कविता : समयान्तर
● विध्या सापकोटा
धेरै समयपछि
म त्यहाँ गएकी थिएँ
जहाँ हामी हुने गर्थ्यौं
ठाउँ उही थियो
परिवेश उही थियो
केही बुढिएछ युवक पलास
फूल त उही थियो ।।
++++++++++++++++++
कोरिदै गयो,
धुमिल बिम्ब मनको नेपथ्यमा
++++++++++++++++++++++
टन्टलापुर घाम
सजल–सजल प्रेमिल नयन
मौन–मौन अधर
‘म तिमीलाई असिम प्रेम गर्छु’
कसोकसो सुस्साउँदो पवन
अवाक्
एकअर्काको भरमा अडिएका
तृप्त / अतृप्त – अतृप्त / तृप्त छायाँहरु ।।
++++++++++++++++++++++
पुरा भएकै थिएन तस्विर,
भुर्र उडे एकजोडी चखेवा
भत्का उँदै नेपथ्यको द्धार
सट्टामा,
शीरमाथी छाता पर्यो
आँखामाथी आँखा परे
नजरहरु एकाकार भए
++++++++++++++++++++++
‘ऊ’ उही थियो
‘म’ मै थिएँ
केवल !
त्यो समय हाम्रो थिएन
उसले पक्रेको मसिनो औंला उसको छोराको हुनसक्थ्यो
‘मामू !’ त्यो मृदुल आवाज मेरो छोरीको थियो ।।
++++++++++++++++++++++
फेरी पनि,
सबै एकै लाग्यो
उस्तै–दुरुस्तै / दुरुस्तै–उस्तै
ऊ / म
म / ऊ
हाँसिरहेका बिल्कूल पलासजस्तै ।।
(शंकरदेव कलेज, काठमाडौं)





