नेपालमा त मार्क्सवादपनि टाटेपाटे लुगा र हतियारसहित प्रवेश

-ब्रिजिट स्टेनम्यान

सन १९८५ मा मैले नेपालको बारेमा पहिलो शोधपत्र तयार पारें । त्यो अध्ययन मेरो पहिलो पुस्तकका रुपमा प्रकाशित भयो । त्यो मेरो ग्रामिण वस्तिको अर्थसंबन्धि अध्ययन थियो। त्यो पुस्तकमा लेनिनबारे पनि उल्लेख छ ।

मैले पछि ले माओईस्ट ओ नेपाल, लेक्चुर दुन रेभोल्युस्योँ भन्ने किताब पनि लेखें । त्यो माओवादी क्रान्तिका बारेमा लेखिएको छ । सन १९८० मा मैले माक्र्सवादका बारेमा एउटा अध्ययन गरेकि थिएँ । त्यसमा मानिसले काम गर्ने पद्दति र तरिकाका बारेमा उल्लेख छ । पहिला कसरि कृषि उत्पादन ब्यवस्थापन गरिन्थ्यो ? कसरि त्यो उत्पादन धर्म र विश्वाससँग गाँसिएको थियो ? संबन्ध कस्तो थियो र काम कसरि गर्थे ? त्यो किताब यस्ता पक्षसँग संबन्धित छ । त्यहि कारणले होला, माओवादी नेताहरू सुरेश आले मगर लगायतले मेरो किताब औधि रुचाए । माओवादी क्रान्तिका बारेमा बुझ्न मन लागेपछि म आलेलाई भेट्न सन २००६ मा जेलमै गएकि थिएँ । त्यसो त, दिनानाथ शर्मालाई पनि मैले भेटेकि हुँ ।

तामाङहरूको समूदायमा भने मैले माओवादीहरू छिरेको सन २००१, २००२ तिरबाट मात्रै देखेकि हुँ । मैले तामाङभित्र माओवादीलाई पहिलो पटक सन् २००२ मा सैलुङमा भेटेकि हुँ । टाटेपाटे लुगामा हातहतियारसहितका यूवा बन्दुक र गोली गठ्ठा बोकेर गाउँमा देखापर्दा मलाई अचम्म लाग्यो । पश्चिमी नेपालका पहाडी बस्तीमा त्योभन्दा अगाडि मैले देखेकि नै थिइन । शुरुमा त सरकारी सैनिक हुन् कि भन्ने ठानें । के भएको हो भनेर बुझ्न खोजेँ । माओवादी भनेर मलाई थाहा पनि थिएन । अलि अप्ठेरो लाग्यो । किनकि, गोलीगठ्ठा भनेपछि मलाई घृणा लाग्छ ।

माओवादी गतिबिधी देखेपछि ब्राम्हणहरूले माक्र्सवादलाई कसरि परिभाषित गर्छन्, त्यो सिद्दान्तमाथिको विश्वासको अर्थ के हो; यसलाई कसरि बुझेका छन् भनेर जान्न उत्सुक भएँ । माक्र्सवाद नेपालको मौलिक दर्शन होइन, यो चीन र भारतबाट नेपाल पसेको बिचार हो । छिमेकि मुलुकबाट छिरेको माक्र्सवादलाई नेपालीले कसरि बुझ्ने रहेछन् भनेर जान्नु उपयोगि पनि थियो ।

मेरो स्वच्छ सोचाइ चाहिं तामाङ समूदायमा जस्तै सामाजिक संरचना नभएका ठाउँमा कामको महत्व के छ भनेर जान्न्नेतिर गयो । मैले देखेँ– नेपालमा माओवादीहरूले जुन किसिमले बुझेका छन्, यूरोपमा बस्नेले त्यहि अर्थले बुझेका छैनन् । मेरा लागि त्यो एउटा पुरै फरक अनुभव थियो । नेपालको माक्र्सवाद त पुरै फरक रहेछ, माक्र्सवाद भन्दा पनि सैनिक प्रवेश जस्तो । शुरुदेखि नै नेपालमा माक्र्सवाद हतियारबाट भित्रिएको छ ।

क्रान्ति हतियारबाट गरिँदै थियो । केहि मात्रामा वैचारिक आधारमा भए पनि क्रान्तिको शुरुवात नै कृषकहरूलाई हतियार दिएर भएको थियो । मलाई त्यो अलि कठिन र अनौठो लाग्यो किनभने यो मैले पहिले बुझेको भन्दा पुरै भिन्न थियो । मैले त गाउँमा परम्परागत जिवनपद्दति धानेर मकै छर्ने, गहुँ रोप्ने, बदम टिप्ने, फलफूल झार्ने आदि काम गरेका किसानहरू खोजेकि थिएँ ।

नेपालमा मानिसहरू अहिंसाको धर्म मान्छन्– बुद्ध धर्म । तर, हातहतियारको तिब्रता छ । सशष्त्र बिद्रोहमा संलग्न हुँदा धेरै यूवा मारिएका थिए । ति यूवा सरकारि सेनाबाट मारिन्थे । अवस्था निकै भयानक थियो । गाउँमा माओवादी र सरकारि गतिबिधि देखेपछि मैले सन् २००१–२००२ सालतिरबाटै राम्ररि बुझ्ने कोसिस गरेकि थिएँ । म मात्रै रुमल्लिएकि छु भन्ने ठानेको त होइन रहेछ । शुरुमा त तामाङ किसान हरूले पनि किन हत्या र हिंसा हुँदैछ भनेर बुझ्न सकेका रहेनछन् । आफ्नै दैनिक समस्याले जेलिएका र शिक्षादिक्षा पनि नभएका ती गरिब जनताले बुझ्न यसै पनि सहज थिएन । माओवादीहरू गाउँमा आएर समानताको कुरा पनि गर्थे । गरिबको हित गर्ने कुरा गर्ने हुँदा यिनले राम्रो गर्छन् कि भन्ने आशा भने गरिब किसानलाई हुने नै भयो ।

सन् २००६ मा पोखराबाट बेनी हुँदै धौलागिरी हिमालछेउ पुगेकि थिएँ । गाउँमा कुनै पेशा र केहि कामकाज देखिनँ । गाउँमा त हातहतियार र आतंक मात्रै छ । तिनले ढाडमा बोक्ने साना झोलामा बम हुन्थ्यो । द्वन्द्वमा परेर केहि घाईते भएका थिए त कसैले परिवार गुमाएका थिए ।

काम गर्नुपर्ने यूवाजति सबै माओवादीमा संलग्न । मानिसहरूलाई हिँडडुल गर्न पनि कठिन । माओवादीमा लागेका यूवा गाउँमा नबस्ने रहेछन् । गाउँको अवस्था ज्यादै खस्किएको थियो । जिवन असाध्यै कठिन थियो । त्यस्ता कुरा हेर्न र बुझ्न मलाई गाह्रो थिएन किनभने यूवा माओवादीहरूसित मेरो संपर्क थियो ।

नेपाली भाषा बोल्ने भएकालेपनि मलाई माओवादेसित संपर्क गर्न कठिन भएन । बरु मलाई उनीहरूले आफ्ना रणनीति पनि बताएर खुल्लारुपले नै कुरा गर्थे । मलाई तिनले बेनीको प्रहरी चौकिमा गरेको हमलाको बेलीबिस्तार पनि सुनाए । त्यो आक्रमणमा थुप्रै यूवाहरू मारिएका थिए । आक्रमणपछि तिनले मृतकका लास पनि उठाएर लान भ्याएनछन् । साथसाथै उनीहरूको सैन्य रणनीति पनि एकदम आश्चर्यलाग्दो थियो । म हत्या र हिंसाको प्रशंसक त होइन, तर पनि तिनको सैन्य रणनीति चाहिँ प्रशंसायोग्य लाग्यो ।

नेपालमा सन १९९० बाट यता धेरै कुरा नाटकिय रुपले परिवर्तन भएका छन् । त्यो सबै परिवर्तनका पछाडि माओवादी जनयुद्ध नै मूल कारण हो भन्ने त मिल्दैन । ग्रामिण भागमा अझै पनि सांस्कृतिक संरचना जिवितै थिए । पञ्चायति प्रणाली र त्यसको स्वरुप अस्तित्वमा थियो । सन २००१ मा भएको दरबार हत्याकाण्ड र माओवादी जनयुद्दको तिब्रतापछि मानिसको सोचाई, वैचारिक मानसिकता र दैनिक जिवनमा ठूलो रुपान्तरण देखापर्‍यो ।

सामाजिक संरचनाबारे चाहिँ म यसै भन्न सक्दिन, त्यो अलि जटिल छ । माओवादीकै कारण कृषिमा धेरै फेरबदल भयो भन्ने मलाई लाग्दैन; सोचाईमा चाहिँ परिवर्तन आएको जस्तो लाग्छ । मैले पहिले अध्ययन गरेको र अहिले देखेअनुसार कृषिजिवन ज्यादै छिन्न भिन्न भएको छ । कृषकहरूलाई जनयुद्धले बिस्थापित गरेको छ । त्यो युद्दमा केहि निश्चित मानिसहरू आक्रमणमा परेका छन् । ग्रामिण मानिसहरूको संसारमाथि आक्रमण भएको छ । हुनत नेपालमा सबै कृषक हुन् तर पनि त्यो एकदम ठूलो रुपान्तरण हो ।

(स्टेनम्यानले नेपालका तामाङ जातिमा पिएचडी गर्नुको साथै माओवादी र सिक्किममा राजतन्त्रबारेपनि अनुसन्धान गरेकि छन् । नेपालबारे लेखिएका बिभिन्न चार पुस्तकका लेखिका र यी मानवशास्त्रीका  यसमा राखिएका  अनुभव ददि सापकोटाको प्रकाशोन्मुख पुस्तकको सानो भाग मात्रै हो । नेपाललाई कर्म थलो बनाएका र फ्रान्समा नेपालका विविध क्षेत्रबारे विशेषज्ञका रुपमा परिचित २९ फ्रान्सेलीको नेपाल अनुभव बारे लेखिएको यो पुस्तक जगदम्बा प्रकाशनले छिटै बजारमा ल्याउँदै छ । पुस्तकमा संवन्धित ब्यक्तिका जिवन्त तस्विर मात्रै नभएर तिनले उपलब्ध गराएका नेपाल संवन्धि दूर्लभ तस्विरसमेत रहनेछन्) ।

तपाइँको प्रतिक्रिया