प्रकाशित भयो ‘त्यो नेपाल: फ्रान्सेली अनुभव’

तिन वर्ष लगाएर लेखेको किताब गत सालनै प्रकाशित गर्ने भन्दाभन्दै सकिएन । सम्पादन र साजसज्जा गर्दा गर्दै वर्ष बित्यो । झन जगदम्बा प्रकाशन त यस्तो रहेछ कि किताबको सबै काम सकेर पढ्दा कतै एउटा शब्द गल्ति भेटियो भने फेरी पुरै किताब पढ्ने । किताब यसरि दशौं पटक पढियो । मपनि पढ्दा, हेर्दा, सम्पादक र प्रकाशकले सोधेका कुराको जवाफ दिँदा दिँदा हैरानी जस्तै भएँ । यो किताब लेख्ने देखि प्रकाशनको अन्त्यसम्म आइपुग्दा निक्कै मिठा अनुभव सँगालें । गतिलो प्रकाशन भनेको कस्तो हुने रहेछ भन्ने अनुभव पनि बटुलें । जगदम्बा प्रकाशनको कार्यशैली, लेखकप्रति उसले गर्ने ब्यवहार र गम्भिरता देखेर प्रभावितपनि भएँ ।

खोजि गरेर कस्ता किताब लेख्नुपर्ने रहेछ ? कसरि खोजि गर्नुपर्ने रहेछ ? केके कुरामा ध्यान दिनुपर्ने रहेछ ? कस्ता किताबको खाँचो रहेछ नेपालमा ? बिदेशमा बसेर कस्ता लेख्न सकिने रहेछ ? सूचना र सामाग्रि कसरि बटुल्ने, खोज्ने रहेछ भन्ने आफैंले भोगेर सिक्न पाएँ । यस्ता थुप्रै अनुभव लिएँ । जे होस किताब निस्कियो । किताबका केहि पात्र र तिनका अनुभव बारे मैले पटक पटक नेपालप्लसमा केहि चुस्स चुस्स लेख्ने गरेको हुँ यस अघिपनि ।

यस किताबमा २९ जना पात्र छन् । त्यसमध्ये एरिक भाली (काराभान फिल्म बनाउने ब्यक्ति), पियर माजो, मार्क बाता, मोरिस हेर्जोग, डिडिय देल्साल लगायतका केहि अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका ब्यक्तिहरुका अनुभव छन् । तिसितका हिमचिम र पुस्तक लेख्दाका अनुभवनै उतार्दापनि अर्को पुस्तक पो हुन्छ कि झैं लाग्छ कहिलेकाहिँ त । राजा विरेन्द्रका फ्रान्सेली हेलिकोप्टर प्रशिक्षक, उनैका फ्रान्सेली शिक्षक, वीरेन्द्रका अति मिल्ने फ्रान्सेली मित्रले देखे भोगेका राजा र राजदरबारका रमाइला प्रसंग छन् । किताबमा बैज्ञानिक, संस्क्रितिविद, लेखिका, नाट्यकर्मी, अनुसन्धानदाता, प्रसिद्द आरोही, समाजशास्त्री, कलाकार, समाजसेवी, पूर्वमन्त्री, सांसद, चिकित्सक, नेपालका प्रथम आवासिय फ्रान्सेली राजदूत, वातावरणविद, नेपालीको अन्तर्राष्ट्रिय वसाइसराइ अनुसन्धान गर्ने ब्यक्ति । सारा अटाएका छन् । पुस्तकका यी सबै पात्रको जन्मथलो फ्रान्स भएपनि तिनको कर्मथलो नेपाल हो । यी मध्ये थुप्रैले खरर नेपाली बोल्छन् । यी मध्ये कोहि त नेवारी, थारु, तामाङ लगायतका अनेक जातिय भाषापनि बोल्छन् । कोहि त सात पटक सम्म विश्व रेकर्ड कायम गर्ने पनि छन् । तिनका अनुभव गज्जब गज्जबका छन् ।

मैले किताब लेख्दा सामान्य देशको हित ठानेर लेखें । ठूलो काम गर्दै छु भन्ने पटक्कै भ्रम पालिन र अझै छैन । तर लेख्न थाल्दा जुन सामान्य हिसाबले सोचेर लेखें । किताबको समाप्तीसम्म आइपुग्दा अरु पत्रकार, लेखक, प्रकाशनग्रिह र अशल मित्रका आँखामा निकै महत्वपूर्ण काम गरेको टिका टिप्पणी पाएको छु । तर पाठकले नरुचाएसम्म र देश र समाजकालागि उपयोगि नभएसम्म त्यसको सान्दर्भिकता पुष्टि हुन्न भन्ने मलाई लाग्छ । अब बजारमा गएपछि यसको परिक्षण हुन्छ । बजारमा अब केहिदिनमा गैहाल्छ । किताब कुनै न कुनै हिसाबले राम्रै लेखेछु कि भन्ने किन लागेको छ अलिकति भने मैले प्रस्ताब गरेका नेपालका चार वटै नाम चलेका प्रकाशनले स्विकार गरेका थिए । अन्त्यमा जगदम्बा प्रकाशनलाई दिने निधो गरें । यो नेपालमा अति मानिएको प्रकाशन ग्रिह हो भन्ने मैले भन्नै परेन । हामी जस्ता युवा लेखकका पुस्तक त झन जगदम्बाका प्राथमिकतामा निकै कम मात्रै परेका रहेछन् । नाम चलेका र मै हुँ भन्ने लेखकहरुका सयौं किताबले  प्रकाशक नपाएर रल्लिएका बेला म जस्तो सिकारुको किताबले यतिबिघ्न ध्यान तान्नुनै मेरो लागि भविष्यमा अरु किताब लेखनकालागि हौसला हो ।

मलाई किनपनि खुशि लागेको हो भने यस पटक मैले पाठकका सामु वास्तबिक परिक्षण हुन पाउँछु । किनभने किताब नेपालका सबैजसो प्रमुख शहरमा पाइन्छ । जगदम्बा प्रकाशनले निकालेको यो किताब साझा प्रकाशनले समेत बितरण गर्ने रहेछ । यसो हुँदा मैले कस्तो किताब लेखे आफैंलाई परिक्षण गर्न पाउने छु । यो सँगसँगै किताबका सम्पादक बिनोद ढुंगेलकोपनि पक्कै सानोतिनो परिक्षण हुन्छ नै । किताब अब छिट्टै बिमोचन हुन्छ । काठमाडौंमा जगदम्बाले गर्छ भने पेरिसमापनि मैले बिमोचनको ब्यवस्था मिलाउने सुर गर्दै छु । कम्तिमा किताबका पात्रहरुलाई एकै ठाउँमा समेटेर ‘तपाइहरुले दिनु भएको समयको प्रतिफल यस्तो निकालें’ भनेर फ्रान्सेली लेखकहरुबाट प्रतिक्रिया सुन्न मन छ । नेपाल संवन्धि ति सबै विशेषज्ञहरुलाई एकै ठाउँमा भेला गराएर चिनापर्ची गराउने सुरपनि हो मेरो ।

२८८ पेजको यो किताबको मूल्य ३५० रुपियाँ राखेका छन् जुन महँगो पक्कै होइन । किनभने मैले सन् २००४ मा लेखेको पन्छी जगत भन्ने किताबको मूल्य नै ३०० रुपियाँ थियो उतिबेलै । पन्छी जगतबारे त्यो बेला मेडियाले कस्तो चर्चा गरेका थिए हेर्न यहाँ जानुहोला । पुस्तक सकेसम्म ग्राहकको हैसियत हेरेरै मूल्य राख्नु राम्रो हो । र यो प्रकाशकलाई जानकारी हुने विषय हो । किताब सेमी एकाडेमिक हो भनेर जगदम्बाले उल्लेख गरेको छ आफ्नो प्रकाशकियमा । मलाई चाहिँ धरमर लागिराखेको छ ।

यो किताबका बारेमा थुप्रै देशका पाठक, मित्र र अन्य नेपालीहरुले चासो राखेकाले अनलाइनबाट बिक्रि गर्नुपर्छ भन्ने मेरो आग्रह छ जगदम्बासित । त्यो ब्यवस्था कुनै तरिकाले मिलाइने छ नै । यो विषयमा जगदम्बाका सम्पादक दीपक अर्यालपनि सकारात्मक देखिएका छन् । किताबका केहि अंश म आगामी दिनमा राख्ने छु नै । अस्ति शनीबारको नागरिक दैनिकले ‘काराभान गाथा’ शिर्षकमा यो किताबको एक अंश साभार गरेको छ । हेर्नलाई यहाँ क्लिक गरेर १९ पेजमा जानुहोला । गत वर्षनै नयाँ पत्रीका दैनिकले पनि एउटा अंश चापेको थियो । त्यसको लागि यहाँ  जानुहोला ।

तपाइँको प्रतिक्रिया