोसंग तर सोचे जस्तो केही पनि पुगेन ।

अहिले उ परदेशमा छ मान्छेहरुको भिड्मा । तर ति मान्छेको आवज उ बुझ्दैन । उ ठुलो शहरमा छ । तर एक  ठाँउबाट अर्को ठाउँमा जान उसलाई मुस्किल, भाषाले गर्दा । कहिलेकाहिँ गाउँले साथीहरुसँग फोनबार्ता हुँदा जिस्काउँछन उसलाई ‘हरीयो कलर, अनी डलर भन्दै”। तर टाढाबाट हेर्दा जस्तो सुखमय अनी लोभ लाग्दो देखिन्छ परदेशी जीवन, त्यो वास्तवमा एकचोटि भोगे पछि मात्रै थाहा हुन्छ । उ भुत्भुताउँछ ।

इच्छाराम, प्रायजसो परदेशमा पनि त्यही एउटा बिशाल घरको वरिपरि नै हुन्छ । त्यो नि उसको काम गर्ने अफिस होला । महिनाभरी काम दियो मालिकलाई, अनी त्यो एक महिनाको तपस्याबाट उसलेपनि एक चोटी हात थाप्ने मौका पाउँछ मलिकका अघी । यस्तै गरी, महिना, बर्ष हुँदै एउटा लामो समय बित्छ उसको जीवन परदेशमा ।

आज उ अली बढी नै टोलाएको छ । शायद आज आईतवार, घरको यादले पनि होला । अक्सर यो बार उसलाई अली फुर्सत नै हुन्छ । तर उसले यो चोटी अली धेरै नै एक्लोपनको अनुभव गरेको छ । हुन पनि हो, परीवार छन, तर संगसगै छैनन । उ मान्छेसँग बस्छ तर मान्छेसँग बसेको अनुभव गर्न पाएको छैन । काम गर्नु पर्छ सब ईशाराको भरमा, रिमोट कन्ट्रोलले मेसिन चलाए जस्तै । दिक्क लाग्नु स्वभाबिक पनि हो । ऊ आँफै बोल्छ, अनी त्यो सुन्ने पनि आफु नै हुन्छ जस्तै । कस्तो अचम्मको जिन्दगी छ उसको । आज आफ्नो नाम राख्ने ज्योतिषलाई संझिन्छ । उसलाई रिस पनि उठ्छ त्यो ज्योतिष देखी । यस्तो पनि नाम राख्ने ?  नाम अनुसार केही पनि नमिल्ने ? थुक्क जिन्दगी ! यहाँ साधुले जस्तो जिन्दगी बिताउनु परेको छ नाम चाही इच्छाराम । आजबाट मेरो नाम इच्छारामको सट्टा साधुराम भन्दै अघी हिँड्छ ।

यसो एक पाइला अघी के सारेको थियो उसको नजर एउटा सानो नानी हाँसिरहेको ठाउँमा पुग्छ जहाँ माछाका भूराहरु एक्वारियम भित्र खेलीरहेका हुन्छन । त्यो सफा पानी अनी पारदर्शी काँचका पर्दाभित्र खेलिरहेका रंगीचंगी माछाहरुको दृश्य अती नै लोभ लाग्दो छ । त्यसले सानो नानी कती खुशी छ भनिसाध्य नै छैन । त्यो सानो मानसपटलको बच्चालाई के थाहा ? ती माछाहरुको बास्तबिक जिन्दगी ! साधुराम बच्चालाई हेर्छ र ति माछाहरुलाई पनि । अनी तुलना गर्छ, हेर बच्चा कती स्वतत्न्त्र छे यताउता गर्नलाई । तर यि माछाहरु खुला आकाश मुनी रहेको पानीको मुहानमा डुल्नेहरु, आज अप्राकृतिक रुपले घर घरमा सजिएका छन । बस, यिनिहरुका सबै कुरा उही मालिकमा भर पर्नु पर्ने । सानो आयतनमा खुम्चेर बस्नुपर्ने । न उनिहरुलाई रात न दिन । जतिखेर खान हाल्दियो त्यतीबेला खायो । मालिकको मन टहलाउन तयार भएर बस्नुपर्ने । होला नि पिडा त किन न होला र ! यस्तै भन्दै भुत्भुताउँछ र क्रमश अगाडि बढिरहेको छ ।

अझअघि सोच्छ, खोला मै भएको भए पनि संघर्ष त गर्नै पर्थ्यो यिनिहरुलाई । त्यही माथि अचेल खोलाको मुहान पनि कहाँ सफा छ र । या हुन दिएका छन त, हालिमुहाली गर्न पल्केकाले । जता पनि समुह नै समुह । समुहमा पनि राम्रा भनिएकाहरुको हात बाँधिएको अबस्थामा छन आज । तर खुराफातिहरुको नै छ मस्ती सबै समुहमा । यिनिहरुले, ति सोझा र आफ्नै परीश्रममा गर्ब गर्नेलाई उकुस मुकुस हुनेगरी पानी धमिल्याइदिएका छन । प्रदुषित बातावरणले गर्दा सक्ने उफ्रेर आफ्नो ठाउँ छोडिसके, कोही छोड्ने तरखरमा, कोही सक्ने भए पनि  चुपचाप छन । कोही त्यही जमातको भुलभुलाईमा छन सङ्लो पानीको आशमा । के गरुन यिनिहरुले ? त्यो शक्तिशाली अघि निरिह छन यिनिहरु । अनी उकुसमुकुसबाट मुक्त हुन बाटो हेरेका छन । तर कहिले हो ? त्यही जमातका कोही चौका हान्ने पनि छन निस्सासिएका माछाहरुको उद्धारको नाममा । प्लास्टिक झोलामा प्याक गर्यो अनी अन्जान ठाउँमा पुराईन्छ त्यही एक्वारियममा सजाउनको निम्ती । थाहा छैन कुन दिन खोला रित्तिने हो । सोचाइ त हो उसको समानातन्तर छन । खै निचोडमा कहिले पो पुग्ला र साधुराम ? तर अन्तिममा आश गर्छ उ, एक दिन राम्राका हात फूत्किने छन वा फुत्काइनेछ।

अचानक एक्वारियमको नजिक त्यो सानो नानीको पिता आउँछन । बाबु छोरी माछा पौडीएको हेर्छन । यस्सो माछा अढिएको देखेभने च्य च्य गरेको जस्तो आवाज सुन्छ साधुरामले । अनी अनुमान गर्छ गाँउमा बाख्रा धपाएको हो कि ? लाग्छ उस्लाई न रोकी भनेका त होलान नि तिनिहरुले । केही समय पश्चात बच्चाको पिताले यसो केही परिवर्तन गर्न खोजे जस्तो गर्छन् तर अचानक एक्वारियम भुँईमा बजारिन्छ । त्यो सानो बच्चा रुन्छे । पिताले सुम्सुम्याउँछन् पिर नलिउ, म तिमीलाई यो भन्दा राम्रो किनिदिन्छु । यस्तै केही भनेको हुनुपर्छ । उसले तिनिहरुको ईशाराबाट यस्तै बुझ्छ ।

हुन पनि नानीको पितालाई त्यो परीबर्तन गर्न के ठुलो थियो र । काला गए गोरा अनी गोरा गए काला भने जस्तै । बाबुको आश्वासनपछी बच्चा फेरी खुशी हुन्छे । साधुराम यो सब हेरिरेहको हुन्छ । एकातिर बाबुछोरी, अर्कोतिर छट्पटाइरहेका माछाहरु ।

पृष्ठभूमी एकाएक फरक भयो । एक त भूइँमा प्राणको लागि अन्तिम संघर्ष गरेका ति माछाहरु । अनी अर्कोतिर त्यो हँसीलो मुहारका बाबु छोरी । साधुराम सोच्छ, हेर यि माछाहरु सफा सुग्घर अनी कन्चन पानीमा छन भनेर के गर्ने ? त्यो चिल्लो भुँईमा पानीपनि के अडिन्थ्यो र ! माछाहरु पुर्लुङ पुर्लुङ मर्न थाले । कुनैलाई त्यही काँचका टुक्राले काटेर मरे । त्यहाँ कस्ले कसलाई सहयोग गर्न सक्थ्यो र । पछी मर्ने माछाहरु अघी मर्ने माछाका साक्षी त भए । तर उनिहरु पनि घुटु घुटु गर्दै प्राँण त्याग गरे । साधुराम सोच्छ “हेर यी माछाहरु आफ्नै मुहानमा भएको भए त बाँच्थे होलान नि हैन ? तर गार्हो छ ठ्याक्क भन्न । उ आफैलाई प्रश्न गर्छ अनी लामो सुस्केर तान्छ । खै के भन्ने कुरो आउँछ आफ्नै मुहानको । यस्तै यस्तै । हेर यी माछाहरु हेर्दा कस्तो पोख्त देखीन्थे पौडिन । तर त्यो लामो अनुभव त्यसै खेर गयो । आफ्नो थलोमा जाने अबसर फेरी पाएको भए केही न केही सुधार त गर्थे होलान हैन ?

 ति माछाहरुको पिडादायी मृत्युले उस्लाई झन पोल्छ । खै के भन्ने यो नियती देख्दा त त्यो चुपचाप सहेर आफ्नै मुहानमा बस्ने समुह नै उत्तम हो कि जस्तो लाग्छ उसलाई । हुनपनि हो, आफ्नै मुहानमा भएको भए वातावरण अशुद्ध भएर के हुन्थ्यो ? त्यो  नभए ओसिलो मुहानको माटो मै बस्थे होलान । अनी एकआपसमा अन्तिम कुराकानी गर्दै  जान्थे । तर यहाँ जस्तो बुर्लुक्क बुर्लुक्क गर्दै उफ्रनु पर्थ्यो र प्राण त्याग्न ? हैन, हैन, विवसतामा जिउनु पर्नेको जहाँ भए पनि हालत उस्तै हो ।

उ एकछिन आँखा चिम्लिन्छ । यो कस्तो संयोग, कहाँबाट यहाँ आइपुगेका हुन, पत्तो छैन । तर यिनिहरुको जीवनको इहलीला समाप्त भयो एक अपरिचित ठाँउमा । उ यसो भन्दै यिनिहरुको पारिवारिक पृष्ठलभुमीतिर जान्छ अनी झन लामो सुस्केरा तान्छ । खै यिनिहरुको पनि त परिवार त थियो होला नि । भएर के गर्ने ? टाढा अनी छुट्टै परीबेशमा भएपछि यस्तै हो । अहिले उसको मुहार एकदम मलिन हुँदै गएको देखीन्छ । साधुराम आफूले आफूलाई नै संझिन्छ । आखिरीमा म पनि त एउटा कुनाको एक्वारियम भित्रको पात्र त हु नी । उ भर्खरको घट्नासँग तुलना गर्छ । भोली मेरो पनि त यो दिन नआउला भन्न सकिन्न । मलिन अनी थकित जस्तो अनुहारमा उ फेरी लामो सुस्केरा हाल्छ । अनी भन्छ, शायद जिन्दगी यस्तै हो । अचानक साधुरामले एउटा नौलो बशको आवाज सुन्छ, जसले उसको ध्यान तान्छ । अनी उतैतिर फर्कन्छ । शायद उसलाई कसैले बोलाएको हुनुपर्छ । लाग्छ, उ एक्वारियम दुनियाँबाट केही समयको लागि टाढा गए जस्तो ।

तपाइँको प्रतिक्रिया