खोइ त ?
–हरिहर अर्याल, पेरिस
तिम्रो साथ पाएदेखि जून झार्छु भन्थ्यौ
शहीद भै खुन देउ नून बार्छु भन्थ्यौ
ल्हासा होइन ल्होमा नै सुन खार्छु भन्थ्यौ
खासा नगै भेडी गोठ उन सार्छु भन्थ्यौ ।।
संग्राममा होमोदियौ सिधा सोझा जात
धम्की गरि बन्दुकको खायौ दूध भात
छाला काढ्यौ गोली हान्यौ हान्यौ धेरै लात
पालो राखी धर धनी सुत्यौ मस्त रात ।।
पाता कसी घुँडा भाँची दगुर्न लगायौ
गरिखाने किसान थे अन्यत्र भगायौ
लोग्ने मारी स्वास्नीसँग मासु भात् मगायौ
बाह्र वर्षे कालरात्री श्मसान जगायौ ।।
प्रबशकी चेलीलाई हात् हालेको दिन
आमा बच्चा च्याँ च्याँ पार्दै छुट्ट्याएको किन ?
सुहागैको रात सिंदूर पुछिदियौ किन ?
लाशमाथि लाश थपि अट्टहास लिन ??
सत्ता हात पारेको नि धेरै बिते मैना
मिलिजुली शिष्टाचार कहिं कतै छैन
दायाँ हात अन्धो ऐन आर्को हात गोली
तिम्रै पात्र ढुकुटीमा खेल्न थाले होली ।।
प्रचण्डका सबै जना बिदेशको यात्रा
कोसेली भो जनतामा थप ऋणको मात्रा
बाबुराम बैध्यजीको सिद्दान्तको खिल
दिनानाथ सोहोर्दैछन ओखतीको विल ।।
आन्दोलनका दोषी सबै सत्तामा चढायौ
अग्रगामी जन चाहा भरोसा डढायौ
अविश्वास असुरक्षा अशान्ति बढायौ
सुख शान्ति खोज्ने हाम्रो ढुक्ढुकी सडायौ ।।
नबल्ने भो गाउँ बत्ती न बन्ने भो धारो
प्रचण्डजी बन्दै गए लौ आँखाको तारो
नाश्न-मार्न सजिलो भो बनाउन गाह्रो
बाबुराम्जी बन्दै गए तारो थाप्ने गारो ।।
तिम्रो साथ पाएदेखि जून झार्छु भन्थ्यौ
शहीद भै खुन देउ नून बार्छु भन्थ्यौ
–०१ डिसेम्बर २००८