हतियार उठाएबापत शान्ति पुरस्कार ?
नेकपा (माओवादी) ले २०५२ साल फागुनबाट हतियार उठायो । उसले शुरु गरेको जनयुद्दबाट कम्तिमा १२ हजार नागरिक मारिए ।
हजारौं घाइते भए । सयौं बेपत्ता छन अझै । अरबौंको आर्थिक क्षति भयो । मारिएका मध्ये अधिकांश सरकारी सेनाबाट हुन । बेपत्ता, मारिएका र पिडितमा माओवादीका तर्फबाटपनि प्रशस्तै छन । त्यो जनयुद्द सञ्चालन गर्ने पार्टीको अध्यक्ष प्रधानमन्त्री प्रचण्ड हुन । जनसेनाका सर्बोच्च कमाण्डपनि उनै । १२ वर्ष भन्दा लामो समय लडिएको जनयुद्दका क्रममा माओवादीका कति कमजोरी रहे ? कति मानिस माओवादीका तर्फबाट बेपत्ता भए ? कति मारिए ? कति लखेटिए ? अझै निष्पक्ष छानबिन भएको छैन । यस्तो बेलामा त्यहि जनयुद्द हाँक्ने प्रमुख ब्यक्ति प्रचण्डले राष्ट्रिय शान्ति पुरस्कार पाएका छन । त्यत्रा मानिसहरु मारिएका, हराएका, बेपत्ता भएका, बिस्थापित बनाइएको युद्द लड्ने नेताले शान्ति पुरस्कार पाउनुपर्थ्यो ? यो त हतियार उठाएबापत शान्ति पुरस्कार दिए जस्तो भएन र ?
उनलाई बिहिबार डा डिल्लीरेमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार-२०६५ दिइएको छ । पुरस्कारको रासी एक लाख छ । राजनितिज्ञ तथा ईतिहासकार डा डिल्लीरमण रेग्मीको संझनामा स्थापना गरिएको डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले दिएको हो । संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संबिधान सभाको कार्यान्वयन र दिगो शान्ति स्थापनाकालागि खेल्नु भएको भूमिकाका लागि भनेर दिएको रे त्यो पुरस्कार । पुरस्कार जे कालागि भनेर दिइएको हो ति पुरा भएका छन त ? देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्यो ? जबकि संबिधान नै बनेको छैन । संबिधान सभाको कार्यान्वन पुरा भइसकेकै छैन । दिगो शान्ति त झन कसरि स्थापना हुनु ? प्रचण्ड आफैंले जनताले अहिले लडेर ल्याएको अधिकार गुम्ने संभावना छ भनिरहेका छन । जनताको अधिकार खोस्ने षडयन्त्र भयो भने फेरि हतियार उठ्न सक्छ भनेर प्रचण्डले आफैं भनिरहेका छन । अनि कसरि भयो दिगो शान्ति स्थापना ? माओवादीका जनसेना बिभिन्न सैन्य शिबिरमा छन । ति शिविरमा रहनु स्थायी समाधान होइन । भोलि ति शिबिरबाट बाहिर निस्कनपनि सक्छन । तिनको स्थायी थान्कोपान्को नलागेसम्म समाधान भयो भन्न सकिन्न । त्यत्रो जनयुद्द लडेको जनसेनाको स्थायी समाधान नै नभएसम्म के स्थायी शान्ति कायम भयो भन्न मिल्छ ?
प्रचण्डलेनै भनिरहेका छन कि दिगो शान्ति स्थापना अझै भैसकेको छैन भनेर । अनि दिगो शान्ति स्थापना गरेकोमा भन्दै पुरस्कार पाउँदा कस्तो लागेको होला प्रचण्ड स्वयंलाई ? अचम्म होइन त ? जे कालागि दिएइएको ति कुनैपनि पुरा भएकै छैनन । गणतन्त्र स्थापना, संबिधान सभाको निर्वाचन र अहिले सम्मको शान्तिको स्थापनामा प्रचण्डले खेलेको भूमिकालाई कसैले कम ठान्नु हुँदैन । तर शान्तिका लागि दिइने पुरस्कारकालागि के उनी योग्न ब्यक्ति हुन ? अथवा दिर्घकालिन शान्ति स्थापना, संघिय गणतान्त्रिक संबिधान निर्माण भएपछि मात्रै पो दिनु पर्थ्यो कि ? तपाईहरुलाई कस्तो लाग्छ ? के यो पुरस्कार प्रचण्डलेनै पाउनुपर्थ्यो ?
फोटो साभार-गोरखापत्र अनलाईन




