दमाइलाई किन हुलिस् भन्दै झण्डै घरबाट निकालेका

– मिरेइ एल्फर

सन् १९६५ मा मलाई २० जनाजति पर्यटक लिएर भारत भ्रमण गर्ने अवसर मिल्यो । तीन हप्ता भारत घुमेपछि पाँच दिनका लागि हामी नेपाल जाने निधो गर्‍यौं। भारत भ्रमणपछि असाध्यै हँसिला, रसिला, सजिला, खुला र दिलैदेखि स्वागत गर्ने नेपालीहरू भेट्दा हामीले ढुक्कको अनुभूति गर्‍यौं। मैले नेपालीलाई खुसी पार्न भनेको होइन, साँच्ची नै त्यस्तै महसुस गरेका थियौं ।

● सन् १९६६ मा नेपाल फर्किएँ गाइनेहरूको विषयमा अध्ययन गर्न । त्यो बेला काठमाडौंबाट पोखरा जाने एउटा फुच्चे विमान उड्थ्यो, हप्तामा एकाध पटक । त्यसको पनि उडान निश्चित हुँदैनथ्यो । आए चढ्यो, नआए फर्क्यो । काठमाडौंको विमानस्थल त नाम मात्रको थियो भने पोखराको त के हुनु र ! विमानस्थल हुन चाहिने केही पनि थिएन । पोखराभरिमा एउटा मात्रै गाडी थियो । न सडक थिए, न गाडी । एक जना भरिया र अंग्रेजी बोल्ने एक नेपाली विद्यार्थी लिएर म पोखरादेखि पश्चिम तराईको दाङसम्म पैदलै गएकी हुँ ।

● म गाइनेहरूको खोजी गर्न गएकी थिएँ । त्यसैले तिनको बस्ती कहाँकहाँ छ भनेर पत्ता लगाउन म गाउँगाउँ चाहार्थें । गाइनेहरू लेखपढ गरेका नहुने भएकाले घटना के भएको हो भनेर चाहिँ कसैले वर्णन गरिदिनुपथ्र्यो । उनीहरूले जुनसुकै घटनालाई पनि तत्कालै गीत बनाइहाल्थे । म नेपाल भएकै बेला अमेरिकी वैज्ञानिक नील आम्र्सट्रङ चन्द्रमामा पुगेका थिए । मैले गाइनेलाई ‘तिमीहरू सबै घटनालाई गीत बनाउँछौ, मान्छे चन्द्रमामा गयो, खोइ त त्यसको गीत बनाएको ?’ भनेर सोध्दा गाईनेले त्यो घटनाबारे सबै वर्णन गरिदिने मान्छे भएन भनेका थिए । उनीहरू गीत गाउँदै कतिपय त बर्मासम्म पनि पुगेका थिए । बाबुसँग छोराहरू धोक्रो बोकेर हिँड्थे । अनि बाबुले गीत गाएको सुन्दासुन्दै छोराले सिक्थ्यो ।

● मैले नेपालका सबै समूहका गाइनेको लोकगणना (रसँस्मँ) गराएँ । संगीत सिक्छन् भनेर बुझें । १९६६ मा मैले आँ कास्क सँतअ म्युजिसियँ गाइने दु नेपाल (नेपालका संगीत जाति गाईनेहरू) भन्ने ठूलो लेख तयार पारें । गाइनेका गीत र संगीतलाई डिस्कमा भरें । त्यसपछि गाइनेकै बारेमा आलेक्सँद्र म्याकडोनाल्डसँग मिलेर अर्को लेख तयार पारें ।

● १९६६ मा म पोखराको बाटुलेचौरमा बसें । मैले झलकमान गान्धर्वलाई त्यहीँ भेटेकी हुँ । उनीसित पहिलो अन्तर्वार्ता मैले नै लिएकी थिएँ । मैले भेट्दा उनी ठिटै थिए । त्यतिबेलै गीत गाउन उनी अरुभन्दा तगडा थिए र पोखरामा प्रसिद्ध भइसकेका थिए । काठमाडौंमा पनि शायद रेकर्ड गरिसकिएको हुँदो हो ।

● गाइनेबारे अध्ययन गर्ने थलो त छानियो, बाटुलेचौर। बस्ने ठाउँ भेट्टाउन मुस्किल पर्‍यो । होटल पाइने कुरै भएन । नेपाल जाने फाट्टफुट्ट पश्चिमाहरू त्यो ठाउँमा हुने कुरै भएन । पोखरा चिनेको कसैले हामीलाई बाटुलेचौरमा एउटा घर खाली छ भन्दै सहयोग गर्‍यो । भुइँतले त्यो घरमा अलि पहिले कोही बसेर पैसा नभएर हिँडेको रहेछ ।

● त्यहाँ बस्दा मलाई असाध्यै दुख भयो । नुहाइधुवाइ गर्न समस्या पर्‍यो। नजिकको खोलामा जानुपर्ने । घर कति पारदर्शी थियो भने अर्को पट्टी के भएको छ छ्वाङ्ङै देखिन्थ्यो । छुवाछुतको कारणले गर्दा गाइनेसित जोडिएर बस्न पनि सक्दिनथेँ । गीत रेकर्ड गर्दा पनि म कहिल्यै गाइनेका घरभित्र छिरिनँ । आँगन, पिँढीमा बसेर रेकर्ड गर्ने गरिन्थ्यो । म बसेको घरभित्र गाइनेहरूलाई छिर्ने अनुमति थिएन । म पनि गाइनेको घरभित्र पसेपछि क्षेत्रीको घरभित्र पस्न पाउँदैनथें । मलाई त्यस्ता संस्कारको जानकारी थियो । अहिले संझिँदा हाँसो उठ्छ ।

● एक पटक कोर्नेई जेस्तलाई अप्ठयारो पर्‍यो । एकदिन उनले दमाइको गीत रेकर्ड गर्न चाहन्थे । उनले आफू बस्ने घरभित्रै लगेछन् । ओहो, त्यसपछि त उत्पात मच्चिइहाल्यो नि ! सबैजना रिसले आगो भए । अनि त दमाइ पसेर बिटुलो परेकाले चोख्याउनुपर्छ रे भनेर घरबेटीले पूजारी हो कि ब्राह्मण को हो बोलाएर पूजापाठ गरे । यसपछि सबै फ्रान्सेली सतर्क भए कि लौ दमाइ, कामी, गाइनेलाई घरभित्र हुल्यो भने बबाल हुने रैछ ।

● मेरो लागि सबैभन्दा गाह्रो के थियो भने म कहिल्यै एक्ली हुन पाइन । वरिपरि कोही न कोही हुन्थ्यो सधैं । एउटा सानो कोठामा थिएँ । राति सुतेको ठाउँमा मुसाहरू चिंचीं र चुँचुँ गर्दै यता र उती दौडिन्थे । नुहाउन खोलातिर जानुपर्ने जस्ता अनेक कुरा मेरा लागि सजिला थिएनन् । म सर्ट र पाइन्टमा हुन्थें, अरु महिलाले चाहिँ गुन्यु र चोलो लगाएका हुन्थे । पहिरनले गर्दा पनि अरुभन्दा भिन्न देखाउँथ्यो । त्यसले पनि अप्ठ्यारै पार्ने रहेछ ।

● एक महिनापछि त्यो गाउँबाट निस्कन झन् कठिन भयो किनभने म त असाध्यै फोहोरी भइसकेकी थिएँ । छन त त्यस्ता समस्या झेल्ने अरु पनि थिए । दैनिक जीवनमा कठिनाइ भए पनि जो जो गएका थिए, सबैले नेपाल रुचाए । नेपालमा ज­जसले काम गरे, ती खुशी नहुने कोही नै भएन ।

● मलाई भने गीत कसले गाएको रेकर्ड गर्ने, कसको नगर्ने भनेर बेलाबेलामा आपत पथ्र्यो किनभने म बसेको घरकै छेउमा ३०–४० जना गाइने थिए । तीमध्ये कसै–कसैलाई त पटक्कै आउँदैनथ्यो । गीत राम्रो गाउनेको रेकर्ड गर्ने हो । उसलाई पैसा दिने हो । गीत नै मिठो छैन भने के रेकर्ड गर्ने ? भन्न सजिलो भए पनि यो काम गर्न असाध्यै मुश्किल प¥यो । उनीहरू आफूबीच एउटा राम्रो अर्को नराम्रो देखिन चाहँदैनथे । सबै जना पैसा पनि चाहन्थे ।

● बाटुलेचौरमै पहिलो पटक रेकर्ड गरेपछि मैले सबैलाई पैसा बाँडे । बेलुका त त्यो सानो गाउँ सिंगै उल्टिएर भोज गरेछन् र गाउँका पूरै गाइने रक्सी पिएर झुम भएछन् । रातभरि हल्लाखल्ला गरे । केहि नराम्रो पो हुन्छ कि भनेर म त डराएँ । अहिले सम्झँदा पो हाँसो लाग्छ त ।

● नेपालमा खानाको लागि पनि समस्या थियो । अझ डँडेलधुराको त कुरै नगरौं । त्यहाँ त मकैबाहेक केही पनि नपाइने भन्दा पनि हुन्छ । केही दिन बिताउन पनि कठिन भयो । चामल पनि नपाएपछि के खाने ! म मात्र नभएर मेरो भरियालाई पनि सकस भयो । ऊ काठमाडौंवासी थियो । फलफूल र चामल पनि नपाएपछि त उसलाई त्यहाँ एकदम कठिन भयो । तामाङ जातिको त्यो केटोले त्यहाँको स्थानीय भाषा पनि बुझेन । ऊ त मलाई एक्लै छाडेर भए पनि फर्किन खोज्यो। उसले पनि छाड्ने भएपछि त मलाई झन् आपत् पर्ने भयो ।

● त्यस्तो विकट गाउँ । पढेलेखेका मानिस थिएनन् । कसरी जानकारी लिने ? म शिक्षक खोज्दै सरासर विद्यालयमा जान्थें र गाइनेहरू कताकता बस्छन् भनेर तिनै शिक्षकहरूलाई सोध्थेँ । गाउँठाउँको जानकारी हुने उनीहरूलाई नै हो । गाइनेहरू भेटिएपछि केहीले चाहिँ तिनको गीत भर्न दिँदैनथे । कसैले आफ्नो गीत भरेर अरुले पैसा कमाउँछन् भन्ने सोच्दा रहेछन् भने कसैले चाहिँ भरेर के गर्छन् के गर्छन् भन्ने सोच्दा रहेछन् । हरेक ठाउँकालाई पैसा तिर्न पनि सकिँदैनथ्यो ।

● एक पटक बाटुलेचौरबाट दाङतिर जाँदै गर्दा बाटोमा विद्यालय नजिकै पुग्यौं । विद्यालय छुट्टी हुने बेला परेछ । केटाकेटीले घेरा हालेर हेर्न थाले । नीलो आँखा भएकी एउटी केटीको लागि त म आकर्षणको केन्द्र नै बनेँछु । आँखा गाडेर हेरेको हेर्‍यै गरी । उसले जीवनमा पहिलो पटक देखेको पश्चिमा मै रहेँछु ।

(मिरेइ लेखिका तथा अनुसन्धानकर्मी हुन् । पेरिसको म्युजे दोम संग्रहालयमा नेपाली संगितबारे राखिएका सूचना उनैले अनुसन्धान गरेकि हुन । मूलत उनले नेपालका हुड्किया, गाइने लगायतका जातिको श्रुति परम्परामा आधारित गित र संगितको लामो अनुसन्धान गरेकि छन् । त्यस क्रममा काठमाडौं देखि पाल्पा, अर्घाखाँची, भैरहवा, दाङ र पूर्वमा धनकुटासम्म उनले पैदल यात्रा गरेकि छन् ।)

तपाइँको प्रतिक्रिया