छेपारा, सडक र बहुलाहरु

डा. लेखनाथ काफ्ले / ताइपेइ, ताईवान 

यो छेपाराहरुको देश हो।

अग्ला हिउँ प्रदेसका चिसा छेपाराहरु

समतल भुगोलका उत्ताउला, रापिला छेपाराहरु

एक साथ उग्राइरहेका छन

बासी बिचारका सुकेका परालहरु, झ्याउहरु ।

खै किन  

आँफैलाई चित्त न बुझेका कुराहरुको लागि तिनिहरु घोक्रो सुकाइरहेका होलान?

कसैको आदेश तामेली पो हो कि ?  

सडकको बुझाई तेस्तै छ।

 +++++++++++++++++++++++

रङ बदलुहरु

पद आरोहिहरु

सगरमाथा भन्दा उचो स्वरमा चिच्याइरहे छन

मुखौले परिबर्तनका रङ बिहिन नाराहरु।

किन? कसैले ल्याप्चे हालिदिएको छ तिनिहरुलाई? 

आफन्तको मुखुण्डो भित्रका काला थुतुनाहरुलाई। 

एउटा धोती, तोपी र बख्खु

त्यही नबुझेर बिखलन्दमा अझै हराइरहेको छ।

पहिले जस्तै फेरी पनि।

 +++++++++++++++++++++++

छेपाराहरु

दख्खिनका ताता रापहरु संगै उछालिरहेका छन

केचना भन्दा निचा तबरहरु।

ति छेपाराहरुले

जो सधैं अफुलाई ब्रह्मा संझन्छन 

कुनै अद्रिश्य धापको साहारामा।

सडक त्यही बोल्दैछ। 

यो चैतको चम्किलो सुर्यको रापले तातेको सडक।

 +++++++++++++++++++++++

यो सडक किन सधैं लम्बेतान उत्तानो सुतिरहेको होला?

त्यस्तो नाटक उसकै छाती माथि

नाकै मुनी

आँखा अगाडि

निरन्तर चली रहदा पनि।

भाडाका वा बाटो बिराएका दर्शकहरुका टाउका गन्दा पनि।

 +++++++++++++++++++++++

कत्तै यो आम मान्छेको बाटो पनि

साँचो परिवर्तन जस्तै

किम्कर्तब्यबिमूढ भै राखेको त छैन ?

तिनै चुच्चे-थेप्चेहरुको बाहुबलीहरुको दबाबमा

दबंगीहरुको बितन्डाहरुमा।

 +++++++++++++++++++++++

साधारण मगजहरु द्वारा नियन्त्रित छेपाराहरुको बुझाई भन्दा अलग

छैठौं इन्द्रिय खुलेका

यहाँ कथित

बहुलाहरुले आवाज बोली रहेछन

अन्तरीक्षमा पुग्ने गरी सवाल बोली रहेछन

के यो साँच्चै तिमी छेपाराहरुको देश नै हो त?

धन्य छौ तिमी छेपाराहरु

सडकको सातौ इन्द्रिय खुल्न अझै बाँकी नै छ 
छेपाराहरुको सँगको बहुलाहरुको दुनियाको बैचारिक तेस्रो विश्व युद्दको लागि।

 +++++++++++++++++++++++

म पनि बोली रहेछु

कामना गरिरहेछु

छेपाराहरु जिन्दबाद।

छेपाराहरु, तिमीहरुले सडकमा नयाँ बिचारको अनौठो ढोका खोल्ने अबसर दियौ।

बाध्यता मै सहि

म बोली रहेछु

कामना गरिरहेछु

छेपारेबाद जिन्दबाद।

हँ!

म कतै बहुलाई रहेको त छैन?

तपाइँको प्रतिक्रिया