कथा: मुक्ति–बन्धन

● विध्या सापकोटा  

अलामको जरुरतै थिएन, पवनको चीसो स्पर्श उसलाई ब्युँझाउन आउँथ्यो । हाई काड्दै झ्यालका पर्दाहरु उघार्थी ऊ, प्रकृतिका सुन्दर छटाहरु कोठासम्मै चियाउन आइपुग्थे । आँखै अगाडी बोटबुट्टयानले पालुवा फेर्थे । फूलहरु फुल्थे, झर्थे । मूल फुट्थ्यो, सुक्थ्यो । फूल र भवराका मातक खेल चल्थे, सेलाउँथे । पहाडको टेको लगाएर अडिएको यही शान्त कुनोमा आफ्नो जिन्दगीको पुरै पहाड खियाउन तयार थिई ऊ । न कुनै ठूला सपना, न सघर्ष । न कसैलाई के कसो छ/के गर्यौ भनेर सोध्नुछ, न कसैले सोध्छ । शान्त, स्वतन्त्र जीवन पद्दति । यस्तैमा जीवनका सग्ला बाह्र बर्ष पार लागिसकेको थियो । 

ऊ बाइस चौबिसको हुँदी हो, बाबुआमा बितेर जाँदा । अनाथ भएको केही समयपछि नै उसलाई लाग्यो, सामानका वारेन्टी / ग्यारेन्टीका मितिजस्तै मान्छेका नाता, सबन्ध र व्यावहारगत भूमिकाहरु तय भएका हुँदा रहेछन् । यसैको एक प्रभाव न थियो, उसको एकान्तबास । 

मान्छेहरुका अनेकै कुरा, अड्कलबाजीको बाबजूत आफूलाई उसले यही परिवेशमा अभ्यस्त बनाउदै लगेकी थी । कसले सोचेको हुन्छ र,सानो भलले पनि इतिहास बगाउन सक्छ । बगाउनै नसके पनि उथलपुथल गराउन सक्छ । त्यस्तै भयो, एउटा सानो बिरामी उसको जीवनमा भेल बनेर पस्यो । ऊ बीच सडक मै बेहोस भएर ढली । घप्लप्क एकचोटी लड्नु वा लडिरहनु आखिर बिरामी त बिरामी नै हो । म बिरामी छु, भन्ने आभास मात्रले पनि ऊ द्रविभूत भई, उपायहीन बनेर कोठा मै गुम्सी रही । 

छिन मै सरर पानी पर्ने, छिन मै घाम लाग्ने अपत्यारिलो मौसमी खेलको साक्षि बन्दै उसका समय बित्न लागे । यसैपनि सोच्न / कल्पन कसले कसलाई रोक्न सक्छ र ? त्यसमा पनि फुर्सद हुनु भनेको सोच्ने समय मिल्नु हो भलै सबै सोचाइहरु सकारात्मक भैदिँदैनन् । त्यतिकै ओछ्यायानमा पल्टिरहँदा उसको मनमा पनि नानाथरीका बिचारहरु आउँथे, जान्थे । मनभित्रै कतै बादल लागेजस्तो, कतै घाम लागेजस्तो हुन लाग्थ्यो । तन्द्रैतन्द्रामा त्यो आवाज उसलाई चिमोट्न आइपुग्थ्यो, ‘कमसेकम आफ्नो स्वास्थ्यको त ख्याल राख्नुपर्छ नि…….शशी जी । ‘ 

उसलाई बेहोस अबस्थामा बीच सडकबाट उठाएर घरसम्म ल्याइदिने मान्छेको आवाज थियो त्यो । त्यो मान्छे को थियो, कहाँबाट आयो र किन नबोली गयो, ऊ जान्दिनथी । हुनसक्छ, त्यो मान्छे हतारमा थियो । यतिले मात्र कहाँ चित्त बुझ्थ्यो र ? त्यसले प्रष्ट नाम पुकारेर बोलाएको थियो । ‘शशी …जी ’ कति जोड दिएको थियो नाममा । ‘जी’ नचाहेरै जोडिएको सम्बोधन हो, त्यसको उच्चारणबाटै प्रष्ट हुन्थ्यो । कसको, किन, कसरी… ? प्रश्नै प्रश्नको मजबुत जालोमा जेलिँदै गएकी थिई ऊ । 

त्यो मान्छे जो होस्, जस्तो होस्, कृतज्ञताको पात्र जरुर हो  । त्यो भन्दा बेशी सोच्नु नै आवश्यक छैन, होइन । जान्दा–जान्दै पनि सोचाइका अस्वाभाविक गतिले वाक्क बनाउँदै लगेथ्यो उसलाई । शशी……जी, कस्तो छ अहिले ?’ बेलाबखत शान्त कोठावीच एउटा तरङ्ग पैदा हुन्थ्यो ।  

‘मलाई के नै भएको छ र ?’

‘फेरी पनि…..?’ पुनः एउटा उत्सुकता तेर्स्याएर स्वरहरु लुप्त हुन्थे / फोन काटिइसक्थ्यो ।  

त्यो अध्याँरो / त्यो लुकामारी, त्यो परिचय र अपरिचयको भूमरी उसलाई बिथोल्नका लागि प्रयाप्त थिए । ‘कृतज्ञताका दुइ शब्द बोल्ने मौका त दिनु पर्ने हो नि… ?’ एकभारी उकुसमुकुसको निकास खोज्न निस्केको एसएमएस उल्टो थप अस्वभाविकता, थप एक उत्सुकता बोकेर फर्कन्थ्यो ‘मौका, मौका नभइदिन पनि सक्छ, जसरी हर सत्यहरु शाश्वत हुँदैनन् ।’ 

चालिसको उमेरमा पुगेकी आईमाईसँग यसरी ठट्टा गर्ने को होला?’ प्रश्न माथिको प्रश्न, उत्सुकता माथिको उत्सुकताले उसलाई विरामी भएर हैन, बिरामी नभएर बिरामी बनाउनै आँट्थ्यो । रानो हराएको मौरी झैं यताउता भुनभुनिइरहन्थी ऊ । मनमा कताकता बितेका दिनहरु सल्बलाउँथे, त्यो मान्छे यतै कतै छ भनेजस्तो पनि लाग्थ्यो । पाइलाहरु त्यसैत्यसै कहिले बरण्डा त कहिले छतसम्म पुग्थे । 

त्यसो त बस्तिभित्रै उसको एकांकी भङ्ग गर्ने प्रशस्त आधारहरु खडा हुँदै थिए । दुइचार घर बनिसकेका थिए, केही बन्दै पनि थिए । नयाँ–नयाँ मान्छेहरुको आउजाउ शुरु भैसकेको थियो । उसले गौण गरेर हेरी, न कुनै चहलपहल, न कुनै हो–हल्ला, सम्मुखको घरमा पनि मान्छे बस्न आइसकेछन् । उसका आँखा गमलामा तन्मयताकासाथ पानि हालिरहेको अधवैंशे पुरुषमा गएर टक्क अडियो । सहसा ज्ञात भयो, त्यो मान्छे बिल्कूल त्यस्तै थियो, त्यो मान्छे त्यही हुनुपर्छ र त्यो मान्छे त्यही नै हो । 

’कत्ति न आफूलाई लादेन नै हुँ भनेजस्तो लुकाउन खोज्थ्यो, नाथे मेरै सम्मुखको घरमा बस्दो रहेछ ।’ आफ्नो खोजको सफलतामा ठूलै हाँसो फुत्कन आँटेको थियो, कृतज्ञ भावले कक्रक्क बनायो उसलाई । आजकालको जमानामा यस्ता सहयोगी मान्छे पाइनु भनेको ठूलै कुरा हो । हार्दिकतावश ढुक्क बनी ऊ । सधैं झैं प्रभात, दिन र सन्ध्या हुँदै समय बितिरह्यो । मात्र उसले हेर्ने दृश्यमा एक दृश्य थपियो, त्यो मान्छे र त्यसका कृयाकलाप । 

प्रायः झ्याल छेउमा उल्टो बसेर क्यानभासमा रमाइरहेको हुन्थ्यो त्यो । अन्यथा ध्यानमग्न भएर आकाशतिर हेरिरहेको हुन्थ्यो वा बरण्डामा डुलिरहेको हुन्थ्यो । ऊ चूपचाप हेरिरहन्थी । उसमा एउटा आशा जाग्थ्यो / लोभ पलाउँथ्यो, त्यसले केही क्षणमा टाउको मोड्नेछ । सके उस्तै आवाजमा ‘शशी…जी कस्तो हुनुहुन्छ ? ’ सोध्ला पनि । 

तर त्यस्तो केही हुँदै भएन । उल्टो, त्यसका फोन र टेडा मेडा एसएमएसका सिलसिला पनि टुङ्गिए । ऊ घण्टौं बार्दलीमा उभिएर मुस्कुराइरहन्थी, बदलामा खिस्स दाँत देखाउने जाँगर पनि देखाउन्नथ्यो त्यो । ऊ त्यसको हातको चाल महशुस गर्थी । देखिन्नथ्यो, त्यसका कुचि केमा अभ्यस्त हुन्थे मात्र त्यसले फ्याँकेको चुरोटको धूवाँ गुजुल्टा–गजुल्टा बनेर उसलाई छुन आइपुग्थे । किन–किन उसलाई त्यसका प्रत्येक सर्कोमा आफैं तृप्त–तृप्त भए झैं लाग्थ्यो । 

हप्तौसम्म पनि त्यसको रबौया बदलिएन । उसलाई सिधा नजरले हेर्नुपर्ने आवश्यकता समेत महशुस गरेन त्यसले । उसका तर्फ, उसका घरतर्फ भुलेर पनि फर्किएन । ‘ए कति नाटक गर्छस्, यो उमेरमा आएर यस्तो हर्कत गर्न लाज लाग्दैन?’ विक्षिप्ततामा भुतभुताउँथी ऊ । तुरुन्तै नरम पनि भैहाल्थी । भन्नेहरु त उसलाई पनि एकलकाटे भन्छन् । अरु के के पनि भन्दा हुन् । जसरी उसलाई त्यसमा भन्नु, गर्नु केही छैन त्यसैगरी ‘त्यसको खुसी लुक्नु मै छ भने, बिथोल्नेवाला म को हुँ ? ’ उसैको पक्ष लिनुमा सन्तोष हुन लागेथ्यो । 

धेरै भएको थ्यो, उसले कसैको वास्ता गर्नै छाडिदिएकी । आफ्नो चालिस बर्षे जीवनमा पहिलो चोटि हुनुपर्छ, ऊ कसैप्रति यति प्रभावित भएकी । उसैको यस्तो विचित्रको ब्याबहारले उद्देलित नबनाई कहाँ छोड्थ्यो र ? के गरौं र कसो गरौं को अवस्था सृजना हुन्थ्यो । चेतन र अवचेतन मनबीचको सम्हालिनसक्नुको विमर्शपछि उसलाई लाग्यो, त्यो मान्छे उसलाई बेवास्ता मात्र गर्दैन । तिरस्कार गर्छ, अपमान गर्छ  । 

‘कसैले आफूलाई अकारण तिरस्कार गर्छ’ ले उसलाई हुनुसम्मको छ्टपटि हुन्थ्यो । अपमानबोधले पानी पानी हुन्थी ऊ । क्रोधको ज्वाला छुट्थ्यो र पनि उसलाई त्यो कुरा पत्याउनै मन लाग्दैनथ्यो । कसै गरेपनि त्यो मान्छे पूर्णतः गलत छ भन्ने हिम्मत जुट्दैन थ्यो । भ्रम, सत्य / सत्य, भ्रमको अनौठो मेघले ऊ भित्र खहरे उराल्दिएको थियो । जसले उसको जीवनको एकलौटी एकांकी त बडारेर लान सक्थ्यो नै, सँगै उसैलाई लाने सम्भावना तिब्र बन्दै गएथ्यो ।  

उसले बिहे गरिन । गर्दिन नै भनेर गरिन वा गर्न चाहँदा चाहँदै भएन, त्यो तपशिलको कुरा । अब त्यो पाना खोतल्नुको अर्थ छैन वा ऊ खोल्न चाहन्न पनि । ऊ खुसी थिई । सायद सन्तुष्ठ पनि । अव उसलाई सन्देह हुन लागेको थियो । त्यही खुसी प्रति, शून्यताप्रति, स्वतन्त्रताप्रति अनि आफैं प्रति पनि । 

बिस्तारै, उसले आफैंलाई आफ्नो वश भन्दा पर उछिट्टिएको महशुस गर्न लागी । घटनाहरु आफसेआफ घट्न लागे । उसले चाहेर होस् वा नचाहेर नै किन नहोस्, नयनहरु त्यो मान्छे र त्यसका चालचलनमा नठोक्की रहन सकेनन् । आफ्नो ध्यान आफूमा भन्दा ज्यादा त्यो मान्छे मै केन्द्रित भइरह्रो । नजरहरु स्वाभाविक भएनन् / रहेनन्, सके चालचलन पनि बिग्रँदै गएका हुँदा हुन् । ‘ किन त?’ उत्तर बिहीनतामा कताकता डराउँदै, भन्नै नसकिने कस्तो–कस्तो मीठो हो कि नमीठो पीडाको पोखरीमा चोपलिँदै गई ऊ । 

घटना, परिघटनासँगको आबद्धतामा नै जीवन सकिने हो । यस्तै एउटा घटना ऊ बेहोस भई, कसैले उसको उद्दार गर्यो । पुराना कालखण्डमा घटेका सानातिना घटनाक्रम झैं यसलाई पनि सेलाउन दिनुपर्छ, उसले आफूभित्र आउनै लागेको सुनामीलाई रोक्ने भरमग्दुर प्रयास गरी । अफिस र घरको पुरानो दैनिकीमा फर्किई तर अवस्था उस्तै रहँदै रहेन । उसैलाई त्यो डढेलो ननिमोस् भन्ने लागेर हो वा निम्नै नसकेर हो, ऊ डढ्दै गई, डढ्दै गई ।  

त्यसले त केही गरेकै होइन । प्रत्यक्षतः केही गर्दै गरेन जसले गर्दा त्यसका प्रति आक्रोशित हुनुपरोस् वा आकर्षित हुनुपरोस् । रपनि ऊ किन कमजोर बनी, किन भित्रभित्रै सल्किई ? उसले कहिल्यै मान्छे नै नदेखेकी पनि होइन । छोरी, बहिनी, नन्द, फुपूको सामाजिक भूमिकामा नै अठ्ठाइस वर्ष कटेको थियो । बाँकि बाह्र बर्षपनि यही समाजमा बितेको हो, बित्दैछ । मात्र आम आईमाईहरु जस्तै पत्नी, बुहारी, भाउजु, आमा, सासू् जस्ता भूमिकाको गञ्जगोलमा उसलाई फस्न मन लागेन । सोच्दा–सोच्दै, आफैंप्रति स–शंकित भई ऊ । उसले बर्षौ साधना गरेर, उर्वर यौवन खन्याएर के हुर्काउन चाही ? के जगेर्ना गर्न सकी ? त्यो एक युग आफ्नै लागी, आफ्नै इच्छाले केवल आफैंसँग रित्याएर कुन स्वतन्त्रता र आत्मनिर्णयको शिखर चुल्याई ? आखिर ! के चाहिँ बनी ऊ, बस् ‘शशी दिज्यू’ उर्फ ‘बूढीकन्या ’ ? टाउको माथी बारुलाको गोलो खन्निनु जत्तिकै चिडचिडाहटपूर्ण निष्कर्ष । 

सोचाइ, भोगाइ र निष्कर्ष जे नै भएपनि कृतज्ञताबश शुरु भएको उत्सुकता हुँदाहुँदा कताकता पुगिसके थ्यो । दुई घरबीच दश हातको दूरी पनि नहुँदो हो । त्यही एउटा विशाल पहाड खडा भए थ्यो, मौनताको… । सायद उस्तै महल पनि, एकैखाले शून्यताको / एक्लोपनको । पहाडलाई स्विकार्न सक्छु भन्ने उसलाई लाग्न छोडिसकेको थियो । महललाई पूर्णता दिन बर्षै लगाएर बनाएको आफ्नो शालिन पहिचान र परिपक्व उमेरले पटक्क दिन्नथ्यो । 

पुनः अफिस जान थालेपछिको पहिलो शनिवार हुनुपर्छ, दिनभरी जसो ओछ्यायन मै पदारिइरही ऊ । मृत्युदण्डको सजाय घोषित कैदीको अवस्था थियो उसको । ‘बेहोशीबाट गुज्रिसकेकी बिरामी वा भर्खर–भर्खर बेहोश भएकी आइमाई ?’ अलमल्ल ब्याप्त थियो । बन्द पर्दाहरुबीच सम्मुखको घर ओझेल पर्यो, त्यसको छायाँ पनि देखिएन । यत्ति मात्रले पनि आनन्दित तुल्यायो उसलाई । आफ्नो जिन्दगीको शान्त सत्ता फेरी फिर्ता भएको कल्पनामा आँखा चिम्म भए । 

अपशोच ! उसका खुसीहरु पलभर पनि टिकेनन् । एक झट्कामा उठी ऊ । आँखाहरु अत्तासिँदै त्यस घरतर्फ ओइरिए । दलान, बरण्डा, चोटाकोठा र भूई तला हुँदैं गार्डेनसम्म चाहारे । साच्चै त्यो मान्छे कहिकतै थिएन । उसले चाल पाइन, ऊ खुसी हुनुपर्ने थियो कि विस्मित हुनुपर्ने ? खुसी हुनको लागि प्रशस्त कारणहरु हुनसक्थे । जस्तो कि त्यो मान्छे हराएको थियो, जसले उसलाई एकपल्ट फर्केर हेर्न लायकै सम्झेन । जसले उसको बर्षौको तपस्यालाई डगमगाइदिएको थियो । जसले ऊ भित्र अपूर्णताको आगो सल्काइदिएको थियो …………..। बुदाँ माथि बुदाँ तयार हुदाँ पनि फिस्स हाँस्न सकिन ऊ । आफूलाई घरसम्म ल्याउनुको कृतज्ञ भाव मात्रले नभएर अन्य धेरै अदृश्य कुराहरुले थिच्दै गए । मनको भित्रिकुना आकुलब्याकुल हुन लाग्यो । ऊ निस्सासिए जस्तो भई । 

बर्षन नसकेको बादल जस्तै नीलो भयो अनुहार । डाँको छोडेर रुँदी हो ऊ । रुन कै लागि पनि शीर अड्याउने काँधको अभाव खड्कियो त्यहिँनेर । चेतनाको कुन सर्कोमा हो, तनिँदै तानिँदै बाकस छेउ पुगी ऊ अनि बर्षौदेखि कोचिराखेको सारी झिकेर बेरिन लागी । सप्को मिलाउँदै गर्दा त्यही सारीको गुलाबी रङ्गमा ‘तैले यस्तै लुगा पहिरिने दिन आयो, अब बिहे गर्नुपर्छ शशी’ आमाका अबरुद्ध गला र चिन्ताग्रस्त आँखाहरु बुट्टाबुट्टा बनेर टल्किए ।  

ऊ चूपचाप ऐना अगाडी गएर उभिई । अनुहार क्लान्त र ब्याकुल थियो फेरीपनि सुन्दरताका शेषहरु छरपष्ट देखिए । आफूलाई खूब जतनसाथ सिंगार्न लागी ऊ । कपाल फुल्न थालेछ, सीउँदो पन्छाउँदै उमेरको गणना गरी उसले । त्यो फूलेका रौं र खाली सिउँदो आज केही गरि पनि मन परेन उसलाई । 

एकाएक उसमा पूर्णताको लोभ जागेर आयो, अस्वभाविक रुपमा कहिले देखि दबेर बसेका नारित्वका भावनाहरु छ्याल्लब्याल्ल हुन लागे । प्रेमका चञ्चल भावना र तृप्तिको लहरमा लहरिँदै लहरिँदै आँखाहरु परपरसम्म पुगे । झमझम पानी परिरहेको थियो । उसलाई त्यो झरिमा उदत्त भएर रुझ्न मन लाग्यो । भिज्दाभिज्दै, स्वार्णिम ववचना याद आयो जहाँ ऊ आफ्ना साना पैतालाहरु उचाल्दै ‘हर–हर महादेव पानि देऊ–देऊ….. ’ भन्दै चिच्याउँथी । किशोरवयको याद आयो, ठ्याक्क याद नभएको कुनै मितिदेखी उसले आफूलाई लुकाउन थालेकी थिई यानकि ‘कसैले देखेको छैन है‘ भन्ने विश्वासमा मात्र रुझाउन थालेकी थिई । अनि यौवनको याद आयो, जहाँदेखि उसका रुझाइका सिलसिला टुङ्गिएका थिए । 

यादै–यादको डल्लो फुकाउँदै जाँदा उसलाई यादै भएन, इतिहास फर्किएको थियो । जोर आँखाहरु उसरी नै उसलाई चोर्नमा तल्लिन थिए । फरक यति भयो, यसपटक ती आँखाहरु पोल खुल्नुको लज्जा र भय मिश्रित भावमा छायाँ परेनन्  । निर्विकार भएर हेरि रहे, हेरि नै रहें ।

‘शेखर ! तिमी……..??’ अधीर ओठहरु काप्न मात्र सके, काँपिरहे ।

तपाइँको प्रतिक्रिया