नेपालकै सबैभन्दा ठूलो मन्दिर निर्माण हुँदै
● नारायण अर्याल / हाल: बर्मुडा
नेपालमा अनेकौं मठ मन्दिर छन् । पशुपती, गुहेश्वरी चर्चित छन् । गणेश र विष्णुका मन्दिर त गाउँ गाउँ टोलै पिच्छे भैहाले । नेपाल यसैपनि मन्दिरै मन्दिरको देश भनेर चिनिएपछि मन्दिर त जतापनि हुने नै भए । तर कहिल्यै सुन्नु भएको छ ? शक्ति उपासना पीठको नाममा बन्न लागेको नेपालकै सबैभन्दा ठूलो मन्दिरबारे ? हो, अहिले नेपालकै सबैभन्दा ठूलो मन्दिर निर्माण भैरहेको छ । त्यो असाध्यै रमणिय, मनमोहक, प्राक्रितिक द्रिष्य र आकर्षणले भुतुक्कै पार्ने, मन लोभ्याउने ठाउँमा बनिरहेको छ ।
वि.सं २०५६ सालमा स्थापना भएको यो शक्ति उपासना पीठ (शक्ति उपासना पीठ भनेको के हो ? अन्तिममा हेर्नुहोला) काठमाडौंको बालाजुदेखि उत्तरतर्फ करिब ९ कि.मि पर जितपुर गा.वि.स स्थित प्रकृतीको सुन्दरताले सजिएको भुमि महाराजपुर पर्वतमा स्थित छ । यो भुमिबाट काठमाण्डौं, पाटन र भक्तपुरको शहरलाई राम्रोसँग देख्न सकिन्छ भने धादिङ र नुवाकोटका पहाडी गाउँ बस्तीहरुले पनि यो भुमिलाई हेरीरहेका छन् । यसको साथै रसुवाका हिमालले दक्षिणतर्फ हेर्दापनि यसैलाई नियाले झैं लाग्छ । मकवानपुर, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक पहाडका शिरलेपनि यो भूमिलाई एक टकले हेरिरहेका छन् ।
विगत वि.सं. २०५९ साल देखि यो पीठले शक्ति उपासकहरुलाई आफ्नो श्रद्धा र भाव भक्ति समर्पण गर्नको निमित्त करुणमयी माता भुवनेश्वरीको मन्दिर निर्माण गदै आएको छ । निर्माण सम्पन्न भएपछि यो अहिलेसम्म बनेका मन्दिरहरुमा नेपालको सवैभन्दा ठुलो हुनेछ । निर्माणाधिन यो मन्दिर हाम्रो नेपाली शैली (प्यागोडा शैली) को हुनेछ र निर्माण गर्दा हाम्रो नेपाली मौलिक काष्ठकला प्रयोग भईरहेको छ । यो मन्दिरको डिजाइन श्यामानन्द बज्राचार्य बाबाले गरेका हुन् ।
यसको डिजाइन गर्ने काम ९ फर्वरी २००३ बाटै शुरु भएको थियो । यो मन्दिर भुवनेश्वरी देवी (त्रिपुरासुन्दरीपनि भनिन्छ) मा समर्पित छ । उनलाई सांसारिक देवीका रुपमापनि पुकारिन्छ । यसको डिजाइन गर्दा पूर्णरुपमा भस्तुशस्त्रका सिद्दान्तहरुलाई अनुशरण गरिएको छ ।
करिब एक करोड नेपाली रुपियाँको लागतमा बन्न लागेको यो मन्दिरको खर्च सबै शक्ति उपाशना पिठ, भक्तजन र आश्रमका श्रद्दालुहरुको दान र सहयोगमा हुन लागेको हो । मन्दिरका डिजाइनर बाबा श्यामानन्द बज्राचार्यले यसलाई पूजापाठ गर्ने तिर्थस्थलका रुपमा विकास गर्ने उद्देश्य राखेका थिए ।
मन्दिरमा दुई वटा छाना हुनेछन् । तिनलाई तामाको धातुले मोडिने छ । यसमा नेपाली सामाग्रि प्रयोग गरिनुका साथै नेपाली परम्परागत वास्तुकलाकै प्रयोग गरिँदै छ । मन्दिरको वरिपरिको भाग २० फिट र गजुरसम्मको उचाइ भने ७२ फिट हुने छ । लम्बाइ र चौडाइको भाग समग्रमा ४४ फिटको बन्ने छ ।
शक्ति उपासना पीठ
जुन उर्जाद्धारा यो सारा ब्रहाम्ण्ड एउटा नियममा सञ्चालित छ, त्यही उर्जा हाम्रो शरीरमा रहेर हाम्रो शरीरलाई सञ्चालन गरिरहेको छ । यो अखण्ड, अन्नत र व्यापक उर्जालाई शक्ति वा देवि भनिन्छ । यो शक्ति आफुमा भएर पनि आफु आफ्नो शक्तिको बारेमा अनभिग्न भएर रहनु परेको हुन्छ, जसलाई अज्ञान भनिन्छ । यो आफुमा रहेको शक्तिलाई प्रकट गर्ने तरिकालाई उपासना भनिन्छ । यो शक्ति तत्व प्राप्त गर्ने जुन उपासना पद्धतिको चर्चा र अनुसरण गर्ने स्थल हुन्छ, त्यो स्थललाई पीठ भनिन्छ ।





