हेलिकोप्टर सित्तै दिएर नेपालबाट कत्रो जासुसी

-कर्णेल पियर ल फ्लक  (स्व. राजा वीरेन्द्रका हेलिकोप्टर प्रशिक्षक)

● सन् १९७३ मा म नेपाल जानुको मूल लक्ष्य नै नेपाली सेनालाई हेलिकप्टर सिकाउनु थियो किनकि शाही नेपाल वायुसेवा निगम (शानेवानि) मा चालक थिएनन् । त्यतिबेला हेलिकप्टर चालक दुई जना मात्रै थिए– सैनिक चालक मुकुन्दबहादुर खत्री र राजाका चालक आरपी प्रधान । म फ्रान्सको तर्फबाट नेपालमा सैनिक सहचारी थिएँ । मैले नेपालका सैनिकहरूलाई सिकाउने क्रममा झण्डै सबैजसो सैनिक चालकलाई हेलिकप्टर सिकाएँ ।

● राजा निकै सवारीमा जान्थे । सुर्खेत गएका बेला एक दुई महिना नै क्याम्प बनाएर बस्थे र हेलिकप्टरमा वरपरको ठाउँ घुम्थे । धनगढी, महेन्द्रनगर पनि गइनै रहन्थे । पोखरा गएको बेला एक–डेढ महिना वरिपरि घुम्थे । मैले राजालाई मुस्ताङ पनि लगें । त्यति बेला मुस्ताङमा छुट्टै राजा थिए र त्यो ठाउँ कडारुपले प्रतिबन्धित थियो । मुस्ताङ पुग्ने शुरुकै मानिसहरूमध्ये म पनि एक हुँ । म मुस्ताङ थुप्रै पटक गएँ । राजा सवारीमा जाने भनेपछि हामी तयारि गर्न भनेर पहिल्यै जान्थ्यौं । पछि फेरि शानेवानि र सैनिकको हेलिकप्टरमा राजा, राजपरिवारका सदस्य र तिनका आफन्त लिएर जान्थ्यौं ।

● म राजासँग गएको अर्को उच्च पहाडी भाग डोल्पो हो । जुम्ला त कति पटक गएँ यकिनै छैन । त्यति खेर त्यहाँका थुप्रै गाउँमा युनिसेफले खानेपानीको व्यवस्था गर्दै रहेछ । त्यसका लागि हेलिकप्टरबाट उपकरण र सिमेन्ट खुब ओसारियो । बिभिन्न सैनिक गतिबिधि, उद्दार कार्य तथा राजा र राजपरिवारलाई ओसारेर मैले नेपालको आकासमा दुई हजार घण्टा हेलिकप्टर उडाएछु ।

● मैले नेपालमा छ वर्ष काम गरें । नेपाल जाँदा राजा पनि एउटै मात्र मोर्टर भएको हेलिकप्टर चढ्दा रहेछन । अधिकांश त एउटा मात्रै मोर्टर भएको लुयत हेलिकप्टर थिए । पुमा चाहिँ दुई वटा मोर्टर भएकोले प्रायः राजाको लागि प्रयोग गरिन्थ्यो । एउटा मात्रै मोर्टर हुँदा त्यो अचानक बिग्रिए खतरा हुन्छ भनेर मैले नै दुई वटा मोर्टर भएको हेलिकप्टर सिफारिश गरें । राजाको सवारी र सैन्य कामले शिविरहरूमा जाँदा खाना खाएपछि सैनिक प्रमुखसहितको नाचगान चल्थ्यो ।

● म खम्पा बिद्रोहीहरूलाई तह लगाउन मुस्ताङ्को केसाङमा पनि गएँ । बैतडी, बझाङतिर पनि निकैपटक गएँ । त्यो बेला चिनियाँ क्षेत्रबाट खम्पाहरू नेपालको उत्तरी सिमानामा छिरेका थिए । चीन सरकारले तिनलाई दबाउन आग्रह गरेको थियो । आतंक मच्चाएर ति नेपालको सिमातिर भाग्थे । तिनलाई दबाउन कमाण्डो प्रहरी शक्ति लैजानु पथ्र्यो । सैनिक वा सिभिल कस्तो हेलिकप्टर कसरि लैजाने भनेर सिकाउने मै हुँ । खम्पाहरूलाई दबाउन कमाण्डो परिचालन गर्ने प्रमुख आदित्यमान राणा थिए । खम्पाले आतंक मच्चाएको बेला सन् १९७४ मा कमाण्डो फोर्स उतार्न म धेरै जुम्ला, डोटी, बैतडी, दार्चुला, टिङ्कर र धनगढी गएछु । बैतडीमा एक पटक एक महिना जति बसियो । सैनिक त डँडेल्धुरामा पनि ओरालियो ।

● पहिलो पटक दरबारमा जाँदा हेलिकप्टर लिएर गइएको थियो । राजासँग भेट हुँदै थियो तर कसरि प्रस्तुत हुने हो थाहा पनि थिएन । राजालाई कसरि संबोधन गर्नुपर्छ भनेर दरबारकै एक जनालाई सोधें– “ढाडसमेत झुकाएर निहुरिमुन्टि गरौं कि दुई हात जोडेर ठाडै नमस्कार गरुँ ? अथवा, सैनिक भएकोले सलाम पो ठोकौं कि ?” ‘जसो मन लाग्छ त्यसै गर्नुस्’ भन्ने जवाफ दिए । सबै जसो मन्त्रीहरू भेला भइसकेका रहेछन् । केहि बेरमा राजा आइपुगे । मैले ठाडै नमस्कार टक्र्याएँ, राजाले नमस्कार फर्काए । त्यसपछि राजासँग भेट हुँदा सधैं त्यसै गरें ।

● नेपाली सैनिकहरूले शुरुमा भारतीय मोडेलको स्काईभ्यान हेलिकप्टर चलाउँथे । मैले खत्री, लामा र पुष्प केसीलाई त्यसैमा परिक्षण उडान गराएँ । पछि मैले त्यसलाई रोकेर फ्रान्सेली हेलिकप्टर सिफारिस गरें ।

एक चालक दुई हेलिकप्टर

● सन् १९७८ मा मैले महिनाको ८५ घण्टाका दरले हेलिकप्टर उडाएँछु । अन्तिम उडान १९७९ मा थियो भने अन्तिम तालिम लामालाई दिएको थिएँ । म नेपाल जाँदा हेलिकप्टर दुई वटा थिए तर चालक एक जना मात्रै । तिनै चालकले दुबै हेलिकप्टर पालैपालो उडाउने रहेछन् । त्यो देखेपछि मैले ‘जम्मेवारी दिन्छौ भने म नेपालीहरूलाई चालक तालिम दिन्छु’ भनेर प्रस्ताब गरें । नेपाली चालक नहुनुको पनि आफ्नै कथा रहेछ । सोभियत संघले नेपाललाई दुई वटा हेलिकप्टर दिएको थियो । फ्रान्सले चाहिँ नेपाललाई हेलिकप्टर बेच्यो । नेपालीले ‘हामी बरु फ्रान्ससँग हेलिकप्टर किन्छौं तर स्वतन्त्र रहन चाहन्छौं; फ्रान्सेली हेलिकप्टर प्रसिद्दि कमाएका पनि छन्’ भनेछन् । फ्रान्स पनि नेपालीलाई सहयोग गर्न र चालक तालिम दिन तयार भयो । केहि समयका लागि फ्रान्सको हेलिकप्टर उत्पादन गर्ने कम्पनीका विशेष चालकहरू नै नेपाल गए । हेलिकप्टर किनेपछि नेपालले फ्रान्सेली सैनिक हवाई सेवाका चालक र प्राविधिकहरूको सहयोग मागेकाले ति नेपाल गएका थिए ।

● त्यति बेला मैले रुसी हेलिकप्टरहरू भूर्इंमा लडिराखेको देखें । ति त उड्न छाडिसकेका थिए । आरपी प्रधानले रुसी हेलिकप्टर चलाउने रहेछन् । रुसीहरूले उनलाई चालकको प्रमाणपत्र दिन नचाहेका रहेछन् किनभने नेपालबाट नजिक पर्ने हुनाले रुसीहरू त्यहाँबाट चिनियाँ गतिबिधि चियाउन चाहँदा रहेछन् । त्यसैले नेपालीलाई चालक बनाउनै नचाहने रहेछन् । दुई तिन वटा हेलिकप्टरसहित आफ्नै चालक राखेर उनीहरू राजनीति गर्न चाहन्थे । जब नेपालीले नै उडाउने भए तब रुसी हेलिकप्टर उड्नै छाडे । यो १९७३ अगाडिको कुरा हो । जता पनि राजनीति हुने यो अवस्था भएकैले नेपालीले फ्रान्सेली हेलिकप्टर किनेर स्वतन्त्र हुन चाहेका थिए ।

● म नेपाल जाँदा शानेवानिको उडानमा दुई जना भारतीय सिभिल चालक थिए । तिनले सिभिल चालकहरूलाई र भारतीय सैनिक चालकले चाहिँ नेपाली सैनिकलाई तालिम दिन चाहेका थिए । मैले नेपालीहरूलाई तपाईहरू नै सक्षम हुनुहुन्छ, भारतीय चालकको जरुरत छैन, हामी सिकाउँछौं भनिदिएँ । फ्रान्सेली चालकहरू नेपाल प्रवेश गरेपछि भारतीय सेनाका कर्णेल बेखुशि भएका थिए । त्यसो त अमेरिकीहरूले पनि नेपाललाई सित्तैमा हेलिकप्टर दिन चाहेका थिए तर नेपाल स्वतन्त्र रहन चाहन्थ्यो । त्यसैले हाम्रो कामको मुल्यांकन भएको थियो । १९७५ मा मैले वीरेन्द्रबाट गोरखा दक्षिणबाहु प्रथम पाएँ । त्यतिबेला काठमाडौंमा फ्रान्सेली राजदूत फ्रेदेरिक माक्स थिए ।

● १९६५ मा नेपालमा दुई वटा रुसी हेलिकप्टर रहेछन्, एउटा हेलिकप्टर राजा र अर्को शानेवानिको लागि । प्रशिक्षक पनि रुसी नै थिए । रुसी प्रशिक्षकले कुनै पनि नेपालीलाई प्रमाणपत्र दिन नचाहेका रहेछन् । त्यसरी सधैं रुशी चालकमै भर पर्नुपर्ने भएपछि नेपालीले तिनका हेलिकप्टर नै चाहेनन् । त्यसो त, बेलायतीहरू पो के कम ! उनीहरूले पनि नेपाललाई ‘फिक्स विङ्ग’ भएको स्काईभ्यान बेच्न खोजेका थिए । मैले त्यो हुँदैन भनेर रोकिदिएँ, बेलायतीहरू मसँग बेखुशि भए ।

(ल फ्लक फ्रान्सेली सेनाका कर्णेल हुन् । उनी नेपालमा फ्रान्सका तर्फबाट सैनिक सहचारी थिए । उनी राजा वीरेन्द्रका हेलिकप्टर चालकसमेत रहे । यसमा राखिएका उनका अनुभव ददि सापकोटाको प्रकाशोन्मुख पुस्तकको सानो भाग मात्रै हो । नेपाललाई कर्म थलो बनाएका र फ्रान्समा नेपालका विविध क्षेत्रबारे विशेषज्ञका रुपमा परिचित २९ फ्रान्सेलीको नेपाल अनुभव बारे उनले लेखेको पुस्तक जगदम्बा प्रकाशनले केहि दिनभित्रै बजारमा ल्याउँदै छ । पुस्तकमा संवन्धित ब्यक्तिका जिवन्त तस्विर मात्रै नभएर तिनले उपलब्ध गराएका नेपाल संवन्धि दूर्लभ तस्विरसमेत रहनेछन् ।)

तपाइँको प्रतिक्रिया