दूतावासको खण्डन : अनियमितता गरेको घुमाउरो पाराले स्विकार
(दूतावासले आज पठाएको खण्डन कस्तो छ हेर्नुस् )
नेपालप्लसले अगस्ट ६ का दिन दूतावासको लेटरप्याड दूरुपयोग गरेको प्रमाण सहित एउटा समाचार लेखेको थियो ‘दूतावासको रकम ब्यक्तिका नाममा खर्च’ शिर्षकमा । त्यसको १२ दिनपछि आज नेपाली दूतावास पेरिसले खण्डन पठाएको छ । तर ‘टाउको दुखेको ओखती नाइटोमा लाइ’ भनेझैं गरेर । नेपालप्लसको समाचार थियो- दूतावासको लेटरप्याड र रकम खर्च गरेर किन ब्यक्तिका नाममा पर्व आयोजना गरियो ? तर दूतावासले गरेको आजको खण्डनमा त्यसको कहिँ कतै उल्लेख गरिएको छैन । त्यसको अर्थ नेपाल सरकारको सम्पत्ती र लेटर प्याड खर्च गर्दै राजदूत मोहनक्रिष्ण श्रेष्ठले गरेको अनियमितता र दूरुपयोगलाई चुप चाप लागेर दूतावासले स्विकार गरेको छ ।
दूतावासको खण्डन कतिसम्म झुटो छ भने त्यसमा लेखिएको छ- यस दूतावासबाट सम्पादन भइ आएका कामकारवाहीहरुका संवन्धमा लेखिएका कुराहरु पूर्वाग्रही, एकातर्फी, कपोलकल्पित, आधारहिन, भ्रामक भै कुत्सित नियतले अभिप्रेरित भएको देखिन्छ । कूटनितिक कामकाजका संवन्धमा सामान्य ज्ञानपनि नभएको देखिएकोले यो समाचारको खण्डन गरि खेद प्रकट गरिन्छ ।
राजदूत महोदयलाई नेपालप्लस सोध्न चाहन्छ, सम्पादन भइ आएका कामकारवाही भन्नाले कुन समाचारलाई भन्न खोजिएको हो ? कुन कामलाई भन्न खोजिएको हो ? के तपाइको कूटनिति यस्तै अन्टोसन्टो लेखेर चल्ने गरेको हो ? नेपाल सरकारको सम्पत्ती अख्तियारवाला ब्यक्ति बाहेक अरुले प्रयोग गर्न पाइन्न भनेर कानुनी प्रावधान सहित लेखेको समाचारको किन खण्डन गर्न नसकेको ? कि तिम्रो मनखुशि देशको ढुकुटी स्वाहा पार्ने कामलाई नेपालप्लसले समर्थन गर्नुपर्ने हो ?
नेपाल सरकारको लेटरप्याड प्रयोग गर्दै तिम्रो स्वास्नीका नाममा कार्यक्रम गर्ने, त्यो रकम सरकारको थाप्लामा हाल्ने, तिम्रा आसेपासे जम्मा पारेर म एउटा संचारकर्मीमाथि अप्रत्यक्ष धम्की दिने तिम्रो कुत्सित, दमित, स्वार्थे, मण्डले मनशायको खेद गर्नेकि नेपालको कानुन सम्मत तरिकाले सहि समाचार लेख्ने ब्यक्तिमाथि खेद गर्ने ? लाज शर्म अलिकति पनि कतै बाँकि छ भने म फेरी भन्छु, तिम्रो खण्डन गाइजात्रे र सन्दर्भहिन छ । त्यो लेटरप्याड दूरुपयोगको ठोस भनाइ राखोस् दूतावासले ।
जहाँसम्म दूतावासका कर्मचारीका बारेमा लेख्दा निजको धारणा राख्नुपर्ने कुरा छ, सप्रमाण समाचार लेख्दा संवन्धित अधिकारीलाई सोध्नुपर्ने पत्रकारिताको आचारसंहिताले बाँधेको छैन । बरु त्यस्तो प्रमाण सहित लेख्दा कानुन मिच्ने, अनियमितता गर्ने, राष्ट्र लुट्ने, कानुन मिच्नेका भनाई राखेर अपराधकर्तालाई चोख्याउन नदिने प्रचलन हुन्छ पत्रकारिताको मूल्य र मान्यता अनुसार । कूटनितिज्ञ भन्दा बढि पत्रकार हुन खोज्ने महामहिमलाई यत्तिपनि ज्ञान रहेनछ ।
दूतावासबाट सम्पादन भइ आएका काम कारवाहीका सम्बन्धमा कसैलाई गुनासो भएमा, चित्त नबुझेमा सम्बन्धित पक्षलाई दूतावासमा आउन आमन्त्रण गरिएको रहेछ बिज्ञप्ती मार्फत् । दूतावासको यो भनाई देख्दा महमहिमको ज्ञान देखेर नेपालप्लसलाई टिठ लागेको छ । यसले महामहिमको कूटनितिक दायरा र ज्ञान कति फराकिलो रहेछ भन्ने देखाउँछ । नेपालको कुनैपनि नागरिकको सूचनाको हक र अधिकारलाई नेपालको अन्तरिम संविधानले सुनिश्चित गरेको छ । त्यसको जानकारी लिन महामहिमको पाउ पर्नैपर्छ भन्ने छैन । सञ्चारका कुनैपनि माध्यम प्रयोग गर्न सकिन्छ । प्राप्त प्रमाणका आधारमा लेख्न सकिन्छ । आफ्नो स्वतन्त्र अभिब्यक्ति स्वतन्त्रतालाई प्रयोग गर्न महामहिमको राय लिन दूतावास धाउनु जरुरी छैन । आफूलाइ लागेका कुरा अभिब्यक्त गर्न महामहिमलाई सोध्नु पर्ने, दूतावासलाई सोधि हिँड्नुपर्ने यो कुनै तानाशाहकालिन राज्य होइन । त्यसलाई प्रयोग गर्न पाउने अधिकार नेपाली जनताले लडेर स्थापित गरेका हुन् ।
नेपालप्लसको लेखमा कतै अशिष्ठ भाषा छैन जुन दूतावासले आरोप लगाएको छ । पाठक प्रतिक्रियामा ब्यक्त धारणा पाठकका निजि हुन् । सार्वजनिक पदमा बसेको ब्यक्तिका बारेमा नागरिकले आफ्ना धारणा राख्नु सामान्य मानिन्छ । चित्त नबुझे संवन्धित ब्यक्तिले असहमती जनाउने अधिकार रहन्छ ।





