कविता : खोजि नविन इतिहासको
–विध्या सापकोटा
रोगी भएकी छु
म अनिद्राको
निद्राको गोलिले लोलाउनुपर्छ
मेरा आँखाहरुलाई ।।
°°°°°°°°°°°°°°°°°°°°°°°
आँखा निदाउँदै गर्दा,
बिउँझिदिन्छ कान
बेऋतु भ्यागुते ट्वारट्वारसँगै
सगसगाइदिन्छ नाक
बेमौसमी फूलका उन्मादसँगै ।।
°°°°°°°°°°°°°°°°°°°°°°°
अनि खैं के हुन्छ
कताकता
फटफटाउँछन्
मेरा पैतालाहरु……………।।
°°°°°°°°°°°°°°°°°°°°°°°
पछारिन्छन् यी
रोकिन्छन्
लड्खराउँदै, तर्सदैं
षयन्त्रले रचिएको
आत्महत्याको इतिहास
भिमसेनस्तम्भहरु नजिक ।।
°°°°°°°°°°°°°°°°°°°°°°°
हार्छन्
बारम्बार…
झुक्छन् शरमले
(वर्तमानबिहीनतामा)
कोत, भण्डारखाल
र त्यस्तै
राता काला
इतिहासका दस्ताबेज
लालदरबारहरु समिप ।।
°°°°°°°°°°°°°°°°°°°°°°°
अनि त,
फर्कन्छन्
उल्टो बाटो……
टक्कराउँदैं
कुनाकुनासँग
भित्ताभित्तासँग
जंगे अट्टहाससँग
नभएको वर्तमानसँग………… ।।
°°°°°°°°°°°°°°°°°°°°°°°
शेष !
विश्रान्तिको झिनो आश,
आमाका आँचलभरी
पदारिन्छन्
मेरा तरुण स्वाभिमानहरु
°°°°°°°°°°°°°°°°°°°°°°°
हरे ! त्यहाँ पनि
शुरु हुन्छ / दोहरिन्छ
दोहरिन्छ / शुरु हुन्छ
उही सिलसिला……
लडाइको लम्बेतान युग रचेर
एक सिर्को विश्वास उमार्न नसक्ने
रामहरुको ब्याथादेखि …
उस्तै–त्यस्तै
त्यस्तै–उस्तै
उन्मत्त भैरवहरुका कथासम्म…..।।
°°°°°°°°°°°°°°°°°°°°°°°
उफ्…………….
सधैको यो ऐठन
पुराना अक्षरहरुबाट
उकुसमुकुस र छटपटि
इतिहासका पानाहरुबाट……….. ।।
°°°°°°°°°°°°°°°°°°°°°°°
लाग्दैछ,
निस्कनुपर्छ अब खोजियात्रामा
कतै उज्यालो भेट्टाइन्छ कि ?
जुट्नुपर्छ उर्बर मातृत्व
कतै एक बर्तमान, नविन इतिहास
जन्माउन पो सकिन्छ कि ????
हाल : शंकरदेव कलेज, काठमाडौं





