“राजनिति बुझ्नेले पो एन आर एन हाँक्न सक्छ”

जतिसुकै राजनिति गरिन्न भनेपनि नेपालीका धारोपानी र पाटी पौवा सम्म राजनितिक रुपमा बिभाजित छन्। राजनिति मन पर्दैन भनेपनि अहिले सबैभन्दा धेरै चासोनै राजनितिमा राख्छन् । देशका हरेक निकाय, अंग अंग राजनितिक रुपमा बिभाजित भएका बेला जहाँसुकै होउन्, बसुन् हरेक नेपालीलाई प्रभाव पार्छ नै । राजनिति गर्नु हुन्न भनेपनि त्यसको प्रभाव विश्वभरिका नेपालीको साझा संगठन एन आर एनमा झन चर्को रुपमा देखिने गरेको छ । झन बेल्जियम त यस्तो देश हो जहाँ एन आर एनको निर्वाचन नेपालको संसदिय निर्वाचनको कुनै एक चुनाव क्षेत्रलाईपनि बिर्सौनेगरि लाग्छ । नेपालका प्रमुख दल मात्रै होइन, झिनामसिना दलकापनि प्यानल बन्छन् । भोट माग्ने, फकाउने, कराउने, आश्वासन दिने, लोभ्याउने, सदस्यताको लागि आफैंले दस्तूर हालिदिने सम्म गर्छन् ।

तर एन आर एनको निर्वाचनमा जति प्रस्तिस्पर्धा भएपनि महिलाहरुको सक्रियता अझ प्रमुख पदमा त नगण्य नै हुने गर्छ । तर त्यसलाई चुनैति दिँदै एन आर एन बेल्जियमको अध्यक्ष पदमा उम्मेदवार बनेकि छन् जानकी गुरुङ । एन आरएनको राष्ट्रिय समितिमा अध्यक्ष पदमा उम्मेदवार बन्ने संभवत उनी पहिलो महिला हुन् विश्व भरिकै एन आर एन मा । राष्ट्रिय प्रजातन्त्र पार्टीसित गठबन्दन गरेको भनिएको नेपाली कांग्रेसकि आधिकारिक उम्मेदवार मानिने उनलाई पञ्चायती कालका चर्चित नेता बखानसिं गुरुङ कि नातिनी भनेर त कमैले चिन्लान । तर उनी स्पष्ठ बक्ता, हक्की, साहसी र बोलक्कड भनेर चिन्ने चाहिँ धेरै नै छन् । यसलाई उनैको निवासमा एन आर एनको निर्वाचनमा केन्द्रित रहेर अन्तर्वार्ता लिन जाँदापनि नेपालप्लसका शेर बहादुर छन्त्यालसित खुलेर कुराकानी गरेकि उनले सिद्द गरिन्–

२६ जुन मा हुन गैरहेको एन आर एन बेल्जियमको चुनावमा तपाईंको अध्यक्ष पदमा नै उम्मेदारी किन ?

बेल्जियमको १४ बर्ष लामो बसाइको क्रममा मैले यहाँ धेरै प्रकारका समस्याहरु देखे भोगेको छु । प्रबासको बसाइमा बिभिन्न खाले कागजी प्रकृयाको कठिनाईलाई सरलीकरण गर्न, यहाँ भएका संघ संस्थाहरुमा बिशेष गरी महिला उपस्थितीलाई सशक्त पार्न, सबै खाले संघ संस्थाबीच एक आपसमा हातेमालो गर्ने बातावरण सिर्जना गर्न, बेल्जियमबासी नेपालीको लागि केही असल काम गर्नु पर्छ भन्ने मान्यता र यी सबै पक्षलाई समेटेर कार्यान्वयन गर्नको लागि एन सी सी अध्यक्षमा मैले उम्मेदवारी दिएको हुँ ।

तपाईं यूरोपको सह-संयोजिका भैसकेको ब्यक्ती फेरी किन एन सी सी अध्यक्ष मा उम्मेदवारी दिनु भयो ?

कार्यक्रमहरु कार्यान्वयन गर्ने शक्ती आई सी सी भन्दा एन सी सी मा बढी र महत्वपूर्ण भूमिका पनि खेल्न सकिन्छ । आई सी सी भनेको कोअर्डिनेशन (अन्तर्राष्ट्रिय समन्वय सिमिती) र अनुगमन गर्ने काम मात्रै गर्दछ । आफ्नो कार्यक्रम कार्यन्वयन गर्ने हो भने एन सिसी (राष्ट्रिय कार्यसमिति) नै मुख्य खम्बा हो ।

एक पटक यूरोपको सह-संयोजिका पदमा हारिसक्नु भएको ब्यक्ती फेरी एन सी सी मा उम्मेदारी दिनु नैतीकताको हिसाबले उचित हुनसक्ला ?

तपाईंमा इच्छा र चाहना छ भने एक पटक राष्ट्रप्रमुख भैसकेपछी पनि फेरी कुनै संस्थाको सदस्य भएर काम गर्न सक्नु हुन्छ नि त । सामाजिक काम गर्नलाई पदले छेक्दैन ।

एन आर एन मा राजनीति भयो भनिन्छ नि ?

सामाजिक काम गर्न राजनैतिक चेतना भएका ब्यक्तिले नै गर्न सक्दछ । जो ब्यक्ती राजनीतिक रुपमा सकृय छ, राजनीति बुझेको छ त्यसैले नै त समाज हाँक्न सक्छ नि होइन र ? त्यसैले एन आर एन मा पनि त्यस्ता ब्यक्तिहरुको जरुरत छ ।

यसको मतलब एन आर एन भित्र पनि राजनीति हुन्छ भनेर बुझ्नु पर्‍यो, होइन त ?

पार्टी बिशेषको राजनीति एन आर एन भित्र हुँदैन । तर राजनीतिक चेतना भएका ब्यक्ती अबश्यै हुन्छन । आफ्नो आस्था जे सुकै भए पनि एन आर एन को मूल्य र मान्यता भित्र रहेर काम गर्नु पर्दछ ।

अहिलेको चुनावी मैदानमा अध्यक्ष पदको लागि दुई उम्मेदवार हुनुहुन्छ । विपक्षी पक्षका उम्मेदवारले गर्नै नसक्ने काम तपाईं आफुले के-के गर्न सक्नु हुन्छ जस्तो लाग्छ ? 

हामी दुबै पक्षका चुनावी अबधारणा पत्रहरु लगभग एकै प्रकारका छन । भाषा र बुझाईमा मात्र फरक हो । जस्तो कि उहाँहरुको अवधारणा पत्रको बुंदा नं ६ मा भनिएको महिलालाई प्राथमिकता भन्ने बिषयमा मलाई कस्तो लाग्छ भने, यदी महिलालाई नै प्राथमिकता दिने हो भने म आफु महिला उम्मेदवार । मलाई किन समर्थन गर्न सक्नु हुन्न ? त्यस्तै राष्ट्रियताको सवालमा पनि अनावश्यक  भाषण मात्रै गरिएको छ । राष्ट्रको माया कसलाई हुँदैन ? राष्ट्रको माया हामीलाई पनि छ जती उहाँहरुलाई । बेल्जियममा आवाज उरालेर राष्ट्र विकास हुन्छ ? राष्ट्रको सेवा गर्न फराकिलो हृदयको आवस्यकता पर्दछ । फरक के गर्छु भन्ने भन्दा पनि मैले अवधारणा पत्रहरुमा आएका बुँदाहरुलाई कार्यान्वयन गर्न जोड दिन्छु ।

लामो समय नेपाली काँग्रेसमा आस्था राखेर राजनीति गर्नु भयो र बेल्जियममा जन सम्पर्क समितीको संस्थापक पनि । राष्ट्रको माया साँच्ची नै हो भने भारतले सीमा मिच्दा, सीमा क्षेत्रमा नेपालीहरुलाई चिल्लिबिल्ली बनाउँदा तपाईंको संगठनले किन कहिल्यै आवाज उठाउँदैन ? 

हामीले यहाँबाट आवाज उठाएर हुने कुरा होइन र पुर्याउन पनि सकिँदैन । तर नेताहरु आउँदा यी कुराहरुमा आन्तरिक छलफल चाँही हुन्छ । नेपालमा हाम्रो पार्टीले बारम्बार कुरा उठाइरहेका छन । हामीले जे पनि निर्णय गर्न सक्ने तहमा छैनौं । सिंगो राष्ट्रले उठाउनु पर्ने कुरा हाम्रो पार्टीले नेपालमा गरिराखेको नै छ । यहाँ त हामीले यहिँको स्थानीय समस्याहरुलाई हल गर्ने कोशीस गर्नुपर्छ । बेल्जियममा बसोबास गर्ने नेपालीको जल्दोबल्दो समस्याहरु समाधान गर्ने बाटो खोज्नु पर्दछ ।

राष्ट्रको सीमा मिचिँदा, राष्ट्रका नागरिकलाई बिदेशीले हस्तक्षेप गर्दा प्रवास बस्ने नेपालीले केही गर्नै सक्दैनन् ?

के गर्न सकिन्छ त यहाँ देखी ? राष्ट्र र राष्ट्रियताको विषयमा हामीले छलफल गर्छौ हाम्रै संगठन भित्र पनि । केन्द्र तहका नेताहरु आउँदा आन्तरिक छलफल गर्छौं, भन्छौंपनि । अन्तरिक रुपमा यो बिषयमा कुराहरु बारम्बार पुराइराखेका र्छौं ।

एन आर एनको परिचय पत्र लिनु भयो ? सबैले यो परिचयपत्र लिनै पर्छ भन्ने छ ?

मैले लिईसकेको छु । बेल्जियममा ३ जनाले लिएका र्छौं । एन आर एन को परिचय पत्र जबर्जस्ती लिनै पर्छ भन्ने होइन तर लिनु पर्छ है भन्ने माहोल सिर्जना गर्नु पर्दछ ।

विदेशमा बस्नेलाई नेपाली नागरिकतानै दिनु पर्छ भन्ने लाग्छ तपाइलाईपनि ?

नेपाल सरकारसँग एन आर एनले माग गर्ने हो । दिनेले कती दिन सक्छन त्यस्मा भर पर्दछ तर मैले चाँही पूर्ण अधिकार सहितको दोहोरो नागरिकता हुनु पर्दछ भन्छु । दोहोरो नागरिकता भनेको प्रबासमा रहे पनि नेपाली नागरिक भएरै गर्व गर्न पाउनु हो । एकपटकको नेपाली सधैंको नेपाली भन्ने नाता रही रहन्छ । हामीलाई भन्दा पनि आउने पिंढीलाई पुलको रुपमा जोड्ने काम गर्दछ दोहोरो नागरिकताले । नेपालको सरकारले यस्तो महत्वपूर्ण बिषयमा सक्दो ध्यान दिनु पर्दछ ।

त्यसो त एन आर एनका संस्थापक अहिले सम्म पनि नेपाली राहदानी बोकेरै विश्व गुमेका छन् नि ?

उहाँहरुलाई त्यस्तो गार्हो नहोला जो सँग प्रशस्त छ,  सम्पन्न छ । तर हामी जस्ता आम नेपालीलाई कुनै पनि बेला नेपालको राहदानी देख्यो कि केरकार गरिहाल्छन । तब बिदेशी नागरिकता लिनै पर्‍यो । अनि समस्या सिर्जना हुन्छ । आफ्नै देशमा पनि पराइ झै उपल्ब्ध भिसामा घुम्नु पर्छ । यस्ता खाले समस्याहरु समाधानको लागि नै दोहोरो नागरिकताको माग हो ।

एन आर एन धनीहरुको संस्था भनेर भनिन्छ । दोहोरो नागरिकता पनि कतै चालबाजी मात्रै त होइन ?

एक दुई ब्यक्तीलाई लक्षित गरेर धनीहरुको संस्था भनिएको होला तर यो पूर्णत: गलत हो । यदी धनीहरुको मात्रै संस्था हो भने खोइ म सँग केही पनि छैन । नकरात्मक दृष्‍टिकोण बाटै हेर्ने रहर हुनेलाई केही भन्न सकिदैन ।

प्रसंग बदलौ, एन आर एन को यूरोप सह-संयोजिकामा हार्नु भयो नि ?

यो हारमा पनि एकखाले शिक्षा पाएको छु । मेरा विपक्षी साथीहरुले गुटबन्दी गर्नु भयो । जानकी नेपाली काँग्रेसको मान्छे हो यसलाई हराउनु पर्छ भनेर भित्र भित्रै खेल खेलियो । यही खेललाई बुझ्न अहिले उम्मेदवारी दिएको पनि हो । 

गुटबन्दी त अहिले हुनलागेको चुनावमा पनि देखियो  किन ?

गुटबन्दी भएको छ तर यो स्वस्थ प्रतिस्पर्धा होइन । सहमति खोज्दा खोज्दै पनि साथीहरुले धोका दिनु भयो । म स्वतन्त्र उम्मेद्वार हुँ तर पनि जन संपर्क समितिले बिचारको आधारमा समर्थन गर्नु भएको हो । 

अहिले हुन गैरहेको एन आर एन को चुनावमा जित्छु भन्ने आत्मबिश्वासमा हुनुहुन्छ ?

म एक महिलाको प्रतिनिधित्व भएको नाताले बिपक्षी धारका साथीहरुले पनि मत दिनु हुन्छ । मलाई पूर्ण आशा छ । हार नै भए पनि एन आर एन मा निस्कृय हुने भन्ने छैन । सधैं एन आर एनको हितमा लागि रहनेछु ।

तपाइँको प्रतिक्रिया