पार्टीको मारमुंग्री मिलाउन जनताबिरोधी नाटक
जनता वाक्कै भएका छन् । सरकार परिवर्तनको नाटक हेर्दा हेर्दा वाक्कै । न कुनै मन्त्रीले जनताका लागि केहि दिएको छ । न हिजो दियो । देश परिवर्तन गर्ने महान नारा दिएका माओवादी नेता हिजो मन्त्री भए । केहिले झण्डा हल्लाए । श्रीमती खुशि पारे । भूपु मन्त्री भन्ने नाम त कमाए । भत्ता थपियो राष्ट्रका थाप्लामा । जनताले यो मन्त्री हुन्न भनेर कहिल्यै कुर्लिएका होइनन् । जनतालाई वनको मुढो लगेर मन्त्रालयमा लडाइदिनु र कुनै नेतो मन्त्री हुनुमा अब बरु मुढो लडाइदिए खुशि होलान् । किनभने मुढाले कम्तिमा नाटक त गर्दैन । जनता शान्ति र संविधान चाहन्छन् तर यीनीहरुलाई एक दिन भएपनि मन्त्री हुँ भनेर झण्डा हल्लाउनु परेको छ ।
माओवादीका जति मन्त्री थिए ति पार्टीकै निर्णयबाट भएका थिए । बिगतमा हरुवा मन्त्री भन्दै अरुलाई सत्तोसराप गर्ने प्रचण्डले आफ्ना तिन जना हनुमानहरुलाई जनताले हराएपनि लगेर झण्डा र गाडी सुम्पे । चाकरीमा अझ दत्त चित्त बनाए । चाकरीबाज खडा गरेर भविष्यमा मोहन बैध्य र बाबुराम भट्टराइसित लड्ने जमातको गोलो अझ उँचो पारे । तर देशको लागि घाटा बाहेक केहि भएन । तिनको एक चक्कर पूरा भयो । बाहिर बस्नेलाई रन्को छुट्यो । पार्टीमा गन्जागोल भो रे ! अनि पार्टीको आन्तरिक मारमुङ्री मिलाउन भएकालाई फेरेर अर्का थरी लगे ।
मानसिकता सोलो डोलो एक्लै सोहोर्ने, ओगट्ने छ । जनतालाई बाँडेका सपना दिनदिनै शहिद हुँदै छन् । वरिपरि कोहि आए अँचेटेर लखेट्ने मानसिकता छ । मुलीको नाताले उदार हुनु, पार्टीका समस्या पार्टीमै हल गर्नु छैन । अनि पार्टीमा सल्केको राँको साम्य पार्न फेरी अरु दुई चार जना टिपेर मन्त्री बनाएर त्यो राँको निभाउन संभव हुन्छ ?
एउटा मन्त्रीलाई केहि गरेर देखाउन त के त्यो मन्त्रालय बुझ्न, समस्या पहिचान गर्न र योजना बनाउँनै केहि महिना लाग्छ । ६ महिनापनि मन्त्री हुन नपाउँदै तिनलाई खँदारेर अर्का थरी पठाउनुको ध्येय के हो ? कि पहिलेका मन्त्री स्वाँठ भएर ? के अबकाले छु मन्तर गरेर देशलाई ह्वात्तै माथि लान सक्छन् भनेर हो ? कि पहिलेका मन्त्रीले पार्टीको निर्देशन बिरुद्द काम गरे ?
प्रधानमन्त्रीसित गएर प्रचण्डले खुसुक्क ‘पार्टीको आन्तरिक किचलो मिलाउन नयाँ मन्त्री फेर्नुपर्ने भयो’ भनेछन् । देशको लागि के के न गर्छु भनेर लागेको पार्टी ग्रिहमन्त्री पदकै लागि पार्टीमा लाखे नाच देखाउने । संचार मन्त्रीका लागि आफ्नै पार्टीको कुनै कामरेड बिरुद्द सर्प नचाउन लागे झैं बीन बजाउने । पार्टीको झगडा मिलाउन देशले मन्त्री फेर्नुपर्ने ? पार्टीका मारमुंग्री साम्य पार्न देशले भत्ता दिएर, झण्डाको बेइज्जत गरेर, गाडीमा सयर गराउनुपर्ने ? आफ्ना पार्टीका लँडाभाँतीमा देशलाई किन सास्ती ? जनताका अगाडि किन नाटक ?
राष्ट्रिय सहमतीको सरकार बन्ने भो भने २४ घण्टाभित्र राजिनामा गर्न लगाउने रे आफ्ना मन्त्रीलाई । राष्ट्रिय सहमतीको सरकारको आवश्यकता हो भने संसदको प्रमुख दलका नाताले माओवादीले नै बढि लगानि र भूमिका खेल्नुपर्ने होइन ? राष्ट्रिय सहमतीको सरकारको लागि पहल गर्नु पर्नेमा आफ्नै पार्टीका मन्त्री थुतेर अर्का थरीलाइ मन्त्री बनाउन किन दगुरादगुर ? शक्ति र समय त्यसैमा खर्च ? २४ घण्टाका लागि मन्त्री बनाउनुको औचित्य के त ? २४ घण्टालाई मन्त्री बनाएर देशले पाउँछ के ? जनतालाई हुने के त ? पालै पालो मन्त्री भएर रहर मेट्न ?
पहिलेका मन्त्री पार्टीमा समानुपातिक भएन रे । भएकाले के गरे र ? के हिस्सी परेकी हिसिलाले पहिले पर्यटन मन्त्री हुँदा कुनै एउटा नेवार गाउँलाई पर्यटकिय नगरि बनाइन् ? महिला हकहितका लागि जिब्रै टोक्ने काम गरेर देखाइन् ? पहिलेका हरौटे प्रभु शाहले तराइलाई झिलिमिली, सिंगापुरको सडक झैं मगमग वासनादार पारे र ? पहिलेकाले लोभलाग्दो काम गरेर ओहो ! हाम्रो समूदायको मन्त्री भएको भए त्यस्तै काम गर्दो हो भनेर चुकचुकाउनु के छ ? पहिलेका मन्त्राणीहरुले गाउँमा निशाफ दिन नसकेका, सिडियो कार्यालयमा न्याय नपाएर धरधरी रोएका एक जना मात्रैपनि महिलालाई अधिकार दिएको, न्याय गरेको, महिलाका पक्षमा साहसिलो काम गरेको कतै छ ? अनि अबका समानुपातिक गएर के नै नाप्ने हुन् र ? जनता त पुरै आजित भएका छन् यो मन्त्री बनाउने खेल देखेर । जनताको इच्क्षा बिरोधी यो नाटक जनबिरोधी होइन ?




