नेपालीको शोकमा फ्रान्सेली रुँदा हाम्रा राजदूतलाई भोजको चटारो
अफ्गानिस्तानमा तालीबानीको निशानाले मारिए भनिएका क्रिष्ण थापाको घटना अन्तै मोडिएको छ । हिजोबाट फ्रान्सेली अधिकारीहरुले क्रिष्ण बहादुर थापालाई पछाडिबाट आफ्नै सैनिक साथीले गोली हानी मारेको भन्ने सार्वजनिक भएको छ । त्यसकोलागि एक छानबीन समितीनै गठन गरिएको छ । उक्त समितीले आजैबाट काम शुरु गर्ने छ । जे होस मारिए क्रिष्ण थापा अघिल्लो आइतवार । फ्रान्सेली सरकारले उनको शव फ्रान्स ल्यायो । गत १३ अगस्ट शुक्रवारका दिन फ्रान्सका परराष्ट्रमन्त्री आलाँ जुपे, रक्षामन्त्री जेरार्ड लोंगे र श्रम तथा स्वास्थ्य मन्त्री साभिए बेर्थँ लगायत फ्रान्सेली सेनाका उच्च अधिकारीहरुले अन्तिम श्रद्दान्जली दिए ।
त्यसदिन क्रिष्ण थापालाई चिन्ने कमै थिए जो सडकको पेटीमा बसेर श्रदान्जली दिँदै रोइरहेका थिए । थापाका परिवारसित तिनको नातो त के ति पराइ मुलुकका थिए जो भक्कानो परेर उनको श्रदान्जलीमा रोइरहे । तर विदेशमा नेपालीको घर र त्यस घरका मूली मानिने हाम्रा राजदूतलाई भने भोज भतेर गर्ने चटारो थियो ।
उनलाई नेपालीको आँसुले छोएन । नेपालीको छोरो लडाइँमा गर्लम्म ढलेर विदेशीलाई रुवाउँदा नेपाल सरकारको सिंगो प्रतिनिधीलाई संभवत दुखि सम्म बनाउन सकेन । त्यसैले पछिल्लो दिन उनले राखेको तीजको भोज भतेरका लागि ब्यस्त थिए । र त आफू उपस्थित हुनु त परै जाओस् दूतावासका तर्फबाट कोहि प्रतिनिधीसम्म खटाउन सकेनन् श्रद्दा बाँड्न । त्यसैले राजदूत निवासमा भोजकालागि भ्याइनभ्याइ गरे ।
क्रिष्ण थापा रहरले फ्रान्सेली सेनामा छिरेका होइनन् । नेपालको कुनै गाउँमा चिचिलो छोरो छोडेर बिदेशको मुलुकमा बन्दूकसित रमाउन उनलाई पक्कै मन थिएन । भर्खरकी श्रीमतीलाई एक्लै राखेर उनी बम र गोलावारीमा पक्कै हाँसेका थिएनन् । स्वदेशको ठाउँमै उनलाई मिल्ने सुलभ इलम भेटिएको भए एकबारको जुनीलाई कर्कलाको पानी झैं ठानेर उनी पक्कै विदेशीका ट्यांकरमा रमाउने थिएनन् । बाउ आमाको आशा, परिवारको गतिलो पालन पोषण अनि भविष्यको चिन्ताले उनीपनि छिरे बिदेश । पसे फ्रान्सेली सेनामा । उनले भोगेको नियती ब्यक्तिगत लाग्न सक्ला कसैलाई । तर यो हाम्रो देशको बेथीति, बेरोजगारी, अनिश्चितता, महँगी र कुशासनको परिणाम हो ।
यस्तै नेपालीका समस्याहरु हल गर्न दूतावास चाहिन्छ । नेपालीका दुख, कष्ट र बेदनामा कम्तिमा साथ दिनु दूतावासको काम हो । राजदूत भनिने त्यहाँका मूली हुन् । बिदेशमा रहेका नेपालीलाई पर्ने कठिनाई, बाधा र अड्चन फुकाउनु त्यसको जिम्मेवारी हो । दूतावास त्यसैकालागि चाहिने हो । तर जब जिम्मेवारी र अख्तियारी लिएर बसेको ब्यक्तिले त्यो सबै लत्याउँछ तब सारा नेपालीले दुख पाउँछन् । बिदेशमा बेइज्जत हुन्छ । नेपालीहरुको मन कुँडिन्छ । क्रिष्ण थापाको दूर्घटनाले त्यस्तै बनाएको छ ।
नेपाली चेलीहरुको पर्व तीज आउन अझै दुई हप्ता बाँकि थियो । नेपाली सांस्क्रितिक ग्रिह र पाकोफेन भन्ने संस्थाले तीजको कार्यक्रम राखेका थिए तीजकै हाराहारीमा । तर दूतावास (ब्यक्तिका नाममा खर्च गरेको रकम र निम्ता दूतावासको भन्दै, कसले आयोजना गरेको भन्ने ?) ले अरु नेपालीलाई उछिन्नुपर्छ झैं गरेर तीज आउनु दुई हप्ता अगाडिनै आयोजना गर्यो गत १२ तारिख शनीवारका दिन । त्यसदिन भर्खर ३० वर्षमा लागेको नेपाली होनहार ठिटो क्रिष्ण थापाको शव उनको बटालियन भएको ठाउँ कोर्सिका लगिँदै थियो । क्रिष्णकी पत्नीको चुरा फुटेका थिए । सिंदुर पुछिएर उनी रुँदै थिइन् । क्रिष्णका बाबु आमा सँगै सयौं मानिस रोएका थिए । उनको फुच्चे छोरो बाबुको दुखमा मलिन अनुहार लगाएर फ्रन्सेलीहरुले गरेको श्रद्दान्जली नियाल्न बाध्य थियो ।
श्रद्दान्जली सभामा फ्रान्सका तिन मन्त्री थिए । तिनले भनेका थिए- ‘यो दूख र वेदाना हामी सबै बाँड्न चाहन्छौं । यो दुख र पीडा सिंगो राष्ट्रले महसुस गरेको छ । म्रितकका परिवारसँगै सिंगो देश रोएको छ ।’ सेनाका उच्च अधिकारी, पत्रकार, मेयर कार्यालयका उच्च अधिकारीसमेत हजारौंको उपस्थिति थियो त्यहाँ । तर हाम्रा राजदूत फ्रान्समा के गरेर बस्ने रहेछन् ? उनको यो देशमा कस्तो पहुँच रहेछ भन्ने देखियो । उनलाई त यो श्रद्दान्जली कहाँ हुँदै छ भन्ने सम्म हेक्का रहेनछ सायद । उनले क्रिष्णका साथी विष्णुलाई मोबाइलमा खबर छोडेका रहेछन् अघिल्लो दिन के हुँदै छ भनेर । नेपाल सरकारको सिंगो प्रतिनिधीत्व गरेर बसेको एउटा उच्च अधिकारीको हैसियत र पहुँच कति बलियो ? त्यत्रो सूचना लिन एउटा ब्यक्तिमा भर पर्नुपर्ने । यहाँको प्रशासनमा के पहुँच रहेछ त ?
त्यहि तीजको मुखैमा एकातिर फ्रान्सेली अधिकारीहरु नेपालीको श्रद्दान्जली मनाउन ब्यस्त थिए । यो विशाल देशका ब्यस्त तिन मन्त्री सहित उच्च अधिकारीहरु शोक मनाइरहेका थिए । तर आफ्नै देशको नागरिकको दुखमा विदेशीहरु रोइरहँदा हाम्रा राजदूतलाई भने मिठो मिठो परिकार कसरि खाने ? कसरि मिठा गित बजाउने ? कसरि नाच्ने गाउने भन्ने चटारो थियो । यदि उनमा अलिकतिपनि मानविय संवेदना, अख्तियारी लिएर बसेको जिम्मेवारीबोध हुन्थ्यो भने दुई हप्ता पछाडिको पर्वका लागि आयोजना गरेको भोज सार्न वा रद्द गर्न सकिने थिएन ? के एउटा नेपालीको घर भत्किँदा, एउटा चेली एकातिर आँसुमा डुब्दा, एउटा वालक टुहुरो हुँदा र एक जोडी बाबु आमा छोराको शोकमा डुब्दा अर्का थरी गाना बजाउने, नाच्ने, रमाइलो गर्ने र भोज भतेरमा रमाउन सुहाउँछ ?
एकातिर एउटा नेपालीको शव ढलिरहँदा कसरि, कुन मनले अर्को नेपाली राता लूगामा पहिरिएर, मादल ठोक्दै हाँस्न रमाउन सक्छ ? कोहि त कतिसम्म संवेदनहिन देखिएभने ‘हाम्ले भोज नखाएर के हुन्छ र ? आआफ्नो हेर्ने तरिका हो’ भन्दै भोजमा दौडिए । के आज क्रिष्ण थापाका परिवारलाइ परेको भवितब्य भोली अरु कसैलाई पर्न सक्दैन ? आफूलाई पर्दा त्यसैगरि छिमेकीले नाच गान गर्दै रमाएको देख्दा कस्तो होला ? के बिदेशमा बस्ने नेपाली संवेदनहिन हुँदै गएका हुन् ? र त्यो संवेदनहिन हुन हाम्रा राजदूत महोदयले सिकाइरहेका हुन् ?
राजदूतको काम बिदेशमा एउटा नेपालीको शरिर ढल्दा सरकारी भवनको दूरुपयोग गर्दै अरु नेपालीलाइ नचाउनु, हाँस खेलमा प्रेरित गर्नु हो ?
भोजमा जाने सबै नेपालीलाई जानकारी पक्कै थिएन । कार्य ब्यस्तता कारण सबै कुरोको जानकारी हुन संभवपनि छैन । त्यसैले न चाहिने हो बिदेशमा नेपाली दूतावास । त्यस्ता खबरहरुको दूतावासले दिने हो जानकारी । एउटा नेपालीको दुखमा साथ दिने, सहकार्य गराउने, मिलाउने, एक रुँदा अर्कोले कम्तिमा सहानूभुती दिने संस्कार बसाल्न सिकाउने, बाटो देखाउने कामपनि दूतावासकै हो । त्यसको प्रमुख जिम्मेवार राजदूत हुन् । तर हाम्रो बिडम्बना, बरु तमु समाजले उनको यो घटना थाहा पाएर सार्वजनिक गरिसकेको तीज मनाउने कार्यक्रम रद्द गर्यो । हाम्रा राजदूत चाहिँ हुस्कीको चुस्की र नाचगानमा रमाए ।
फ्रान्सेली मन्त्री र त्यत्रा सैनिक, नगरपालिकाका अधिकारी उपस्थित भएर श्रद्दान्जली सभा गरिँदा नेपालको तर्फबाट कोहिपनि उपस्थित भएन । साँच्चै कति नालायक बनाए हाम्रा राजदूत महोदयले नेपाललाई ? ति फ्रान्सेली उच्च अधिकारीहरुले हाम्रो दूतावासलाई के सोचे होलान् ? राजदूतप्रति कस्तो मूल्यांकन गरे होलान् ? म्रितकका परिवारलाई आफ्नो देशको तर्फबाट कोहिपनि उपस्थित नहुँदा कस्तो भयो होला ? बिदेशीहरु हुँक्क हुँक्क रोइरहँदा नेपालका राजदूत भोजभतेर मिलाउँदै ब्यस्त छन् भन्ने थाह पाए भने झन् फ्रान्सेली अधिकारीहरुले कसरि लेलान् ? हुन त ढिलो चाँडो यो खबर काठमाडौंको दूतावासबाटपनि जानकारी पक्कै हुन्छ नै ।
जाँड र भोज भतेरमा रमाउने, घरमा सधैं आसेपासे राखेर नेपाली समूदायका कम्जोरी औंल्याउने, उच्च अधिकारी भएर सामान्य नेपालीका कुरा काटेर बस्ने गर्नुको साटो केहि समय फ्रान्सको प्रशासन, यहाँको थितिको जानकारी र फ्रान्सेली प्रशासनमा पहुँच बढाउन अलिकति समय दिने हो भने नेपाल र उनैको लागिपनि कति हितकर हुँदो हो ? हुन त हाम्रा राजदूत सिपालू छन् अन्टोसन्टो जवाफ दिएर आफू अनुकूल बनाउन । बंग्याउन । अबपनि त्यस्तै केहि जवाफ दिएर अझ सफल, दयालू र आफू महान बन्ने कोसिस गर्ने नै छन् । तर जति कोसिस गरेपनि यो संवेदनामाथिको हेल्चेक्र्याइँलाई भुल्न सहज हुने छैन ।




