ढाँट्ने संस्कारले नेपालीलाई झन दुख

ब्रुस्ले थ्रिस्तँ

भारतमा काम गर्न जानु गरिबीको बाध्यता मात्रै चाहिँ होइन, संस्कार पनि हो । त्यहि संस्कारले गर्दा कतिपय किशोरहरू बाबुआमाको खल्तिबाट पैसा चोरेर राती नै घरबाट भाग्छन् । उनीहरूमा एक पटक भारत हेर्नैपर्छ भन्ने छाप सानैदेखि परेको पाइन्छ । भारत कहाँ छ भन्ने थाहा नहुनेले पनि एक दिन मलाई ‘बैँगलोर जाने हो’ भनेर सुनाउँदै थिए ।

नयाँ पुस्ता भारत जाने अर्को कारण ठूला पाकाको गलत प्रचार पनि हो । भारतबाट फर्किनेले त्यहाँ पाएको दुखको वर्णन गर्दैनन् । तलव नपाएको, भारतियले ठगेको, कुटेको, धारो पानी नभएको अँध्यारो कोठामा १०, १२ जना कोच्चिएर बसेका कुरा भन्दैनन् । बरु भारतमा आफुले मस्ति गरें भन्दै बढाइचढाइ गरेर सुनाउँछन । भारतीय चुरोट तान्दै मोजमस्ति गरेका कुरा सुनेपछि किशोरहरूलाई कहिले भारत पुगौं जस्तो हुन्छ ।

कोहि चाहिँ विवाह गरेपछि बन्धनमा परिन्छ भन्ने सोचेर त्यसअगाडि नै स्वतन्त्र भएर घुम्न र मोज गर्न भनेर भारत जान्छन् । पिथौरागढ मन नपरे मसुरी, त्यहाँ पनि मन नपरे बैंगलोरतिर लाग्छन् । उनीहरु यता र उता चहारिरहन्छन् । गाउँका कोहि भेटे २०–३० रुपियाँ बाबु आमालाई पठाइदिन्छन्; नत्र भएको पैसा वाकमेन, घडी, क्यासेट, सर्ट, पाईन्ट र आइसक्रिम किनेर सक्ने ठिटाहरु छन् । कसैलाई चाहिँ बाबुआमाले नै पैसा कमाउन भारत जानका लागि बाध्य पनि पार्छन् । मैले भारतमा भेटेका १३–१४ वर्षदेखि ५० वर्षसम्मका नेपालीहरु सबैका आ–आफ्नै पीडा थिए ।

भारत जाने नेपालीहरूको अवस्था सन् १९८० को दशकसम्म पनि राम्रै थियो । उनीहरुले त्यहाँ प्रशासनिक काम पनि सजिलैसित पाउँथे । नियुक्तिपत्रसहित पिउनमा काम गर्ने थुप्रै थिए । तिनले अवकाशपछि वृद्ध भत्तासमेत पाउँथे । तलव थोरै भएपनि अन्य सुबिधा थियो । परिवार ल्याएर सँगै बस्न पाउँथे । भारतिय नागरिकता पनि लिएका हुन्थे । जाने आउने गर्नेको भन्दा तिनको अवस्था राम्रो थियो ।

बुझ्नै जटिल नेपाली समाज

अध्ययनका क्रममा म करिब आठ पटक नेपाल पुगेको छु । अधिकांश समय मैले त्यहाँका गाउँमा बिताएँ । मलाई लाग्छ– नेपाली समाज बुझ्न सजिलो छैन । कारण– नेपाली समाज जटिल छ । नेपाली संस्क्रिति र संस्कारबारे पर्याप्त अध्ययन नगरिकनै म नेपाल गएकोले पनि त्यस्तो भएको हो कि भन्ने पनि लाग्छ । शुरुशुरुमा गाउँमा पुग्दा त मैले चलनचल्ति, जातिय तह र विभेदबारे केहि भेउ नै पाइनँ । अनेक जातजाति र समूहबीचको सम्बन्ध बुझ्न निकै मुस्किल पर्‍यो।

स्थानिय व्यक्तिको घरमा बस्दा कतिखेर के गर्नुपर्ने, के गर्न हुने वा नहुने हो भन्ने चालचलन बुझ्नै नसकिने हुन्थ्यो । त्यो सायद मेरो पनि गल्ति थियो कि ! नेपाली संस्कृतिमा भिज्नतिर म लागिन कि ! अहिले त धेरै नै कुरा थाहा पाउने भएछु झैं लाग्छ । सुदूरपश्चिममा गाह्रो पर्नुको कारण चाहिँ त्यहाँको ठाउँ अनुसारकै फरक भाषा बुझ्न नसकेर पनि हो ।

लोग्नेसँगै भारतमा काम गर्ने केहि महिलासँग गफ गर्न चाहन्थें म । तर, उनीहरू कुमाउनी भाषा मात्रै बोल्ने रहेछन् । स्कूल कहिल्यै नगएकाले उनीहरूलाई नेपाली पटक्कै आउँदो रहेनछ । सुदूरपश्चिममा नेपाली भाषा सिक्ने भनेकै स्कूलमा हो तर स्कुल जानै नपाएपछि कसरी नेपाली बोल्न सिक्नू ! त्यहाँ खेतबारी, जग्गा जमिन पटक्कै नहुने परिवारका त महिला पनि लोग्नेसँगै भारत जान्छन् । उनीहरू पहाडी, डोटेली र कुमाउनी बोल्छन् तर नेपाली भने जान्दैनन् । त्यसैले महिलाहरूका विचार भने मैले सुन्न पाइन ।  म त्यतिबेला २३ वर्षे ठिटो थिएँ । त्यसले गर्दा कतिपय महिलाहरूले भाषा जानेर पनि कुरा गर्न अप्ठेरो मानेको मलाई महसुस भयो ।

हुनत त्यो कुरा जातमा पनि भर पर्ने रहेछ । क्षेत्री र बाहुन जातीका महिला गफ गर्न अलि तर्कन्थे; हजुरआमा उमेरकासँग मात्रै सजिलो । तामाङ्ग, मगर जस्ता जनजाती महिलासँग भने कुराकानी गर्न निकै नै सजिलो थियो । नयाँ वातावरण, नौलो भाषा, नौलै ठाउँ र बिभिन्न संस्कृति, संस्कार र जातीहरूबिचको भिन्न चालचलन बुझ्न मुश्किल पर्ने रहेछ । लामै समय बसे पनि संस्कृतिको भित्री तहसम्म बुझ्नु सजिलो होइन ।

नेपालमा एक दिनको घटना म बारम्बार झल्झली संझिरहन्छु । म बसेको घरमा श्रीमान, श्रीमती र दुई छोरी थिए । दुई छोरा भने भारतमा रहेछन् । ती घरधनी, म र मेरो एक नेपाली साथी थियौं । धनीमानीको घर भएकाले थरिथरिका सागसब्जी, दुध दहि, घ्यूसहित दालभात प्रायः मिठो हुन्थ्यो । एक दिन भात पनि राम्ररि नपाकेको, दाल पनि चस्रक्क परेको कस्तो कस्तो खालको खाना ल्याए । सधैं मिठो खाने घरमा त्यो दिन के भयो भनेर बुझ्नै सकिएन । पछि पो थाहा पाइयो कि सधैं खाना पकाउने गरेकि महिला महिनावारि भएकि रहिछन । त्यो दिन लोग्नेले पकाएकाले बिग्रिएको रहेछ । महिलाले किन नपकाउनु भएको भनेर सोध्दा बिरामी भएर भने । महिनावारी हुँदा के गर्छन्, कहाँ जान्छन् भन्ने मैले ध्यान दिनै सकिनँ । यस्ता सानातिना चालचलन त कति हुने कति नेपाली समाजमा ! चानचुने पाराले नेपाली समाज बुझ्न नसकिने रहेछ भन्ने लागिरह्यो ।

(ब्रुस्ले थ्रिस्तँ पेशाले अन्सन्धानदाता हुन् । उनले नेपालीहरुको अन्तर्राष्ट्रिय वराइसराइ, पाल्पाको स्थानिय जिवन र माओवादी संवन्धि अनुसन्धान गरेका छन् । यहाँ ब्यक्त विचार २९ नेपाललाई कर्म थलो बनाएर बिभिन्न क्षेत्रमा काम, अनुसन्धान र अध्ययन गरेका २९ जना विशिष्ठ फ्रान्सेलीहरुको नेपाल संवन्धि अनुभव पुस्तक ‘त्यो नेपाल’ को सानो अंश हो । किताब जगदम्बा प्रकाशनद्वारा प्रकाशित भैसकेको छ र केहि दिनमा बजारमा उपलब्ध हुँदै छ)

तपाइँको प्रतिक्रिया