सांस्क्रितिक पर्वको वास्तविकता र फ्रान्सेली मित्रमाथि अन्याय
अस्ति मे २८ मा फ्रान्सको लियों शहरमा भब्य प्रदर्शन भयो नेपालको । ४५ भन्दा बढि देशको प्रदर्शनमा नेपालले आफ्नो उपस्थिति जनाउनु आफैंमा अवसर र गौरवको कुरो थियो । चाकरीमा रमाउने, अफिसरका अगाडी पछाडी ज्ञानेन्द्र शैलीमा हिँड्नेलाई सायद हेक्का नहोला यो पर्व करिब सात महिनाको तयारीपछि पूरा भएको हो ।
यसमा निजिस्तरबाट नेपाली र फ्रान्सेली मित्रको प्रयास, लगानी, मेहनत र पसिना सिंचिएको छ । अर्काले गरेको कामलाई आफ्नो बनाउने, आफ्नै प्रशंसामा रमाउने र सिंगो राष्ट्रको प्रवर्धन भन्दा आफु र आफ्नो आसेपासेको उपस्थितिलाईनै सर्बाङ्ग ठान्ने शैली बिरुद्द केहि लेख्ने प्रयास हो मेरो । यो पर्वबारे बास्तविकता जान्न चाहेका बिभिन्न मुलुकका मित्रहरुलाई जानकारी होस् भनेर मैले आफूलाई लागेका, देखेका, भोगेका कुरा उल्लेख गर्न चाहेको छु ।
करिब ९ महिना पहिले मैले थाहा पाएँ- लियों शहरमा यो अन्तर्राष्ट्रिय पर्व हुँदै छ भनेर पेरिस निवासी एक फ्रान्सेली पत्रकार मार्फत । लियोंका साथीहरुलाई सोध्दा ‘हुन त हो तर त्यहाँ हाम्रो कन्सुलर कार्यालय नभएकाले सहभागि हुन सकिन्न’ जवाफ दिए । तैपनि बुझ भनेर लगाएको । पाइने रहेछ भन्ने थाह पाइयो मित्र सिल्भियन दलापियर मार्फत । तुरुन्तै सुनाएँ तत्कालिन कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठलाई । उनले ‘तपाइ सक्रियपूर्वक लाग्नुहुन्छ, फ्रान्सेली मित्रहरु परिचालन गर्नुहुन्छ भने भगलिउँ, सकिन्छ” भनेर उत्साहित पारे ।
यसमा भाग लिन मेयर कार्यालयका थुप्रै नियम पूरा गर्नुपर्थ्यो । हरेक महिना बैठकमा भाग लिनुपर्थ्यो । पेरिसबाट हरेक बैठमा पुग्न संभव थिएन । सिल्भियानले त्यसको जिम्मेवारी लिइन् । स्थानिय सोलेइ भेयर् संस्थाकी मित्र एडविज मार्तेनसंग नेपाली दूतावास र सोलेइ भेयरको संयुक्त नाममा कार्यक्रम गर्ने सल्लाह भयो । समिती बनाइयो । त्यसमा नाम राखियो- मेयर कार्यालयका स्टेफान भानहाम, दूतावासका तर्फबाट स्रिजना श्रेष्ठ, मेरो आफ्नै नाम, एडविज मार्तेन, सिल्भियान दलापियर, आनी मालार्टिक र ज्याकलिन सुतो । अन्य सहयोगमा मेजो कुल्चुरेल दु नेपालसमेत थियो ।
मेयर कार्यालयका फ्रान्सेली पत्रलाई नेपाली वा अंग्रेजीमा बनाएर जिवन् प्रकाश मार्फत दूतावासलाई सहयोग गर्नु, जिवन प्रकाशका कुरा फ्रान्सेली भाषामा बनाएर उताका मित्रलाई दिनु । लियों शहरको मेयरलाई चाहिने सामाग्री माग्नु र उता दिनु । फ्रान्सेली मित्रका सारा कुराको जिम्मेवारी लिनु । त्यो मेरो काम थियो । नेपालले प्रस्तुत गरेको मन्दिर भयो भएन, नेपालको जानकारी (फ्याक्ट फाइन्डिङ), अन्य सांस्क्रितिक वस्तु र फोटोहरु खोज्नु अनि जाँच गर्नुसम्म मैले हेरेर जिवन श्रेष्ठलाई देखाउँथें । दूतावासका तर्फबाट बेलैमा सामाग्रि उपलब्ध नहुँदा उताका साथीको दबाब सहनु । यो पर्वको सिलसिलामा करिब ६३७ वटा इमेल आदान प्रदान भएछन् । यसबिचमा प्रत्यक्ष बैठक कम्तिमा ७, ८ पटक भए । सयौं पटक फोन घुमे ।
परराष्ट्रबाटै काम ढिला गरिदिनाले होला, कति पटक त तोकिएका काम बेलैमा पूरा नहुँदा बेक्कारमा खप्की खान हात हालिएछ कि क्या हो पनि भनें मैले फ्रान्सेली मित्र र जिवन श्रेष्ठसित । यति महिनाका बिचमा निकै पटक प्रत्यक्ष बैठकसमेत गरियो । एक पटक दुई जना फ्रान्सेली मित्रलाई लिएर राजदूत मोहनक्रिष्ण समक्ष मै गएको हुँ । उनले त्यतिखेर यो कार्यक्रम गर्नुपर्छ भनेकै हुन् । त्यसपछिपनि फ्रान्सेली मित्रसहित र छुट्टैपनि जिवन श्रेष्ठसित पटक पटक बैठक गर्न पुगें । त्यसमा सबैको सिप, ज्ञान, समय र नीजि आर्थिक स्रोत लागेको छ ।
कार्यक्रम हुने मुखैमा लियों को को जाने ? कसरि जाने भन्ने कुरो भयो । फ्रान्सेली मित्रहरु उताबाट हैन, तिमी आउनै पर्छ केहि दिन पहिले भन्थे । यता जिवन श्रेष्ठ ‘तपाइ नभए हुन्न, बर्बाद हुन्छ’ भन्थे । त्यसैले २८ तारिख हुने पर्वकालागि मैले बिदा लिएर ५ दिन अघि गएँ। नगएको भए साँच्चै निकै घाटा हुने रहेछ । यहाँबाट जाने नेपालीलाई कसको घरमा राखे ? कसलाई कहाँ राख्ने ? कस्तो खुवाउने ? कुन तस्विर राख्ने स्टलमा ? केलाई प्राथमिकता दिने ? स्टलकालागि सामान सहित हामीलाई पुर्याउन गए जिवन श्रेष्ठ । अनि ति सारा कुराको ब्यवस्था मिलायौं हामीले । साथमा थिइन जिवनकी पत्नी निता र दुई छोरीहरु जैनु र निजू । कार्यक्रममा फ्रान्सेली महिलाहरुलाई साकेला न्रित्य सिकाउनुपर्ने थियो निता श्रेष्ठले । उनी नाच सिकाउँथिन तर फ्रान्सेली भाषा नजान्ने । फ्रान्सेलीहरु अंग्रेजी नजान्ने । एक अर्कका संस्क्रिति र पारा नबुझ्दापनि गाह्रो पर्ने रहेछ भन्नेपनि देखियो । त्यहि कारणले साँझ न्रित्य सिकाउँदापनि म लोभाषे झैं हुन्थें ।
कार्यक्रम हुने अघिल्लो दिन लियों शहरका केहि महत्वपूर्ण ब्यक्ति भेटियो । मैले त्यहाँ पुस्तक सम्पादन गर्ने पिरेत भन्ने महिलालाई अघिल्लो दिनको पुस्तक बिमोचन कार्यक्रममा गएर केहि मान्छे भेट्न लगाएँ। उनले त्यहाँपनि प्रचारप्रसार गरिन् । एडविजले केहि गनिएका मान्छे भेटिन् र म सँगै लागेको थिएँ। मेयर कार्यालय, स्कूल, संगित स्कूलदेखि वातावरणिय कक्षा लिने स्कूलका तेरी गोथिए सम्मलाई हामी भेट्न पुगेका थियौं यहि पर्व र नेपालमा कस्तो वातावरणिय शिक्षा सञ्चालन गर्न सकिएला भनेर ।
यीनीहरु ह्याँ फोटो खिच्न आको की सहयोग गर्न ?
अघिलो दिन वाल कलाकारहरु परिना, आमोद र निकिता सहित लभिना, जगत, प्रवीन, बबी, सुधीर, सन्त आए राती साँढे एक बजेतिर । जिवन श्रेष्ठ राति १ बजे पेरिसबाट गाडीमा हिँड्ने कुरो थियो । पर्व हुने दिन बिहान म ७.३० बजे स्थलमा पुगें अन्य फ्रन्सेली मित्र सहित । म बिहान पुग्दा फ्रान्सेली मित्रहरु आइसकेका थिए । म एक्लो नेपाली थिएँ । स्टल झण्डै तयार भैसक्दा हाम्रा राजदूत पत्नी र छोरीसहित आए । केहिबेरमा दूतावासका कर्मचारीहरुपनि देखिए ।
फ्रान्सेलीहरु ज्यान फालेर काम गर्दै थिए । तर गज्जब, अधिकांश नेपालीको ध्यान भने आआफ्नै फोटो खिच्नमै थियो । फ्रान्सेली मित्रले सिधै भने- यीनीहरु ह्याँ फोटो खिच्न आको की सहयोग गर्न ? केहि बेर स्टलमा गफगाफ गरेपछि राजदूत श्रेष्ठ लागे अरु देशको स्टलतिर । तर गज्जब, नेपाली कर्मचारी उहि ज्ञानेन्द्र राजा हुँदा पाटनको सडकमा आसेपासे पछि लागे झैं सबै पछि पछि लागे राजदूतको । यता कार्यक्रमकालागि स्टल बनाउन धमर्धुस् छ फ्रान्सेलीको । उता आउनासाथ राजदूतका पछि पछि लागेका छन् नेपाली कर्मचारी । मलाई लाग्यो, चाकरीबाज त जहाँपनि हुन्छन् तर त्यत्रा फ्रान्सेली मित्र खटेका छन् तिमीहरुपनि खट भन्नुपर्थ्यो की राजदूत आफैंले ! स्वदेश होस् कि बिदेश । पर्व होस् कि मेला । घर होस् कि बाहिर । नेपाली मानसिकताको प्रशासनिक पारा गज्जबले हेर्न पाइन्छ । त्यो देखेर केहि फ्रान्सेली मित्रहरुले म सित दुख पोख्दै थिए । र्यालीमा नेपाली दूतावासका कर्मचारी सहभागि भए । र्याली सकियो । त्यसको केहिबेरमा राजदूत लागे बाटो । भोली पल्टै आफ्नो त जागिरमा आइपुग्नुपर्ने थियो । मुख्य सामान थान्को लागेपछि हामी केहि पेरिस फर्कियौं। दुई जना त पेरिस फर्किने साधन नपाएर, नमिलेर उतै फ्रान्सेली मित्रकहाँ बास बसेछन् ।
झुठो समाचार, फ्रान्सेली मित्रमाथि अन्याय
स्टलमा नेपाली दूतावासकि कर्मचारी स्रिजनाले केहि बेर काम गरिन । यो पर्व तयारी गर्ने क्रममा उनको भूमिका प्रभावकारी थियो । जिवन श्रेष्ठ त यसै भैहाले । त्यसबाहेक नेपाली कर्मचारीको काम त्यो र्याली हुन्जेल कसैले सानोतिनो सहयोग गर्यो होला । स्टलमा राजदूत श्रेष्ठ यस्सो उभिएर फोटो खिच्न लगाए आफ्नो । बास ! त्यत्ति हो । नत्र र्याली बाहेक अन्यबेला नेपाली कर्मचारीको आफ्नै फोटो खिच्नमै ध्याउन्न थियो । दूतावास कर्मचारीका कोहि सदस्य त गैह्र नेपाली पहिरनमा (आउट ड्रेस) मा समेत थिए । जबकी फ्रान्सेलीहरु बरु नेपाली पहिरनमा थिए । अनि पछि समाचार देखिए पत्रपत्रीकामा ‘दूतावासका कर्मचारी र राजदूतले स्टलमा भिडमभिड लाग्नेलाई नेपालको विविध जानकारी दिए रे, ब्रोसर बाँडे रे’ । कहिलेकाहि फोटोले तथ्य नबोल्ने रहेछ । त्यतिखेर यस्सो देखाउन खिचिएको तस्विरले तथ्य बोलेन । स्टलमा जानकारी दिने कुनै नेपाली थिएन । सबै फ्रान्सेली मित्र थिए । झुक्किएर कुनै फ्रान्सेलीले यस्सो सोध्दा दुई चार शब्द खसाल्नुनै कार्यक्रमको मूल सक्रियता हो भन्ने के भन्ने ?
कार्यक्रमको मुख्य आकर्षणनै फ्रान्सेली किशोरीको साकेला न्रित्य थियो । नेपाल कहिल्यै नगएकि, नबुझेकि, नचिनेकी क्याथी ति किशोरी हरुकी शिक्षिका थिइन । त्यो उनैको देन थियो । उनको कहिँ कतै नाम निशान आएन । यो कार्यक्रम सफल पार्न प्रमुख भूमिका खेल्ने सिल्भियान, उनका पती फँस्वा र उनकी छोरी जेराल्डिन, सोले इ भेयर् की अध्यक्ष एड्विज मार्तेन हुन् ।
अझ सिल्भियानको परिवार नकस्सिएको भए त यो कार्यक्रम यसरि सम्पन्न हुने कुनै गुञ्जाइसनै थिएन । तिनले त राती साँढे एक बजे आएका नेपाली कलाकारको टोलीलाई घरमै जिम्मा लगाएर छिमेकीको घरमा गएर सुते । त्यो मन्दिर महिनौं लगाएर तिनैले बनाएका थिए । बूकलेटहरुमा टाँसिएका अधिकांश फोटो उनी र म मिलेर छान्यौं र त्यसलाई पुस्तिकाका रुपमा निकाल्ने काम उनैको परिवारले गर्यो । मेयर कार्यालयसितको प्रशासनिक काम त सबै उनैले सम्पन्न गरिन् । यो पर्वकालागि नेपाली कलाकारको सबै जिम्मा निता श्रेष्ठले लिइन् । तिनले बुझुन् नबुझुन्, हामीले हाम्रो धर्म छोड्नुहुन्न । तर दूतावास भनेकै सिंगो नेपाल हो बिदेशमा । उसैले निकाले बिज्ञप्तीमा त दूतावासका कर्मचारीले पो जानकरी दिए भनेर समाचार आउँछ । यो भन्दा तल्लो स्तरको मानसिकता केहि हुनै सक्दैन ।
दूतावास सहभागि भन्नासाथ दूतावासका कर्मचारी को को छन्, राजदूत को हो भन्ने यसै बुझिनुपर्ने हो । दूतावास सिंगो देशको मूली भएकाले उ भान्छे सरह हो । भान्छे स्वयं सबै भन्दा पहिले अघि सर्छ, आफ्नै थाल भर्छ र आफू टन्न भएपछि परिवारका सदस्यको वास्ता गर्दैन भने त्यसलाई के भन्ने ? सायद कूटनिति भनेको यहि रहेछ कि ? तर हाम्रो लाटो मनले सोच्दा कम्तिमा फ्रान्सेली मित्रहरुप्रति न्याय भने हुन सकेन । अझ नेपाली दूतवासलाई क्रेडिट दिइ दिइ पठाएको समाचार छापिइसकेपछि त्यो समाचार सत्य होइन भन्दै फोन गरिगरि दूतावासका कर्मचारीको बखान गरेर समाचार छपाएर आत्मरती लिनु कुन स्तरको कूटनिति हो कुन्नि ! फ्रान्सेली मित्रहरुको सहयोग लिन र नेपालीको सहयोग पाउन यो खालको कूटनितिले कतिन्जेल काम गर्ला ?
पैसाले मात्रै हुन्छ ?
हाम्रो प्रशासनको र नेपाली मानसिकताको उपज के हो भने पैसा भएपछि जे पनि हुन्छ । यूरोपका नेपाली दूतावासका पारापनि कुनै न कुनै रुपमा त्यो पहिलेदेखिनै प्रकट हुने गरेको छ । मेजों कुल्चुरेल दु नेपालले भाँसेनमा गर्ने कार्यक्रम होस् वा लियों शहरमा गरिएको यो पर्व । यस्ता कार्यक्रम पैसाका भरले हुन सक्दैनन् । पैसाकै भरले हुन्थ्यो भने त लौ न दूतावास एक्लैले पैसाको तुजुकमा यस्तै एउटा मात्रै कार्यक्रम गरेर देखाओस् । छ कहिँ यूरोपमा दूतावास एक्लैले गरेको ? साँच्चै पैसाले हुने भए के एडविज, कुमारीको रथ हाँक्ने फिलिप, मार्टीन, सिल्भियानको परिवार, नेपाली कलाकार, फ्रान्सेली कलाकार, तिनका घरमा बसेका दर्जनौं नेपाली, तिनको खाना, तलब, सिप, गाडीको ईन्धन सारा तिर्न सक्षम छ नेपाली दूतावास ? कम्तिमा यो सबैको मूल्य अनुग्रहित र निष्पक्ष भएर त तिर्न सकिन्छ ।
पैसाका भरले नेपाली नेता किन्न सकिएला । चाकरीका भरले पट्याउन सकिएला । ज्यु हजुरी गरेर आफ्नो बनाउन, स्वार्थ लिन सकिएला । तर यस्ता कार्यक्रम गर्न चाहिन्छ, देशको माया, केहि दिन्छु भन्ने मानसिकता । अक्किल । आफू बसेको ठाउँका (देशका) स्थानिय नागरिकसँगको हेलमेल, संस्क्रितिको पहिचान । स्थानिय भाषाको ज्ञान । ति नागरिकलाई हातमा लिन सक्ने, खुशि पार्न सक्ने क्षमता । राम्रो कार्यक्रम सोच्न सक्ने सिर्जनशिल दिमाख । आफ्नो नीजि प्रचार प्रसार भन्दा राष्ट्रिय हितलाई प्रमुख ठान्ने चिन्तन ।
त्यसैले म हिम्मतका साथ भन्छु, नेपाली दूतावासले यो राम्रो गर्यो तर अरु नेपालीका तुलनामा उसको भूमिका नगण्य हो । दूतावास त नेपाली जनताको पैसो खाएर बसेको छ । नेपाललाई चिनाउन, नेपालको काम गर्न भनेरै बसेको हो । यदि नेपाल र नेपालीको काम नगर्ने हो भने हामीले तिरेको करले किन तलब दिने, किन घर दिने ? आफ्नो देशको राष्ट्रिय सम्पत्तीमा तलब लिने, बस्ने, खाने गरेर नेपालीकै अगाडि शान बजाउनुको के अर्थ रहन्छ र ? जे गर्न भनेर आएको हो त्यो काम गर्नु के बहादुरी भयो र ?
बहादुरी त एड्विज, मार्टिन, ज्याकलिन, फँस्वा, मिरेइ, क्याथी, उनका १० बिध्यार्थी, जेराल्डिन, पिरेत जस्ताले गरे जो फ्रान्सेली भएर पनि बिदा बसि बसि नेपालकोलागि ज्यान दिए, दिइरहेका छन् । दिन र रात नभनि नेपालको लागि खटिरहेका छन् । बहादुरी त लभिना, जगत, बबी, प्रवीन, जैनु, निजु, प्रतिभा, निता, सन्त पुन, आमोद, निकिता, तारा, सुधिर, परिना जस्ताले गरे जस्ले आफ्नो काम छोडेर नाचे। आफ्नो देशको लागि तलब मारेर गए । रात बिताए । कष्ट भोगे । परिना जस्ता मसिना वाल वालिका राता भरको यात्रा गरेर त्यति लामो बाटो छिचोले । त्यो फन्के घाममा ओंठ सुकाउँदै कला देखाएर गाडीमा खाँदिँदै फर्किए । पैसाले मात्रै हुने थियो भने त त्यो दिन विश्वकै दादा भनिने अमेरिका देखि बेलायत र लक्जमवर्ग जस्तो विश्वकै अति धनी मुलुकसम्म थियो । तर तिनको स्टलमा आगन्तुक नभएर झिँगा लखेट्दै बस्नुपर्ने अवस्था थियो कर्मचारीले । किन नेपालको स्टलमा भ्याइ नभ्याइ दर्शकको भीड लाग्थ्यो र ! तर यो मानसिकता कहिले घुस्ने यूरोपका नेपाली दूतावासमा । हाम्रो नेपाली प्रशासनमा ?
के के रहे कमजोरी ? कस्तो भयो फाइदा ?
गत सालपनि म तिनै साथीहरुको आग्रहमा सांस्क्रितिक साँझ मनाउन गएको थिएँ । नेपालीले गर्नुपर्ने तयारीको जिम्मेवारी लिएको थिएँ। सांस्क्रितिक न्रित्यको जिम्मेवारी लिइदिएकि थिइन् नीता श्रेष्ठले । मलाई सजिलो भएको थियो । गत सालको कार्यक्रमले निकै प्रचारप्रसार पाएको थियो लियोंमा । त्यहाँका मेडियालेपनि स्थान दिएका थिए । यसपटक झन लाखौं लाखले जानकारी पाए। हामीले दिनभरीलाई भनेर लगेको ब्रोसर र अन्य जानकारी त केहि घण्टामै सकियो । नेपालको प्रस्तुती विशेष रह्यो । ऊ ए ल नेपाल ? से नेपाल ? (नेपाल कता हो ? त्यो हो नेपाल ?) भन्दै खोज्दै आएका थिए मानिसहरु । नेपालको यति धेरै प्रचारप्रसार एकै दिन, एकै ठाउँबाट हुने कार्यक्रम सायदै यूरोपमा अन्यत्र भएको होला ।
र्याली गर्दा सडको दायाँ बायाँ हजारौं मानिस थिए हेर्ने । तिनलाई हामीले नेपालको विविध सांस्क्रितिक पाटो र नेपाल विविध ढंगले चिनाउने जानकारीहरु, ब्रोसरहरु बाँड्न सक्नुपर्थ्यो । हामी यस पटक त्यसैमा चुकेका छौं । सबैभन्दा ठूलो कमजोरी त लियों जस्तो शहरमा हाम्रो कन्सुलर कार्यालय नहुनु हो । कन्सुलर कार्यालय भएको भए अन्य देशले झैं हामीलेपनि दुई दिनसम्म कार्यक्रम गर्न पाउने थियौं, अझ फराकिलो क्षेत्र ओगटेर र अझ सुबिधा लिएर । नेपाललाई बेला बेलामा अझ प्रवर्धन गर्न सहज हुने थियो कन्सुलर कार्यालय भएको भए। देशको सहि चिन्ता भएको ब्यक्तिले कुनै दिन सोच्ला नै। दुखको कुरा अहिलेलाइ चाहिँ यो दूरद्रिष्टिबाट बञ्चित छौं हामी ।




