पेरिसमा कृष्ण लिला
(कृष्णको वरिपरि नाच्ने १६ सय गोपीनीनै त फेला परेनन् । तर दुई किशोरी र एक वालिका यसरि नाच्दै थिए । कृष्ण बनेका आमोद, गोपिनीहरु बन्नेमा जैनु, मुस्कान र मुना ।)
कृष्ण लिला, कृष्ण नाचबारे सानै देखि सुनिन्थ्यो । तर कहिल्यै हेर्ने मेसो मिलेको थिएन । कहिल्यै प्रत्यक्ष अनुभव भएन । कृष्ण आफ्ना १६ सय गोपीनी लिएर खुब नाच्छन् रे भन्नेपनि निकै सुन्दै आएको हो वालक हुँदा देखिनै । सधैं जिज्ञासा लाग्थ्यो, त्यो कस्तो नाच होला ? कसरि त्यत्रा गोपिनीहरुसित नाच्ने होलान् कृष्ण ? कस्तो भेषमा हुन्थे होला ? हिजो पेरिसमा त्यसको स्वाद लिन पाइयो ।
यसपटक नौलो, अचम्म र चाखलाग्दो कार्यक्रम गर्यो पेरिसस्थित नेपाली संस्था पाकोफेनले तीजको कार्यक्रममा क्रिष्णलिला देखाएर । नेपालका अशक्त र असहाय महिलाहरुलाई मूलत सिपमूलक काममा सहयोग दिँदै आएको पाकोफेन केहि वर्ष सुस्ताएको थियो । नयाँ जोस लिएर उदाउने क्रममा हिजो पेरिसमा नेपाली महिलाको पर्व तीजमनाउने कार्यक्रम राख्यो ।
हिजै कृष्ण जन्माष्टमीपनि परेकाले क्रिष्णलिला लगायतका नाचगान र बिदेशमा केहि नेपाली महिलाका समस्याबारेपनि मन्थन गरे । लेबनानस्थित एक कूटनितिज्ञको घर्मा काम गर्न पुगेकी दोलखाकी एक महिला (देब्रेतिर) ले कसरि आफू त्यहाँ यातना खपिन् र कसरि पेरिस आइपुगिन् भन्ने पीडा पोखेर नेपाली समक्ष आफ्ना दुख सुनाउँदै । उनलाई पाकोफेनकी अध्यक्ष जिता कटुवाल (दाहिने) ले सहयोग गर्दै आएकि रहिछिन् । कटुवालले पाकोफेनलाई अग नेपाली महिलाका हितमा प्रयोग गर्नकालागि सक्रिय बनाउने जानकारीपनि दिईन । हिजै राजदूत पत्नी सजना श्रेष्ठले उनलाई एक सय यूरो नगद दिएर सहयोग गरिन् । राजदूत श्रेष्ठले नेपालमा ५२ प्रतिशत महिला रहेकाले महिलाको विकास र उत्थान नभएसम्म देशको विकास हुन नसक्ने भन्दै महिलालाई सशक्त बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पेरिसमा मागि बिहे गरेर ल्याइएकि एक महिलालाई कसरि परिवारले दुख दिए भन्ने घटनाबारे दूतावासका मिनिस्टर काउन्सिलर जिवनप्रकाश श्रेष्ठले दिएका थिए । (यि दुई घटना बारे अर्को लेख पर्खिनुहोला)।
थुप्रै नेपालीले थापाको शोकमा कम्तिमा यो महिना कुनैपनि चाड पर्व नमनाउने निर्णय गरेकाले ति आएनन् । अर्कोतिर हिजै केहि नेपालीहरुले फूटबल खेलको प्रतिस्पर्धात्मक कार्यक्रम राखेकाले पनि सहभागि संख्या घट्यो । तैपनि सहभागिको संख्या उल्लेख्य थियो । कृष्ण जन्म अष्ठमी किन मनाइन्छ भन्ने जानकारी रामचन्द्र अधिकारीले दिएका थिए ।
फ्रान्सेली सेनामा रहेर अफ्गानिस्तानमा खटिएका बेला उतै रहस्यमय तरिकाले मारिएका क्रिष्ण बहादुर थापाप्रति एक मिनेट मौन धारण गरिँदा सबै स्तब्ध बने । त्यो भन्दा बढि थापाका बारेमा केहि शब्द सुमन ब्यक्त गर्दा पाकोफेनकी पूर्व अध्यक्ष सुमित्रा प्रधानले आँशु नै झारिन् ।
कृष्णको पूजा केहि फ्रान्सेली महिलालेपनि गरे ।
कृष्णको पूजा गर्दा सुमित्रा दिदीले शंख फुकिन् ।
त्यहाँ अरु विविध नाच र गीत गाइयो । ‘गैह्री खेतको शिरै हान्यो’ गीतमा नाच्दै एलिसा ।
‘रातो रानी फूलेझैं साँझमा’ बोलको गीत एक जना भाइले गाउन थालेपछि त दर्शकहरुलाई खप्नै भएनछ । अनि ति उठेर नाच्न थाले ।

















