कविता : लुतोतन्त्र !

नवराज न्यौपाने /  ताइपेइ, ताईवान

अहो ! कती मजाको गफ गर्थ्यौ तिमी

हात फैलाइ फैलाइ

औंला नचाइ नचाइ

तिम्रो दर्शक दीर्घामा हामी

लैनो पाडोले घाम ताप्दै उग्राए जस्तो

कमिलाले आहारमा झुन्ड बनाए जस्तो

वरिपरी बसेर सुन्थ्यौं तिम्रा गफ

 ++++++++++++++++++++++

हामीले सुन्यौ र त सुनायौ तिम्ले

गाँठी कुरो यत्ती होइन ?

तिमीले सपना देखायौ अनी विश्वास भयो

गाँठी कुरो यत्ती होइन ?

 ++++++++++++++++++++++

तिम्रो धरातल डगमगाउन

मात्र एउटा गफाडिको खाँचो होइन ?

अर्को सपना देखाउनेको खाँचो होइन ?

 ++++++++++++++++++++++

अब तिमी कर्तब्यपरायण हुन जरुरी छ

नत्र, तिम्रा पनि दिनगन्ती सुरु हुने छन

त्यसैले अरुको लगौटीको बयान गरेर नबस

तिम्रो कन्दनीको सत्यनास हुन्छ, अनी चाल पाउला !

 ++++++++++++++++++++++

तिमी त्यही टपरटुइयाँ हौ

जसलाई हामीले बामे सर्न सिकायौं

अहिले खुट्टामा रौँ पलाए भनेर दौडिन नखोज

बैशाखी बिना तिम्रो अस्तित्व कहाँ छ ?

अली बिचार गर !

 ++++++++++++++++++++++

तिमी गड्गड्याउने उर्लँदो खहरे हौ

अहिले तिम्रा दिन छन

त्यसैले तिम्रो फुर्ती छ

वर्षात भन्दा खडेरी लामो छ, अली बिचार गर !

 ++++++++++++++++++++++

तिम्रो फुइँ ढलको पानीले छेपिएर बनेको लुतो हो

मजाले आङ तानेर कन्याउ

कोल्टे फेरी फेरी कन्याउ

त्यो फुइँको छालाबाट चिटचिट रगत बग्छ, अनी चाल पाउला !

++++++++++++++++++++++ 

तिमी सद्दे थियौ, रोगी ठाउँमा पसेछौ

लुतो सर्यौ बाबै !

तपाइँको प्रतिक्रिया