अन्तर्राष्ट्रिय पर्वकालागि लियोंमा, तयारी झण्डै पूरा

हिजो बिहानै पेरिसबाट हिँडेको। पर्सि २८ तारिख हुने अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वको तयारीको लागि । चर्को घाम र ट्राफिक जाम छलेर आउँदा आउँदै ढिलो भो । हिजो फ्रान्सेलीहरुलाई साकेला नाच सिकाउनु पर्ने थियो सांस्क्रितिक पर्वमा नचाउन । ६.३० बजे उनीहरुलाई न्रित्य सिकाउने ठाउँमा पुग्नुपर्ने तर पुगियो ७.१५ मा । मसित सँगै थिए दूतावासका मिनिस्टर काउन्सिलर जिवन प्रकाश श्रेष्ठ । उनैकी पत्नी निता श्रेष्ठ । दुई छोरीहरु जैनु र निजू । मेडम नीता न्रित्य सिकाउन । जैनूको कूमारी नाच विशेष हुन्छ । निजू आधुनिक नाचमा नाच्छिन प्राय। यो पर्व मनाउँ भनेर शुरु देखिनै जिवन प्रकाशलाई अनुरोध गरेदेखि म संलग्न हुँदै आएको, नेपाली र फ्रान्सेलीबिचको पूल र के कसो गर्ने, कसरि मनाउने भन्ने यावत कुरामा। फ्रान्सेली साथीहरुको तयारी लगायतका सबैको अनुगमन र सहयोग गर्न भनेर म पनि आएँ बिदा लिएर ।

संविधान सभाको म्याद हुने, थपिएन भने कस्तो अवस्था होला ? सारा नेपालीको ध्यान त्यतै गएको छ । मेडिया त्यतै केन्द्रित छन् । यस्तो बेला म अन्तै आएँ । झन यस्तो ठाउँमा बसेको छु कि जहाँ आफ्नो काखे कम्प्युटरमा इन्टरनेटपनि जोड्न मिलेन हिजो। आज अर्कै साथीकोमा आएर बल बल्ल जोडियो । भोली के हुने हो केहि पक्का छैन । यस्तो बेला राजनितिक घटना क्रमका बारेमा कलम चलाउनुपर्ने हो । तर यस्सो सोचें, मेरो अनुपस्थितिले खासै फरक पर्दैन । यो पर्व भनेको अन्तर्राष्ट्रिय हो जहाँ कम्तिमा ४० देश सहभागि हुन्छन् । आआफ्नो देशको धर्म, भाषा, भेष भुषा, संस्क्रिति, संस्कार, क्रिषी, परम्परा, पर्यटकिय लगायत अन्य आकर्षणका बारेमा प्रचार प्रसार हुन्छ । आफ्नो देशका हरेक क्षेत्रका बारेमा अरुलाई पहिचान गराउने यो उत्तम उपाय हो । यहि कुरो यति धेरै देशका मानिससमक्ष पुर्‍याउनु पर्‍यो भने लाखौं डलरले पनि पुग्दैन । यहाँ सामान्य खर्चले हुन्छ हामीले सहयोग गर्‍यौं र सहभागि भयौं भने। त्यसैले मेरो हेराईमा यो ज्यादै महत्वपूर्ण छ मैले राजनितिक विषयका बारे लेख्नुभन्दा ।

           झण्डै सबै तयारी पूरा

भोली र पर्सिसम्म तयारी गर्नै छ । भोलीपनि प्रदर्शन गर्नुपर्ने सामाग्रि हेर्नु, पर्व हुनेठाउँको भ्रमण गर्नु, संगित र अन्य प्राविधिक सामाग्रि हेरेर ट्याक्क पारेर राख्नु । तरपनि मुख्य काम सकिएको छ । फ्रान्सेली युवतीको १० जनाको टोलीले साकेला नाच सिक्दै छ । भोली पुरा हुन्छ । यो पर्वकालागि भनेरै लियोंकी मित्र सिल्भियन, उनका पती फँस्वा र छोरी जेराल्डिनले चाँगुनारायणको मन्दिर बनाएका छन् । सबै जातिको पहिरन हुने छ । थुप्रै जातिका फरक फरक खाले नाच हुनेछन् । विविध बाजागाजा बजाउनेहरु छन् । बिभिन्न जातिको प्रतिनिधित्व गर्ने टिसर्ट लगाउनेहरुको समूह हुने छ । 

टेन्टमा नेपालका विविध क्षेत्र झल्काउने ब्रोसर र पोस्टरहरु हुने छन् । हामीले सकेसम्म नेपालको कुनै पनि क्षेत्र र विषय नछुटोस भनेर किरा, फट्याङ्रा, तराइ, मधेस, पूर्वी र पश्चिमी नेपाल सबै समेट्ने कोसिस गरेका छौं । बाँकी समाचार राख्ने कोसिस गर्दै जाने छु । इन्टरनेट मेरो कम्प्युटरमा जोडिन सक्छ, नजोडिनपनि सक्छ । जोडिए तपाइहरु सबैसित सम्पर्क होला, केहि लेखौंला । नसके केहि दिनमा उपस्थित हुन्छु । नेपाललाई विश्वमा चिनाउनु भन्दा ठूलो नेपालप्लस अवश्यै होइन । थुप्रै साथीहरुले फेस बुकमा म्यासेज पठाउनु भएको छ । इमेलमा पत्र, खबर, जानकारी, कविता पठाउनु भएको छ । सबैलाई पेरिस फर्किएपछि जवाफ दिउँला । यो ज्यादै महत्वपूर्ण पर्व भएकाले यसका सबै खबर, तस्विर र भिडियो राख्ने कोसिस गर्ने छु ।

तपाइँको प्रतिक्रिया