कविता : लाजको भाषण
● नास्तिक
लाज लाग्छ
लजाउँछु
लजाउन पाउनु मेरो अधिकार हो
म जनता हुँ !
°°°°°°°°°°°°°°°°°°°°
सधैं सुन्छु
धेरै सुन्छु
दिनदिनै सुन्छु
तर जान्दिन गर्न
भाषण !
म जनता हुँ !
°°°°°°°°°°°°°°°°°°°°
मसँग छन् मेरा
सुस्केराहरु
चित्कारहरु
हाहाकारहरु
के त्यसको भाषण हुन्छ ?
लाज लाग्छ
लजाउँछु
के लाजको भाषण हुन्छ ?
°°°°°°°°°°°°°°°°°°°°
तिमीलाई टि. भि. मा देख्दा लजाउँछु
तिमीलाई रेडियोमा सुन्दा लजाउँछु
अखबारमा पढ्दा लजाउँछु
तिम्रो बारे चिया पसलमा गफ गर्दा लजाउँछु
जतिजति बेला घर्किदै गाको छ
म उतिउति लजाउँदैछु
के यो लाजको भाषण हुन्छ ?
°°°°°°°°°°°°°°°°°°°°
म कोसिश गर्दैछु
लाजको भाषण बनाउन
भएछ भने एकदिन
तिम्रो कानको जाली पक्कै भत्काउँला !!




