धाक धम्की र नेपालप्लसको चुनौती

लियोंको पर्व सकिएर पहिलो फोटो फिचर नेपालप्लसमा आउनासाथ मलाई गाली र धम्कि आउन थालेका थिए । त्यस्ता धम्कीहरु आउने क्रम अझै छन् । धम्कीहरु मलाई खुट्टा भाँच्छु भन्ने देखि कमिशन खाएर लेख्ने गरेको, स्वतन्त्र पत्रकारिता नगरेको र अन्य उल्लेखनै गर्न नहुने निच गालीसम्म छन् । अचम्म त धेरै गालीहरुमा नेपाली राजदूतको प्रशंसा नगरेको, यो पर्व उनले गर्दा सफल भएकाले उनको भूमिकाबारे शसक्त ढंगले नलेखेको, उनकी छोरी र पत्नी समेत संलग्न रहेकाले तस्विर नराखेको । यस्तै यस्तै थिए । यसमा उनको दोष र संलग्नता नहुनपनि सक्छ । संयोग, यसरि गालीहरु वर्षिन लागेको केहि समयपछि वा अस्ति मध्यान्हदेखि नेपालप्लस खुल्न नसक्ने भयो । धम्कि दिनेले ‘पख्लास तेरो नेपालप्लस’ भन्नेसम्म थियो । नेपालप्लसको प्राविधिक पक्ष हेर्ने मेरा मित्र, पत्रकार र डकुमेन्ट्री निर्माता प्रवेश सुबेदीले आज यसको उपचार गरेका छन् । उनी हिजै बिहान पोखरा पुगेका थिए मुस्ताङ जाने क्रममा । उनी अर्को डकुमेन्टी सुटिङकालागि जाँदै थिए । तर नेपालप्लसको हालत देखेपछि उनले हिजो दिनभरी त्यसैमा बिताए ।

ब्लग भनेकै जे देख्यो, जस्तो बुझ्यो त्यस्तै लेख्ने हो । आफूलाई जुन विषय जस्तो लाग्छ, जस्तो भेटिन्छ र भोगिन्छ त्यहि लेखिन्छ । अनि पाठक, विज्ञलाई त्यस विषयमा बहस, छलफल, सहमती र असहमती प्रकट गर्न दिइन्छ । सबैले आफ्नो राय, तर्क र लागेका कुरा ब्यक्त गर्न पाउँछन् । यसैगरि कुनै पनि रचना माझिन्छ । मैलेपनि त्यसलाई बन्देज गरेको छैन । ‘नेपालप्लसमा कुनैपनि चिज राख्ने नराख्ने अधिकार मेरो छ, मन लागे पढ्नुस् नलागे कर छैन, यो मेरो निजि बिचार ब्यक्त गर्ने थलो हो’ भनेर स्पष्ठसित लेख्दापनि मैले मलाईनै सतोसराप गरेका प्रतिक्रियासमेत राखिदिने गरेको हो ।

नेपालप्लसको लोकप्रियता मैले भन्ने होइन । भिन्न प्रस्तुती, नौला विषय अनि खरो लेखाइले गर्दा नै विदेशबाट केहि सहयोगी मित्रको सद्भावमा एक्लो हात घोट्दापनि यसरि टिकेको हो । यसैमा धेरैलाई रिस मात्रै छैन कि पर्चाकारिताको लोभपनि छ । ठगिखाने, संस्थामा लागेर आफ्नो निजि हित र स्वार्थ हेर्ने, लुट्ने र देशको सम्पत्ती आफ्नो गुनगान गर्न सिध्याउनेको निद हराम भएको छ । मन्त्रीलाई खुवाएर, पालेर, राष्ट्रको धनमा  नेताको चाकरी गरेर, राष्ट्रिय सम्पत्तीमा सान देखाएर र आफ्ना स्वार्थमा प्रयोग गरेर टाउको बटार्नुको शान र मान म देख्दिन । र कुनै नेता, राजदूत, कुनै प्रशासकको कोटको फेरो समातेर हो मा हो मिलाउँदै हिँड्ने मेरो अभिलाशा छैन । पदमा क्षमताले मात्रै होइन चाकरी गरेर, चम्चागिरी गरेर, पाउ परेर, ज्युमा ज्यु गरेर पनि नेपाली प्रशासक पुगेका छन् । त्यो पेरिसमै पनि देखिएको हो । अन्य देशमापनि देखिएकै छ ।

कम्तिमा मैले यूरोपका झण्डै आधाजसो दूतावास भएका मूलूक देखेकाले, तिनको कार्यशैली देखेकाले कुन प्रशासक कति पानीमाथी र मुनी छ छाम्ने अवशर पाएको छु । तिनको बिगतका असल काम र कर्तुतको फेहरिस्त पनि केहि न केहि सुनिएकै हो । यदि कसैले धाक धम्कि दिएर झुकाउन सक्छु, गलाउन सक्छु भन्ने सोच्छ भने उसले बुझे हुन्छ, उ कदाफी सफल हुन सक्दैन । त्यस्ता धाक धम्की, पद प्रतिस्ठा र सानलाई धुलोमा मिसाइने छ । सोचे हुन्छ, चाकरी गरेर बिगत सिध्याएका र चाप्लुसी गरेरै बर्तमान धानेकाले त्यसैगरि टिके हुन्छ हामीलाई स्विकार्य छैन । कसैको हिम्मत छ भने म उसित निर्धक्क बहस गर्न तयार छु । तर कुनै माइकलालले झुकाउँछु, हप्काएर तर्साउँछु भन्छ भने बुझेहुन्छ कि उ सपनामा मुड्की ताकिरहेको छ । यतिमात्रै स्मरण गराउन चाहन्छु, बिगतमापनि यस्ता धाकधम्कीका प्रयास भएका थिए र ति सबै आफैं असफल भएकै थिए। राजदूत प्रज्वल्लले त झन भेट्टाए सडकमै मारिदिन्छु सम्म भनेका हुन् । अन्तत उनी आफैंले हरुवा कुकुरले झै पुच्छर लुकाएर हिँड्नु परिरहेको छ ।

जब जब फ्रान्स संवन्धि समचार, लेख आउँछन् तब तब एक दुई जना ब्यक्ति खुब सक्रिय देखिन्छन् गाली गर्न, धम्कि दिन ।
अघिल्ला पटकका समाचारमा पनि नेपाली दूतावासकै बचाउ गर्दै आएका थिए । ति मध्ये सबैभन्दा बढि गली र धम्कि आउने आइ पी तलको हो । उसले  राजदूतको पक्षमा वकालत गर्थ्यो । एकै ब्यक्तिले सधैं उसैगरि मलाई गाली गर्नु र एक ब्यक्तिको पक्षमा लेख्नुको अर्थ के छ ?आइ पी ठेगाना हङकङको छ । यो कसैले लगाएको हो भनेर बुझ्न गाह्रो छैन ।

[email protected]
112.120.48.78

IP Address:   112.120.48.78
ISP:   PCCW Limited
Region:   Central District (HongKong)

पर्वबाट आएपछि मैले समाचार जे भएको हो छोटकरीमा त्यहि लेखेर पठाएकोपनि थिएँ । तर कतिपय ठाउँमा के सम्म देखियो भने छापिएको समाचारलाई फेरी फाल्न लगाएर कसैको गूणागाण गाएर छाप्न लगाइएछ । त्यो दूतावासको बिज्ञप्ती मार्फत देखियो । तर दूतावासको बिज्ञप्ती यति गाइजात्रे थियो कि जसमा हत्तपत्त अन्य देशका दूतावासले त्यो हदसम्मको गल्ति गर्दैनन् । फ्रान्सेली मित्रहरुले लेखेको लेखपनि म अनुवाद गरेर नेपालप्लसमा राख्ने छु । मेरो पुस्तक प्रकाशनको धपेडीले फ्रान्सेली भाषामा निकाल्ने निर्णय गरेरपनि नेपालप्लस ढिलो भैरहेको छ । अबको संभवत २ हप्तामा पुस्तक विमोचन भएपछि नेपालप्लस फ्रान्सेली भाषामापनि आउने पक्का छ । त्यसपछि यस्ता वास्तविकताहरु फ्रान्सेली भाषामा लेखेर फ्रान्सेलीहरु समक्षपनि पुर्‍याइने छ । त्यसकालगि मेरो नेत्रित्वमा फ्रान्सेली मित्रहरुको टोलीपनि तयार भैसकेको छ । अहिलेकालगि मलाई साथ दिने सबै मित्र, पाठक र शुभचिन्तकलाई धन्यावाद ।

तपाइँको प्रतिक्रिया