नेपालीले आफ्ना साथी किन चिनाउँदैनन् हँ ?

फ्रान्सको लियों शहरमा हुँदा म सँगै थिइन् फ्रान्सेली मित्र मारी एडविज मार्तेन । उनलाई चिनाउन मैले त्यहिँका प्रक्रितिविद तेरी गोथिए कहाँ लगेको थिएँ । उनैको गाडीमा थिएँ म । उनले एक्कासी सोधिन, हैन ददि नेपालीहरुले किन आफ्ना असल साथीहरु अरु साथीलाई चिनाउँदैनन् ? अचम्म परें म । बडो नसोचेको, हेक्का नराखेको प्रश्न सोधिन् । केहिबेर अलमलमा परें । के जवाफ दिउँ । आफैंले उनलाई प्रश्न तेस्याएँ, किन र ? मैले त्यसो गरें र ?

होइन ।

अनि किन, के भएर सोध्या त ? फेरी जिज्ञासा राखें ।

उनी केहिबेर के के सोचे झैं गर्दा मैले सुनाएँ । तिमीलाई पेरिसमै केहि असल मित्र चिनाइदिएँ । तिमीलाइ काठमाडौंमा प्रवेश सुवेदी चिनाइदिएँ जोसित सहयोग आदानप्रदान भैरहेको छ । चितवनमा रुपेन्द्र, देवेन्द्रलाइ चिनाएँ जोसित तिम्रो सहकार्य भैरहेकै छ । तिमीले चिनेका जति फ्रान्सेलीलाई नेपालमा केहि काम पर्‍यो, अध्ययन र अन्य सम्पर्क चाहिँदा उपयुक्त मान्छे सित सम्पर्क गराइदिएकै छु । आजै तिमीले नचिनेका तिम्रै शहरमा बस्ने तेरीलाई चिनाएर ल्याएँ । अनि के आफ्ना असल साथी नेपालीले चिनाउँदैनन् र ?

एडविजले भनिन्, तिमी त अपवाद हो । अरु कसैले त्यसरि चिनाउने गरेका छैनन् । अझै अचम्म लाग्यो ।

पछि चितवन निकै समय घुमेर मेरा एक जना मित्र सित सहकार्य गरेर आएकि फोटोग्राफर एमेलीसित भेट भयो । उनीसित गफगाफ हुँदा उनलेपनि सुनाइन्, तिमी फलानोको साथी रहेछौ । उनीसित मेरो धेरै पटक सहकार्य भयो । भेट भयो । तर अहँ उनले कहिल्यै तिम्रो नाम लिएनन् । तिमी र म दुबै सोलेइ भेर संस्थासित नजिक छौं भन्ने जान्दापनि म फ्रान्स फर्किने अन्तिम बेलातिर बल्ल सुनाए । ‘मैले काम परेन होला । मेरो कुरो गर्नुपर्ने प्रसंग निस्किएन होला’ भनेर पन्छिएँ । तर एमेलीले भने अचम्म मानिरहिन् ।

त्यहि दिन एक जना नेपाली महिला र अर्का दुई जना नेपाली पुरुषको फोन आयो । ति महिला लियों शहरमा बसेको ८, १० वर्ष भैसकेको रहेछ । ति महिलाले एडविजकै अहिले पेरिस बस्ने महिलालाई चिन्ने रहेछन् । तर अहँ हाल पेरिस बसेकि जो महिला छन् उनी पहिले लियों बस्दापनि फ्रान्सेली साथीहरुलाई अरु नेपाली महिला साथीहरु नचिनाएकि । ति कसैलेपनि एक अर्कालाई चिनाएका रहेनछन् फ्रान्सेली साथीसित । म लियों गएको बेला ‘फलानी फलानी त साथी रहेछन् नी’ भन्दा फ्रान्सेली मित्रहरु छक्क परे ।

साँझ तिर फेरी अघिल्लो वर्ष हामी लियों जाँदा परिचय भएका एक जना मित्र आए । उनले लियों शहरमै बस्ने करिब ७, ८ जना नेपाली चिनेका रहेछन् । तर कसैलाईपनि परिचय नगराएका । लियों शहरमा भोली पल्ट हुन लागेको सांस्क्रितिक पर्वमा आउने खबर पाउँदा पो अचम्ममा परे त फ्रान्सेली हरु । 

उनीहरुलाई अचम्म त केमा लागेछ भने, एक दिन नेपालीहरुले जमघटको आयोजना गरेछन् । नेपाली नेपाली बसे, खाए, पिए, नाचे, हाँसे । रमाइलो गरे । पछि थाह पाएछन्, त्यो जमघट गरेको अघिल्लो दिन फ्रान्सेलीसित भेट हुँदापनि केहि नभनेका । पछि फ्रान्सेली साथीहरुले गुनासो गरे, ‘हामी यहाँ नेपाली छैनन् भनेर चाडपर्वमा नेपालीलाई बोलाउँछौं । तिनलाई सकेसम्म सहयोग गर्छौं। बेला बेलामा घरमा निम्ता गर्छौं । ति एक्लै छन् तिनको जाने ठाउँ कतै छैन भनेर बोलाउँछौं । तर उनीहरुले जमघट गर्दा चाहिँ हामीलाई सुनाउनपनि हुन्न झैं गर्ने रहेछन्। ति आफू आफू जमघट गरेर रमाइलोसित पो बिताउने रहेछन्’ ।

फ्रान्सेली साथीहरुको तर्क के भने ‘हामीलाईपनि नेपाली भनेपछि हुरुक्कै हुन्छ । हामीलाई नेपाली कार्यक्रम जमघटमा जाँदा नेपाल पुगेझैं लाग्छ । त्यहि भएर फ्रान्समापनि हामी नेपाली गतिबिधीमा बढि संलग्न हुन्छौं । पाएसम्म नेपाली चिजबिज प्रयोग गर्छौं । हामीलाइ कुनैपनि नेपाली कार्यक्रममा जाँदा, नेपालीको घरमा पुग्दा गौरब र खुशि लाग्छ ।  खाना नै चाहिन्छ फ्रान्सेली संस्क्रिति अनुसारको भन्ने छैन, नेपाली चिया खएर नेपाली गीत गाउँदै केहिबेर बस्न पाउँदापनि हामीलाई चाख दिएको, माया गरेको लाग्छ । खुब सुनाए गुनासो फ्रान्सेली मित्रहरुले ।

पछिसम्मपनि मलाई खुल्दुली बनाइराख्यो । केहि साथीहरुलाई सुनाएँ । नेपाली साथीहरुको भनाइमा फ्रान्सेली मिरको मूल्यांकन ठिकै हो निकै हदसम्म भन्ने रह्यो । साथीहरुले कारण दिए,

– आत्महिनताको कारणले गर्दा उनीहरु आफूलाई कमजोर ठान्छन् । अरुसित चिनाइदिँदा उपयोग हिन देख्छन् ।

– अरुलाई चिनाइदियो भने आफ्नो कमजोरी सुनाइदेला र टाढा बनाउला भन्ने सोच ।

– आफ्नो निकटता र काम जसलाइ चिनाइदिएको हो उसैले लगिदेला भन्ने पिर ।

– सबै असल मान्छेहरु मिलौं सहयात्रा गरौं, सामूहिक काम गरौं भने सामूहिक भावनाको कमी ।

– आफूसित भएको चिज आफैंसित मात्रै रहोस् भन्ने स्वार्थी भावना ।

नेपाली जमघटमा नबोलाउनुको कारण भने अलग हुन सक्छ । किनभने नेपालीहरु अक्सर चर्को नेपाली गीत र संगित बजाउँछन् । त्यो फ्रान्सेलीकोलागि मिल्दैन । बिदेशीहरु रक्सी अक्सर रमाइलोको लागि भाएपनि नेपालीले लाग्नकालागि खान्छन् । नेपालीको खाना अमिलो, पिरो र चिल्लो हुन्छ जिब्रो पोलेर समात्नुपर्ने जस्तो । त्यस्तो खान फ्रान्सेलीलाई सुहाउने कुरै भएन । नेपालीहरुले बल्ल तल्ल मिलाएर गरेको जमघटमा यस्सो तास चल्छ, गाउँघर र आफ्ना तिता मिठा कुरा आफ्नै भाषामा गरेर हल्का हुन चाहन्छन् । अर्काको भाषामा बोल्दा धित मर्दैन । फ्रान्सेलीहरु हुनासाथ तिसित बोल्नुपर्‍यो, ख्याल गर्नुपर्‍यो । खाँदा र खेल्दा होस् पुर्‍याउनुपर्‍यो । अर्को कुरो नेपालीहरु साँघुरा कोठामा दुई चार जना मिलेर बस्छन् । अनि फ्रान्सेलीहरु त त्यस्तो कोठामा मसला र खुर्सानि अनि चिल्लोको राग खपेर बस्नै सक्दैनन् ।

तपाइँको प्रतिक्रिया