कठै बिचरा सभासद !
सभासद भनेपछि तपाइकापनि कन्चटका रौं जुरुक जुरुक गर्छन् हैन ? अचानाको चोट खुकुरीले बुझ्दैन भने जस्तै रहेछ । सभासदकै गाह्रा, अप्ठेरा, जनताको आशा, पार्टीको दबाद र पार्टीकापनि माथिल्ला नेताका निर्देशन र पेलान कति हुने रहेछ भने त्यो सुन्दा ‘भो बा यो पद चाहिएन’ भन्ने लाग्छ तपाइलाईपनि । हिजो यस्सो इमेल पारदर्शी राखेको थिएँ मैले यूरोपका अरु देशमा गएर नेपाल जाने बुझेका गोरेहरुसित अन्तर्वार्ता गर्नको लागि निकटका मित्रसित सम्पर्क गर्न । माओवादीका एक जना इन्टरनेट प्रेमी सभासदले आफैं बोलाए । तर ‘स्टाटस’मा ‘माफ पाउँ अति ब्यस्त’ थियो ।
शुरुमै ‘सर सधैं कति ब्यस्त ? कुरा गर्न मिल्छ ?’ भने । ‘यो मेलमा पाठकहरु धेरै छन्, बोलाउनेजति सबैसित बोल्न नभ्याइने हुनाले’ भनें । गफगाफ चल्यो । ‘के छ ददि सरको हालखबर ?’ । मैले भनें ‘तपाइहरु जस्तो पो सर । म के सर ? तपाइहरु झैं कुर्सीमा खुट्टा हल्लाएर, संसदमा निदाएर हाम्लाई तलब आउन्न के रे’ भनें । सारै चित्त दुखाए उनले ।
‘यो सभासद पद आजै फालेर गाउँमा भैसीं चराउन गए, कि किराना पसल चलाउन गए बरु शान्ति पाइन्थ्यो होला’ भने । ‘किन र सर ? तपाइहरुले मात्रै होइन, जति बिरोध गरेपनि, संविधान नबनाएपनि लाज पचाएर राष्ट्रको सम्पत्ती सबै पार्टीका सभासदले खाएकै छन् के रे । बत्ती, पानी, उपचार, तेल सारा खर्च हालेकै छ राज्यले । अनि यस्तो हुँदा’नी मस्ति भएन भने कि अझै थप्नुपर्ने हो सुविधा ?’ मैले भनें ।
‘कस्तो गलत बुझ्नु भएको है तपाइलेपनि ? हाम्रा ब्यथा तपाइलाई थाह छ ?’ न्याउरो पारामा उनले भने । ”भन्नुस न’ मेरो आग्रह । लेख्दिनु होला’नी सबै’ भने उनले । मैले ‘तपाइका गुनासा त सुन्ने तर त्यसलाइ जनता कहाँ लैजाउँ न, जनतालाई अनि पो जानकारी हुन्छ, बुझ्छन् त’ भनेको । ‘यस्ता कुरा हाम्ले पत्रपत्रीकालाई भन्न मिल्दैन सर’ भने ।
सुनौं है त सभासदको बिलौना—-
गाउँबाट हाम्रा मान्छे सांसद (अझै सभासद नभनेर सांसद भन्छन् रे) भका छन् । कतै न कतै जागिर लाइदिन्छन् भन्दै हुरुरु आउँछन् । आएर फोन धस्काउन थाल्छन् । देशभित्र मात्रै हो र, कतार, दुबाइ, मलेशिया सम्म गफ गर्छन् । सरकारले अड्कलेर दिन्छ । केहि भन्यो भने ‘तपाइको जाने होर ?’ भन्छन् । कोहि ‘ल सांसद ज्यु म साँझ आउँछु है?’ भन्दै बिहानको भात खाएर हिँड्छन् । कोहि खाना खान आउँछु आउन्न भन्नेपनि केहि खबर नगरि राती १० बजे गफ लडाउँदै आइपुग्छ ‘सांसद ज्यु खै?’ भन्दै । कोठामा दर्जन भन्दा कम्तिको बास कहिल्यै हुन्न ।
हुरुरुरु सुनाउँदै गए उनले– कोहि त जनयुद्दका बेला हाम्ले यति चन्दा देको भन्छन् । हामी कहां बास बस्या होइन ? अहिले बिर्सिनु भो ? भन्दै हकार्छन् यस्सो घर सोध्यो भने । कोहि ल न सांसद ज्यु बिदेश पठाइदिनु पर्यो भन्छन् । खाडी मुलुकको कुरा गर्यो भने’ यूरोप क्यानडा पठाउनु पो त, जाबो अरब तपाइले पठाउन पर्छ र ? भन्दै कराउँछन् । कोहि लौन मेरो छोरोले एस एल सी फस्ट डिभिजन ल्यायो, टिचिङमा नाम निकाल्दिन पर्यो भन्छन् । कोहि लप्टन बनाइदे, कोहि इन्स्पेक्टर बनाइदे भन्छन् । कोहि ‘मैले ठुलो पद माग्या हो र ? यस्सो मास्टर जाबो त कति छन् कति पद खाली’ भनेर कराउँछन् ।
गाउँका नेता स्कूल बनाउनु पर्यो, स्कूल भए प्लस टु, त्यो पनि भए पुस्तकालय बनाउनु पर्यो, बजेट ल्याउ भन्छन् । कोहि ‘ल न बाबु यो केटो त्यत्तिकै पर्यो, बरु तपाइकै भात पकाउन भएपनि लैजानुपर्यो काठमाडौं भन्छन् । दिदी बहिनीको बिहे गर्न केटोसम्म हाम्ले खोजिदिनु पर्ने ।
घरका मान्छेले कुरो बुझ्छन् । तर आफन्तमा यस्तो हुन्छ हेर्नुस् परिवारलाई ‘के हो त्यत्रो दुख गरेर पनि मन्त्री नहुने ?’ सधैं झोले बन्ने ? भनेर उचाल्छन् । मलाईनै त परेको छैन तर मेरा कतिपय साथीमा त्यो गुनासो छ । कति साथीका घरमा सिधै भन्ने गरेका छन् ‘हिजो पालिँदै हैरान परियो, आज पाल्दै हैरान’ । कोहि जिल्लाबाट काठमाडौं आउनेदेखि काठमाडौंमा बस चढेको पैसोसम्म माग्छन् । कहाँबाट दिने हाम्ले ? ‘एक चोटी यस्तो सम्म भयो कि सर, वनमा गएर काठ काटेछन्, कारवाही भएछ, बञ्चरो लगिदिएछ । त्योपनि मागि दे भने । म हाँसेको । उनीहरुले तपाइ पो सांसद हुनु भो, पैसो कमाउनु भो, हाम्रा लागि त बञ्चरो ठूलो हो नी । बञ्चरो किन्ने पैसो कल्लेदिन्छ र हाम्लाई रे’ । अब भन्नुस त हामी सित के माग्दैनन् होला ?
दिनहुँ संसदमा अनेक गाली सह्यो, पत्रीकाका, कार्यकर्ताका आलोचना सहेर जाँदा कार्यकर्ताको लाम लस्करले न बस्ने ठाउँ हुन्छ । कोहि बिहानको पत्रीकापनि झोलामा हालेर हिँड्छन् । कोहि ‘तपाइले नसक्ने भए ल न त प्रचण्डकहाँ नै लग्दिनु, ग्रिहमन्त्रीकहाँ आफैं कुरा गरम्ला भन्छन् । फूर्सद हुन्न उहाँको भन्यो भने ‘के हो हाम्ले भेट्न नहुने? भन्दै जंगिन्छन् । कोहि मैले ऋण माग्या छु क्रिषी बिकाष बैंकमा पास गराइदिनु पर्यो रे । कोहि घर बनाउन लाको बिचैमा पैसो नपुगेर सकिएन लौ न २ लाख सापटी दिनुस् रे । गाउँमा झगडा पर्छ लौन छुटाइदिन पर्यो रे । कोहि बिरामी बोकेर आउँछन् । रगत २ पोइन्ट भन्दिनु न भनेर, लौन फोन झिक्दिनु एउटा भनेर, अस्पत्तालमा कोठा भन्दिनु भनेर मात्रै हो र सर ? डेरा दिएनन् लौन भन्दिनु पर्यो भनेर सम्म आउँछन् । हाम्ले कतिका घरमा ‘बाजे यो असल छ डेरा दिए हुन्छ’ भन्दै जानु ? हे हत्ते !
अहिले जिल्लाबाटै पासपोर्ट दिन्छ । सबै पार्टीका साथीहरुको सुझाव हो जिल्लाबाट दिनुपर्यो भन्ने । तर काठमाडौं आएर यहिँ बनाउनु पर्यो भनेर समेत जिद्दी गर्छन् । के भन्ने सर, पासपोर्टको लागि चाहिने रिपोर्ट पनि बनाइदे रे । नागरिकतामा लेखेको र सिफारिसमा नाम थर नमिल्दापनि हामीलाई भन्दिनु पर्यो भन्दै आउँछन् । दिनभरि कि संसदमा सुन्यो । त्यसपछि पार्टी काममा गएर थाकेर आयो, कार्यकर्ता लाम लागेर बाहिरदेखि बसेका हुन्छन् ।
पार्टीमा भन्यो भने कसले समाधान गर्ने ? भए पो गर्ने ? आफ्नै समस्या छन् पार्टीमा पनि । कतिपय साथीहरु जो हिजो सँगै बसियो, खाइयो र सहयोग गरे तिपनि रिसाएका छन् बिर्सियो, ठूलो मान्छे बन्यो भनेर । गाउँमा गयो उस्तै लर्को लाग्छ । बाटो बनाउ, बाटो भए पिच गर्देउ, पूल हाल्देउ के के हो के के मागपनि । आफ्नो संसदबाट आउने पैसो जति खुवाउँदा र घरमा लम्पसार पर्नेलाई सहयोग गर्दै सकिन्छ । भनेको काम गर्न सकिँदैन उल्टो बसेर खाएर फर्किँदा सराप्दै जान्छन् । न हातमा पैसो छ । न लगाउने जागिर छ । सभासद भनेपछि अब त बाटोको पुलिसले पनि पुछ्न छाड्यो । टाट पल्टेर यस्सो पैसो कमाउन लौ माछा पालम्, कुखुरा पालम भनेपनि ‘देश ठगेर पैसा कमायो’ भनेर लेख्ने तपाइहरुनै हो क्यारे !
संविधान बनाएन रे हाम्लाई । हाम्ले बनाउने हो संविधान सर ? हामी त सामान्य पार्टीका कार्यकर्ता । यो समस्या हाम्ले मात्रै भोगेको छैन । एमाले, नेपाली कांग्रेसकापनि साथीहरु छन् । बैचारिक आस्था फरक भएपनि गफगाफ चल्छ । समस्या तिनको पनि उस्तै छ । जनता जति हाम्लाई संविधान बनाएन राज्यको पैसो खायो भन्छन् । तपाइहरुले झन लेख्नुहुन्छ । संविधान बनाउने हामी सभासदले हो ? प्रचण्ड कामरेड, भट्टराइ, बैध्य, बादल, झलनाथ, शुसिल कोइराला, देउवा, रामचन्द्र, केपी ओली, माधव नेपालले हो कि हाम्ले ? कति आरोप लाउनुहुन्छ हो हाम्लाई ? हामी त पार्टीले जे भन्छ त्यहि खुरु खुरु मान्ने हो । नमान्दा बित्तिकै पार्टीले कारवाही गर्छ । अनि ‘बदमासी गरेकोले फलानो सभासद कारवाहीमा पार्टीबाट’ भनेर फेरी तपाइहरुले नै लेख्नुहुन्छ । पत्रीकाले लेख्दिएपछि सबैले त्यहि पत्याउँछन् ।
कि सर्लक्क छोड्नुपर्यो । हाम्ले छोडेर पनि भोली जादुगर कोहि आएर गर्ने होइन । पार्टीका ईमान्दार कार्यकर्ता हामी । छोडौं भनेपनि ‘हाम्ले जिताको, मन्त्री होला भनेको त गाउँलाई केहि नगरि भाग्यो पानी मरुवा’ भनेर तिनै गाउँलेले भन्छन् । संविधान बानाउने नबनाउने पार्टीका नेतामा भर छ । कस्तो बनाउने भन्ने । पार्टीमा लामो समय सम्म लगानि गरियो । त्यसै छोड्ने कुरो भएन । तिनै जनताले रुचाएर, पार्टीले निर्णय गरेर सभासद बनाए । अहिले न परिवारमा हर्ष । न कार्यकर्ता खुशि । न गोजीमा पैसो । कस्ता दिनमा सभासद भइएछ । निल्नु न ओकल्नु । बचेखुचेको इज्जत’नी जाने भो झन ।




