फ्रान्समा बागबजार चिनाउँदै फ्रान्सेली लेखिका

‘बागबजारकी किरोलाई भेट्नु भो ?’

‘कस्तो बागबजारकि किरो ?’

‘फ्रान्समा बागबजारकि किरो के’

छ्वालिका मुठा जत्रा जुँगा भित्रबाट दाँत फिस्स पार्दै वनस्पती विशेषज्ञ जँ फँस्वा दोब्रेमेले सुनाए ‘सिल्भी सेल्भाँ स्क्राइभर के । दोब्रेमेसित मेरो भेट पुस्तक लेखनका लागि भएको थियो । बिदाबादी हुने बेला उनले सोधिहाले ।

‘ के रे ? ‘सिल्भी सेल्भाँ स्क्राइभर ? राम राम नामपनि कति कठिन हो’ ।

जुँगा फेरी उछिट्याउँदै हाँसे उनी ‘हाम्लाई’नी गाह्रै नाम हो यो त’

उनले फ्रान्सेली लेखिका चिनाउन खोज्दै रहेछन् ‘बागबजार भनेसि हुरुक्कै, भुतुक्कै । त्यहि भएर बागबजारको गतिबिधीलाई अलि बढि तन्काएर नेपाल सवन्धि उपन्यास लेखेकि छिन् । त्यसको नामै बागबजार ।’

फ्रान्सेली सांस्क्रितिक केन्द्रमा दशकजति काम गरेकि । बाग बजारको सांस्क्रितिक केन्द्रमा बस्दा बस्दै उनको माया प्रिति बस्यो बागबजारसित । त्यहाँको ओहोर दोहोर उनको आँखामा गडे । सबैलाई भिड लाग्ने, वाक्कै लाग्ने बागबजार उनको लागि प्रिय बन्यो । हेर्दा हेर्दै, बस्दा बस्दै त उनले उपन्यास नै लेखिन् ।

फूलको आँखामा फूलै संसार भनेझैं भो सिल्भिकालागि । उनले बागबजारका भित्ता भित्तामा जिवन देखिन् । ‘लौ १० रुप्पे १० रुप्पे’ भनेर कराउँदै गर्ने खुद्रे र नाङ्ले ब्यापारीको कुर्लाइमा जिवन्त कथा भेटिन् । बाग बजारका हरेक भित्ताले उनकालागि रोचक ईतिहास बोकिदिए । त्यहाँ ओहोर दोहोर गर्ने हरेक नेपालीको उपस्थिति विशेष बने उनका आँखालागि । र उनले ति सबैलाई एकै ठाउँमा सोरेर उपन्यास लेखिन् ‘वागबजार’ ।

सांस्क्रितिक केन्द्रमा काम गर्थिन उनी । फ्रान्सेली भाषा सिक्ने नेपाली त्यहिँ पुग्थे अनेक जिज्ञासा राख्दै । नेपालीले भाषा आनन्द र सौखकालागि भन्दा यस्सो गुजाराको कतै आड दिन्छ कि, बिदेशतिर बत्तिहाल्न पाइन्छ कि, विदेशी पैसो पट्याउने पेशाको ठेगान लाग्छ कि भन्दै सिक्छन् । फ्रान्सेली भाषा सिक्नु अघि यस्तै जिज्ञासा बोकेर जान्थे नेपाली । कोहि फ्रान्समा पढ्न, कोहि यस्सो केहि सिपको लागि तालिम लिन । कोहि फ्रान्सेली पुस्तक नियाल्न । ‘त्यहाँ त ताल तालका मान्छे भेटिने रहेछन्’ अचम लाग्दो रहेछ उनलाई । यिनै ताल तालका मान्छेका बेतालका जिज्ञासा सिल्भीकालागि उपन्यास लेख्न खुराक बने पछि ।

बडा रोचक पक्षहरुसमेत समेटेकि छन् हामी नेपालीकै लागिपनि । फ्रान्सेली राष्ट्रपती फँस्वा मितेरँ नेपाल गएका बेलाको पत्रकार सम्मेलनको प्रसंग ज्यादै रोचक छ । नेपालले शान्ति क्षेत्र प्रस्ताव गरेकाले मितेरँलाई त्यसमा हस्ताक्षर गर्न आग्रह गरेकालेपनि उनको भ्रमण महत्वपूर्ण मानिएको रहेछ । पत्रकार सम्मेलन आयोजना गरिएछ वसन्तपुर हनुमानढोका दरवार प्रांगणमा अपरान्हको ४, ५ बजे । पत्रकार सम्मेलन भैरहेका बेला सयौं काग कराएछन् । मितेरँले के के भने कसैले केहि सुन्न पाएन । सयौं कागको आवाजमा एक्ला मितेरँको बोलीको के लाग्थ्यो । काग कराए भनेर मितेरँको मन्तब्य रोक्न लगाउने हिम्मतपनि कसैलाई भएन ।

कसैले सुन्न पाएन, बुझेनन् भनेर दुतावासका कर्मचारी आकुल ब्याकुल भए । मुखामुख गरे । ‘भोलीको मेडियामा के के आउने हो बर्बाद हुने भयो, सुन्नै नपाएपछि नेपाली पत्रकारले के पो लेख्लान र’ भनेर सबै हिस्स परे । बोल्दा जे बोलेपनि उनीहरुले मितेरँको बक्तब्य तयार पारेछन् लिखित । लेखेर दिएको र उनले बोलेको एकै रहेनछ । तर भोली पल्ट पत्रपत्रीका हेर्दा त खुब बढाइचढाइ गरेर नेपाली पत्रीकामा छापिएछ- मितेरँले यसो भने, यस्तो बोले भन्दै । दुतावासका कर्मचारीसमेत जिल्लिएछन् भोलिपल्ट ।

हामी नेपाली विदेशीहरु बिहे, यौन, परिवार, परिवारिक प्रिष्ठभूमिका विषयमा पश्चिमेलीहरु खुला हुन्छन् । जोसँग प्रम गरोस्, जोसुकैलाई अँगालोस्, जस्तोसुकै पेशा गरोस् खुल्ला हुन्छन् भन्ने विश्वास गर्छौं । तर त्योपनि एक खाले भ्रम हो भन्ने सिल्भीको उपन्यासले कहन्छ ।

रहँदा बस्दा उनको एक जना चिनियाँसित प्रम बस्यो । माया, प्रम र स्नेहले सिमाना र संस्क्रिति भनेन । उनीहरु हुँदा हुँदा वैवाहिक डोरीमा बाँधिएछन् । तर त्यतिबेलाका फ्रान्सेली दुतावासका सचिवले उनको लोग्नेलाई रुचाएनन् । उनी सांस्क्रितिक केन्द्रकी कर्मचारी । तैपनि दुतावाससित मिलेर काम गर्नु पर्ने । निर्देशन त आखिर थुप्रै फ्रान्सेली दुतावासबाट न आउँछ । घुम्पाके आँखा, सानो कद, कालो कपाल, भिन्न संस्क्रिति बोकेको । फ्रान्सेली भाषापनि नजान्ने । कूटनितिक क्षेत्र बाहिरको । सामान्य पेशा समेत नअँगालेको चिनियाँ ठिटो ।  बिहान साँझको गासपनि पत्नीको पैसोमा लर्खराउने । कुनै इलमबिनाको । सिल्भीको लोग्नेको यस्तै हालत देखेर फ्रान्सेली कूटनितिज्ञले  सिल्भीलाई दिनुसम्म सास्ति दिएछन् हेपेर । आफूले भोगेका ति कहानीपनि उनले ति कूटनितिज्ञको वास्तविक नाम उल्लेख नगरि छरपस्ट पारेकि छन् । र भनेकि छन्, असहज मान्नु पर्ने, असहज लाग्नु पर्ने र कठिनाइ भोनुपर्ने नेपाली समाज भन्दा उनको लागि दूतावासका उच्च तहका कर्मचारी सितको व्यवहार कठिन भएको थियो।

उनको कथाले नेपालका धेरै गम्भिर विषयहरुलाइ उठाएको छ । दुख लाग्दो पक्ष, नेपालमा वालवालिकाको बेचबिखन हुने गरेको अनुभव छ । विदेशबाट वालवालिका धर्म पुत्र पत्री बनाउन जान्छन् विदेशी । तर ति वालवालिका पैसाको मुठोमा बेचिने गरेको अनुभव उनको छ । फ्रान्सबाटपनि निकै फ्रान्सेली वालवालिकाकालागि जान्थे । अनेक प्रशासनिक झमेला सुल्झाइदिन र बिभिन्न कागजपत्र अनुवाद गर्न अनि सहयोगका लागि उनी वालमन्दिर र अन्य अनाथालय जानु पर्थ्यो । त्यहाँ कागज सिफारिस गर्ने नाममा हाकाहाकी घुस माग्ने गरेको प्रसंगले उपन्यासमा धेरैको मन छुन्छ ।

त्यति बेला फ्रान्सले नेपालका मठ मन्दिर र गुम्बाहरु पूनर्निर्माण तथा संरक्षण गर्न आर्थिक सहयोग गरेको थियो । उनीहरु जुन ठाउँको मन्दिर पूनर्निर्माण गर्ने हो त्यहिको नगरपालीका प्रमुख वा गाविस अध्यक्षको उपस्थितिमा स्थानिय जनतालाइ समेत भेला गराएर रकम हस्तान्तरण गर्न खोज्ने रहेछन् । पनौतीमा उनीहरुले गर्न खोजेको त्यस्तै रहेछ । त्यसकोलागि बिभिन्न कागजात पुरातत्व बिभागबाट निगरानी र मूल्यांकन गराउनुपर्छ । तर पुरातत्व बिभागका कर्मचारी भने रकम हामीलाई नै हस्तान्तरण गर भन्दै आगो हुने रहेछन् । तिनले हाकै भन्ने रहेछन् “यो फ्रान्सेलीहरु त साह्रै किचकिचे। अमेरिकीहरुले कति धेरै डलर दिँदापनि केहि भन्दैनन्, सुरुसुरु दिन्छन् । यी फ्रान्सेली चाहिँ थोरै पैसा दिँदापनि असाध्यै किचकिच गर्ने”।

जे होस्, उनको उपन्यासले नेपालको बेथिति, भ्रस्टाचार, वालवालिका बेचबिखन मात्रै देखाउँदैन, नेपाल पुग्ने विदेशीहरु कति बेमत्लबी हुन्छन् भन्नेपनि खोल्छ । नेपाललाई उनले आफ्नो उपन्यासमा समग्रमा एउटा स्वर्गिय थलोको रुपमा चित्रित गरेकि छन् । उनको पुस्तकले समग्रमा नेपाल चिनाउन नै सहयोग गर्छ ।

तपाइँको प्रतिक्रिया